बाँदरसामु निरिह

Share:
  
- सविता श्रेष्ठ
वर्षौंदेखि बाँदरको उपद्रो खेपिरहेका किसानले सरकारसँग क्षतिपूर्ति माग गर्न थालेका छन्।

huffingtonpost.com
काठमाडौं, पशुपतिको बाँदर ।
नीलकण्ठ नगरपालिका, धादिङका किसानले खेतबारीका बालीनाली मात्र नभई घरभित्रका अन्नपात समेत बाँदरले नष्ट गरेको भन्दै २०७४ जेठमा धादिङबेसीमा प्रदर्शन गरे । त्यो सिजनको मकै पनि बाँदरले सखापै पारेपछि किसानहरू जिल्ला सदरमुकाम धादिङबेसीको सडकमा उत्रिएका थिए ।

प्रदर्शनपछि उनीहरूले जिल्ला प्रशासन, कृषि विकास र जिल्ला वन कार्यालयमा बाँदर नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै ज्ञापनपत्र बुझएका थिए । उनीहरूले त्यसअघि पनि पटक–पटक लिखित उजुरी दिएका थिए ।

नीलकण्ठ–९ का किसान तिलप्रसाद लम्साल बाली पाकेर भिœयाउने बेला नहुँदै बाँदरको हूल पसेर सखापै बनाइदिने गरेको बताउँछन् । “हामीले सबै बाली भिœयाउन नपाएको वर्षौं भइसक्यो” उनी भन्छन्, “अब यसरी चल्दैन । सरकारले कि बाँदर नियन्त्रण गरिदिनुपर्‍यो कि त क्षतिपूर्ति दिनुपर्‍यो ।”

पछिल्लो पाँच वर्षमा खास गरेर पहाडका कमै जिल्ला प्रशासन कार्यालय होलान्, जहाँ बाँदर पीडित किसानहरूको निवेदन नपरेको होस् । सबै ठाउँका किसानको माग हुने गरेको छ– सरकारले कि बाँदर नियन्त्रण गरिदिनुपर्‍यो कि त क्षतिपूर्तिको व्यवस्था गर्नुपर्‍यो । २०७२ वैशाखमा वरुणेश्वर, ओखलढुङ्गाका किसानहरूले त त्यसबेलाका गृहमन्त्री वामदेव गौतमसँग सरकारले बाँदर नियन्त्रण गर्न सक्तैन भने आफूहरूले मार्न पाउनुपर्ने माग समेत राखेका थिए ।

अहिले बाँदर देशभरका किसानको ‘शत्रु’ बनेको छ । केही हिमाली क्षेत्रबाहेक देशका सबैतिर पाइने बाँदरको कारण किसानहरूले बाली भिœयाउन पाएका छैनन् । भोजपुर, खोटाङ, उदयपुर, रामेछाप, पाँचथर, धादिङ, नुवाकोट, दोलखा, कास्की, गोरखा, पाल्पालगायत जिल्लाका कतिपय भेगमा किसानले बाली नै लगाउन छाडेका छन् । समस्या कस्तोसम्म भएको छ भने ६ असोज २०६९ मा रुकुमको रुकुमकोट–१ का वेदप्रकाश पुनले मकैबारीमा पसेको बाँदर धपाउन बन्दूक चलाउँदा आफ्नै श्रीमती वसन्ती (५२) को ज्यान गयो । त्यसअघि ८ भदौमा अर्घाखाँची, सिताराका गुप्तबहादुर पुलामीले बाँदर धपाउन भरुवा बन्दूक पड्काउँदा आफ्नै छोरा चित्रबहादुर (१२) लाई लागेर मृत्यु भयो ।

राजधानीमै त्रास

पाँचथरको सिदिनस्थित कन्यादेवी सामुदायिक वनमा पहरे बाँदर ।
हनुमानको रूपमा पुजिने बाँदर काठमाडौं उपत्यकाका पशुपति, स्वयम्भू, नीलबाराहीलगायतका धार्मिक स्थलहरूमा शोभाका रूपमा रहिआएका छन् । अहिले बाँदरहरू ती खास स्थलहरूबाट फैलिएर शहरभरि छरिएको अनुभव सबैले गरेका छन् । नयाँबानेश्वरकी अस्मिता कार्की बिरामी भेट्न थापाथली अस्पताल जाँदै गर्दा बाँदरले फलफूलको झेला नै खोसिदिएको बताउँछिन् । आफ्नै धुनमा हिंडिरहेको बेला बाँदरले अचानक झ्म्टेर पर्स, झेला खोसेको अनुभव धेरैको छ ।

पशुपति वा स्वयम्भू क्षेत्रका बासिन्दाले बाँदरबाट भोग्नुपरेका आफ्नै खाले दुःख छन् । पशुपतिका बाँदरले त्रिभुवन अन्तर्राष्ट्रि«य विमानस्थललाई समेत प्रभावित पार्ने गरेका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर रन वे र टर्मिनलसम्म पुगेर आतंक मच्चाउन थालेपछि बाँदर धपाउन दश जना ‘शिकारी कर्मचारी’ परिचालन गर्नुपरेको बताउँछन् । बाँदरविज्ञ डा. मुकेश चालिसे मानिसहरूको व्यवहार र नयाँ किसिमको खान्कीका कारण अहिले बाँदरको स्वभावमा पनि परिवर्तन आएर निकै आक्रामक भएको बताउँछन् । (हे.बक्स)

गौरीशंकर संरक्षण क्षेत्रका संरक्षण अधिकृत विष्णु पाण्डे पहिलेको तुलनामा बाँदरहरू निकै आक्रामक हुन थालेको बताउँछन् । दोलखामा बाँदर सम्बन्धी अध्ययन गरिरहेका उनका अनुसार, बाँदरले मानिसको बानी–व्यवहार र खानपानको शैलीलाई पछ्याएका छन् । बाँदरले ‘जंक फूड’ मन पराएर खाने गरेको पाण्डे बताउँछन् ।

दोलखाको सबैतिर बाँदरको विगविगी बढेको छ । भीमेश्वर, विगु, तामाकोसी लगायतका गाउँपालिकामा बाँदरकै कारण खेतीपाती कम भएको छ । वनछेउका खेतबारी त पूरै बाँझे छन् । ठूल्ठूलो हूलमा आउने बाँदरलाई किसानहरूले लखेट्न नसक्ने भएकोले जिल्ला प्रशासन र कृषि कार्यालयदेखि वन कार्यालयसम्मलाई गुहार्दा पनि कसैले नसुनेको भीमेश्वर–३ का ध्रुव केसी बताउँछन् ।

वारिपारिका सारा गाउँले लागेर बाँदर धपाउँछन्, तर फर्केर घर पुग्दासम्म बाँदरको बथान फेरि बारीमा आइसक्छ । संखुवासभा, ताम्कुका जंगबहादुर राई (४६) बाली वरिपरि कीरा मार्ने विषादी छर्दा, बुख्याँचा राख्दा र आगो बाल्दा पनि बाँदर धपाउन नसकेको अनुभव सुनाउँछन् ।

सानुबाबु तिमिल्सिना
बाँदर नियन्त्रणको माग गर्दै २०७४ जेठमा धादिङबेसीमा भएको प्रदर्शन ।

बाँदर नियन्त्रणको माग लिएर जिल्ला प्रशासन कार्यालय ओखलढुंगा पुगेको किसान समूह ।

जताततै बाँदर आतंक

उदयपुरको कटारी नगरपालिका–३, च्याँगाका ७५ वर्षीय रामबहादुर माझीलाई पहिले बाँदरले गाउँ पसेर मकै बाहेकका अन्न खाएको थाहा थिएन । तर, अहिले केही बाँकी राख्दैन । यसले बाँदरबाट जोगाउन बाली परिवर्तन गर्ने किसानहरूको प्रयास पनि अर्थहीन हुन पुगेको छ । च्याँगाकै लवकुश माझी (४५) ले हिउँदे बालीमा मकैको साटो आलु लगाए, तर बाँदरको बथानले त्यो पनि बाँकी राखेन । उनी भन्छन्, “बाँदरले भकाभक खान थालेपछि चिचिलामै आलु खन्नु पर्‍यो ।”

कास्कीको अन्नपूर्ण–३, पाउँदुरका ७० वर्षीय टीकाराम पौडेल बाँदरले किसानलाई रुँदै हिंड्ने बनाएको बताउँछन् । पाँच मुरी मकै फल्ने बारीमा बाँदरले एकपाथी पनि नहुने बनाएपछि उनले तरकारी लगाए, तर त्यो पनि बाँकी राखेन । लखेट्न खोज्दा पनि महिला, बालबालिका र वृद्धवृद्धालाई नटेर्ने । “उल्टै झ्म्टिन खोज्छन्” पौडेल भन्छन्, “गएको १० कात्तिकमा बाँदर लखेट्दै जाँदा हाम्रा गाउँका जनार्दन पौडेल चितुवाको आक्रमणमा घाइते भए ।”

यता धादिङका किसानले ‘बाँदर पीडित किसान समूह’ नै गठन गरेका छन् । समूहका अध्यक्ष तिलप्रसाद सिलवाल जिल्लाका मुरलीभञ्ज्याङ, अलैचे, आरनटार, धौखोलालगायत गाउँका किसानलाई बाँदरले सताउनसम्म सताएको बताउँछन् । किसानले पसिना बगाएर उब्जाएको बाली भिœयाउन सक्ने व्यवस्था सरकारले गर्नैपर्ने उनको माग छ । “भिœयाएको बाली घरमै पसेर खाइदिन्छ, महिला र केटाकेटीलाई चिथोर्न खोज्छ” सिलवाल भन्छन्, “जिल्ला प्रशासनलाई गुहार्दा सुनुवाइ भइरहेको छैन ।”

पहाडका गाउँ–गाउँमा बढेका बाँदर कति आक्रामक बनेका छन् भने गएको साउन अन्तिम साता बारीको मकै भाँचेर डोकोमा बोकेर घर ल्याउँदै गरेका ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ का गंगाराम तामाङलाई बाँदरको बथानले आक्रमणै गर्‍यो । मोलुङका किसानहरूले ५ भदौ २०७३ मा जिल्ला प्रशासन पुगेर बाँदर आतंक नियन्त्रणको माग गरेका थिए, जुन अन्यत्र जस्तै निष्फल भयो ।

बाँदरको संख्या वृद्धिसँगै खेतीकिसानी अर्थहीन हुँदै गएको र नियन्त्रणका सम्बन्धित निकायहरूमा गरिएको पटके आग्रह पनि निष्फल भएपछि पाँचथर र इलामका किसानहरू आफैं समाधानको उपाय खोज्न जुटेका छन् । पाँचथरका सिदिन, प्राङ्वुङ र इलामको माइमझुवा क्षेत्रका सामुदायिक वनहरूमा बाँदरले खाने कन्दमूल, ठेकीफललगायतका बोटबिरुवा संरक्षण गर्न थालिएको छ । सिदिनको दीप ज्योति युवा क्लबका निर्देशक सुनिल बान्तावा वनमै आहारा पाए बाँदर गाउँ नपस्ने बताउँछन् ।

धादिङको तत्कालीन मुरलीभञ्ज्याङ गाविसले गाउँ परिषद्बाटै निर्णय गरेर गत आर्थिक वर्षमा बाँदर नियन्त्रणको लागि बाँदर पीडित किसान समूहलाई रु.१५ हजार सहयोग गरेको थियो । कास्कीको रूपा गाउँपालिकाले यसै आर्थिक वर्षमा बाँदर नियन्त्रण गर्नका लागि भन्दै रु.१० लाख बजेट विनियोजन गरेको छ । धेरैजसो खेतीकिसानी गर्ने गाउँपालिकावासीलाई बाँदरका कारण बाली नोक्सान हुनबाट जोगाउन बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष नवराज ओझ बताउँछन् । “किसानको माग अनुसार नै हामीले बजेटको व्यवस्था गरेका हौं” उनी भन्छन्, “गाउँका छुच्चा खालका बाँदर राष्ट्रिय निकुञ्जमा लैजान पहल गर्दैछौं ।”

संरक्षित वन्यजन्तु

बाँदर समस्यालाई लिएर जिल्ला वन कार्यालय पाँचथरमा वर्षेनि अनगिन्ती मौखिक र ३० वटासम्म त लिखित उजुरी नै पर्ने गरेका छन् । तर, बाँदर कानूनद्वारा संरक्षित वन्यजन्तु भएकाले त्यसमा आफूले केही गर्न नसक्ने जिल्ला वन अधिकृत जगदीशचन्द्र देव बताउँछन् । “निवेदनको चाङ भए पनि वन्यजन्तु संरक्षण नीतिका कारण केही गर्न सकिंदैन” उनी भन्छन्, “क्षतिपूर्तिबारे पनि केही भन्न सकिन्न ।”

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेका २७ थरी स्तनधारी जनावरमा आसामी रातो बाँदर पनि पर्छ । यसलाई ‘पहरे’ बाँदर पनि भनिन्छ । बाँदर मारे रु.१ लाखदेखि रु.५ लाखसम्म जरिवाना र एकदेखि पाँच वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ । बाँदरले गरेको नोक्सानीको क्षतिपूर्तिबारे भने कानूनले केही भनेको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी नारायण रूपाखेती १४ वटा वन्यजन्तु (हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, मगर गोही, अजिगर र गौरीगाई) ले गर्ने नोक्सानीको मात्र क्षतिपूर्ति पाउने कानूनी व्यवस्था रहेको बताउँछन् । जबकि, बाँदरले गर्ने आर्थिक क्षति धेरै ठूलो छ । “यसको आकलन गर्न गाह्रो छ” रूपाखेती भन्छन्, “राज्यले दिन सक्ने कि नसक्ने भन्ने पनि हुन सक्छ ।”

अदालतको शरण

राजनीतिक दलका नेता, जिल्ला प्रशासन र जिल्ला वन कार्यालयसम्मलाई पटक–पटक लिखित, मौखिक सबैखाले निवेदन गर्दा पनि केही सीप नलागेपछि राष्ट्रिय कृषक समूह महासंघ, कास्कीको तर्फबाट कृष्टि नाच्नेचौरका ठाकुरप्रसाद सुवेदीले सरकारको नाममा बाँदर नियन्त्रण आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका छन् ।

बाँदरले गरिखान नदिएको भन्दै दायर गरिएको रिटमा क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी र जिल्ला वन अधिकृतलाई विपक्षी बनाइएको छ । अदालतले १० असोज २०७३ मा १५ दिने म्यादसहित विपक्षीसँग लिखित जवाफ मागेकोमा समयमै जवाफ बुझएको जिल्ला वन अधिकृत केदार बरालले बताए ।

(साथमा युवराज श्रेष्ठ, पोखरा/ऋषि राई, उदयपुर/सानुबाबु तिमिल्सिना, धादिङ/शर्मिला बुढाथोकी, दोलखा/लक्ष्मी गौतम, पाँचथर)


मान्छे नै दोषी

डा. मुकेश चालिसे

वन्यजन्तुविद्

विश्वमा २३४ प्रजातिका बाँदर पाइन्छन् । नेपालमा लङ्गुर, रातो र पहरे गरी तीन प्रजातिका बाँदर छन् । त्यसभित्र ६ किसिमका बाँदर छन् । पश्चिमा पहरे भनिने बाँदर नेपालमा मात्र पाइन्छ । काठमाडौं उपत्यकामा दुईहजार भन्दा बढी बाँदर छन् । देशभर एक लाख बाँदर रहेको अनुमान गर्न सकिन्छ । पछिल्लो पाँच वर्षमा बाँदरको संख्या करीब २५ प्रतिशतले बढेको छ । १०० बाँदर अट्ने वनमा ४०० सम्म पुगेको छ । त्यसैले बाँदरको चकचकी पनि बढेको छ । नेपालका कुन वनमा कति वन्यजन्तु अट्छन् भन्ने वैज्ञानिक अनुसन्धान भएको छैन । वनले धान्न सक्ने क्षमता अनुसार वन्यजन्तु हुनुपर्छ । बढी भएर मान्छेलाई दुःख दिन थाल्दा स्थानान्तरण गर्न सकिन्छ ।

बाँदर आक्रामक हुनुमा खानेकुरा र बासस्थानको अभाव मुख्य हो । मानिस जस्तै समूहमा बस्ने बाँदर पहिले वनस्पतिका पालुवा, डाँठ, फलफूल र कीरा फट्याङ्ग्रा, चराका बच्चा, अण्डा खान्थे । अहिले चिप्स, जुस, आइसक्रिम, चाउचाउ, बिस्कुट, पाउरोटीलगायतका तयारी खानेकुरा खान सिकेका छन् । शहरी क्षेत्रका बाँदरले मान्छेले जे खान्छन्, त्यही खाइरहेका छन् । नक्कल गर्न सिपालु बाँदरलाई पहिले रमाइलोका लागि मानिसहरूले नै खानेकुरा दिएर पल्काए । अहिले मान्छेलाई नै दुःख दिन थालेको छ । दोष मान्छेकै हो ।

नेपालका सरकारी निकायसँग बाँदरको आधिकारिक तथ्यांक नै छैन । फोहोर, धूलोमैलामा खेल्ने बाँदर घर र भान्साहरूमा समेत पस्न थालेको छ । अस्पतालका फोहोर थुपार्ने ठाउँहरूमा समेत बाँदरहरू देखिन्छन् । बाँदरहरूलाई क्षयरोग, झाडापखाला, रेविज, दादुरा, जुका, छालाको संक्रमण आदि हुन थालेको छ । बाँदरलाई लागेको कुनै पनि रोग मानिसमा सर्ने सम्भावना हुन्छ । वन संरक्षणसँगै बाँदरको संख्या बढ्दै गएकोले सरकार अब गम्भीर हुनुपर्छ । स्थानीयलाई धेरै दुःख दिएका ठाउँहरू पहिचान गरी रोगी, रोग सार्न सक्ने, असक्त बाँदर हटाउने तयारी थाल्नुपर्छ । बाँदरले पुर्‍याएको क्षति पुर्ताल गर्ने व्यवस्था पनि हुनुपर्छ ।

comments powered by Disqus

रमझम