६-१२ फागुन २०७४ | 18-24 Febrauary 2018

हिमाली जीवनको झल्को

Share:
  

हिमाली सघन जाडो छल्न पहाड, तराई झरेका मानिस र पशुपक्षी फेरि उकालो चढ्ने तरखर गरिरहेका छन् । अर्थात् जाडो विस्तारै कम हुँदैछ । तर, अनामनगरस्थित मण्डला थिएटरमा यो वर्षको जाडो स्मरणीय बनाउने पहल हुँदैछ । नाटक हो, कालापत्थरमाथि र यसका लेखक÷निर्देशक हुन्, प्रदीपकुमार चौधरी ।

संसारले नेपाली जाति या नेपाल देश भन्ने बित्तिकै सगरमाथा, बुद्ध, वीर गोर्खाको परिचयलाई अग्रभागमा स्मरण गर्दछ । हिमालय शृंखलाको एकतिहाइ भाग नेपालमा पर्दछ । उक्त भाग नेपालको उत्तरी सीमा पर्ने भएकाले यसलाई सिंगो नेपालीको शिर भनिएको हो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सर्वोच्च शिखर पहिलो पटक चढेर कीर्तिमान कायम गरेपछि पर्वतारोहण र पर्यटनको ढोका ह्वात्तै खुल्यो । शेर्पाहरूको जनजीवनमा साहसी पर्यटनले नयाँ गति लियो । तर पनि, त्यहाँ बसोबास गर्ने शेर्पा, भोटे, तामाङ आदि जातिको रहनसहन, संस्कृतिबारे भने तुलनात्मक रुपमा अहिले पनि चर्चा हुँदैन, जति हिमालको हुन्छ ।

अंग्रेजी साहित्यका विद्यार्थी चौधरीलाई अंग्रेजी साहित्यमा जनजीवनलाई समुदायसँग जोडेका सन्दर्भहरूले चिमोटेको रहेछ । नोवेल पुरस्कार विजेता साहित्यकार अर्नेस्ट हेमिंग्वेको उपन्यास ओल्ड मेन एण्ड द सी मा बूढो मानिसको समुद्रसँगको दैनिकी मार्मिक ढंगबाट व्याख्या गरिएको छ । त्यसो त हाम्रै सरुभक्तको उपन्यास चुली, नयनराज पाण्डेको उपन्यास सल्लीपिर ले पनि हिमाली जीवनको परिभ्रमण नगराएका होइनन् । केहीअघि शिल्पी थिएटरमा मञ्चित सरुभक्तकै नाटक भृकुटी ले पनि हिमालसँग तादात्म्यको झल्को गराएका थिए ।

निर्देशक चौधरीले कालापत्थरमाथि नाटक उधिन्दा भने राइडर्स टु दि सी नाटकलाई मानक मानेको देखिन्छ । आइरिस नाटककार जोन सिन्जेको विश्वप्रसिद्ध यो नाटकलाई त्रिभुवन विश्वविद्यालयले अंग्रेजी साहित्यको इन्टरमेडियट तहको पाठ्यक्रममा पनि समावेश गरेको छ ।

नाटकमा डोल्माका परिवारका धेरै सदस्यलाई हिमालले निलेको हुन्छ । डोल्मा चाहन्छिन्– उनको आशाको त्यान्द्रो छोरो दावाले भने हिमाल चढ्ने सपना नदेखोस् । तर दावा भन्छ– म हिमालको छोरो भएर हिमाल चढ्ने आँट गरिनँ भने मलाई अरुले गिज्याउने छन्, ललकार्ने छन् । उसका लागि हिमाल चढ्नु आत्मसम्मानसँग जोडिएको विषय हो ।

डोल्मालाई भरियाकर्मबाट आउने पैसा भन्दा छोराको जीवन अनमोल लाग्छ । तर, आफ्नी प्रेमिकालाई समेत हिमाल चढेर आएपछि बिहे गर्ने आश्वासन दिंदै दावा हिमाल यात्रामा निस्कन्छ । नाटकको कथाक्रम अगाडि बढ्छ ।

नाटकका लागि डिजाइन सेट ‘सुपर नेचुरल’ जस्तो लाग्छ । हिमाल आरोहणमा अलग अलग प्रवृत्तिका मानिस कसरी एउटै टोलीमा सहअस्तित्वको संघर्ष गर्छन् तर पनि निजात्मकता त्याग्न किन चाहँदैनन् भन्ने कुरा सजीव ढंगबाट देखाइएको छ । हिमाली जनजीवनमा धामीझाँक्रीको प्राधान्य त हुने भैहाल्यो, त्यसमा पनि निर्देशकीय छाप देख्न सकिन्छ ।

हिमाल चढ्न गएको दावा फर्किएर आउँदैन । आइपुग्छ त केवल ऊ हिमालमा विलीन भएको खबर । दावा डोल्माको सपनामा आइरहन्छ । दावाको शरीर हिउँमै पुरिएकाले अशान्त आत्माले दुःख दिइरहेको झाँक्रीको भनाइपछि डोल्मा छोराको लाश निकाल्ने संकल्प गर्छे । यतिबेला नाटकमा थप रोमाञ्चकता थपिन्छ । र, सबै आमाहरूप्रति सम्मान भाव जागेर आउँछ ।

आमाको भूमिकामा निशा पाख्रिनले न्याय गरेकी छन् । सन्तोष तामाङ (दावा), छिरिङ (प्राश्ना डंगोल), पेम्बा (पवित्रा घिमिरे) र लामाका रुपमा (बारात लिम्बू) लगायतको अभिनय देख्न सकिन्छ ।

भित्री मधेशको थारु समुदायमा जन्मिएका निर्देशक चौधरीले कालापत्थरमाथि नाटकमार्फत हिमाली जीवनको विशिष्टतासँग बाँकी नेपालीलाई साक्षात्कार गराउने लोभलाग्दो कर्म गरेका छन् । २० फागुनसम्म चल्ने यो नाटकले दर्शकलाई नयाँ स्वाद दिने पक्का छ ।

शंकर तिवारी

comments powered by Disqus

रमझम