६-१२ फागुन २०७४ | 18-24 Febrauary 2018

बल्ल मूलबाटोमा

Share:
  
- रविन गिरी
राजनीतिक स्वार्थले शिथिल नेपाली क्रिकेट खेलाडीको अथक् मिहिनेत र ‘चमत्कार’ को चरण हुँदै विश्व क्रिकेटको मूलबाटोमा आइपुगेको छ।

तस्वीरहरूः आईसीसी
क्यानडासँगको खेलमा चामत्कारिक विजय दिलाउँदै विश्वकप छनोटमा पुर्‍याउन सफल करण केसीलाई धाप मार्दै नेपाली टोलीका सदस्यहरू ।
३ फागुनमा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगितामा उपविजेता बन्दै नेपालले दोस्रोपटक विश्वकप छनोटमा स्थान पक्का गरेको छ । २० फागुनदेखि जिम्बाबेमा शुरु हुने विश्वकप छनोटको पहिलो खेलमा नेपालले आयोजक राष्ट्रकै सामना गर्नेछ । प्रतियोगिताको ‘ग्रुप बी’ मा रहेको नेपालले त्यसपछि स्कटल्याण्ड (२४ फागुन), अफगानिस्तान (२६ फागुन), हङकङ (२८ फागुन) सँग भिड्नेछ ।

आफ्नो समूहबाट उत्कृष्ट थ्रीमा छानिए नेपालले ‘ग्रुप ए’ मा रहेका वेष्टइन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड्स, पपुवान्युगिनी र युनाइटेड अरब इमिरेट्स (युएई) बाट छानिएका तीन देशसँग सुपरसिक्सका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल पुग्नसके नेपालले सन् २०१९ मा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता खेल्नेछ ।

सर्सती हेर्दा डिभिजन–२ मा उपविजेता बन्नुको उपलब्धि विश्वकप छनोटको यात्रा नै हो । तर, नेपालका लागि अहिल्यै विश्वकप पुग्ने कुरा ‘मीठो सपनासँग साक्षात्कार’ गर्नु मात्र हो । त्यसैले पनि यो जितको अर्थ यत्तिमै सकिंदैन ।

“यो जित विश्वकप खेल्नेतर्फको महत्वपूर्ण पाइला भने हो” राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास भन्छन्, “त्यसका लागि हामी पहिले त एकदिवसीय टोलीमा पर्नुपर्‍यो, जितले हामीलाई त्यतातिर डोर्‍याएको छ ।”

सर्वाधिक १७ विकेटका साथ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएका सन्दिप लामिछाने ।
नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकप छनोट खेल्ने अवसर पाएको थियो । तर, बिर्सनलायक प्रदर्शनले नेपालको डिभिजन–२ मा घटुवा भयो । तर, आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (सन् २०१५–१७) ले नेपाललाई पुनः आफूलाई प्रमाणित गर्ने मौका प्रदान गर्‍यो । अफगानिस्तान र आयरल्याण्डले एक दिवसीय राष्ट्रको हैसियत पाएपछि नेपाल र केन्याले डिभिजन–१ मा उक्लने मौका पाए । यो प्रतियोगिता जितेको भए नेपालले सोझै विश्वकप छनोट खेल्न पाउँथ्यो । तर, आठ देशबीचको स्पर्धामा नेपाल सातौं बन्यो र फेरि पनि मौका चुकायो । नेदरल्याण्ड्स विजेता बन्यो ।

अब भने यो इतिहास बनेको छ । डिभिजन–२ का उपविजेतासँगै नेपाल फेरि सन् २०१४ कै अवस्थामा आइपुगेको छ । र, विश्वकप छनोट खेल्दैछ ।

एकदिवसीय लक्ष्य

विश्वकप छनोटमा सहभागी १० टीममध्ये आईसीसी वरियतामा नेपाल सबैभन्दा तल छ । तुलनात्मक रुपमा कमजोर भए पनि यो प्रतियोगिताले नेपाललाई विश्वकप खेलिसकेका अनुभवी देशबाट सिक्न र आत्मविश्वास बढाउन महत्वपूर्ण सघाउ पुर्‍याउनेछ ।

त्यति मात्र होइन, आईसीसीका एसोसिएट तथा एफिलिएटेड (टेष्ट मान्यताप्राप्त बाहेक) नेदरल्याण्ड्स, स्कटल्याण्ड, हङकङ, युएई र पपुवान्युगिनीमा उत्कृष्ट चारमा पर्न सके डिभिजन–१ को हैसियत त कायम रहन्छ नै एकदिवसीयसहित विश्व क्रिकेट लिग र इन्टरकन्टिनेन्टल कपको ढोका पनि खुल्नेछ । दुईदेखि चार वर्षको यो समयावधिमा आईसीसीले आयोजना गर्ने अन्य प्रतियोगितामा पनि नेपालले सहभागिता पाउनेछ । त्यसो त राष्ट्रिय टोलीको सफलतासँगै घरेलु क्रिकेटमा पनि बेग्लै माहोल बन्ने पक्का छ ।

“अहिलेसम्म नेपाली क्रिकेटले हासिल गरेको यो सबैभन्दा ठूलो उपलब्धि हो, बल्ल हामी विश्व क्रिकेटको बाटोमा आइपुगेका छौं”, नेपाल क्रिकेट संघ (क्यान) की पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे भन्छिन् । टेष्ट खेलिरहेका देशहरूसँगको यस्तो भेट आफैंमा अद्भुत हुने बताउँदै उनी अहिलेको स्थान जोगाउनु मुख्य चुनौती भएको बताउँछिन् ।

एक शतकसहित प्रतियोगितामा सर्वाधिक २४१ रन बनाएका कप्तान पारस खड्का ।
पूर्वकप्तान दास नेपाली क्रिकेटका लागि एकपटक फेरि सुनौलो अवसर आएको र यसलाई सदुपयोग गर्नुको विकल्प नभएको बताउँछन् । “कठोर परिश्रमले नेपाली क्रिकेटले आजको दिन देख्न पाएको छ, पाएका उपलब्धिलाई जसरी पनि सँगालेर राख्नुपर्छ”, उनी भन्छन् । तर, यसका लागि प्रदर्शनमा एकरुपता ल्याउनुपर्ने उनको भनाइ छ । “त्यसो गर्न खेलाडीले क्रिकेटमै ‘करिअर’ बनाउने सम्भावना देख्ने दिन आउनुपर्छ”, दास भन्छन् ।

र, त्यो ‘मिराकल’

२ फागुनमा क्यानडासँगको खेल नेपालका लागि ‘गर या मर’ थियो– जिते विश्वकप छनोट खेल्ने, हारे निराशा बोकेर फर्कने । डिभिजन–३ बाट भर्खरै उक्लिएको तर खेल हुँदाताका लिग चरणको शीर्षमा रहेको क्यानडाले ८ विकेटको क्षतिमा १९४ रनको सामान्य स्कोर बनायो ।

तर, नेपालका लागि त्यही रन असामान्य भइदियो । ४२.१ ओभरमा नवौं विकेटका रूपमा आरिफ शेख आउट हुँदा नेपालको स्कोर १४४ रन मात्र थियो । ५७ बलको सामना गरेर २६ रनको महत्वपूर्ण रन बनाएका आरिफलाई आउट गर्दा क्यानडाका खेलाडीहरूले विजयी भइसके झैं उत्सव मनाए । स्वाभाविक थियो, नेपाललाई जितका लागि ४७ बलमा ५१ रन चाहिएको थियो, क्रिजमा थिए दुई बलर करण केसी र सन्दिप लामिछाने ।

आरिफ पेभेलियन फर्किएसँगै ब्याटिङको अर्को इन्डमा रहेका केसी थोरै विचलित देखिए । तर, ४३.४ ओभरमा पहिलो चौकासँगै उनी सम्हालिए । सोही ओभरको अन्तिम बलमा छक्का हानेपछि भने मानौं उनी बौरिए । त्यसपछि जे भयो, त्यो विश्व क्रिकेटकै लागि मिराकल अर्थात् चमत्कार बन्यो । र, त्यसैको बलमा आज नेपालीले खुशी हुनुपर्ने अर्को कारण भेटे ।

ब्याटिङमा १० नम्बरमा आएका करणले ३१ बलमा ४२ रन बनाए । क्यानडालाई रुवाए । अन्तिम विकेटको सनसनीपूर्ण जितले नेपाली क्रिकेटलाई अर्को चर्चा दिलायो, केसीलाई नायक बनायो ।

‘पोष्ट म्याच प्रेजेन्टेसन’ मा म्याच रेफ्री देव गोविन्दजीले भने– यदि तपाईं चमत्कारमा विश्वास गर्नुहुन्नथ्यो भने, आजदेखि गर्न थाल्नुहुनेछ । करण स्वयंले पनि यसलाई ‘सपनाजस्तो’ भएको बताए । कप्तान पारस खड्काले “चमत्कारले पनि इमानदार, कर्मनिष्ठ र दृढ संकल्पितहरूलाई मात्र साथ दिने” प्रतिक्रिया दिए ।

पूर्व कप्तान दास भने करण केसीको ब्याटिङ मात्र होइन, यस्तोबेला नेपाल विश्वकप छनोटमा पुग्नुलाई पनि चमत्कार मान्छन् । “जहाँ क्यान निलम्बित छ, क्रिकेटका आधारभूत संरचना छैन, तयारी छैन यस्तोबेला यो नतिजा ‘मिराकल’ भन्दा फरक होइन”, उनको भनाइ छ । उनी यो नतिजा सरकारी संयन्त्रको भरमा नभई खेलाडी र प्रशिक्षकको अथक् परिश्रम, धैर्य, क्रिकेटलाई माया गर्नेहरूको बलमा सम्भव भएको बताउँछन् । “हिजो जे जस्तो बिगार भयो, भयो अब पाठ सिकेर अघि बढ्न सकियो भने मात्र पनि फड्को मार्न सकिन्छ”, उनी भन्छन् ।

क्यानकी पूर्व सिईओ घिमिरे नयाँ उँचाइमा पुगेको क्रिकेट विकासमा नयाँ सरकारबाट धेरै आशा गरेको बताउँछिन् । ओलम्पिक प्रतियोगितामा पनि क्रिकेटको प्रवेशले रोमाञ्चकता थपेको बताउँदै उनी भन्छिन्, “थोरै मात्र गम्भीर हुने हो भने पनि महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ, केही गर्न ढिला हुँदै गएको छ ।”

क्यानडालाई हराएलगत्तै राति ९:५८ मा नेपाली टोलीलाई ट्विटमार्फत बधाई दिंदै उत्तरोत्तर प्रगतिको कामना गरेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलिपल्टै (३ फागुन) मा प्रधानमन्त्री नियुक्त भएका छन् । अब उनै ओलीको काँधमा यसको जिम्मेवारी आएको छ ।

comments powered by Disqus

रमझम