साप्ताहिक रूपमा गरिने सीसीडी अनुपात अनुगमनलाई डा. चिरञ्जीवी नेपाल गभर्नर बनेलगत्तै दैनिक बनाइएको थियो । तर, अहिले फेरि मासिक बनाउनुको कारण भने राष्ट्र ब्यांकले दिनसकेको छैन । औचित्य पुष्टि नगरिकनै राष्ट्र ब्यांकले व्यवस्था बदल्दा नीतिगत स्थिरतामा प्रश्न उठेको जानकारहरू बताउँछन् । “ब्यांकहरू वित्तीय अनुशासनमा विचलित भइरहेका बेला थप सचेत गराउनुपर्नेमा उल्टो उनीहरूले इच्छाएकै सहुलियत दिइएको पो देखियो”, राष्ट्र ब्यांकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली भन्छन् ।
बचतकर्ता सर्वसाधारण र संस्थाहरूले मागेको बखत रकम दिनुपर्ने भएकै कारण ब्यांक तथा वित्तीय संस्थाले कुल निक्षेपको ८० प्रतिशत मात्र लगानी गर्न पाउँछन् । तर, ‘सुपर नाफा’ को लोभमा आक्रामक लगानी गरिरहेका कारण कतिपय ब्यांकहरूको सीसीडी रेसियो तोकिएभन्दा नाघेको छ । यसरी वित्तीय अनुशासन तोडिंदा ब्यांकिङ प्रणालीमा समस्या मात्र आउँदैन, सर्वसाधारणको रकमसमेत जोखिममा पर्छ । गभर्नर डा. नेपाल स्वयंले गत पुसमा सार्वजनिक कार्यक्रममार्फत निक्षेप नबढाई कर्जा विस्तार गरिरहेका ब्यांकलाई कारबाहीको चेतावनी दिएका थिए ।
यसै पनि, पछिल्लो समय ब्यांकहरूले भोगिरहेको तरलता अभावले वित्तीय असन्तुलनको जोखिम बढेको छ । विगत ६ महीनामा ब्यांकहरूमा निक्षेप ६.९ प्रतिशतले बढेको छ, जबकि ऋण लगानी ११.९ प्रतिशतले बढेको छ । ऋण ह्वारह्वार्ती दिने तर निक्षेप नथपिने भएपछि ब्याजदर उकालो मात्र लागेन, कर्जायोग्य रकम अभावका कारण बहुसंख्यक ब्यांकहरू थप लगानी गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । निक्षेप संकलनका तुलनामा कर्जाको विस्तार उच्च रहेकाले वित्तीय असन्तुलन आएको राष्ट्र ब्यांककै पुस २०७४ को ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ नामक रिपोर्टमा उल्लेख छ । तर, वित्तीय असन्तुलन नियन्त्रणमा नीतिगत पहल गर्नुको सट्टा राष्ट्र ब्यांक जोखिमयुक्त लगानी गर्ने ब्यांकहरूलाई नै प्रोत्साहित गरिरहेको छ ।
ब्यांक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त राष्ट्र ब्यांकको सीसीडी रेसियोको पछिल्लो गणना विधिलाई मध्यमार्गी भन्न रुचाउँछन् । “यसले सीसीडी रेसियो पुर्याउन दबाबमा रहेका ब्यांकहरूलाई राहत दिएको छ, तर सबै ब्यांक यस्तो दबाबमा छैनन्”, उनी भन्छन् । सानिमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भने २० प्रतिशत तरलता र अनिवार्य मौज्दात आवश्यकताभन्दा धेरै भएकाले यसलाई घटाउनुपर्ने बताउँछन् । ‘वासेल–३’ भनिने ब्यांकिङ स्थायित्व कायम गर्ने र जोखिम न्यूनीकरणको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तरलता १५ प्रतिशत हाराहारीमा मात्रै राखे पनि पुग्ने उनको तर्क छ ।
निरीह नियामक
यसको अर्थ, अब ब्यांकहरूले उत्पादनमूलक क्षेत्रको लगानी बढाउनुपर्ने बाध्यता छैन, अन्य ब्यांकले प्रवाह गरेको कर्जा खरीद गरेरै पनि यो सीमा पुर्याउन सक्नेछन् । अहिले नै अधिकांश ब्यांकले प्राथमिकताप्राप्त क्षेत्रमा तोकिएको सीमाभन्दा कम लगानी गरेका छन् । बरु, घरजग्गा, गाडी जस्ता अनुत्पादक क्षेत्रमा उनीहरूको चासो छ । अनुत्पादक क्षेत्रमा प्रवाह भइरहेको ओभरड्राफ्टसमेत कुल कर्जाको १७ प्रतिशत हाराहारीमा छ ।
ब्यांकिङ क्षेत्रको नियामकले आफ्नै पूर्व नीतिलाई लगातार फेरिरहनुले उसको अस्थिर नीतिलाई पुष्टि गर्छ । जस्तै, गत वर्षको मध्यावधि समीक्षामार्फत पनि ब्यांकले त्यसअघिको सीसीडी रेसियो गणना गर्ने विधि परिवर्तन गर्दै उत्पादनमूलक र विपन्न क्षेत्रमा गएको कर्जाको आधा रकम सीसीडी गणना गर्दा घटाउन मिल्ने प्रावधान राखेको थियो । यसले अप्रत्यक्ष रूपमा सीसीडीलाई खुकुलो पारेर ब्यांकहरूलाई कर्जा विस्तारका लागि थप प्रोत्साहित गरेको थियो ।
ब्यांकहरूले अन्तरब्यांक निक्षेप अर्थात् नक्कली निक्षेप राखेर सीसीडी रेसियो मिलान गर्दै आएको पनि राष्ट्र ब्यांकलाई थाहा नभएको होइन । यसलाई रोक्न राष्ट्र ब्यांकले एउटा वित्तीय संस्थाले अर्कोमा राखेको निक्षेप सीसीडीमा गणना गर्न नपाइने प्रावधान ल्याए पनि ब्यांकरहरूको तीव्र दबाबका कारण एक सातामै खारेज गरेको थियो । अहिले पनि करीब रु.७८ अर्ब अन्तरब्यांक सापटीका रूपमा रहेको छ । एउटै निक्षेपलाई दुई ब्यांकले आफ्नो खातामा देखाउन पाउने हुँदा अहिले रु.३९ अर्बको हाराहारीमा नक्कली निक्षेप भएको अनुमान गरिन्छ ।
वित्तीय अनुशासन नाघेका कारण तरलता संकट भोगिरहेका ब्यांकहरूलाई राष्ट्र ब्यांकले थप सहुलियत दिने नीति ल्याइरहेको छ । उदाहरणका लागि, रु.२० अर्बको पुनः कर्जा कोषको सीमा बढाएर रु.२५ अर्ब पुर्याएको छ, जसबाट गल्तीको पाठ सिक्नुपर्ने ब्यांकहरू थप प्रोत्साहित हुनेछन् । ब्यांकिङ पहुँच देशैभरि पुर्याउन उपत्यका बाहिर शाखा विस्तार गरेपछि मात्रै उपत्यकामा शाखा विस्तारमा अनुमति दिने आफ्नै व्यवस्थाबाट पछि हट्दै राष्ट्र ब्यांकले दुई महानगरबाहेक उपत्यकाका अन्य क्षेत्रमा शाखा खोल्न छूट दिएको छ ।
अदूरदर्शी नेतृत्व !
वित्तीय क्षेत्रको स्थायित्व तथा अनुशासनका लागि राष्ट्र ब्यांकले सुपरीवेक्षणका लागि विभिन्न समयमा ब्यांकमा टोली खटाउँछ, जसले वित्तीय गडबडीको जोखिम घटाउँछ । तर, अहिले यस्तो निरीक्षण ह्वात्तै घटेको छ । “सुपरीवेक्षणमा राष्ट्र ब्यांकले आँखा चिम्लिरहेको छ, यसले वित्तीय जोखिम बढाउन सघाउ पुर्याइरहेको छ”, राष्ट्र ब्यांक स्रोत भन्छ ।
ब्यांक तथा वित्तीय संस्था मर्जरको पूर्वघोषित नीतिमा पनि राष्ट्र ब्यांक असफल देखिएको छ । ब्यांकको संख्या धेरै भएकाले घटाउने र पूँजी वृद्धि गर्ने उद्देश्यले केन्द्रीय ब्यांकले २०७२/७३ को मौद्रिक नीतिमार्फत मर्जर नीति घोषणा गरेको थियो । तर, अपेक्षाकृत ब्यांक तथा वित्तीय संस्थाको संख्या घटेको छैन । मर्जरमा प्रोत्साहन वा दबाब सिर्जना गर्नुको साटो केन्द्रीय ब्यांकले ब्यांक तथा वित्तीय संस्थाका सञ्चालकहरूलाई पूँजी थप्न छूट दिएको थियो । यसले ब्यांक तथा वित्तीय संस्थाका प्रवद्र्धकलाई ऋण लिंदै हकप्रद शेयरमा लगानी गर्न प्रेरित गरेको थियो । बजारमा तरलता अभाव निरन्तर देखिनुको एउटा कारण यसलाई पनि मानिएको छ ।
पूँजी वृद्धिको नाममा मर्जरको साटो हकप्रदको बाटो रोज्दा आन्तरिक सुशासन बिग्रिएको स्वयं ब्यांकरहरू नै बताउँछन् । राष्ट्र ब्यांकका पूर्व कार्यकारी निर्देशक ज्ञवाली प्रवद्र्धकहरूले पूँजी वृद्धिको अनुपातमा नाफा पनि बढाउन खोज्दा अन्धाधुन्द लगानी भइरहेको र यसले वित्तीय जोखिम निम्त्याएको बताउँछन् । “सर्वसाधारणको रकममा व्यवसाय गर्दा अनुशासित र संवेदनशील हुनुपर्ने हो तर नाफामुखी प्रवृत्ति हावी हुँदा समस्या दिनानुदिन थपिंदो छ”, उनी भन्छन् ।
लगातार घट्दो रेमिटेन्स, भुक्तानी असन्तुलन तथा विदेशी मुद्राको सञ्चितिसमेत घटेका बेला थपिएको आन्तरिक वित्तीय अव्यवस्थाले समग्र अर्थतन्त्र नै चुनौतीपूर्ण बनेको छ । जानकारहरू, मुलुक यस्तो अवस्थामा आइपुग्नुमा नियामक राष्ट्र ब्यांक नेतृत्वको अदूरदर्शिता नै कारक ठान्छन् । “इतिहासमै केन्द्रीय ब्यांक यति निरीह र कमजोर कहिल्यै पनि थिएन” राष्ट्र ब्यांककै एक उच्च अधिकारी भन्छन्, “आँटिला निर्णय गरेर समस्या सुल्झउन सक्ने गभर्नर चाहिने बेला राष्ट्र ब्यांक नेतृत्व कमजोर देखिन्छ ।”