६-१२ फागुन २०७४ | 18-24 Febrauary 2018

अशोभनीय प्रदर्शन

Share:
  
- बसन्त महर्जन
नेपालमा विकसित धार्मिक सहिष्णुताको वातावरणले सबै पक्षबाट प्रोत्साहन पाउनुपर्छ।

बसन्त महर्जन
विश्व सम्पदा सूचीमा रहेको स्वयम्भू महाचैत्य डाँडाको पूर्वी सिंढी शुरू हुनेबित्तिकै फेदीमा देखिने तीन वटा ठूला बुद्धमूर्तिमध्ये बीचको मूर्तिको शिर २६ माघमा अचानक भाँच्चिएर भुईंमा खसेछ । स्वयम्भू व्यवस्थापन महासमितिको पूर्व स्वीकृति लिएर मूर्तिहरूमा रङ लगाउने काम हुँदै गरेको अवस्थामा त्यो मूर्तिको शिर भाग खसेको बुझ्यिो । यो घटनामा लामो समयदेखि दबाइएका र पक्षपातमा पारिएकाहरूको चोट र त्यसको मनोवैज्ञानिक असर कस्तो हुँदोरहेछ भन्ने कुराको छनक पनि पाइयो । बुद्ध मूर्तिको शिर कसैले जानीजानी गिराएको अनुमान त गरियो नै त्यसलाई ‘नियोजित तोडफोड’ समेत भनियो । धन्न, यथार्थ कुरा थाहा पाएपछि सबै साम्य भए ।

स्वयम्भू क्षेत्रमा ठूला–साना गरी ६०० भन्दा बढी बौद्ध मूर्तिहरू छन् । त्यसमध्ये पूर्वी सिंढीमा मात्र तल र माथि गरी ढुंगाका ठूल्ठूला ६ वटा बुद्ध मूर्ति रंगाएर राखिएको छ । तल सिंढीका तीनवटै मूर्ति बज्रयानी बौद्ध धर्मअन्तर्गत पञ्चध्यानी बुद्धमध्ये पूर्वी दिशाको प्रतिनिधित्व गर्ने अक्षोभ्य बुद्धका हुन् ।

यीमध्ये बीचको मूर्तिबाट शिर खसेको हो । यी मूर्तिहरू ठूल्ठूला ढुंगाहरू जोडेर बनाइएका हुन् । रंगाउनेले अडेस लाग्दा वा शरीरको भार थाम्ने गरी समाउन पुग्दा मूर्तिको शिर खसेको बुझ्न्छि । त्यस क्रममा धन्न उनी घाइते मात्र भए । भाँच्चिएर खसेको शिर पहिले सोही मूर्तिको बायाँ हातको नाडीमा बज्रेर गुल्टिंदै भुईंमा खसेको देखिन्छ । शिरको कान एउटा बिग्रेको छ ।

स्वयम्भू क्षेत्रका रंगाइएका बुद्ध मूर्तिहरूमध्येको एउटा शिरविहीन हुँदा परिदृश्य आपत्तिजनक बनेको छ । उक्त मूर्तिलाई तत्कालै कपडाले राम्रोसँग छोपिदिएको भए हुन्थ्यो, तर कामचलाउ मात्र गरिएछ । १ फागुन बिहान त्यहाँ पुग्दा बाँधिएको कपडा खुस्किएर शिरविहीन मूर्ति अशोभनीय देखिइरहेको थियो । शिरलाई यथास्थानमा राख्न केही मर्मत गर्नैपर्छ । त्यसपछि पूजाको कुरा आउला । त्यतिञ्जेलको व्यवस्थापन जसरी गर्नुपर्ने हो, त्यसमा ध्यान दिएको देखिएन ।

कुनै पनि धार्मिक स्थलमा त्यही धर्मावलम्बी मात्र आउँदैनन्, तर सबै धर्मका धार्मिक स्थलमा आ–आफ्नै नियम र मर्यादा हुन्छन् । भनेपछि, बौद्ध स्थलहरूमा अन्य धर्म मान्नेहरू पनि आउँछन्, तर तौरतरिका बौद्धको हुन्छ । त्यहाँ रहेका मूर्ति वा अन्य कुराहरूप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा बौद्ध धर्म–दर्शन, संस्कृति र परम्परामा आधारित हुन्छन् । यी कुराहरूको हेक्का नराखी आफूखुशी व्यवहार गर्दा धार्मिक वातावरणमा असर पर्न जान्छ ।

स्वयम्भू क्षेत्रमा घुम्न आउने कतिपय व्यक्ति वा समूहका व्यवहार बौद्ध जगतका लागि आपत्तिजनक हुने गरेको छ । बौद्ध मूर्तिहरूमा चढ्नु, होहल्ला गर्नु बौद्ध भावना अनुकूल होइन । बौद्धहरू त्यस्ता आपत्तिजनक दृश्यलाई अबुझ्को व्यवहार भनेर टिप्पणी नगरी बसिदिन्छन् । स्वयम्भू क्षेत्रमा ‘अबुझ्’ हरू चढ्ने मूर्तिमा बुद्धका यिनै ठूला मूर्तिहरू पर्छन् ।

स्वयम्भूमा अक्षोभ्य बुद्धको मूर्तिबाट शिर भाग खस्दा कसैले नियतवश खसालेको अनुमान गरिए जस्तो अर्को सम्प्रदायप्रति शंका गर्ने प्रवृत्ति नेपाली समाजमा पुरानै हो । हिन्दू धर्म विस्तार गर्ने क्रममा भारतबाट आएका शंकराचार्यले यहाँका बौद्ध मूर्तिहरू भत्काउन, बौद्ध ग्रन्थहरू जलाउन उक्साएको भन्ने भनाइ नेपाली बौद्ध जनजीवनमा खिल गाडिए जस्तो भएर बसेको छ । भलै, ती शंकराचार्य नेपाल आएको वा नआएको भन्ने कुरा ऐतिहासिक रूपमा पुष्टि नभएको होस् । हिन्दू धर्मसँग सम्बन्धित मूर्तिहरूमा बिगार भयो भने पनि त्यसलाई नियोजित आक्रमण भन्दै खासखुस् गर्ने चलन छ । भलै, ती मूर्तिहरू शताब्दीयौं पुराना वा बिग्रेका किन नहुन् ।

पाठ्यपुस्तक र अन्य प्रकाशनहरूमा पनि नेपाली समाजमा प्राचीनकालदेखि नै धार्मिक सहिष्णुता र सह–अस्तित्वमा रहेको भन्ने उल्लेख पाइन्छ । तर, वास्तविकता त्यही हो भनेर ढुक्क हुन सकिने अवस्था छैन । कम्तीमा इतिहासका विद्यार्थीले यस्तो भन्ने र लेख्न सक्ने अवस्था छैन । बौद्ध–हिन्दू द्वन्द्व देखाउने शिलापत्रलगायतका ऐतिहासिक सामग्रीहरू प्रशस्त छन् । हिन्दूभित्रै पनि शैव र वैष्णव मतबीचको द्वन्द्व अनन्तलिंगेश्वर मन्दिर क्षेत्रमा पाइएका ऐतिहासिक सामग्रीबाट बुझन सकिन्छ । यी दुई मतबीचको द्वन्द्व पशुपतिनाथ मन्दिर क्षेत्रमै पनि देख्न पाइन्छ ।

आधुनिक नेपालको सुखद पक्ष के छ भने, यहाँ विगतको तुलनामा वर्तमानमा धार्मिक सद्भाव बढी छ । नेपालमा चेतना वृद्धिसँगै विभिन्न धार्मिक सम्प्रदायबीच धार्मिक सहिष्णुताको विकास भएको भन्न सकिन्छ । यो वातावरणले बढावा पाउनुपर्छ भन्ने कुरामा कसैले विमति नराख्ला !

comments powered by Disqus

रमझम