यसकारण सरकारमा

Share:
  
- विष्णु रिजाल
प्रम ओलीले मधेशकेन्द्रित दलहरूलाई सरकारमा ल्याएर भूराजनीतिक संवेदनशीलतालाई सम्बोधन गर्ने, दुईतिहाइ बहुमतको सरकार बनाएर आफ्नो अजेन्डामा हिंडाउने र आफ्नो व्यत्तिाmत्व बढाउन खोजेका छन्।

उपेन्द्र यादव ।
रात रहे पनि अग्राख पलाएन भने कम्युनिष्ट सरकारमा चैत नलाग्दै मधेशी दलहरू सामेल हुनेछन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले औपचारिक निर्णय नै गरेर सरकारमा जाने बाटो खोलेको छ । ६ वटा मधेशी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा आउन निम्तो दिएकोमा खुशी छ ।

मन्त्रालयहरूको टुंगो लागेपछि फोरमले सरकारसँग भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्नेछ । राष्ट्रपति निर्वाचनको चटारो नपरेको भए अहिलेसम्म फोरम सरकारमा आइसक्नेथियो । सरकारले फोरमसँग मात्र सहकार्य गर्न लागेकोमा असन्तुष्ट राजपालाई पनि समेट्न खोज्दा मन्त्रिपरिषद् विस्तारमा केही विलम्ब भएको छ ।

प्रधानमन्त्री ओलीले सकभर दुवै नभए एउटा मधेशी दललाई सरकारमा ल्याएर अनेक सन्देश दिन खोजेका छन् । दुईतिहाइको बलियो सरकार चलाएर आफ्नो बाटोमा आइपर्ने सबैखाले बाधालाई संवैधानिक रूपमै पन्छाउने योजनासहित ओलीले चालेका कदमहरूले नेपाली राजनीतिलाई तरंगित पारेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई भने निर्वाचनताका लचिलो सहकार्यमा रहेका मधेशी दलहरूको पछिल्लो कदमले एक्लो बनाउँदैछ ।

दुईतिहाइको सरकार

मधेशी दलहरू सहभागी नभए पनि सत्तारुढ गठबन्धनलाई सरकार बनाउन संख्या अपुग छैन । प्रतिनिधिसभामा दुई पार्टीले सरकार बनाउन आवश्यक पर्नेभन्दा बढी सिट जितेका छन् । यो अवस्थामा पनि मधेशी दलहरूलाई सरकारमा ल्याउनुको उद्देश्य दुईतिहाइको सुविधाजनक बहुमतमा पुर्‍याsउनु हो । २७५ सदस्यीय प्रतिनिधिसभामा नेकपा (एमाले) का १२१ र माओवादी केन्द्रका ५३ सांसद् छन् । त्यसमा फोरमका १६ जना थपिंदा सांसद् संख्या १९० पुगेर दुईतिहाइभन्दा बढी हुन्छ । प्रम ओली यति ठूलो बहुमत भयो भने आफूले चाहेको काम गर्न कुनै समस्या खडा हुँदैन भन्ने बुझइमा देखिन्छन् ।

पाँच वर्षमा असाधारण काम हुन्छन् भनिरहेका प्रधानमन्त्री ओलीलाई त्यस क्रममा राज्यका अरू कुनै निकायबाट आउन सक्ने अवरोध चिर्नका लागि दुईतिहाइ मत आवश्यक छ भन्ने थाहा छ । पछिल्ला दिनमा सरकारका काममा तगारो जस्तै बनिरहेको अदालत पनि यसबाट स्वतः सचेत हुन्छ । स्वच्छतापूर्वक आफ्नो मर्यादामा चल्ने अदालतलाई सबैले सम्मान गर्नुपर्छ । तर, निहित स्वार्थका लागि ठूल्ठूला आर्थिक मुद्दाहरूमा शंकास्पद निर्णय गरेर राष्ट्रलाई घाटा पार्ने प्रवृत्ति जारी रहने हो र आफ्नो व्यक्तिगत हितका लागि अदालतलाई प्रयोग गर्ने काम न्यायमूर्तिको आसनमा बसेका व्यक्तिहरूबाट जारी रहने हो भने त्यस्तो अवस्थामा महाअभियोगको अस्त्र प्रयोग अनिवार्य हुन्छ ।

संविधानको सर्वस्वीकार्यता

महन्थ ठाकुर ।
३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी भएपछिको अवस्थामा पनि मधेशलाई उपेक्षा गरिएको, संविधानमा उसको अपनत्व स्थापित नभएको जस्ता आरोपहरू निरन्तर लगाइँदै आएका छन् । मधेशी दलहरूले त्यही निहुँमा नेपालमाथि नाकाबन्दी लगाउने जस्तो आपत्तिजनक अवस्था पनि सिर्जना गरे । उनीहरूले संविधान जारी गर्न मुख्य भूमिका खेलेका दलहरूमध्ये एमाले र त्यसको नेतृत्वलाई निशाना बनाए ।

नयाँ संविधानले पहिलो पटक मधेशी समुदायलाई सुनिश्चित गरेको अधिकार, पहिचान र सम्मान व्यवहारमा थाहा पाउन तीनवटै तहको निर्वाचनसम्म कुर्नुपर्‍यो । मधेशी दलहरूले यो संविधानअन्तर्गत भएको निर्वाचनमा भाग लिएर आफ्नो सामथ्र्य जनतासमक्ष परीक्षण गर्न पाए । अघिल्लो निर्वाचनमा पराजित नेताहरूले पनि यसपटक जनअनुमोदित हुन पाए । यसबाट संविधानको सर्वस्वीकार्यता पुष्टि भएको छ । प्रम ओली संविधानको यो सर्वस्वीकार्यतालाई व्यवहारमा कार्यान्वयन गर्न चाहन्छन् । हिजो संविधानको विपक्षमा रहेर आज त्यही संविधानप्रति शपथ लिंदै संसद् प्रवेश गरेकाहरूलाई सरकारमा समावेश गरेर आफूलाई संविधान कार्यान्वयनको नेताका रूपमा स्थापित गराउन लागेका छन् । मधेशी दलहरूप्रति उनले प्रदर्शन गरिरहेको अतिरिक्त प्रेमको निहितार्थ त्यही देखिन्छ ।

छिमेक सम्बन्धको आयाम

३ फागुनमा केपी ओलीले प्रधानमन्त्रीको शपथ लिएलगत्तै भेटिएका एक कूटनीतिज्ञले सोधेका थिए, “उपेन्द्र यादव सरकारमा कहिले सहभागी हुन्छन् ?” त्यसबेला यादव सरकारमा जाने वातावरण बनिसकेको थिएन । “केही समय लाग्ला, तर यसपटक परराष्ट्र चाहिं लिंदैनन् होला” नेपाली राजनीतिका अन्तरकुन्तर बुझेका ती कूटनीतिज्ञले आफैं उत्तर दिए, “दुई मन्त्रालयमा कुरा मिल्ला कि !” नभन्दै परिस्थिति त्यस्तै देखिएको छ ।

गत वर्ष एउटै राजपा नबनाएको भए यस पटकको निर्वाचनमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरद्सिंह भण्डारी, अनिल झ, राजकिशोर यादव, महेन्द्र यादव कोही पनि केन्द्रीय राजनीतिमा नरहन सक्दथ्यो । थ्रेसहोल्डका कारण उनीहरू प्रदेश–२ को सामान्य दलमा सीमित हुनेथिए । एकताले उनीहरूलाई उठाइदिएको छ, तर राजपाको भविष्यबारे सम्बन्धित पक्षहरू नै विश्वस्त छैनन् ।

ठाकुरको व्यक्तित्वबाहेक राजनीति गर्नका लागि त्यस पार्टीसँग अरू चिज नदेखिंदा छिमेकको सद्भाव उपेन्द्र यादवतिर गएको छ । पटक–पटक पार्टी विभाजन हुँदा र करीब–करीब एक्लै रहँदा पनि मधेशको राजनीति थेगेको र नेताका रूपमा स्थापित भएको बुझइका कारण देश भित्र–बाहिरबाट यादवले महŒव पाउने अवस्था सिर्जना भएको छ । यो परिस्थितिलाई उपयोग गर्दै सरकारमा जान उनलाई सल्लाह प्राप्त भइरहेको हुनुपर्छ । उपेन्द्र यादवको सरकारमा जाने चाहनाका पछाडि भूराजनीतिक चासोले पनि काम गरेको छ ।

सबैलाई थाहा छ, प्रम ओली यो कार्यकालमा दक्षिणी छिमेकीसँग सुमधुर सम्बन्ध राख्न चाहन्छन् । प्रधानमन्त्री नहुँदै उनले दिएको निम्तोमा विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँग बारम्बार टेलिफोन सम्वाद, राजदूत मञ्जीवसिंह पुरीले गरेको लगातार भेट त्यसैका संकेतहरू हुन् । छिमेकको नेतृत्वसँग उच्चस्तरको समझ्दारी गरेर अघि बढ्ने तयारीमा प्रम ओलीले कुनै कमजोरी गरेका छैनन् । त्यसका लागि औपचारिक, अनौपचारिक सबै खाले सूत्रहरू परिचालन भइरहेको छ । भारतले भन्दै आएको संविधान संशोधनलाई कुनै न कुनै रूपमा सम्बोधन गरेर सम्भावित सबै खालको अवरोध रोक्ने प्रम ओलीको नीतिले पनि मधेशी दलहरूलाई सरकारमा आउन बाटो सजिलो बनाएको छ ।

मधेशविरोधी भ्रम निवारण

मधेशमा एमाले कमजोर छ । हालैको निर्वाचनमा देशभर सफलता हात पर्दा पनि मधेशमा अपेक्षित प्रदर्शन गर्न सकेन । यसमा एमाले ‘मधेश विरोधी’ भएको आरोपले काम गरेको छ । मधेशकेन्द्रित दलहरूबाट समयमै स्थानीय तह निर्वाचन हुन नदिनेदेखि मधेशमा एमालेलाई निषेध गर्नेसम्मका गतिविधि भए ।

गत वर्ष सप्तरीको मलेठमा आयोजित एमालेको आम सभामा आक्रमण गर्ने÷गराउने क्रममा निर्दोष नागरिकले ज्यानसमेत गुमाए । त्यसपछि एमालेले बीचको भाग छाडेर हेटौंडाबाट कार्यक्रम शुरू गर्नुपरेको थियो । मधेशी दलहरूले व्यक्तिगत रूपमा एमालेका अध्यक्ष ओलीलाई मुख्य निशाना बनाउँदै आएका छन् । मधेशी नेताहरूले भने अनुसार संविधान संशोधन गर्न सकिंदैन भन्ने अडान राखेका कारण ओली बढी आलोचनामा पर्दै आएका हुन् । त्यसले उनलाई घोचिरहेको छ । अघिल्लो कार्यकालमा तराई–मधेशमा पहिलेभन्दा धेरै बजेट छुट्याएका प्रम ओलीले यस पटक मधेशी दलहरूलाई सरकारमै राखेर त्यस आरोपको जवाफ दिन चाहेका छन् ।

मधेशी दलहरूलाई सरकारमा ल्याएपछि प्रम ओलीको राजनीतिक उदारता त प्रदर्शन हुने नै छ, व्यक्तित्व पनि बढ्ने छ । साथै, उपेन्द्र यादवका सामु पनि सरकारमा सहभागी हुनु जत्तिको उत्तम अर्को विकल्प छैन । प्रदेश–२ मा प्रतिस्पर्धी राजपाको सहयोगमा बनेको फोरम नेतृत्वको सरकार कुनै पनि दिन ढल्ने खतरा छ । त्यस बाहेक केन्द्र सरकार सहयोगी नभइदिए प्रदेशले अलग्गै केही गर्न सक्ने अवस्था हुदैन । अहिलेसम्म अधिकारको लडाइँ भन्दै राजनीति थेगेका यादवलाई ‘प्रदेश–२ को नेतृत्व गर्दा के गर्नुभयो ?’ भन्ने प्र्रश्न सोधिंदा दिने उत्तर चाहिएको छ । केन्द्रीय सरकारमा सहभागिताले त्यसमा सहजीकरण गर्छ भन्ने यादवको बुझइ देखिन्छ ।

समग्रमा, प्रम ओलीले मधेशकेन्द्रित दलहरूलाई सरकारमा ल्याएर आफ्नो राष्ट्रिय व्यक्तित्व बढाउने, भूराजनीतिक संवेदनशीलतालाई पनि सम्बोधन गर्ने र दुईतिहाइ बहुमतको सरकार हाँकेर देशलाई आफ्नो अजेन्डामा बेरोकटोक हिंडाउन खोजेका छन् । यति महत्वपूर्ण प्रयोगले नवस्थापित गणतन्त्रलाई संस्थागत गर्ने र लोकतान्त्रिक प्रणाली स्थापित हुने अपेक्षा गर्न सकिन्छ ।

comments powered by Disqus

रमझम