६-१२ फागुन २०७४ | 18-24 Febrauary 2018

बोक्रे सल्लो

Share:
  
- कमल मादेन
हिमाली क्षेत्रको साल मानिने ल्यारिक्स ग्रिफिथियना प्रजातिको बोक्रे सल्लो नेपालमा हेलामा परेको छ।

कमल मादेन
नेपालमा बाहिरबाटै बीउ देखिने वनस्पति समूह जिम्नोस्पर्मस् का ३३ प्रजाति पाइने जानकारी छ । वनस्पति विभागद्वारा प्रकाशित क्याटलग अफ फ्लावरिङ प्लान्टस– खण्ड १ का अनुसार तीमध्येको एक ल्यारिक्स ग्रिफिथियना प्रजातिलाई हिमाली भेगका बासिन्दाले बोक्रे सल्लो र लेक सल्लो भन्छन् ।

यो प्रजाति पूर्वी नेपाल, भूटान, सिक्किम, अरुणाञ्चल प्रदेश र तिब्बत, सिक्किम तथा भूटानबीचको चुम्बी उपत्यकामा पाइन्छ । नेपालमा केही दशकदेखि वनस्पतिशास्त्रअन्तर्गत स्नातक र स्नातकोत्तर तहका विद्यार्थीले ल्यारिक्स ग्रिफिथियना पढिरहेका छन्, तर यो प्रजाति पाइने ठाउँहरूको स्थलगत अवलोकन दुई–चार जना मात्र वनस्पतिविज्ञले गरेको अभिलेखहरूबाट थाहा पाइन्छ । त्यसैले वनस्पति विज्ञानमा चाख राख्नेहरूमा यो सल्लोप्रति ठूलै जिज्ञासा रहेको पाइन्छ ।

इतिहासदेखि युम्थाङ उपत्यकासम्म

बेलायतका जेडी हूकरले सर्वप्रथम सन् १८४८ मा नेपालको ताप्लेजुङबाट यो सल्लोको नमूना संकलन गरेका थिए । उनले अध्ययनक्रममा विश्वको निम्ति नयाँ पाएको यो प्रजातिको नामकरण वनस्पतिविज्ञ विलियम ग्रिफिथको सम्झ्नामा ल्यारिक्स ग्रिफिथी भनेर गरे, जसलाई अचेल ल्यारिक्स ग्रिफिथियना पनि भनिन्छ । हूकरपछि जेडिए स्टेटन, ग्रे विल्सन, एस नोसियो र नरेश थापाको छुट्टाछुट्टै समूहले क्रमशः सन् १९५६, १९८९, १९९२ र २००१ मा ताप्लेजुङको घुन्साबाट यसको नमूना संकलन गरेको विवरण भेटिन्छ ।

यसैगरी वनस्पति विभागका महानिर्देशक संजीवकुमार राईले सन् २०१२ मा घुन्सामा खिचेको ल्यारिक्स ग्रिफिथियना को तस्वीर केन्द्रीय वनस्पति विभागले सन् २०१६ मा प्रकाशन गरेको फ्रोन्टियर्स शीर्षक पुस्तकमा परेको छ ।

संसारभरका सल्लो प्रजाति अध्ययनक्रममा हंगेरीका डेन्ड्रोलोजिष्ट इष्टभेन राज २००३ मा नेपाल आएका थिए । प्रा.डा. प्रमोदकुमार झ समेत सम्मिलित राजको टोली लाङटाङ राष्ट्रिय निकुञ्जलगायतका ठाउँ पुगेर ल्यारिक्स हिमालइका लगायतका प्रजातिहरू संकलन गरेको थियो । टोलीले ल्यारिक्स ग्रिफिथियना भने कतै भेट्टाएन । उनीहरूले संकलन गरेका नमूनाहरू हाम्रो केन्द्रीय वनस्पति विभाग र हंगेरीको न्याचुरल हिष्ट्री म्युजियम, बुडापेष्टमा संग्रहित छन् ।

राजले नेपालमा ल्यारिक्स ग्रिफिथियना को विवरण संकलन गर्न २००४ मा प्रा.डा. मोहन सिवाकोटीलाई अनुरोध गरेका थिए, तर माओवादी द्वन्द्वका कारण जान सक्ने अवस्था थिएन । त्यसैले, यो पंक्तिकार समेत संलग्न प्रा.डा. सिवाकोटीको टोली २००५ फेब्रुअरीमा बेलायतको वनस्पति संग्रहालयमा पुगेर पहिले ल्यारिक्स ग्रिफिथियना संकलन गरिएको सिक्किम र भूटानका विभिन्न स्थानका टिपोटहरू लिएको थियो ।

सिक्किम राज्य सरकारले पर्यटकीय स्थलको रूपमा विकास गरेको युम्थाङ उपत्यका गान्तोकबाट १४० किलोमिटर उत्तरमा भूटानी सीमामा अवस्थित छ । त्यहाँ सल्लो र गुराँस प्रजातिको विविधता निकै भेटिन्छ । प्रा.डा. मोहन सिवाकोटी र यो पंक्तिकार २००५ मे अन्तिम साता ल्यारिक्स ग्रिफिथियना अध्ययन अनुसन्धान गर्न युम्थाङ उपत्यका पुगेको थियो ।

जेडी हूकर सिक्किम पुगेको करीब १५० वर्षपछि युम्थाङमा ल्यारिक्स ग्रिफिथियना प्रजाति अस्तित्वमा छ, छैन भन्नेमै संशय थियो । त्यहाँ जताततै सडक पुगेकाले प्राकृतिक वन मासिएकोमा कुनै शंका थिएन । पहिलो दिनको खोजतलासमा केही अत्तोपत्तो पाइएन । दोस्रो दिन भने लाचुङबाट उत्तरतर्फ लाग्दा सडक नजिकै १२ देखि १५ मिटर अग्लो अनौठो सल्लोको रूख देखियो । त्यो सल्लो नै हो भनेर तुरुन्त चिने पनि प्रजाति ठम्याउन सकिएन ।

त्यसमा हल्का रातो फूल र फूलको झुप्पामा हल्का सेता चिह्न देखिन्थ्यो । तर, हामीले बेलायतमा ल्यारिक्स ग्रिफिथियना को जे विवरण टिपेका थियौं, त्यो ठ्याक्कै मिल्न गयो । त्यो ल्यारिक्स ग्रिफिथियना नै हो भन्ने निक्र्योल भएपछि त यति खुशी भइयो कि लगातार २०–३० मिनेट त फोटो नै खिचियो । ती तस्वीरहरू २०११ मा हंगेरीको बुडापेष्टबाट प्रकाशित कोनिफर्स एराउन्ड द वर्ड, भोलम वान मा छापिएका छन् । सल्लो अध्ययन–अनुसन्धानका लागि महŒवपूर्ण यो पुस्तक नेपालीका लागि भने ‘आकाशको फल आँखातरी मर’ भएको छ– मूल्य र उपलब्धता दुवै कारणले ।

नेपालमा अलमल

कनद दास, डि चक्रवर्ती र एचभिटी कोटरको प्रसिद्ध जर्नल फाइटोट्याक्सा (जुलाई २०१५) मा ‘सुइलस अधिकारीई, अ न्यू स्पेसिस् फ्रम द सब–अल्पाइन हिमालय अफ इन्डिया एण्ड नेपाल एसोसिएटेड विथ ल्यारिक्स’ शीर्षकको लेख छापिएको छ । लेख अनुसार भारत र नेपालमा पाइने सल्लोको ल्यारिक्स ग्रिफिथियना प्रजातिमा एक प्रकारको च्याउ उमँरदो रहेछ, जसबारे २०१५ सम्म वैज्ञानिक जगत बिल्कुलै अनभिज्ञ रहेछ । लेखअनुसार, नेपालका च्याउविज्ञ डा. महेशकुमार अधिकारीले च्याउ अध्ययन–अनुसन्धानमा पुर्‍याएको योगदानको सम्मानमा उनकै सम्मानमा उक्त च्याउको नामकरण सुइलस अधिकारीई गरिएको बताइएको छ । विदेशीहरूले सिक्किम लार्कको रूखमा विश्वकै निम्ति नयाँ किसिमको च्याउ उम्रने कुरा पहिल्यै पत्ता लगाइसकेको अवस्थालाई मनन् गर्दा नेपालको वनस्पति अध्ययन–अनुसन्धानको दुरवस्था बुझ्न्छि ।

अर्को कुरा, नेपाली विद्यार्थीले ल्यारिक्स ग्रिफिथियना को अध्ययनमा अझ्ै पनि डा. तीर्थबहादुर श्रेष्ठले सन् १९९९ मा लेखेको इन्डिजिनस् जिम्नोस्पर्मस् शीर्षक लेखमा भर पर्नु परेको अवस्था पनि छँदैछ, जसमा ल्यारिक्स ग्रिफिथियना बारे जम्मा एक प्याराग्राफ उल्लेख छ । डा. श्रेष्ठले पूर्वी नेपाल, सिक्किम र भूटानमा मात्र उक्त सल्लो पाइन्छ भनेका छन् । जबकि, उक्त प्रजाति चुम्बी उपत्यकामा पनि पाइने कुरा माथि नै उल्लेख गरियो ।

डा. श्रेष्ठको लेख इन्डिजिनस् जिम्नोस्पर्मस् अनुसार, सिक्किम लार्कको हाँगा लत्रिएको (पेन्डुलस) र पात सल्लो समूहकै सेड्रस (देवदार) को जस्तो हुन्छ । यो प्रजाति गहिरा उपत्यका, चट्टानदार र घाँसे भिरालोमा पाइने लेखमा उल्लेख छ । रूख कति अग्लो, कति गोलाइको वा कुन महीनामा फुल्ने, पाक्ने भन्ने उल्लेख छैन । युम्थाङ उपत्यकाको फराकिलो र मलिलो मैदानमा भेटिएको सिक्किम लार्चका हाँगाहरू पेन्डुलस आकृतिमा थिएनन् । रूखको उँचाइ १२ देखि १५ मिटर अग्लो र मूल डाँठको गोलाइ ७० देखि ८० सेन्टिमिटरसम्म थियो । कलिलो पातको झुप्पा धागोले मूठो बेरेको जस्तो देखिन्थ्यो । फ्लोरा अफ चाइना को खण्ड अनुसार, यो सल्लोको उँचाइ २० मिटरसम्म र काठको गोलाइ ८० सेन्टिमिटरसम्म हुन्छ । त्यस्तै, फूल अप्रिल–मेमा फुल्छ भने बीउ अक्टोबरमा पाक्छ ।

तिब्बतमा बोक्रे सल्लोको काठ मूलतः घर निर्माण, फर्निचर र बारबेरमा उपयोग गरिन्छ । पछिल्लो समय रेलको लिकमा प्रयोग भइरहेको छ । यसरी प्रयोग व्यापक भएपछि यसको वृक्षरोपण पनि थालिएको छ । नेपालको हिमाली भेगमा पनि ल्यारिक्स ग्रिफिथियना को बीउ संकलन र वृक्षरोपण अत्यावश्यक भइसकेको छ । प्रदेश–१ को वन मन्त्रालयले यसमा ध्यान दिए देशलाई नै फाइदा हुनेथियो ।

comments powered by Disqus

रमझम