६-१२ फागुन २०७४ | 18-24 Febrauary 2018

पिसाब थामिंदैन ?

Share:
  
- डा. सुमनराज ताम्राकार
पिसाब थाम्न नसक्ने समस्या भएका महिलाका लागि राम्रो शल्यक्रिया सेवा उपलब्ध छ।

प्रजनन् क्षमताको उत्तराद्र्धतिर र उमेर ढल्किसकेपछि महिलाहरूमा पिसाब थाम्न नसक्ने समस्या हुन्छ । पिसाब नरोकिने भएपछि जीवनशैली दुर्गन्धपूर्ण हुने नै भयो । त्यस्ता महिलाहरू लाज, गरीबी एवं उपचार सम्बन्धी जानकारी नहुँदा पीडित भइरहेका हुन्छन् । जबकि, यसको राम्रो र सजिलो उपचार हुन्छ ।

पिसाब थाम्न नसकिने समस्यालाई स्ट्रेस इन्कन्टिनेन्स, अर्ज इन्कन्टिनेन्स र मिक्स्ड इन्कन्टिनेन्स भनेर वर्गीकरण गरिएको हुन्छ । पहिलो प्रकारको समस्याबाट प्रताडित महिलाले हाँस्दा, हाच्छिउँ गर्दा, खोक्दा र गह्रुँगो सामान उठाउँदा पिसाब थाम्न सक्दैनन् । त्यस्तै, अर्ज इन्कन्टिनेन्स भएका महिला पिसाब लागेपछि शौचालय पुग्नै भ्याउँदैनन्, बाटोमै पिसाब चुहिन्छ । कतिपय महिलामा दुवै खालको समस्या हुन्छ । त्यस्तो अवस्थालाई मिक्स्ड इन्कन्टिनेन्स भनिन्छ ।

कष्टपूर्ण प्रसवका कारण बन्ने अब्स्टेट्रिक फिस्टुला, गाइने शल्यक्रियाको क्रममा पिसाब थैलीमा चोट पुग्दा र पाठेघरको मुखको क्यान्सर पिसाब थैलीसम्म फैलिंदा पनि पिसाब नथामिने समस्या हुनसक्छ । महिलाको जननेन्द्रिय र पिसाब थैलीको अवस्थितिका कारण कष्टपूर्ण प्रसवमा पिसाब चुहिने समस्या उत्पन्न हुन बेर लाग्दैन । त्यस्तै, महीनावारी सुकेपछि इस्ट्रोजेन हर्मोनको अभाव र अधिक तरल पदार्थ सेवनले पनि पिसाब थाम्न नसकिने समस्या हुन सक्छ । पिसाब थाम्न नसक्ने समस्याले शौचालय धाइरहनुपर्ने, जता गयो उतै पिसाब गन्हाउने, आरामसँग सुत्न नपाउने वा योग, व्यायाम गर्न नपाउने अवस्थाले उत्पादनशीलता र आत्मविश्वास दुवैमा कमी ल्याउँछ ।

त्यस्तो अवस्था आउन नदिन उमेर पुगेपछि मात्र गर्भवती बन्ने, लगातार बच्चा नपाउने, तालीमप्राप्त व्यक्तिबाट मात्र सुत्केरी गराउने, समस्या आउँदा सिजेरियन अपरेशनबाट सुत्केरी गराउने, प्रसवोत्तर समयमा यथेष्ट आरामका साथै पेट र जननेन्द्रिय वरिपरिको मांसपेशी कस्ने (किगल) अभ्यास गर्नुपर्छ । महिलाको मूत्र प्रणाली र जननेन्द्रियका विभिन्न भागबीच जन्मजात वा कुनै समस्याका कारण असामान्य बाटो (मेडिकल भाषामा फिस्टुला) बन्दा योनीद्वारबाट पिसाब चुहिने समस्या हुन्छ । ०.५ देखि ३ प्रतिशत महिलामा यस्तो समस्या देखिने अनुमान छ । मूत्रनली र योनीमार्गबीच, पिसाब नली (युरेटर) र योनीमार्गबीच, मलद्वार तथा योनीमार्गबीच तथा पाठेघर र पिसाब थैलीबीच पनि फिस्टुला बन्न सक्छ । ज्यादातर फिस्टुला चाहिं महिलाको पिसाब थैली र योनीमार्गबीच बन्छ ।

विकासोन्मुख देशका पिसाब नरोकिने महिलामध्ये ८० देखि ९० प्रतिशतको समस्या प्रसूति कालसँग सम्बन्धित हुन्छ । लामो र कष्टपूर्ण सुत्केरी बेथाको क्रममा शिशुको टाउको र पुट्ठाको हड्डी बीचको पिसाब थैली लामो समय थिचिंदा रगत प्रवाहमा अवरोध भएर फिस्टुला बन्न गई पिसाब चुहिने समस्या उत्पन्न हुन्छ । सुत्केरी भएको ३ देखि ५ दिनमा यो समस्या पत्ता लाग्छ । त्यस्तै, औजार प्रयोगबाट सुत्केरी गराउँदा, फुटेको पाठेघर निकाल्ने शल्यक्रिया गर्दा र दोहोर्‍याएर सिजेरियन अपरेशन गर्ने क्रममा पनि फिस्टुला बन्न सक्छ । पिसाब चुहिने समस्याबाट ग्रस्त महिलालाई डाक्टरले सुत्केरी हुँदा र त्यसलगत्तैका कुरा विस्तृत रूपमा सोध्नुको कारण त्यही हो ।

नियमित गर्भजाँच, जोखिमपूर्ण गर्भको समयमै पहिचान, साँघुरिएको पुट्ठाको हड्डीबारे निक्र्योल, गर्भे शिशुको गलत बसाइको निक्र्योल, पहिलेको सुत्केरी कष्टपूर्ण भए÷नभएको निक्र्योल, सिजेरियन अपरेशनबाट सुत्केरी भएको वा नभएको कुराले रोकथाममा भूमिका खेल्छ । समस्या भइसकेपछि समयमै आवश्यक निर्णय लिनुपर्छ । त्यसक्रममा क्याथेटरले पिसाब निख्य्राउने, अपरेशनको क्रममा पिसाब थैलीको हेरचाह, फिस्टुलाको आकार र अवस्थिति अनुसार शल्यक्रिया गर्नुपर्छ ।

शल्यक्रियाका लागि पूर्णतया निर्मलीकृत वातावरणमा फिस्टुलाका पुराना तन्तुहरू राम्ररी हटाउने, थैलीलाई योनीमार्गबाट अलग्याउने, पिसाब थैलीमा दक्खल नपुग्ने गरी शल्यक्रिया गर्नुपर्छ । शल्यक्रियाको क्रममा पिसाब नलीलाई भर दिन सिन्थेटिक (कृत्रिम फित्ता) टेप प्रयोग गरिन्छ । शल्यक्रियापछिको हेरचाह पनि राम्रो हुनुपर्छ । क्याथेटर निकालेपछि दुई–दुई घण्टामा पिसाब गर्ने बानी बसाल्नुपर्छ । उपचारको सफलता विशेषज्ञको अनुभव र शल्यक्रियापछिको हेरचाहमा निर्भर हुन्छ ।

डिस्चार्जपछि ठीक–ठीक समयमा पिसाब गर्ने, तीन महीनासम्म यौनसम्पर्क नगर्ने, दुई वर्षसम्म गर्भवती नहुने, गर्भकालमा नियमित जाँच गराउने, सिजेरियन शल्यक्रियामार्फत अस्पतालमै सुत्केरी हुनुपर्छ । गर्भकालमा आइरन र भिटामिन लिनुपर्छ । शल्यक्रियाका बेला फिस्टुला बनेको भए मर्मतका लागि तुरुन्तै अपरेशन गर्नुपर्छ । अपरेशनपछि १० देखि १४ दिनसम्म क्याथेटर राख्नुपर्छ । क्यान्सर वा रेडियोथेरापीका कारण फिस्टुला बनेको भए वैकल्पिक पिसाब थैली बनाउनुपर्छ । फिस्टुला संक्रमित छ भने संक्रमण नियन्त्रणपछि मर्मत गर्नुपर्छ ।

comments powered by Disqus

रमझम