नबिगार्नु घरबस्ती

Share:
  
- मिलन बगाले
पुनःनिर्माण अरुको चलखेल मैदान नहोस् भन्नका लागि स्थानीय तह र प्रदेश सरकारबाहेक पीडित स्वयम् र आम सरोकारवालाले चासो राख्नैपर्छ।

हिमाल आर्काइभ
२९ साउन २०७४ को बाढीले मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–१ धनुषामा बाढीले भत्किएको घरमा चम्पादेवी माझी ।
१२ वैशाख २०७२ को महाभूकम्पबाट प्रभावित ३१ जिल्लामा यतिबेला पुनःनिर्माण महायज्ञ चलिरहेछ । बर्खाअघिको हुरीबतास र असिनापानीको याम शुरू भएकोले पनि घर बनाउने चासो बढेको छ । भूकम्प अति प्रभावित १४ जिल्लामा जस्तापाता ठोकेको आवाज बाक्लै गुञ्जन थालेको छ । कम प्रभावित १७ जिल्लामा भने पुनःनिर्माण गतिविधि अस्ति भर्खर शुरू भएकोले घडेरी खार्दै गरेका दृश्य बढी देखिन्छन् । सबै हतारो, चटारोमा छन् । नक्शा, इन्जिनियर, कर्मी र निर्माण सामग्रीको अभावमा आत्तिएका, अल्मलिएका जस्ता पनि देखिन्छन् ।

सरकार फेरिएसँगै पुनःनिर्माणका नियम, कार्यविधि, निर्देशिका र पीडितले पाउने रकमदेखि प्राधिकरण प्रमुखसम्म फेरिने शृंखलाको हावा पनि चलिरहेछ । बहालवाला प्रमुखले नयाँ प्रधानमन्त्रीलाई पत्रिकामा रंगीन शुभकामना दिएका छन् । त्यसले उनको चाहनामा रंग भर्ला या खुइल्याउला अर्कै प्रसंग भयो, तर पुनःनिर्माण चल्दै गर्दा भूकम्प प्रभावित जिल्लाहरूको रंग चाहिं खुइलिएकै छ । संरचनागत हिसाबले बलिया घर बने पनि वास्तुकलाको हिसाबले नराम्ररी खुइलिएका छन् । स्थानीय शिल्प र सामग्रीको संयोजन मासिएजस्तो भएको छ ।

पुनःनिर्माण प्राधिकरणको भूमिका संयोजनकारी हो । कामकाज गर्ने सम्बन्धित मन्त्रालय र ती अन्तर्गतका केन्द्रीय आयोजना समन्वय एकाइले हो । केही जिम्मेवारी दातृ निकाय र गैर–सरकारी संस्थाहरूले लिएका छन् । सबैको गल्ती, ढिलासुस्ती र शैलीगत त्रुटि आएर थिग्रिने प्राधिकरण आत्तिए जस्तो छ । अनि आज यति घर बने, यति बन्दैछन् भन्दै सामाजिक सञ्जालमा ग्राफको उकालो देखाउन खोजे जस्तो देखिन्छ ।

कहिलेकाहीं मात्रै बस्न जाने ‘होलिडे हाउस’ भन्न मिल्ने खेलौना घरहरूले गाउँघर भरिने क्रम जारी छ । जीवनसंस्कृति र कृषिकर्मको अन्तरसम्बन्धलाई दुईकोठे खेलौना घरले एकादेशको कथा बनाइदिएको छ ।

पुनःनिर्माण गतिविधिमा नराम्रै काम मात्र भएका छन् भन्न खोजिएको होइन । धुर्मुस–सुन्तलीहरूले जे गरे, गरिरहेका छन्; त्यसलाई पछ्याउन सकियो भने मात्र पनि समाजले अर्कै लय समात्थ्यो । उनीहरूले सीमित ज्ञान, सीमित पैसा तर असीमित ऊर्जा र इच्छाशक्तिको बलमा उदाहरणीय काम गरेका छन् ।

थुप्रै संघ–संस्था र दातृ निकायले पनि राम्रा घर, विद्यालय र अरू संरचनाहरू बनाएका छन् । तिल्मिलाएका त केही सरकारी निकाय र बडेबडे ज्ञान र बजेट भएका ठूला राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्था मात्रै हुन् । साना मान्छे र संस्थाहरूले सुन्दर गोरेटो बनाएका छन् । राजमार्ग बनाउन रहर गर्नेहरूले चाहिं कान्लो भत्काएर खनेको जनाउ दिएका छन् । तिनले बनाउने रहर नै गरेका छैनन् । उनीहरूलाई हतार छैन, प्रस्तुतिकरण र स्तुतिकरणमा कागजमा भुलेका छन् ।

पुनःनिर्माणको मेसोमा निर्माण संस्कृतिका आयामसँगै जीवनयापनको शैली खल्बलिएको छ । गाउँलेहरू भत्ताविनाको बैठकमा आउन छाडेका छन् । रक्सीको व्यापार उकालोमा छ । अर्म–पर्म, अ‍ैचो–पैंचो खुइलिएको छ । अधूरो–अपूरो तालीम पाएका निर्माणकर्मी छोइनसक्नु महँगा बनेका छन् । खेतीकिसानी गरेर खाने मान्छेलाई गिटी फोडेर, ईंटा कुटेर खाने बनाइदिएपछि के हुन्छ ? बर्खे भेलजस्तो पैसा बटुल्न सिकाएपछि भेलपछिको जिन्दगीमा झेल हुँदैन ?

कृषि गाँस जुटाउने मेलो मात्र नभई दीर्घ जीवनयापनको भरपर्दो कडी पनि हो । यसलाई झ्न् उन्नत बनाउनुको साटो अर्थोकै प्रोजेक्टमा गाउँलाई डोर्‍याउँदा जीवनचक्र खल्बलिन्छ नै । यो अत्यासलाग्दो तरंग घट्दो क्रममा गएको हो कि अति प्रभावित १४ जिल्लाबाट १७ जिल्लातिर सरेको बुझन त्यति सहज छैन ।

छायाँमा बाढीपछिको पुनःनिर्माण

पत्रपत्रिका, नेताका भाषण, सामाजिक सञ्जाल सबैतिर बाढीले बढारेको मधेशको पुनःनिर्माणको चर्चा सुन्न पाउन छाडिएको छ । धुर्मुस–सुन्तलीले रौतहटमा सन्तपुर बस्ती निर्माण गरिरहँदासम्म ‘ए तराई भेगमा पनि पुनःनिर्माणको काम गर्नुपर्नेछ है’ भन्ने अलि–अलि चासो–चिन्ता सुन्न पाइन्थ्यो, जुन आजकाल विलाएजस्तो भएको छ । तर, विलाएर कहाँ सुख पाइन्छ ? बनाउनुपर्ने घरको संख्या सानो छैन ।

बाढीपछिको क्षति आकलन सम्बन्धी सरकारी प्रतिवेदनकै अनुसार पनि साउन २०७४ को बाढीले तराईमा १३४ जनाले ज्यान गुमाए, करीब १ लाख ९० हजार घर क्षतिग्रस्त भए, रु.६१ अर्ब ८४ करोड ४८ लाख बराबरको सम्पत्ति क्षति भयो । १७ लाख व्यक्ति प्रभावित भए । पुनःनिर्माण र पुनस्र्थापनाका लागि रु.७३ अर्ब २२ करोड ४८ लाख आवश्यक पर्छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले बाढीग्रस्त क्षेत्रको पुनःनिर्माणको जिम्मेवारी गत कात्तिकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिइसकेको छ । त्यस अनुसार, प्राधिकरणको मातहतमा पुनःनिर्माण आयोजना विशेष एकाइको अवधारणा ल्याएर विषय विज्ञलाई प्रमुख बनाएको पनि छ । तर त्यसले के गरिरहेछ, चर्चामा छैन । बाढीपछिको पुनःनिर्माण भूकम्पको छायाँमा परेजस्तो देखिंदैछ ।

भूकम्पपछिको पुनःनिर्माण गतिविधिमा देखिएका गल्ती बाढीपछिको पुनःनिर्माणमा नदोहोर्‍याउन सचेत हुनु जरूरी छ । जीविकोपार्जनको बलियो व्यवस्था, सरसफाइ र तटबन्ध निर्माणसँगै घर बनाउने कामले महŒव पाउनुपर्छ । एउटा प्रकोपसँग तर्सेर त्यसैलाई मात्रै तह लगाउने गरी घर बनाउँदा अरू दशथरी विपत् त्यसले झेल्न सक्छ कि सक्दैन ? यसमा विचार पुर्‍याइनु जरूरी हुन्छ । बलियो निर्माण भन्दै स्थानीय स्रोत, सामग्री, शैली र शिल्पलाई हेपेर झ्ल्किे सामग्री, नौला प्रविधि र अनौठा मान्छेहरू गाउँ पस्ने गरेका छन् ।

ग्रामीण बस्तीका विविध आयाम छन् । भूगोल, संस्कृति र जीवनशैली अनुसार आयाम फरक छन् । शहरबाट आएका नौला मानिसहरूले फित्ताले नापेर कागजमा अंग्रेजीमा कोर्दैमा आदर्श बस्ती बन्न सक्दैन । बस्ती डिजाइनमा स्थानीयलाई ‘प्राविधिक कुरा बुझदैनन्’ भन्दै उपेक्षा गर्न थालियो भने त्यस्ता ‘घरैघरको भेला’ लाई स्थानीय समाजले आत्मसात् नगर्न सक्छ । दाताले व्यावहारिक पाटो अध्ययन नगरी बनाइएका त्यस्ता ‘बस्ती’ राम्रो र बलियो जस्तो बने पनि भूत घर बनेर मिल्किएको ठाउँठाउँमा देख्न पाइन्छ ।

स्थानीय सजगता

प्रकोप प्रतिरोधी घरको डिजाइनमा स्थानीयकरण हुनु असाध्यै जरूरी छ । डिजाइन सूची बनाएर ३१ जिल्लाभर भूकम्प ‘प्रतिरोधी’ घरको नक्शा बाँडेर गरिएको जस्तो कामले तराईको वास्तुकला र निर्माण शिल्प मात्र नभई जीवनयापनको चक्र पनि खल्बलिन्छ । कृषिकर्ममा आश्रित जीवनशैली नअट्ने खेलौना घरको कल्पना गरिनुहुन्न । स्थानीय आवश्यकता, निर्माण सामग्री र शिल्पबारे पढेर, कमी–कमजोरी बुझ्ेर बाढी मात्रै होइन, आगलागीको जोखिम पनि घटाउने घरको डिजाइन स्थानीयसँगको छलफलबाट तयार पार्नुपर्छ । अर्काले ल्याएको के लिने, के नलिने भन्नेमा स्थानीय तह चनाखो हुनैपर्छ ।

परिवार संख्या, जीवनयापन शैली र संस्कृतिको राम्रो अध्ययन गरेर विभिन्न विकल्पसहित शीतलहर र लू समेत थेग्न सहज हुने गरी, सरकारी राहत रकम बाहेक धेरै ठूलो आर्थिक भार नपर्ने गरी घर बनाउने काइदा अपनाउन सकियो भने तराईको पुनःनिर्माणले भूकम्पपछिको पुनःनिर्माणको धर्मराएको खुट्टालाई पनि सीधा टेक्न सघाउनेछ । बाढीले बढारेको तराईका बस्तीहरूमा जीवनयापनको चक्र नखल्बलिने गरी, निर्माण संस्कृति, शिल्प र सामग्री बाँच्ने गरी पुनःनिर्माण महाअभियान द्रुत बनाउनेको जय होस् !

comments powered by Disqus

रमझम