मीराको दोस्रो दौड

Share:
  
थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगिता जितेकी मीरा राई अहिले आफूजस्तै दौडन चाहनेका सपना पूरा गर्न सघाइरहेकी छन्।

गोपेन राई
चार वर्षअघि नेपालमा ५० किमी दौड जितेर चर्चित हुनु ठीकअघि मीरा ‘वर्किङ भिसा’ मा मलेशिया जाने तयारीमा थिइन् । तर, उनको प्रतिभा चिनेका कराँते गुरु ध्रुवविक्रम मल्लको सहयोगमा आफूलाई एथलेटिक्समा समर्पण गरिन् । परिणाम– अहिले उनी विश्वस्तरकी धाविका बनिसकेकी छन् ।

यो दौड जितेपछि मीरा ट्रेल रनिङ नेपालका रिचर्ड बुलको नजरमा परिन् । बुलले नै उनलाई प्रशिक्षित गरे । त्यसपछि उनले पछि हेर्नै परेन । सन् २०१६ देखि सालोमोन ट्रेल रनिङ टीममा सहभागी मीरालाई अहिले रिचर्डले नै सघाइरहेका छन् ।

दुई साताअघि हङकङमा आयोजित ट्रेल रेसमा सहभागी भएर फर्किएलगत्तै मीरा फर्पिङमा आयोजित १२ किमीको माउन्टेन म्याराथनमा व्यस्त भइन् । ट्रेल रनिङ नेपालले आयोजना गरेको १० वटा दौड शृंखलामध्येको यो अन्तिम थियो ।

वाधा–अवरोध पन्छाउँदै कसरी लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् मीरा । सन् २०१४ र २०१५ मा मुख्य उपलब्धि हासिल गरेकी मीरा घुँडाको चोट र च्यातिएको लिगामेन्ट (खुट्टाको हाडसँग जोडिएको तन्तु) को उपचारका लागि शल्यक्रिया गर्नु परेपछि दौडमा सहभागी हुन सकिनन् । तर, अहिले उनी तंग्रिएर दौडमा सहभागी मात्रै भइरहेकी छैनन्, दौड प्रतियोगिता नै आयोजना गर्न थालेकी छन् ।

स्काई रनिङ च्याम्पियनसिप, अल्ट्रा म्याराथन जस्ता थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता जितेकी मीरा सन् २०१७ मा ‘नेशनल जियोग्राफिक एडभेन्चर अफ दि इयर’ पनि घोषित भइन् । अधिकांश खेलाडीले दशकपछि भेट्टाउने उँचाइमा उनी चार वर्षमै पुगिन् ।

भोजपुर ट्रेल रेसकी विजेता हुमी बुढा मगरलाई मीराले नै पोहोर हङकङमा आयोजित प्रतियोगितामा सहभागी गराएकी थिइन् । फर्पिङ रेसमा महिलातर्फ हुमी प्रथम भइन् । अहिले मीरा २०१८ डिसेम्बरमा हङकङमा आयोजना हुने अक्सफाम ट्रेलवाकर १०० किमी दौडका लागि खेलाडी छनोट र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछिन् ।

“नेपालबाट थुप्रै पुरुष खेलाडी अल्ट्रा रेस प्रतियोगितामा सहभागी भइसकेका छन् तर महिला भने निकै कम छन्” मीरा भन्छिन्, “अब यो अवस्थामा परिवर्तन आउनुपर्छ/आउँछ ।”

यत्रो उपलब्धि र प्रतिबद्धताका बावजूद पनि मीराले आफ्नो धरातल बिर्सेकी छैनन् । आफ्नो पृष्ठभूमि, संघर्ष र लक्ष्यमा बाहेक अन्यत्र ध्यान नदिने बानीले यस्तो हुन पुगेको उनी बताउँछिन् ।

अहिले मीरा आफूजस्तै दौडन चाहने महिलालाई अवसर दिने दौडमा छन् । “मैले शुरुमा जसरी सहयोग पाएकी थिएँ, त्यसरी नै अरुलाई सहयोग गर्ने मन छ”, उनी भन्छिन् ।

दुक्सङ शेर्पा

comments powered by Disqus

रमझम