स्मार्ट होम

Share:
  

होम अटोमेशन नेपाल
ललितपुर पुल्चोकका सिद्धार्थ शाक्य (२५)ले बनाइरहेको नयाँ घरमा प्रविधि प्रयोगमा जोड दिएका छन् । आर्ट ग्यालरी समेत हुने उनले घरको मुख्य प्रवेशद्वारमा भिडियो डोर लकका साथै लाइट कन्ट्रोलर, स्मार्ट डोर लक, एपबाट खोल्न र बन्द गर्न सकिने पर्दा, फायर अलार्म र सीसीटीभी क्यामेरा समेत राख्दैछन् ।

चित्रकला व्यवसायी शाक्यले घरमा बिक्री कक्षसँगै चित्रकला प्रदर्शनीका लागि भाडामा दिने सोच पनि बनाएका छन् । “भाडामा दिंदा ढोकाको लक कोड दिने र कार्यक्रम सकिएपछि कोड परिवर्तन गर्न सकिन्छ” उनी भन्छन्, ,“घर बनिसकेपछि गेट खोल्न बाहिरै पुग्नुपर्ने, लाइट बाल्न स्वीच नै थिच्नुपर्ने बाध्यता अब हुँदैन ।”

कतिपय ‘होम अप्लायन्स’ लाई पनि इन्टरनेट मार्फत ‘कन्ट्रोल’ गरिने प्रविधिको विकास भएको छ । होम अटोमेसन नेपालले घरमा प्रयोग गरिने विद्युतीय सामग्रीलाई स्मार्ट फोनबाटै सञ्चालन गर्न सकिने सुविधा दिन थालेको आठ वर्ष भइसक्यो ।

होम अटोमेसनका बिजनेस डेभलपमेन्ट म्यानेजर प्रशान्तराज मोक्तान घरको सुरक्षा र सहजताको लागि सेन्सर जडित डिभाइसको प्रयोग गरेर एपमार्फत सामग्री सञ्चालन र नियन्त्रण गर्न सकिने बताउँछन् । “डिभाइसको माध्यमबाट जुनसुकै ठाउँबाट घरको गतिविधि नियाल्न र नियमन गर्न सकिन्छ” उनी भन्छन्, “अहिलेका लागि लाइटिङ, पर्दा, गेट, पानी तान्ने पम्प, होम थिएटरलगायतका सामग्रीमा स्मार्ट प्रविधि प्रयोग गरिएको छ ।”

उपभोक्ताले इच्छा र आवश्यकता अनुसार इलेक्ट्रोनिकसँगै अरु सामग्री पनि स्मार्ट बनाउन सक्छन् । जसमा टाइमर समेत सेट गर्न सकिन्छ । “जुन सामग्रीलाई कन्ट्रोल गर्ने हो, त्यसमा डिभाइस जडान गरिन्छ” मोक्तान भन्छन्, “त्यसलाई मोबाइल तथा ट्याबमा कनेक्ट गराएर एपमार्फत प्रयोग गरिन्छ ।”

बनिरहेका र बनिसकेका सबै घरमा ‘होम अटोमेसन’ सुविधा राख्न सकिन्छ । अटोमेसनले घर स्मार्ट बनाउन फायर अलार्म किट, स्मार्ट क्यामेरा, डिजिटल डोर लक, भिडियो डोर फोन, अकुपेन्सी सेन्सर, स्मार्ट प्लग, वायरलेस स्मोक सेन्सर, वायरलेस ग्यास सेन्सर, मोटोराइज्ड कर्टेन, लाइटिङ अटोमेसनलगायतका स्मार्ट सुविधा छुट्टाछुट्टै तथा प्याकेजमा लिन सकिन्छ । डिभाइस जडान गर्ने र डिभाइसलाई ‘होममेट’ एपमा कनेक्ट गरेपछि सञ्चालन गर्न सकिने भएकाले एउटै स्मार्ट फोनबाट धेरै काम गर्न सकिन्छ ।

यसका साथै घरमा ग्याँस लिक भएमा, आगलागी भएमा, अनुमतिबेगर मान्छे प्रवेश गरेमा मोबाइलमा अलार्म तथा नोटिफिकेसन आउने व्यवस्था समेत गर्न सकिन्छ । “मानिसको दैनिक जीवनशैलीलाई स्मार्ट होम प्रविधि प्रयोगले सुरक्षित, सहज र रमाइलो बनाएको छ”, मोक्तान भन्छन् ।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम