४-१० चैत २०७४ | 18-24 March 2018

घरको निद्रा

Share:
  
- डा. नगेन्द्र कटुवाल

घर बाहिर टाढा पुग्दा घर सम्झिनु परिवारका सदस्यसँग मात्र सम्बन्धित छैन, घरायसी वातावरण र निजत्व पनि गाँसिएको छ । किनभने घर सुरक्षा, आरामको पर्याय हो । आराममा सबैभन्दा बढी निद्रा नै पर्दछ । त्यसैले पनि ‘बाहिर काम, घरमा आराम’ भन्ने गरिएको हो । आफ्नै घर हुनुपर्छ भन्नुमा पनि यही मनोविज्ञानले काम गरेको छ ।

कामको चाप तथा खराब जीवनशैलीका कारण कम सुत्ने तथा निद्रा कम लाग्ने प्रवृत्ति बढ्दो छ । शरीर स्वस्थ राख्न कम्तीमा ६–८ घण्टा सुत्नै पर्ने हुन्छ । मुटु र मस्तिष्कलाई आराम दिन पनि पर्याप्त सुत्नु आवश्यक छ ।

चिकित्सकीय भाषामा निद्रा ‘रेम (‍र्‍यापिड आई मूभमेन्ट)’ र ‘नन्रेम (नन्र्‍यापिड आई मूभमेन्ट)’ दुई प्रकारका हुन्छन् । रेम ३० मिनेट र एनरेम ६० मिनेट गरी ९० मिनेटसम्म आँखा चलेपछि निद्राको एक चक्र पूरा हुन्छ । गहिरो निद्राका लागि रेम र नन्रेमका पाँचदेखि ६ चक्र पूरा हुनुपर्छ । रेम स्लिपमा सपना देखिन्छ । नन्रेम स्लिपमा मानिसको सोच्ने प्रक्रिया विस्तारै निष्क्रिय हुन्छ, शरीरका अंग चलाउन सकिंदैन । भोलिको स्फूर्ति र स्मरणशक्तिका लागि रेम स्लिपले ६ देखि ८ चक्र पूरा गर्नुपर्छ । यस हिसाबले भन्दा, शरीरमा शक्ति सञ्चय गर्ने, मुटु र मस्तिष्कलाई आराम दिनु पनि निद्राको काम हो ।

६ देखि ८ घण्टासम्म निदाउनु स्वस्थकर मानिन्छ । मस्तिष्कमा हुने अर्बौं नसा दिनभर कामका बेला सक्रिय हुने भएकाले राति आराम चाहिन्छ । मस्तिष्कले आराम पाउनु भनेको मुटुले पनि आराम पाउनु हो । शरीरलाई फाइदा हुने रसायनहरु अँध्यारोमा मात्र निस्कने भएकाले उज्यालोमा सुत्दा निद्रा लागे पनि बिहान ताजापनको महसूस हुँदैन ।

झ्याप्प निद्रा लागेपछि सुत्नु राम्रो मानिन्छ । त्यसका लागि साँझ ६ बजेपछि चिनी र कफी सेवन गर्नुहुन्न । अबेरसम्म बसेर सुत्ने बानी पनि हटाउनुपर्छ । सुत्ने कोठामा कहीं कतैबाट उज्यालो परेमा पनि निद्रा पर्न गाह्रो हुन्छ । त्यसैले कोठा पूर्ण रुपमा अँध्यारो पार्नुपर्छ ।

राम्रो निद्रामा ओछ्यानको संरचनाले महत्वपूर्ण भूमिका खेल्छ । तन्ना मिलेको हुनुपर्छ, चार इन्च उँचाइको सिरानी उपयुक्त मानिन्छ । शरीरलाई बोझ नहुने हल्का कपडा लगाएर सुत्नुपर्छ । यदि यसरी सुत्दा पनि निद्रा नलागे उठेर केही थकाइ लाग्ने काम गर्नुपर्छ । थकाइले निद्रा पार्न सहयोग पुर्‍याउँछ ।

अनिद्राको प्रमुख कारण चिन्ता हो । मनमा कुरा खेलाइरहने मानिसलाई निद्रा कमै लाग्छ । निद्रा नपरेपछि टाउको दुख्ने, स्मरण शक्ति घट्ने समस्या देखिनुका साथै एकाग्रपन हुँदैन । तनाव, डर, मानसिक समस्या (उदासीनता, बेचैनी, उन्माद, विक्षिप्तता) वा अन्य शारीरिक रोगको दुखाइ, उत्तेजना, नशालु पदार्थको लत र कतिपयमा औषधिको अनावश्यक सेवनका कारण पनि अनिद्राको समस्या हुन्छ ।

(डा. कटुवाल नसा तथा मानसिक रोग विशेषज्ञ हुन् ।)

प्रस्तुतिः रामु सापकोटा

स्वस्थकर निद्राका लागि . . .

नियमित व्यायाम गर्ने ।

तनाव नलिने ।

नियमित रुपमा एउटै समयमा सुत्ने र उठ्ने ।

मस्तिष्कमा उत्तेजना पैदा गर्ने चिया, कफी, कोकाकोला जस्ता पेयका साथै चकलेट कम सेवन गर्ने, बेलुकी त खाँदै नखाने ।

धूमपान सेवन गर्दै नगर्ने ।

सुत्नुअघि एक गिलास दूध पिउने ।

बत्ती निभाएर मात्र सुत्ने ।

सुत्नुअघि तातोपानीले नुहाउने ।

सुत्नुअघि हल्का खाना खाने ।

ओछ्यानलाई सुत्नका लागि मात्र प्रयोग गर्ने ।

comments powered by Disqus

रमझम