६-१२ फागुन २०७४ | 18-24 Febrauary 2018

नेपाली पाकशिक्षा

Share:
  

त्यसो त नेपाली होम कुकिङ अफ हेल्दी लिभिङ पुस्तक चार वर्षअघि नै प्रकाशित भइसकेको रहेछ, तर केही समयअघि मात्र हात पर्‍यो । पढ्दै जाँदा बोध भयो, पुस्तकको जानकारी र ज्ञान त कहिल्यै पुरानो नहुने रहेछ । लाग्यो, ढिलै सही, धन्न पुस्तक भेटियो ।

झण्डै तीन दशक विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गरेकी शारदा ज्ञवाली र ब्राजिलकी योग प्रशिक्षक/पोषणविद् सिबेले दा माता लिखित पुस्तकमा नेपाली खानाका परिकारको पकाउने विधि आकर्षक तस्वीरसहित विस्तारमा पेश गरिएको छ । पुस्तकले घरमै भएका वस्तुहरुबाट यसअघि कहिल्यै नबनाइएको, नसोचिएको परिकारको रेसिपी हाम्रोअघि राखिदिएको छ । र, ती परिकार कति स्वस्थकर छन् र के के पोषकतत्व पाइन्छ भन्ने पनि बताएको छ ।

जस्तो कि सुप सहजैसँग हरियो तरकारी, आलुमा मिसाएर खान सकिन्छ भन्ने सबैलाई थाहै छ । तर, पुस्तकमा पुवा पकाउँदा चामलको पीठो र सुप मिलाएर कसरी पकाउने, सुपले स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे पनि वर्णन गरिएको छ । दुई चम्चा सुपमा ६.४५ क्याल्सियम, ४१ म्याग्नेसियम र ३.८५ लौहतत्व हुन्छ, सुपलाई धेरै पकाउनुहुँदैन, अलिकता भुटेर खाना पाकेपछि मात्र हालेर चलाउनु पर्छ, सुत्केरीलाई दिंदा दूध बढी आउँछ जस्ता जानकारी पुस्तकमा समावेश छन् ।

पुस्तक नेपाली होम कुकिङ अफ हेल्दी लिभिङ

लेखक शारदा ज्ञवाली र सिबेले दा माता

प्रकाशक एक्सलिब्रिस

पृष्ठ २१५+१३,

मूल्य ५२.४१ डलर

शाकाहारी खाना, यो पुस्तकको अर्को विशेषता हो । पुस्तक मांसहारी परिकारबारे मौन छ । यसले शाकाहारी खाना स्वादिष्ट हुँदैन र यस्तो खानाले शरीरमा आवश्यक पौष्टिक तत्व पुग्दैन भन्ने हल्लामा कुनै दम नभएको पुष्टि गर्छ । वास्तवमा शाकाहारी भोजन नै स्वास्थ्यको लागि अत्युत्तम भएको पुस्तकको दाबी छ ।

पुस्तकको पहिलो भाग रेसिपीले भरिएको छ जहाँ खाद्य पदार्थको नाम अनुसार परिकारमा तिनको प्रयोगबारे बताइएको छ । जस्तो; चामल, चिउरा, मकै, जौ, भटमासजस्ता अन्नबाट पहिल्यैदेखि बनाइँदै आएको र दही, अचारका नयाँ परिकारबारे पनि उल्लेख गरिएको छ । चिउराबाटै खीर, ढकनी, पुलाउ बनाउने विधिका साथै शिशु ६ महीनाको भएपछि कसरी चिउराको धूलो बनाएर, दूध हालेर ख्वाउन सकिन्छ भन्ने पनि सिकाइएको छ ।

पहेंलो, कालो दाल कसरी पकाउने, कसरी झाने स्वादमा फरक पर्छ, झान्ने जिम्बुमा के कस्ता औषधीय तत्व पाइन्छ ? मुगी, चना, केराउ, राजमा, मासलगायतका दलहनमा टुसा उमारेर (क्वाँटी) खाँदा कस्तो फाइदा हुन्छ, कसरी टुसा उमार्ने भन्ने समेत थाहा पाइन्छ । नेवारी लोकप्रिय खाजा मुगी र मासको बारा कसरी पकाउने, यसको सांस्कृतिक, धार्मिक महत्व र पकाउने विधिसमेत पुस्तकमा उल्लेख गरिएको छ । क्वाँटीसँग जोडिएको संस्कृति र त्यसको पौष्टिकताबारे पनि जानकारी दिइएको छ ।

मासुजत्तिकै पौष्टिक मानिने भटमासको नेपाली भान्सामा विशेष स्थान छ । साँधेको भटमासमा अदुवा र लसुन हालेपछि यसको पौष्टिकता झन् बढ्छ । भटमासको तोफु महीनावारीमा खानु झनै उपयुक्त मानिन्छ । तोफुमा पाइने क्याल्सियमले हड्डी बलियो बनाउन मद्दत गर्दछ । भटमास भिजाएर टुसा उमारेपछि भिटामिन सी पैदा हुन्छ र यो मधुमेहका बिरामीका लागि लाभदायक हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । जोगीभात र जोगी तरकारीबारे पनि कमैलाई थाहा होला । सुन्दा नमीठोजस्तो लागे पनि पुस्तकको रेसिपी पछ्याउने हो भने स्वादिष्ट हुने रहेछ । आचारसँग खाँदा झनै मीठो ∕तरुल, पिंडालु र सखरखण्ड प्रायः पर्व विशेषमा खाइने पदार्थ हुन् ।

१०० ग्राम तरुलमा ११८ क्यालोरीसँगै पोटासियम र भिटामिन ‘ए’ समेत पाइने रहेछ । सखरखण्ड प्रायः व्रत बसेको बेला खाने गरिन्छ । शिशुलाई उसिनेर दिनु पनि स्वस्थकर मानिन्छ । यसबाट खीर पनि बनाउन सकिने रहेछ ।

तराईमा पर्याप्त प्रयोग गरिने जौको सातु, बनाउने र खाने विधि मात्र होइन, जौसँग अक्षय तृतीयाको सम्बन्धबारे पनि पुस्तकले बताउँछ । रेसादार र विभिन्न सूक्ष्म पोषकतत्व हुने भएकाले जौबाट हर्लिक्स, बोर्नभिटा जस्ता प्याकेटका खानेकुरा बन्ने गरेका छन् ।

कोदो, फापर, मकैको रोटीको फाइदाबारे लेखकका भनाइ पढ्ने हो भने नखानेहरुको पनि मन बदलिन सक्छ । महँगो ‘कर्न फ्लेक्स’ किनेर खानेहरु च्याँख्लाको पुलाउ र खिचडी बनाउने सहज विधि सिक्छन् । मकैमा पाइने लौह, प्रोटिन र बोसोबारे पनि जानकारी पाइन्छ ।

छठको बेला तराईमा खाइने ठेकुवामा पाइने तत्वबारे जानेपछि अन्य भेगका मानिस पनि पक्कै लोभिनेछन् । गहुँ, चिनी, घिउ, केरा, काजु, बदाम, पेस्ता आदि हालेर बनाइने ठेकुवामा पौष्टिक तत्व त हुन्छ नै, तेलमा तारेकाले लामो समयसम्म बिग्रिंदैन पनि ।

पुस्तकले सातामा एक–दुई दिन क्वाँटी खाने बानी बसाले रक्तअल्पता घटाउन मद्दत गर्न सक्ने, खानेकुरामा थोरै अमिलो हाले शरीरले लौह तत्व शोषण गर्ने जस्ता चिकित्सकीय सल्लाह पनि पाइन्छ ।

किताबमा बाबरीको सर्बत, मकैको भिन्दै परिकार फाँडो; दही, बेसन र फापरको कढी; आलुको चुकौनी, आलसको छोप जस्ता स्वादिष्ट र स्वस्थकर खाना कसरी बनाउने भन्ने ज्ञानको साथै भान्सामा प्रयोग गरिने मसलाहरुमा पाइने पोषणबारे पनि थुप्रै उपयोगी सामग्री दिइएको छ । सौन्दर्य र शारीरिक रुपमा ‘फिट’ रहन उपसंहारमा दिइएको सुझावले पुस्तकको सान्दर्भिकता अझ बढाएको छ ।

नेपाली खान्कीबारे विदेशीलाई बुझाउने उद्देश्यले लेखिएको यो पुस्तक आफ्नो लक्ष्यमा सफल देखिन्छ । तर, सँगसँगै पुस्तकले आधुनिकताका नाममा आफ्नै परम्परागत परिकार बिर्सन थालेका नेपालीलाई पनि झक्झक्याएको छ । यस्ता पुस्तक नेपालीमै भइदिए झन् कति उत्तम हुनेथियो होला ।

अरुणा उप्रेती

comments powered by Disqus

रमझम