६-१२ फागुन २०७४ | 18-24 Febrauary 2018

बाधक बन्दै ‘ब्यूरोक्रेसी’

Share:
  
- मुकेश पोखरेल
स्थानीय तहमा कर्मचारी अभाव भइरहेका बेला समायोजनका नाममा निजामती सेवामा ल्याइएको स्वेच्छिक अवकाश योजनाले संघीयता कार्यान्वयनलाई कठिन बनाउने देखिएको छ।

भानु भट्टराई
सरकारले ५० वर्ष पुगेका र निवृत्तिभरण पाउने अवस्थाका कर्मचारीका लागि २८ पुस २०७४ मा राजपत्रमा सूचना प्रकाशित गरेर स्वेच्छिक अवकाशको निवेदन माग गर्‍यो । त्यस अनुसार २८ माघसम्ममा १ हजार ३०० कर्मचारीले निवेदन दिएका छन् । यी स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारी हुन् ।

स्थानीय तह र प्रदेशमा खटाइएका कर्मचारी कार्य क्षेत्रमा नगएर सेवा प्रभावित भएको बेला सरकारले स्वेच्छिक अवकाशको योजना ल्याएको हो । निजामती क्षेत्रका विज्ञहरू सरकारले खटाएको ठाउँमा काम गर्ने प्रतिबद्धता जनाएर सेवा प्रवेश गरेका कर्मचारीलाई स्वेच्छिक अवकाशको अवसर दिनुलाई अनुचित भन्छन् । सामान्य प्रशासन मन्त्रालयका पूर्व सचिव पूर्णचन्द्र भट्टराई राज्यले दिएको जिम्मेवारी पूरा गर्ने कसम खाएर सेवा प्रवेश गरेका कर्मचारीले खटाएको ठाउँमा जान्न भन्न नै नमिल्ने बताउँछन् । उनको भनाइमा, समायोजनमा नजाने कर्मचारीका लागि विकल्प ल्याउनुहुँदैनथ्यो ।

स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेल केन्द्रले समयमै कर्मचारी व्यवस्थापन सम्बन्धी ऐन–नियम बनाएर कार्यक्षेत्रमा नखटाउँदा अहिले समस्या देखिएको बताउँछन् । उनी स्वेच्छिक अवकाश योजनाले क्षमतावान् कर्मचारी बाहिरिएर सेवा प्रवाहमा अझ् असर पर्ने खतरा पनि देख्छन् । अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाल भने स्वेच्छिक अवकाश योजनाले ऊर्जावान् नयाँ पिंढीलाई निजामती सेवामा प्रवेश गराउने बताउँछन् । तर, सरकारले यो योजनाबाट विदा गर्न खोजेको भन्दा क्षमतायुक्त कर्मचारी बाहिरिने संभावना धेरै छ । पूर्व सामान्य प्रशासन सचिव भट्टराई पनि अन्य क्षेत्रमा बिक्नेहरू बाहिरिने र त्यो सम्भावना नभएका, कुर्सीमा टाँसिएर खाने बानी परेकाहरू रहने खतरा देख्छन् ।

काठमाडौंमा बसेर काम गरिरहेका कर्मचारीहरू स्थानीय तहमा सरुवा भइसक्दा पनि गइरहेका छैनन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार, गत असोजयता १० हजार कर्मचारीको सरुवा भएकोमा आधा पनि खटाएको ठाउँमा गएका छैनन् । निजामती सेवा ऐनको दफा ६१ (च) मा आफ्नो पदको जिम्मेवारी बरोबर बेवास्ता गरेमा भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सक्ने व्यवस्था छ । तर, ऐनमा भएको व्यवस्था अनुसार अहिलेसम्म कारबाहीको प्रक्रिया अघि बढाइएको छैन । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपाने, कारबाहीको शुरूआत सम्बन्धित कार्यालयले गर्नुपर्ने बताउँछन् । “सम्बन्धित कार्यालयका प्रमुखले कारबाही गर्नुपर्दछ, हामीले खटाएको ठाउँमा जानलाई ताकेता मात्र गर्ने हो”, न्यौपाने भन्छन् ।

“सरकारले आफैं कर्मचारी नपठाउने र भर्ना गर्न अनुमति पनि दिन नखोजेको देखियो।”

बालानन्द पौडेल

अध्यक्ष, स्थानीय तह

पुनर्संरचना आयोग

सरकारलाई व्ययभार

संघीय संरचनामा राज्यका सेवाहरू तहगत बाँडफाँड भएपछि कर्मचारीलाई पनि सोही अनुसार खटाउनुपर्ने हो, तर स्वेच्छिक अवकाश योजना ल्याइयो । २२ हजार ८२२ कर्मचारी स्वेच्छिक अवकाश योजनाको केन्द्रमा पर्छन् । उनीहरू सबैले अवकाश रोजे भने बढीमा ७ वर्षसम्मको पेन्सन एकमुष्ट दिनुपर्ने हुन्छ । सबैले अवकाश रोजे भने एकमुष्ट रकम दिन नसकिने र दिए अर्थतन्त्र जोखिममा पर्ने अर्थ मन्त्रालयले जनाएको छ । स्वेच्छिक अवकाश योजनाले लक्षित गरेको २२ हजार ८२२ कर्मचारीले अवकाश रोजे राज्यलाई एकै पटक रु.६७ अर्ब ४० करोडको व्ययभार थपिन्छ ।

अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाल अर्थतन्त्रले धान्न नसक्ने स्थितिमा स्वेच्छिक अवकाशबारे पुनर्विचार गर्न सकिने बताउँछन् । निवेदन माग्दैमा केही नबिग्रेको बरु यसबाट कति कर्मचारी स्वेच्छिक अवकाशमा जान तयार छन् भन्ने बुझन सजिलो हुने उनको भनाइ छ । दाहाल भन्छन्, “अर्थतन्त्रले धान्न नसक्ने अवस्था आए अरू विकल्प खोज्न सकिन्छ ।”

अर्थ मन्त्रालयको सहमतिमै यो ऐन बनेको दाहालले बताए । गत असारमा अवकाश पाएका सचिव भट्टराई भने यो ऐनको मस्यौदा विधेयकमा स्वेच्छिक अवकाशको प्रावधान नरहेको र अर्थले सहमति पनि नजनाएको बताउँछन् । उनका अनुसार, विधेयक संसद्को राज्यव्यवस्था समितिमा पुगेपछि कर्मचारी यूनियनको दबाबमा यो प्रावधान थपिएको हो । निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियनका केन्द्रीय उपाध्यक्ष भोला पोखरेल समायोजनमा जान नचाहने कर्मचारीलाई एकमुष्ट रकम दिएर विदा गर्ने विश्वव्यापी चलन रहेको दावी गर्छन् ।

“अर्थतन्त्रले धान्न नसक्ने स्थितिमा स्वेच्छिक अवकाशबारे पुनर्विचार गर्न सकिन्छ ।”

काशीराज दाहाल

अध्यक्ष, संघीय प्रशासनिक

पुनर्संरचना कार्यान्वयन समिति

कर्मचारी व्यवस्थापनको अलमलले स्थानीय तहको काम प्रभावित हुने देखिन्छ । सामान्य प्रशासन मन्त्रालयका पूर्व सचिव भट्टराई यो पाराले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएको साढे दुई वर्षमा पनि कर्मचारी पूर्ति नहुने बताउँछन् । समायोजन ऐन अनुसार नियमावली बनाएर, नयाँ कर्मचारी भर्ना गरेर, तालिम दिएर स्थानीय तहमा खटाउँदा निर्वाचित जनप्रतिनिधिको आधा कार्यकाल पूरा भइसकेको हुन्छ ।

एकातिर कर्मचारी समायोजन ऐन आए पनि नियमावली तयार भइसकेको छैन भने अर्कातिर स्थानीय तह गठन भएको ७ महीना पूरा भइसकेको छ । स्थानीय तहको पहिलो कार्यकाल कर्मचारीको अभावमा विना सेवा प्रवाह सकिने खतरा बढेको छ । स्थानीय तह र प्रदेशमा कति कर्मचारी चाहिन्छ भन्ने पनि यकिन गरिएको छैन । स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेल त सरकारले स्थानीय तहलाई पंगु नै बनाउन खोजेको बताउँछन् । उनी भन्छन्, “सरकारले आफैं कर्मचारी नपठाउने र भर्ना गर्न अनुमति पनि दिन नखोजेको देखियो ।”

निजामती सेवामा अहिले ८२ हजार कर्मचारी छन् । स्थानीय तह र प्रदेशमा गरी करीब २० हजार कर्मचारी अपुग हुने अनुमान छ । कुन तहमा कति कर्मचारी चाहिन्छ भन्ने अध्ययनतिर आँखा चिम्लेर ल्याइएको स्वेच्छिक अवकाश योजनामा तीन महीनापछि स्वतः अवकाश हुने कर्मचारीले पनि एकमुष्ट ७ वर्षको पेन्सन पाउँछन् । निजामती किताबखानाका अनुसार, आउँदो असारमा अनिवार्य अवकाश हुने कर्मचारीको संख्या २ हजार ७४३ छ ।

“राज्यले दिएको जिम्मेवारी पूरा गर्ने कसम खाएका कर्मचारीले खटाएको ठाउँमा जान्न भन्न मिल्दैन ।”

पूर्णचन्द्र भट्टराई

पूर्व सचिव,

सामान्य प्रशासन मन्त्रालय

दीर्घकालीन प्रभाव

जानकारहरू २२ हजार ८२२ कर्मचारीले स्वेच्छिक अवकाश रोजे भने निजामती सेवामा त्यसको दीर्घकालीन असर पर्ने बताउँछन् । हुन पनि, कर्मचारीको ठूलो अपुग संख्या विज्ञापन गरेर भर्ना गरे पनि उनीहरूको अवकाशको समय एकैपटक आउने निश्चित छ । त्यसको असर २०/२५ वर्षसम्म परिरहन्छ । अहिले प्रदेश र स्थानीय तहमा अनुभवी कर्मचारीको आवश्यकता छ ।

ठूलो संख्याका कर्मचारी एकै पटक सेवाबाट बाहिरिंदा नयाँलाई सिकाउनेहरूको समेत अभाव हुन्छ । यसले सेवा प्रवाहलाई लामो समयसम्म प्रभाव पार्न सक्छ । एकै पटक धेरै कर्मचारी भर्ना गर्दाको दुष्परिणाम अहिले शिक्षा क्षेत्रमा देखिन्छ । २०५०/५१ मा भर्ना भएका ४०० शाखा अधिकृत २०६५ सालमा २४ (घ) अन्तर्गत उप सचिवमा बढुवा भए । उनीहरूको व्यवस्थापन हुन नसक्दा अहिले जिम्मेवारीविहीन छन् ।

comments powered by Disqus

रमझम