नेपाली आख्यानमा रुचि भएकी उनी पसलमै गएर छान्न समय लाग्ने हुनाले दुई वर्षयता अनलाइनबाट किताब किनिरहेको बताउँछिन् । चित्रकार भन्छिन्, “अनलाइनमा पाइने टिप्पणी वा समीक्षा पढेर पुराना, नयाँ वा चर्चामा रहेका पुस्तक किन्न सहज लाग्छ ।”
नयाँ पुस्तकहरू अनलाइनमा सजिलै पाइने भए पनि पुराना पुस्तकहरू खासै भेटिंदैनन् । त्यस्ता कुनै पुराना पुस्तक पढ्न मन लागे अनलाइन कारोबार गर्नेलाई फोन गरेर मगाउने गरेको मिनु बताउँछिन् । अनलाइनबाट किताबको मात्रै कारोबार गर्ने साइट पनि धेरै खुलेका छन्, जस्तो– बुकवर्म, सस्तो बुक, हिमाल बुक्स, लाईब्रेरी, किताब पसल, बाइ नेपाली बुक आदि । यसबाहेक मुन्चा, नेप्वे लगायतका स्थापित अनलाइन शपिङ पोर्टलहरूले पनि अरु सामग्रीसँगै किताब बिक्री गरिरहेका छन् । सस्तो बुक का सह–संस्थापक सोधन मानन्धर इन्टरनेटमा समय बिताउने पुस्ताले किताब किन्न अनलाइन माध्यम नै रोज्ने बताउँछन् । उनले पहिला आख्यान किताबको कारोबार बढी हुने गरेकोमा यस वर्ष ‘बिजनेश’ विषयका पुस्तक बढी बिक्री भएको अनुभव सुनाए ।
६ वर्षदेखि किताब कारोबार गरिरहेको सस्तो बुक का ग्राहक २० देखि ३५ वर्ष उमेर समूहका बढी छन् । सस्तो बुक ले नयाँ र सेकेन्ड ह्याण्ड दुवैखाले पुस्तक बिक्री गर्छ । कारोबार बढेसँगै किताबको डेलिभरीमा समस्या हुनथालेपछि दुई वर्षअघि त्यो जिम्मा अर्कै कम्पनीलाई दिइएको मानन्धर बताउँछन् । उनका अनुसार, अनलाइनबाट किताब कारोबार गर्दा ई–सेवा वा ब्यांकमार्फत वा डेलिभरीमा पैसा लिने गरिन्छ । एजुकेशनल बुक हाउस का प्रबन्धक रमन राउत अनलाइनबाट कारोबार हुन थालेपछि किताब बिक्री–वितरण बढेको बताउँछन् ।
भविष्य अनलाइनमै
बुकवर्म ले ६ वर्षअघि अनलाइन कारोबार थाल्दा दैनिक दुई–तीन प्रति किताब जाने गरेको संचालक निरज भारी सम्झन्छन् । अहिले दैनिक १० प्रतिसम्म किताब बिक्री हुने उनले बताए । बुकवर्म का सदस्य र नियमित कारोबार गर्ने ग्राहक समेत बढ्दै गएका छन् । अनलाइनमा विभिन्न स्किम सञ्चालन गर्दा कारोबार बढ्ने भारीको अनुभव छ । “अहिले नै कारोबार ह्वात्त बढेको नदेखिए पनि अबको समय अनलाइनकै हो” उनी भन्छन्, “केही वर्षभित्रै अनलाइन कारोबारको क्षेत्र धेरै फराकिलो बन्नेछ ।”
विदेशबाट समेत माग आए पनि पुस्तकको मूल्य भन्दा पठाउन लाग्ने खर्च धेरै पर्दा पठाउन नसकिएको भारी बताउँछन् । उनका अनुसार, अहिले नेपाली पुस्तक पढ्ने चलन पनि बढेको छ ।
इतिहासकार प्रत्यूष वन्त नेपाली प्रकाशकले पुस्तक प्रकाशन अघि र पछि पुस्तक प्रवद्र्धनको लागि अपनाएका गतिविधिले पाठक बढाएको बताउँछन् । प्रकाशकले पुस्तकको प्रचार–प्रसार मात्र नगरी पुस्तकलाई पाठकको पहुँचमा पुर्याउँदा नेपालीमा पढ्ने संस्कार बढेको वन्त बताउँछन् ।
अहिले पुस्तकको प्रवद्र्धनमा सामाजिक सञ्जालको पनि प्रयोग बढेको छ । किताब पढेर साथीसंगीलाई पढ्न सिफारिश गर्ने चलन पनि बसिसकेको छ । पहिले एक/दुई हजार प्रति पुस्तक बिक्री हुँदा राम्रो मानिनेमा अहिले आठ/दश हजार प्रति बिक्री नहुँदासम्म पाठकले रुचाएको नमानिने अवस्था आएको वन्त बताउँछन् ।
ई–बुकको चलन
ई–बुक पढ्न नेपालमा अमेजनको किन्डल, कोबो पनि प्रयोग हुन थालेको छ । विकसित मुलुकमा अहिले डिजिटल किताब (ई–बुक) पढ्ने प्रचलन बढ्दो छ । नेपालमा पनि केही प्रकाशकले ई–बुक बनाएर बिक्री–वितरण गर्न थालेका छन् । कथालय ले डिजिटल किताबको कारोबार गर्न ‘वी रिड’ एप सञ्चालन गरेको छ । तीन वर्षअघि शुरु भएको यो एपमा २५० भन्दा बढी किताब पढ्न पाइन्छ । मुनामदन, सिद्धार्थ, लुनी, गाईने गीत लगायतका ४० वटा पुस्तक निःशुल्क डाउनलोड गर्न सकिन्छ । बाल साहित्य प्रकाशन गर्दै आएको कथालय ले अरु १२ वटा प्रकाशनका पुस्तकलाई वी रिडमा समावेश गरेको छ ।
कथालय का आईटी प्रोजेक्ट अफिसर राजीव विष्ट नेपाल बाहिरका नेपाली पाठकलाई लक्षित गरेर एप सञ्चालन गरेको बताउँछन् । वी रिडले पुस्तक प्रकाशन भएकै फन्टमा डिजिटल कपी उपलब्ध गराउँछ । वी रिडले ओपन सोर्समा पुगेका (प्रतिलिपि अधिकार लिनुनपर्ने) किताबलाई समेत डिजिटलाइज गरेर निःशुल्क उपलब्ध गराउँदै आएको र २५ हजार प्रयोगकर्ता रहेको विष्टले बताए । उनका अनुसार, नेपाल बाहेक दुबई, जापान र अष्ट्रेलियामा यो एपका प्रयोगकर्ता धेरै छन् ।
वी रिडबाट लेखक आफैंले पनि आफ्ना डिजिटल पुस्तकहरू बिक्री–वितरण गर्न सक्छन् । ई–पब भर्सनमा उपलब्ध हुने वी रिडमा ई–बुक पढ्नको लागि इ–सेवा, पे–पलबाट शुल्क बुझाउन सकिन्छ । तर, अनलाइन पेमेन्ट सिस्टमको समस्या रहेको कथालय का आईटी प्रोजेक्ट अफिसर विष्ट बताउँछन् । “त्यही कारण कतिपय प्रकाशकले भने ई–बुकमा कारोबार गर्न नै खोजेका छैनन्” उनी भन्छन्, “धेरैभन्दा धेरै पाठकलाई पुस्तक पढ्न दिने सजिलो माध्यम चाहिं ई–बुक नै हो ।”
अमेरिकन एसोसिएसन अफ पब्लिसर्सका अनुसार, अमेरिकामा हरेक वर्ष १० करोड डलर बराबरको ई–बुक कारोबार हुन्छ । त्यस्तै, डिजिटल कारोबारको अध्ययन÷अनुसन्धान गर्दै आइरहेको संस्था नेल्शनका अनुसार अहिले विश्वको कुल पुस्तक कारोबारको करीब एक चौथाइ हिस्सा ई–बुकले लिएको छ । ई–बुकको बढ्दो कारोबारसँगै डिजिटल किताबले स्वास्थ्यमा पुर्याउने असरबारे पनि छलफल शुरु भएको छ ।