जमाने मान्द्रोको मिथ्या

Share:
  
- कमल मादेन
चुत्रो, केसरीका नामले समेत गाउँघरमा चिनिने र ठीक यही मौसममा फुल्ने ‘जमाने मान्द्रो’ को जातिबारे दुई शताब्दीदेखि बहस चलिरहेको छ।

कमल मादेन
पुस–माघतिर फुल्ने काँडादार वनस्पति जमाने मान्द्रो यतिबेला ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा फुलेको देखिन्छ । फूल यति सुन्दर देखिन्छ कि जो–कोही यसका मसिना स–साना पहेंला झुण्ड नियालेर हेर्न प्रेरित भइहाल्छन् । गाउँघरतिर यही फूललाई चुत्रो र कतैकतै केसरी पनि भन्छन् ।

जमाने मान्द्रोको समूहलाई संसारभर ‘बारबेरी’ भनिन्छ । तर, वैज्ञानिकले दिएको नाम भने ‘बरबेरिज’ हो । बारबेरीको फललाई वाइन उत्पादनमा पनि प्रयोग गरिन्छ । संखुवासभामा उत्पादन हुने हिंवा वाइन बारबेरीबाट नै बनाइएको जानकारी बोतलको लेबलमै दिइएको छ ।

जमाने मान्द्रोको प्रकृति र यसको लाभबारे वनस्पति शास्त्रका विद्यार्थीलाई थोरबहुत ज्ञान नहुने कुरै भएन । तर, यसको वैज्ञानिक नामबारे संसारभरका वनस्पतिविद् अझैसम्म अलमलमै देखिन्छन् ।

२०० वर्षको इतिहास

नेपालबाट जमाने मान्द्रोको नमूना बेलायतका फ्रान्सिस् बुखानन् ह्यामिल्टनले सन् १८०२–०३ मा संकलन गरेका थिए । त्यसअघि यो वनस्पति विश्वकै लागि नयाँ थियो । स्वीस वनस्पतिविद् डे क्यान्डोलेले १८२१ तिर यो नमूनालाई माहोनिया नापाउलेन्सिस् नामकरण गरे । यसको अर्को प्रजातिलाई बेलायतकै जर्ज डनले १८३१ ताका माहोनिया एकान्थिफोलिया भनी व्याख्या गरे । डनले १८२० मा काठमाडांै उपत्यकामा वनस्पति संकलनका लागि आएका तत्कालीन रोयल बोटानिकल गार्डेन, कलकत्ताका सुपरीटेन्डेन्ट नाथानियल वालिचको हर्वारियम स्पेसीमेन्सलाई आधार मानेका थिए ।

सन् १८४८ मा बेलायतका जेडी हुकरले पूर्वी नेपालबाट जमाने मान्द्रो संकलन गरे । १८५५ मा हुकर र थोमस थोम्सनले फ्लोरा इन्डिका खण्ड–१ पुस्तकमार्फत जमाने मान्द्रोलाई ‘माहोनिया नापाउलेन्सिस्’ र ‘माहोनिया एकान्थिफोलिया’ लेखिएको र उल्लिखित दुई प्रजाति पनि एकै भएको ठोकुवा गरे । ‘माहोनिया’ लाई छुट्टै समूह अर्थात् ‘जिनस’ का रूपमा अस्वीकार गरेका हुकरले जमाने मान्द्रोलाई ‘बरबेरिज नेपालेन्सिस्’ लेखे । सन् १९०७ मा नेपाल आएका आई.एच. बुर्किलले पनि ‘नोटस् फ्रम अ जर्नी टु नेपाल’ शीर्षक लेखमा चित्लाङ, चन्द्रागिरिमा ‘बेरबेरिज नेपालेन्सिस्’ संकलन गरेको उल्लेख छ ।

सन् १९७९ मा प्रकाशित हिरोशी हारा र एलएचजे विलियम्स सम्पादित एन इनुमेरेसन अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल पुस्तकमा नेपालमा जमाने मान्द्रोका तीन प्रजाति माहोनिया एकन्थिफोलिया, माहोनिया बोरेआलिज र माहोनिया नापाउलेन्सिस् पाइने उल्लेख छ । पुस्तकका अनुसार माहोनिया एकन्थिफोलिया २४०० देखि २९०० मिटर, माहोनिया बोरेआलिज १६०० देखि २७०० मिटर र माहोनिया नापाउलेन्सिस् २००० देखि २९०० मिटरको उँचाइसम्म पाइन्छ । जेआर प्रेस, केके श्रेष्ठ र डिए सुटन सम्पादित एन्नोटेटेड चेकलिष्ट अफ फ्लावरिङ प्लान्टस् अफ नेपाल (सन् २०००) पुस्तकमा पनि यही जानकारी छ ।

टोनी स्किलिङ र मार्क वाट्सनले २०१४ मा लेखेको ‘क्लेरिफाइङ दि आइडेन्टिटिज अफ टु नेप्लिज माहोनिया’ लेखका अनुसार पनि माहोनिया नापाउलेन्सिस् र माहोनिया एकान्थिफोलिया उस्तै देखिन्छन्, तर ती फरक प्रजातिका हुन् । लेखमा माहोनिया बोरिआलिजलाई नेपालमा पाइएको भनिए पनि पूर्व अनुसन्धानकर्ताहरूले माहोनिया एकान्थिफोलियालाई नै माहोनिया बोरिआलिज भन्ठानेको जिकिर गरिएको छ ।

जमाने मान्द्रो ।
लेखकद्वय, माहोनिया एकान्थिफोलिया र माहोनिया नापाउलेन्सिस्लाई छुट्याउन मुश्किल र सजिलो दुवै भएको बताउँछन् । यिनहरूका रूख, पात, फूल, फल लगभग सबै उस्तै हुन्छन् । माहोनिया एकान्थिफोलियाको बोट ७ देखि ९ मिटर र माहोनिया नापाउलेन्सिस् २ देखि ३ मिटरसम्म अग्लो हुन्छ । फ्लोरा अफ चाइना (२००७) मा भने माहोनिया नापाउलेन्सिस् १ देखि ७ मिटरसम्म अग्लो हुने जनाइएको छ । तर, पातका आधारमा भने यी दुईलाई सहजै छुट्याउन सकिने स्किलिङ र वाट्सनको भनाइ छ । माहोनिया एकान्थिफोलियाको मूल पातमा दुवैतिर ९ देखि १२ जोडी स–साना पात हुन्छन् । साना पातको लम्बाइ साढे ७.५ सेमी र चौडाइ ४ सेमीसम्म हुन्छ । माहोनिया नापाउलेन्सिस्को मुख्य पातमा भने दुवैतिर ४ देखि ६ जोडी साना पात हुन्छन् । यी पातको लम्बाइ १५ सेमी र चौडाइ ४.५ सेमीसम्म हुन्छ ।

बरबेरिज नापाउलेन्सिस् !

पहाडमा लगभग जमाने मान्द्रोजस्तै अर्को झडीदार वनस्पति पनि पाइन्छ । यसको पात जमाने मान्द्रोको भन्दा केही भिन्न प्रकृतिको हुन्छ । यसलाई ‘बरबेरिज समूह’ भनेर चिनिन्छ । यसलाई चुत्रो त कतै सानो चुत्रो भन्ने गरिन्छ ।

सन् २०१२ मा प्रकाशित भाष्कर अधिकारी, सिए पेन्ड्री, आरटी पेनिङटन र आरआई मिल्नेको ‘सिष्टेमेटिक्स् एण्ड वायोजियोग्राफी अफ बरबेरिज’ लेखका अनुसार नेपालमा बरबेरिजका २१ प्रजाति पाइन्छन् । लेखमा माहोनिया नापाउलेन्सिस् र माहोनिया एकान्थिफोलियालाई बरबेरिज समूहमा समावेश गरिएको छैन । ‘एन्जिओस्पर्म फाइलोजेनी ग्रुप्स’ (एपीजी) प्रणालीअनुसार, बरबेरिज र माहोनियालाई एकै समूह मानिएको छ । यसले हुकरले माहोनियालाई पनि बरबेरिज ठर्‍याएको कुरा सही ठहर्छ । यसलाई पछ्याउने हो भने माहोनिया एकान्थिफोलिया र माहोनिया नापाउलेन्सिस्लाई अब बरबेरिज एकान्थिफोलिया र बरबेरिज नापाउलेन्सिस् भन्नुपर्ने हुन्छ ।

तर, वनस्पतिविद् डा. केशवराज राजभण्डारीको बुझइ भने भिन्न छ । राजभण्डारी र संजीवकुमार राई लिखित ह्यान्ड बूक अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल (खण्ड–१) पुस्तकमा माहोनिया नापाउलेन्सिस् र माहोनिया एकान्थिफोलिया भनेको ‘बरबेरिज नापाउलेन्सिस्’ नै भएको ठोकुवा गरिएको छ ।

जमाने मान्द्रोको समूह माहोनिया होइन, बरबेरिज हो भन्ने प्रमाणित भइसकेकै छ । तर, माहोनिया नापाउलेन्सिस् र माहोनिया एकान्थिफोलिया छुट्टाछुट्टै नभई एउटै ‘बरबेरिज नापाउलेन्सिस्’ नै हो भन्ने तर्कले वनस्पतिविद्लाई थप अध्ययनको बाटो खोलिदिएको छ ।

comments powered by Disqus

रमझम