ध्यानको ज्ञान

Share:
  
- बसन्त महर्जन
गौतम बुद्घले तत्कालीन समाजमा पहिल्यैबाट प्रचलित विधि अवलम्बन गरी प्रथम ध्यान लाभ प्राप्त गरेका थिए।

गौतम बुद्ध धर्म–दर्शनका उपदेश (सूत्र) का साथै ध्यानलाई पनि जोड दिन्थे । बौद्ध धर्म–दर्शन बुझन साना–ठूला ग्रन्थको पठन मात्र नभएर छलफल, वादविवाद र चिन्तनमननका लागि एकत्रित हुने ‘धम्मसाकच्छा’ पनि एक उपाय हो भने ‘ध्यानभावना’ अर्को उपाय । दुवै उपायमा पारङ्गत हुनैपर्छ भन्ने कट्टर मान्यता नराखी सुविधा र क्षमताअनुसार अपनाउन सकिन्छ । यी दुवै उपायबाट त्रि–लक्षण (अनित्य, दुःख र अनात्म) बोध गर्ने हो । तर, अनेक खालका भ्रम छन्, जसले ध्यानबारे बुझन र बुझउन समस्या पार्ने गरेको छ ।

यो पंक्तिकार लामो समयसम्म विपश्यनाबारे नकारात्मक धारणा राखेरै बौद्ध अध्ययनमा लागेको हो । बौद्ध समाजमा धेरै नाम वा पद्धतिका ध्यान विधि प्रचलित छन् । त्यसअनुसारका साधकहरूले एकअर्काबारे टीकाटिप्पणी गर्दा आफूलाई केन्द्रमा राखेर गर्ने प्रवृत्ति छ । अन्य ध्यानविधिमा पोख्त भई सम्प्रदायविशेषको गुरुसमेत रहेका एक बौद्ध साधक ‘विपश्यना’ शिविरबाट फर्केर ‘यसले अन्य विधिका साधनामा पनि सघाउने’ भनी सुनाएको अनुभव ज्यादै मननयोग्य छ ।

धर्मचित्त उत्पन्न भएका साधकहरू अरूले पनि ध्यान विधि सिकून् भनेर नियमित वा अवसर विशेष पारी विभिन्न ठाउँमा शिविर चलाउँछन् । ध्यानगुरु सत्यनारायण गोयन्काबाट प्रचारित विपश्यनाका शिविरमा विशेषगरी दश दिने शिविर लोकप्रिय छ । यो शिविरमा ध्यानविधि सिकेपछि आफ्नै घर–कोठा वा साथीहरूसँग पायक पर्ने ठाउँमा ध्यान गर्न सकिन्छ ।

ध्यानबललाई अक्षुण्ण राख्न शिविरहरूमा पटक–पटक सामेल हुन पनि सकिन्छ । यद्यपि शिविरमा बसाइको गन्ती र त्यसैलाई योग्यता वा वरिष्ठताको मापदण्ड ठान्ने सोच भने भ्रमपूर्ण हो । २० पटक शिविरमा बसेका एकजना विपश्यना साधक त्यसभन्दा कम बसेकाहरूलाई आफूभन्दा कनिष्ठ मान्थे । उनको बानी–व्यवहार र अरू साधकहरूसँग गर्ने विवाद यस पंक्तिकारका लागि विपश्यनासम्बन्धी नकारात्मक धारणा सिर्जनामा पर्याप्त थियो ।

विपश्यनाका सम्बन्धमा नकारात्मक धारणा बनाउने अर्को घटना थियो, मदिरामा झ्ुमेर यसको प्रशंसा गर्दै गरेका एक व्यक्ति । उनी मदिराको मात र विपश्यनाको अनुभव समान हुने बताइरहेका थिए । एक पटक शिविरमा बसेर अपूर्व आनन्द लिएको भन्दै लेखिहाल्ने अर्काथरी साधकहरू पनि छन् । दश दिनसम्म आर्य मौन, लेखन–पठनपाठन तथा अन्य गतिविधि गर्न नपाउने, बाह्य सम्पर्क पूर्णतः विच्छेद, पंचशीलको पालना र ध्यानमा निरन्तर अभ्यासका कारण त्यस्तो अनुभव हुनु स्वाभाविक हो । तर, उनीहरूका लागि विपश्यना एक समयको सम्झ्ना मात्रै हो ।

विपश्यना ध्यान विधिमा गुरुअनुसार कुनैले श्वासप्रश्वासमा मन केन्द्रित गर्न भन्छन् त कुनैले सास फेर्दा हुने पेटको खुम्च्याइ र फुलाइमा । त्यस्तै हिंडाइमा ध्यान दिनेहरू पनि छन् । कतिपयमा यो ध्यानविधिको आविष्कार गौतम बुद्धले गरेको भ्रम पाइन्छ, तर यो पहिल्यैदेखि रहेको र यसैको अभ्यास गरी गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको बिर्सन मिल्दैन । यसअघि श्रमण गौतम (गृहस्थ नाम सिद्धार्थ, गृहत्यागपछि श्रमण गौतम र बुद्धत्व प्राप्तिपछि गौतम बुद्ध) ले तत्कालीन समाजमा प्रचलित विधि तपस्या गरेका थिए । त्यसबाट उपलब्धि हासिल नभएपछि विपश्यना विधि अपनाएका थिए । यो विधि उनले बालककालमा गुरुबाट सिकेको र अभ्यास गर्ने क्रममा जामुनको रूखमुनि प्रथम ध्यान लाभ गरेको प्रसंग चर्चित छ । उनले बाल्यकालमा सिकेको त्यही ध्यानलाई निरन्तरता दिएर बोधगयामा बुद्धत्व प्राप्त गरे । बौद्ध समाजमा प्रचलित ध्यान विधिहरू विपश्यनाकै पृष्ठभूमिमा विभिन्न समयमा विकास गरिएका विभिन्न उद्देश्यका विधि हुन् भन्न सकिन्छ ।

ध्यानलाई विशिष्ट मानिन्छ र गुरु वा कल्याणमित्रभन्दा बाहेकसँग यसको चर्चा गरिन्न पनि । ध्यान नितान्त रूपमा वैयक्तिक कुरा हो, प्रदर्शन वा आडम्बरको विषयवस्तु होइन । ध्यानमा बसेका बेलाको तस्वीर खिचेर प्रचारप्रसार गर्नु आत्मप्रशंसा मात्र हो, ध्यानसँग सम्बन्धित कुरा होइन । मनोरम ठाउँमा पुग्दा ‘ध्यान गर्न लायक ठाउँ’ भन्ने गरेको सुनिन्छ, तर आँखा चिम्लेर आफूलाई हेर्ने विधि रहेको विपश्यनाका साधकलाई ती प्राकृतिक मनोरम ठाउँ होस् वा घर भित्र बन्द कोठा, फरक पर्दैन । बरु बाह्य जगतबाट व्यवधान नहोस् भनेर एकान्तलाई जोड दिइन्छ । यति हुँदाहुँदै पनि केही विशिष्ट ठाउँहरू छन् जहाँ ध्यानका लागि बस्दा तुरुन्तै ध्यान लाग्ने अनुभव साधकहरूको पाइन्छ । यस्ता ठाउँहरूमा मुख्यतः लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर हुन्, जसको चर्चा स्वयं गौतम बुद्धले भिक्षु आनन्दसँग महापरिनिर्वाण अघि भनेका कारण बौद्धहरू यी चार ठाउँलाई संवेजनीय (ध्यानका लागि उपयुक्त स्थल) मान्छन् ।

यसका साधकहरू आफ्नो ध्यान बललाई अक्षुण्ण राख्न एकान्त र शान्त वातावरणलाई जोड दिने हुँदा बौद्ध स्थलहरूमा होहल्ला नहोस् भन्ने कुरामा ध्यान दिइन्छ । यही भएर बुद्ध र बौद्ध विषयवस्तुसँग सम्बन्धित औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा नाचगान, होहल्ला तथा तडकभडक गरिन्न वा त्यस्तो वातावरणमा सरिक हुने बौद्ध भिक्षु वा साधकलाई नकारात्मक रूपमा हेरिन्छ ।

comments powered by Disqus

रमझम