लोक्ताको रौनक

Share:
  
- कमल मादेन
वनैभरि सहजै पाइने लोक्ता र अर्गेलीको उपयोगबाट ठूलो परिमाणमा पहाडे कागज उत्पादनको उद्योग खोल्न ढिला गर्नुहुन्न।

कमल मादेन
डाफ्ने भोलुवा ।
लोक्ता र अर्गेली नामक वनस्पतिको बोक्राबाट सयौं वर्षदेखि पहाडे हातेकागज बनाइँदै आएको छ । तर, नेपालमा ठ्याक्कै कहिलेदेखि यसको प्रयोग र उत्पादन शुरू भयो भन्ने चाहिं स्पष्ट छैन ।

चीनमा भने दुई हजार वर्षभन्दा पहिलेदेखि नै हातेकागज उत्पादन कला विकास भइसकेको पाइन्छ । तिब्बतमा बौद्धधर्म सम्बन्धी ग्रन्थहरूको नक्कल यस्तै कागजमा उतारिन्थ्यो भन्ने लेखेको भेटिन्छ । उबेला नेपाली व्यापारी पनि तिब्बत जान्थे, तिब्बतीहरू पनि यता आउँथे । त्यहीक्रममा नेपालीले तिब्बतीबाट हातेकागज बनाउन सिकेका हुनसक्ने अनुमान गर्न सकिन्छ ।

नेपालमा सन् १९५० सम्म सबैजसो सरकारी कामकाजमा पहाडे कागज नै प्रयोग गरिन्थ्यो । आज पनि गाउँघरमा तमसुक लेखिंदा पहाडे कागज नै खोजिने प्रचलन छ । उद्योग मन्त्रालयले कम्पनीको प्रमाणपत्र पहाडे कागजमै उपलब्ध गराउँछ । पहाडे कागजको प्रयोगमा कमी आए पनि अस्तित्व हराइसकेको छैन ।

लोक्ता र अर्गेली, थाइमेलेसी परिवारअन्तर्गत छुट्टाछुट्टै समूह (जिनस) का वनस्पति हुन् । दुईमध्ये लोक्ताको समूहलाई डाफ्ने भनिन्छ जुन तीन–चार मिटरसम्म अग्लो झडी वर्गको वनस्पति हो । हिमाली भेगमा भने कतैकतै ५–६ मिटरसम्म उँचाइको पनि भेटिन्छ । नेपालमा लोक्ता समूहका चार प्रजाति सूचीकृत छन् । तीमध्ये डाफ्ने भोलुआ प्रजातिको भने ‘डाफ्ने भोलुआ भेराइटी भोलुआ’ र ‘डाफ्ने भोलुआ भेराइटी ग्लासिअलिज’ पाइने जानकारी छ ।

एन्नोटेटेड चेकलिष्ट अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल (सन् २०००) अनुसार भेराइटी भोलुआ मध्य र पूर्वी नेपालमा पाइन्छ भने भेराइटी ग्लासिअलिज पश्चिम, मध्य र पूर्वी नेपालका केही हिमाली भेगमा पाइन्छ । यसैगरी डाफ्ने रेटुसा र डाफ्ने सुरैल मध्य तथा पूर्वी नेपालमा र डाफ्ने पेपीरेसी पश्चिम र मध्य नेपालमा मात्र पाइएको जानकारी छ । तर, केही पुस्तकमा पूर्वमा पनि डाफ्ने पेपीरेसी पाइएको उल्लेख छ ।

नेपाली लोक्ता कागजबाट बनाइएका हस्तकलाका सामग्री ।

डाफ्ने रेटुसा ।

बास्नेदार लोक्ता

फागुनमा लोक्ता फुल्छ । पंक्तिकार यो फागुनमै तेह्रथुम, चित्रेस्थित मार्गा जंगलमा पुग्दा लोक्ता मनग्य भेटियो । लोक्ताका माथि उल्लिखित सबै प्रजाति पहिलो पटक लगभग २०० वर्षअघि पत्ता लागेका हुन् । यीसहित अन्य प्रजातिका लोक्ताबारे समग्रमा थाहा पाउन भने फ्लोरा अफ चाइना को भाग १३ हेर्नुपर्छ, जहाँ नेपालमा पाइने डाफ्ने समूहका चार प्रजातिसहित जम्मा ५२ प्रजाति र १७ भेराइटीको विवरण उपलब्ध छ ।

मार्गा जंगलमा डाफ्ने भोलुआसहित भोलुआ र ग्लासिअलिज भेराइटीहरू पनि भेटिन्छ । यो प्रजातिको काण्ड सेतो हल्का खैरो रंगको हुन्छ । पात हल्का हरियो ५–१७ सेन्टिमिटर लम्बाइ र १.३–३.२ सेन्टिमिटर चौडाको दुवैतिर चिल्लो हुन्छ । वैजनी रंगको फूल सुगन्धित हुन्छ । फ्लोरा अफ चाइना का अनुसार डाफ्ने भोलुआको काण्डमा पात झ्रेको दाग र पातमा भएको नसाको जोडी अनुसार डाफ्ने भोलुआलाई थप दुई भेराइटीमा विभाजन गरिएको हो ।

प्रायः सेपिलो ठाउँमा पाइने लोक्ताको फूलको रंग एकनासको हुँदैन, कुनै सेतो त कुनै वैजनी, हल्का रातो रंगको हुन्छ । कुनैमा एउटै पात हुँदैन, कुनैमा थुप्रै पात हुन्छन् । डाफ्ने भोलुआ फुलेका बेला पात देखिन्न ।

अँगेरीको पोथ्रा (इड्जवर्थिया गार्डनेरी) लोक्ताभन्दा भिन्न हुन्छ, जसको एउटै बोटले धेरै ठाउँ ढाक्छ । यो पोथ्राको अर्को विशेषता, लोक्ताजस्तो सेपिलो वा छहारीमा नभई खुला ठाउँमा फैलिन्छ ।

टुटे देउरालीतिरका खाली भूभागमा जताततै अर्गेली भेटिन्छ । पहेंलो यसको फूल गोलाकार झुप्पा, हत्केलाजत्रो बल आकारको हुन्छ ।

उद्योगकै सम्भावना

लोक्ता र अर्गेलीबाट विभिन्न जिल्लामा लघु उद्यमको रूपमा पहाडे कागज उत्पादन गरिंदै आएको छ । केही जिल्लामा सरकारले नै अतिविपन्न वर्ग, पिछडिएका महिला, दलित, आदिवासी, जनजाति, दुर्गम तथा सेवाको पहुँच कम पुगेका गाउँपालिकामा यस्तो लघु उद्यमलाई प्रोत्साहित पनि गरेको छ । तर, पहाडे कागजलाई उद्योगकै रूपमा स्थापित गर्ने सोच भने न सरकारमा देखिन्छ न उद्यमीमा ।

gettyimage.com
नेपाली लोक्ता कागज बनाउँदै ।

कमल मादेन
इड्जवर्थिया गार्डनेरी ।
त्यसैले पनि तेह्रथुमका तीनजुरे क्षेत्रमा लोक्ता र अर्गेली फुल्ने जंगल त्यसै खेर गइरहेको छ । प्राकृतिक रूपमै फैलिने यिनका प्रजातिलाई चरिचरन र फँडानी मात्रै व्यवस्थित गर्न सके पनि बचाउन र लोक्ताजन्य कच्चा पदार्थ उत्पादन गर्न सकिन्छ । उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा व्यावसायिक रूपमै लोक्ता र अर्गेली रोप्न सकिन्छ ।

लोक्ताबाट कागजका अतिरिक्त कपडा, झेलालगायतका सामान पनि बनाइन्छ । यस्ता वस्तुलाई निर्यात गरी विदेशी मुद्रा आर्जन पनि गर्न सकिन्छ । थोरै भए पनि व्यापार घाटा कम गर्न सकिन्छ ।

सरकारको पछिल्लो ‘चौधौं योजनाको आधारपत्र’ मा ‘औद्योगिक क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी वृद्धि गरी रोजगारीको अवसर सृजना गर्नु र औद्योगिक वस्तुहरूको निर्यात वृद्धि गरी व्यापार घाटामा कमी ल्याउनु’ राज्यको उद्योग सम्बन्धी उद्देश्य रहेको जिकिर गरेको छ । सत्तारुढ नेकपा (एमाले) ले पनि स्थानीय तहको निर्वाचन घोषणापत्रमा ‘स्थानीय सीप, प्रविधि र कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्न राज्यले नेतृत्वदायी भूमिका निर्वाह गर्ने’ उल्लेख छ । राजनीतिक दलहरूले निर्वाचनका बेला मात्रै विकासका मीठा सपना बाँड्छन् भन्ने आम गुनासो परिवर्तन गर्न पनि केन्द्रीय सरकार, स्थानीय तहलगायत राजनीतिक पार्टीहरूले यसखाले उद्योग सञ्चालनमा ध्यान दिनुपर्छ ।

comments powered by Disqus

रमझम