महभीरमा क्यान्योनिङ

Share:
  

पर्वतको कुश्मामा क्यान्योनिङ (छाँगा आरोहण) शुरु भएको छ । कुश्मा नगरपालिका–३ दुर्लुङस्थित एउटै महभीर खोलाका तीन वटा छहरामा क्यान्योनिङ सञ्चालन भइसकेको छ भने थप एउटा छहरामा तयारी थालिएको छ ।

तीन छहरामध्ये ११० मिटर अग्लो छहरा मुलुककै अग्लो क्यान्योनिङ स्थल भएको दुर्लुङ क्यान्योनिङ कम्पनीका गोलमान गुरुङको दाबी छ । यो बाहेक २६ मिटर र २० मिटर अग्लो छहरामा पनि क्यान्योनिङ शुरु भएको छ । “एउटै खोलामा सबैखाले पर्यटकका लागि ‘स्पट’ तयार पारेका छौं” गुरुङ भन्छन्, “प्रचारप्रसार गरी अघि बढाउने सोचमा छौं ।”

मुलुकको अन्य स्थानका क्यान्योनिङमा एउटै डोरीबाट उक्लने र झर्ने गरिन्छ । तर, महभीरमा भने बीचबाट डोरी परिवर्तन गरिन्छ । क्यान्योनिङ अनुभवी सिर्जना कार्की दुर्लुङमा अन्यत्र भन्दा छुट्टै आनन्द आएको बताउँछिन् ।

दुर्गाप्रसाद शर्मा

चैत, वैशाखमा पानी कम हुने भएकाले बाँध बाँधेर पनि केही घण्टा भए पनि क्यान्योनिङ सञ्चालनको योजना बनाइएको छ । क्यान्योनिङ सञ्चालनका लागि स्थानीय तीन जना युवालाई तालिम पनि दिइएको छ ।

क्यान्योनिङसँगै कुश्माबजारबाट झण्डै ७ किलोमिटर दूरीको गुरुङबहुल दुर्लुङको चनौटेमा होमस्टे पनि विस्तार गरिएको छ । कम्पनीका अध्यक्ष उद्दिमबहादुर गुरुङ पर्यटकीय शहर पोखराबाट साढे दुई घण्टामै पुग्न सकिने भएकाले कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढ्नेमा विश्वस्त छन् । उनी धौलागिरि अञ्चलमै पहिलोपटक सञ्चालित क्यान्योनिङमार्फत मुस्ताङ, म्याग्दी, अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई एक दिन दुर्लुङमै बसाउने सोचका साथ योजना बनाइरहेको बताउँछन् । “त्यही सोच अनुसार पर्यटक व्यवस्थापन, पूर्वाधार निर्माण तथा अन्य तयारीहरू पनि भइरहेका छन्”, गुरुङ भन्छन् ।

स्वदेशमा रहँदा पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा कार्यरत गोलमान, महान गुरुङलगायतको नेतृत्वमा हाल बेलायत र हङकङमा रहेका दुर्लुङवासीको सहयोगबाट क्यान्योनिङ सम्भव भएको हो ।

दुर्गाप्रसाद शर्मा, पर्वत

comments powered by Disqus

रमझम