भारतको विश्वदृष्टि

Share:
  
- शंकर तिवारी

श्याम शरण ।
विश्व मञ्चमा भारतीय कूटनीतिको सारगर्भित उपस्थिति एकाएक भएको होइन । पछिल्लो दुई दशकमा भारतीय अर्थतन्त्रको उर्लंदो फैलावटले यसलाई सम्भव र सहज बनाइदिएको हो । तर त्योभन्दा बढी स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले ‘इन्ष्टिट्युसन बिल्डिङ’ का लागि जुन पूर्वाधार तयार गरेका थिए त्यसैको जग र लाभांशमा भारत दक्षिणएशिया भन्दा पर एशिया र एशियाभन्दा अझै परसम्म आफ्ना कूटनीतिक पदचाप विस्तार गर्न सफल भएको छ । भारत सरकारका पूर्व विदेश सचिव श्याम शरणले आफ्नो नयाँ पुस्तक ‘हाउ इण्डिया सिज् द वल्र्डः कौटिल्य टु दि ट्वान्टी फस्र्ट सेन्चुरी’ मा भारतको कूटनीतिक अडानको बहुपक्षलाई विस्तारमा चर्चा गरेका छन् ।

करीब चार दशक लामो कूटनीतिक करिअरमा श्याम शरणले भारतको कूटनीतिक जीवनमा देखा परेका आरोह–अवरोह नजिकबाट पर्गेल्ने अवसर पाएका थिए, कतिपय महत्वपूर्ण क्षणमा त कर्ता पनि स्वयं थिए ।

राजनीति र कूटनीतिको चर्चा गर्दा विशेषगरी भारतीय उपमहाद्वीपमा महाभारत र कौटिल्यको ‘अर्थशास्त्र’ को चर्चा सदैव हुने गर्छ । तर, कमान्दकीद्वारा संस्कृतमा लेखिएको ‘नीतिसार’ खासै सम्झिइने कृति भने होइन । श्याम शरणले यी दुवै पुस्तकको माध्यमबाट भारतको विदेश नीतिको परम्परा र इतिहास शुरु गरेका छन् । महाभारतको प्रसंगमा राजालाई ‘चक्रवर्ती’ भन्ने गरिन्थ्यो । चक्रवर्ती महाराजाहरूले ‘विजिगीषु’ का कारणले आफ्नो प्रभाव क्षेत्रको विस्तार गर्थे । ‘अर्थशास्त्र’ ले साम, दाम, दण्ड र भेदलाई विशेष महत्व दिन्छ भने नीतिसारले मन्त्र शक्ति, प्रभाव र ‘उत्साह शक्ति’ लाई जोड दिन्छ ।

श्याम शरणले भारतीय कूटनीतिको जरा खोतल्ने क्रममा ‘नीतिसार’ को ‘दूत प्रकरण खण्ड’ लाई ब्रिटिश कूटनीतिज्ञ अर्नेस्ट स्याटोको पुस्तक अ गाइड टु डिप्लोमेटिक प्राक्टिस को प्राचीन भारतीय संस्करणको उपमा दिएका छन् । चल्तीको अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्तले ‘वेस्टफेलियन’ राज्यलाई प्राथमिक अंग मान्दछ । यो मान्यता सत्रौं शताब्दीको मध्यतिरबाट मात्र चल्तीमा आएको हो । पुराणहरूमा व्याख्या गरिएको जम्बुद्वीप ‘मण्डल’ नै भारतीय कूटनीतिको आधार हो । मण्डल परम्पराले आफूलाई महाशक्तिका रुपमा नहेरेर छिमेकीको पनि अस्तित्व स्वीकार्ने गर्दछ, राज्यहरू भूराजनीति, भूअर्थनीतिका अंगका रुपमा एउटा सहअस्तित्वका आधारमा साझा इतिहासमा आवद्ध भएका हुन्छन् ।

स्वतन्त्र भारतले कसरी आफ्नो अन्तर्राष्ट्रिय छवि निर्माण गर्‍यो ? एक्काइसौं शताब्दीमा उसले विश्वलाई कसरी हेर्छ ? किन भारतीय उपमहाद्वीपमा वर्चश्व कायम गर्न चाहन्छ ? अमेरिकासँग रणनीतिक महत्वको आणविक सम्झौता कसरी भयो ? त्यस सम्झौताले भारत कसरी पाकिस्तान भन्दा धेरै माथि र चीनलाई पनि ठाडो नजरले हेर्न सक्ने भयो ?

यस्ता थुप्रै कौतुहलको जवाफ श्याम शरणको पुस्तकमा भेट्न सकिन्छ ।

भारतीय स्वतन्त्रतासँगै विश्व दुई ध्रुवमा विभाजित भयो । तर भारतले असंलग्नताको मध्यमवर्गीय नीति प्रतिपादन गर्‍यो । यसरी भारत कम विकसित नवस्वाधीन देशहरूको नेता बन्यो, अमेरिका र सोभियत संघसँग लिनुपर्ने सेवासुविधा पनि लिइराख्यो । झट्ट देख्दा नेहरू जस्ता आदर्शवान नेता त्यसको कारक देखिए तापनि श्याम शरण भारतीय प्राचीन परम्पराकै निरन्तरताका कारण नेहरूको विश्वदृष्टि असंलग्न र मध्यमवर्गीय भएकोतर्फ संकेत गरेका छन् । नेहरू भन्छन्, “प्रत्येक देशले परराष्ट्र नीति निर्माण गर्दा आफ्नो राष्ट्रिय स्वार्थलाई प्राधान्य दिन्छ । संयोगले भारतको स्वार्थ शान्तिपूर्ण परराष्ट्र नीति र सबै प्रगतिशील देशसँगको सहकार्यसँग मेल खान पुग्दछ ।”

पुस्तक हाउ इण्डिया सिज् द वल्र्डः कौटिल्य टु दि ट्वान्टी फस्र्ट सेन्चुरी

लेखक श्याम शरण

प्रकाशक जगरनट, भारत

पृष्ठ ३१२+३४

मूल्य रु.९६०

संयुक्त राष्ट्रसंघमा असंलग्न आन्दोलनमा संलग्न देशहरूको प्रभावशाली उपस्थिति थियो । सन् १९९० मा सोभियत संघको विखण्डनपश्चात् शीतयुद्धको युग सकियो र अमेरिकाको एकछत्र नेतृत्वको नयाँ अध्याय शुरु भयो । असंलग्न आन्दोलनको हर्ताकर्ता बनेर भारत तेस्रो विश्वको आशाको केन्द्र बन्यो । चीनसँग पराजित भए तापनि पाकिस्तानलाई चार वटा युद्धमा पराजित गर्‍यो । अहिले भारत एशियामा चीनसँग मुकाविला गर्ने शक्तिका रुपमा आफूलाई उभ्याउन खोज्दैछ ।

नेपाल प्रसंग

नेपाली पाठकका लागि श्याम शरण नौलो नाम होइन । १४ कात्तिक २०५९ देखि १० साउन २०६१ सम्म झण्डै २१ महीना काठमाडौंमा नेपालका लागि भारतीय राजदूत रहेका उनी लगत्तै विदेश सचिवमा पदोन्नति भएका थिए । पुस्तकमा उनले छिमेकी पाकिस्तान, चीनसँगै नेपालको पनि चर्चा गरेका छन् । उनी नेपालका लागि राजदूत भएकैले पुस्तकमा नेपालले स्थान पाएको सहजै अनुमान गर्न सकिन्छ किनकि दक्षिणएशियाका अन्य मुलुक बङ्गलादेश, श्रीलंका, भूटान, माल्दिभ्सबारे पुस्तक मौन नै छ । पुस्तकको दोस्रो खण्ड ‘नेबर्स’ अन्तर्गत ‘इण्डिया एण्ड नेपालः अ रिलेसनसिप अफ पाराडक्स’ उपखण्डमा शरणले सम्बन्धका बहुआयाम र विरोधाभासबारे व्याख्या गरेका छन् ।

नेपालमा २०६२/६३ को राजनीतिक संक्रमणमा श्याम शरण भारतीय विदेश सचिव थिए । त्यो राजनीतिक उत्कर्षमा उनी भारतका विशेष दूत करण सिंहसँग काठमाडौं ओर्लेका थिए । त्यतिबेला भारतीय प्रधानमन्त्री मनमोहन सिंह यूरोप भ्रमणमा थिए । वरिष्ठ मन्त्री प्रणव मुखर्जी नेपाल मामलाका थोरबहुत जानकार थिए । श्याम शरणले त्यसबेला विशेषगरी तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई दिएको भोजको प्रसंग पुस्तकमा उल्लेख गरेका छन्, जुन रोचक लाग्छ ।

श्याम शरणः महाराज तपाईं राजसंस्थाको भविष्य कस्तो देख्नुहुन्छ ? ज्ञानेन्द्रः लोपोन्मुख प्रजाति जस्तो ।

राजाले भनेजस्तै भयो, दुई वर्षपछि राजसंस्था लोप नै भयो । तर कतिपय ज्ञानेन्द्रले व्यंग्यस्वरुप श्याम शरणलाई यस्तो उत्तर फर्काएको बताउँछन् । श्याम शरणले पुस्तकमा नेपाली राजनीतिज्ञहरू भारतसँग वार्तामा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा दिने तर तिनै नेताहरू सार्वजनिक ठाउँमा भने भारतको हस्तक्षेपकारी नीति भन्दै चर्को आलोचना गर्ने मनोदशा देखेर आफूलाई उदेक लागेको बताएका छन् । जस्तो कि, इन्डोनेसियामा आयोजित एक कार्यक्रममा राजा र प्रधानमन्त्रीसँगको भेटमा आफूलाई सहभागी नगराउन तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले राष्ट्रिय सुरक्षा सल्लाहकार एम के नारायणनलाई खुसामद गरेको आरोप उनले लगाएका छन् । त्यसो त नारायणनसँग श्याम शरणको सुमधुर सम्बन्ध नरहेको बारे पुस्तकमा अन्यत्र पनि चर्चा गरिएको छ ।

भारतले नेपालसँग व्यवहार गर्दा, ‘नकारात्मक दलिल’ ले भन्दा ‘सकारात्मक अन्तरनिर्भरता’ मा जोड दिनुपर्ने उनको ठहर छ । तर, उनी नेपालमा चीनको प्रभाव बढ्दै गएकोमा चिन्तित देखिन्छन् । भारतले चीनलाई रोक्ने प्रत्याक्रमणीय रणनीति बनाउन नसकेको स्वीकार गर्दै उनी लेख्छन्– ‘नेपालमा चीनको उपस्थिति बढेको छ । हामीले खाली ठाउँ छाडेकोले चीनले त्यो अवसरमा चौका हानेको छ । यस्तो घटना अरु छिमेकीसँग पनि भएको छ । हामीले काम भन्दा कुरा ज्यादा गरेका छौं ।

चीनले त्यसैको फाइदा उठाएको छ ।’ भारतको नेपाल नीति संकटले निर्धारण र खण्डित गर्ने गरेको बताउँदै उनी यस्तो नीति मानवीय लगायतका अरु भौतिक साधनको सहयोगमा केन्द्रित हुनुपर्ने तर्क गर्छन् ।

श्याम शरण छिमेकी मुलुकहरूमा आफ्नो प्रभाव घट्दै जाँदा ज्यादा राजनीतिक हस्तक्षेपको कोशिश गर्ने र नेताहरूलाई तोकेर शत्रुका मित्र घोषणा गर्ने भारतीय प्रवृत्ति प्रत्युत्पादक बनेको बताउँछन् । यस्तो हस्तक्षेपले जनतामा अलोकप्रियता बढ्ने र मित्र पनि शत्रु बन्ने उनको धारणा छ । योभन्दा सिद्धान्तमा अडिग नीतिलाई जोड दिंदा भारतको हित हुने उनको ठहर छ ।

श्याम शरण राजा महेन्द्रले भारत–चीन द्वन्द्वको फाइदा उठाएर प्रजातन्त्रको हरण गरेको तर्क गर्छन् भने २०४६ सालको राजनीतिक परिवर्तनले विभिन्न दमित आवाज उठ्न सहज भएको उनको बुझाइ छ । सोझै नभने पनि पछिल्लो नाकाबन्दीमा भारतको ‘गल्ती’ भएको उनले स्वीकारेका छन् । “नाकाबन्दी मधेशी जनताले गरेको भए तापनि त्यसलाई हटाउन भारत सरकारले उल्लेख्य काम गरेन”, उनी लेख्छन् । नेपाली सत्तामा ‘पहाडे समुदायको वर्चश्व’ भएको र यसो हुनुमा भारतसँग पृथक् देखिने चाहना कारक हुनसक्ने उनको ठम्याइ छ । तामाङलाई तराईको जनजाति भन्नुमा भने उनको त्रुटि देखिन्छ । यता सन् १९६० मा चीनसँग सीमा सम्झौता गरेपछि मात्र नेपालले १९५० को भारत–नेपाल सन्धिलाई अर्घेलो मानेको उनको भनाइ छ ।

सन् २००६–०८ को विश्व आर्थिक संकटपश्चात् अमेरिका एकल महाशक्ति रहेन । झन् डोनाल्ड ट्रम्पले त अमेरिकाको वैश्विक प्रभावलाई ‘अमेरिका पहिला’ भनेर खुम्च्याए । रुसले क्रिमियामा आक्रमण गरेर पुरानो वर्चश्व कायम गर्न खोज्दैछ । जर्मनीको दबदबाले युरोपियन युनियन फूटको सँघारमा छ, बेलायत त फिर्ता हुनै लागेको छ । चीनले एशिया प्रशान्त भन्दा पर प्रभाव विस्तार गरेको छ । विश्व बहुध्रुवमा विभाजित भएको छ । श्याम शरण एउटा अति शक्तिशाली ‘हेजेमोनी’ भन्दा बहुध्रुवीय शक्तिको उपस्थिति ठीक ठान्छन् ।

आलोचकहरू चीन विश्व शक्ति बन्दै गरेको दृश्य भारतलाई असह्य भएको आरोप लगाउन पनि सक्छन् । पुस्तकमा पनि यो कुरा झल्किन्छ । तर नेहरूले जस्तै श्याम शरणले चीनको उदय सहज रुपमा लिन्छन् । किनभने, आदर्शबाट विमुख व्यवहार दिगो हुँदैन । समग्रमा भारतीय कूटनीतिका व्यावहारिक पक्ष उजागर गर्दै आदर्शवादी विश्वदृष्टि प्रदान गर्न पुस्तक सफल छ । प्राज्ञिकताको कसीमा अब्बल पुस्तकलाई कूटनीतिक अनुभवले जीवन्त बनाएको छ नै आधुनिक प्रविधिको प्रयोगले कूटनीतिमा ल्याएको परिवर्तनबारे चर्चा गरिनुले पुस्तकलाई थप सान्दर्भिक पनि बनाएको छ ।

comments powered by Disqus

रमझम