४-१० चैत २०७४ | 18-24 March 2018

ब्रह्माण्ड अनुसन्धाता

Share:
  
आफ्नो कल्पनाशीलता र अनुसन्धानले ब्रह्माण्ड विज्ञानलाई नयाँ आकार दिएका स्टिफन हकिङ विश्व समुदायकै लागि प्रेरणाका स्रोत भएका छन्।

एएफपी
सन् २००७ मा स्टिफन हकिङ अन्तरिक्ष यानमा बसेर पृथ्वीभन्दा केही पर पुगे र शून्य गुरुत्वाकर्षणको अनुभव लिए ।

स्टिफन हकिङ । ८ जनवरी १९४२ – १४ मार्च २०१८ ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका एस्ट्रोफिजिसिस्ट स्टिफन हकिङ आम मानिसका लागि पनि प्रिय वैज्ञानिक थिए । किनभने, उनी आम मानिसप्रति चासो राख्ने विश्व ब्रह्माण्ड शास्त्री, लेखक र असाधारण रोगलाई जित्दै बाँचिरहेका असामान्य मानिस थिए ।

अल्बर्ट आइन्स्टाइन, आइज्याक न्यूटन हाराहारीकै महान् वैज्ञानिक हकिङको जीवन उनीहरू जस्तो सहज थिएन । मोटोर न्यूरोन नामक शरीरका अंगहरू अचेत हुने रोगबाट ग्रस्त हकिङको पारिवारिक जीवन पनि जटिल थियो । हिंड्न, बोल्न नसक्ने उनले कम्प्युटराइज्ड सिन्थेसाइजर लगायत उपकरणका माध्यमबाट संवाद गर्र्थे । हकिङ सधैं स्वचालित ह्विलचेयरमा रहन बाध्य थिए, तर उनको कल्पनाशीलता र अनुसन्धान सामथ्र्यलाई रोगले छेक्न सकेन । उनले भौतिक विज्ञानका गुरुत्वाकर्षण, ब्रह्माण्ड विज्ञान, क्वान्टम थ्यौरी, कम्युनिकेशन थ्यौरी र थर्मोडाइनामिक्स जस्ता अनेक क्षेत्रको व्याख्या एकसाथ गर्ने प्रयास गरे ।

ब्ल्याक होल र बिग ब्याङ्ग

हकिङले सबभन्दा उल्लेखनीय अनुसन्धान ब्ल्याक होलका क्षेत्रमा गरे । सन् १९५९ मा अक्सफोर्ड युनिभर्सिटीमा स्नातकको छात्र हुँदादेखि नै उनले ब्ल्याक होलबारे अध्ययन शुरू गरिसकेका थिए । उनले भौतिक विज्ञानमा स्नातकोत्तरपछि युनिभर्सिटी अफ क्याम्ब्रिजमा विद्यावारिधि अध्ययन गर्दा आइन्स्टाइनले प्रतिपादन गरेको सापेक्षता (जनरल रिलेटिभिटी) को सिद्धान्तलाई थप व्याख्या गरेर ब्ल्याक होलबारे अनुसन्धान गर्न थाले । उनलाई मोटर न्यूरोन (एम्योट्रोफिक लेटरल सिलेरोसिस) ले समातेको त्यही समयमा थाहा भएको थियो ।

हकिङका अनुसार ब्ल्याक होलको पतन बिग ब्याङ्ग थियो । सापेक्षताको अर्थ ब्ल्याक होलको केन्द्र (सिंगुलारिटी) बाट ब्रह्माण्ड शुरू भएको भन्ने हो । हकिङले ब्रह्माण्डको उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै विन्दुबाट भएको र त्यस्तै विन्दुमा अन्त्य हुने बताए । उनले पेन रोजसँग मिलेर सन् १९७० मा प्रकाशित गरेको थेसिसले विश्वभर चर्चा पाएको थियो । त्यसबेला उनलाई रोगले असाध्य च्यापिसकेको थियो । ह्विलचेयरको सहारा लिइसकेका उनले प्रतिपादन गरेको ब्रह्माण्ड उत्पत्तिको सिद्धान्त अझैसम्म अकाट्य मानिन्छ ।

ब्ल्याक होलले सबै चिज आफूमा समाहित गर्छ र यसको भार बढ्छ भन्ने हकिङको शुरूको धारणा थियो । पछि उनले ब्ल्याक होलको आकार घट्न पनि सक्छ भन्ने खोज गरे । त्यसअनुसार, ब्ल्याक होल खुम्चँदै जाँदा त्यसबाट ऊर्जा (रेडियसन) उत्सर्जन हुन्छ र विस्तारै ब्ल्याक होल नष्ट हुन्छ ।

स्टिफन हकिङले भौतिक विज्ञानका दुई बेग्लाबेग्लै सिद्धान्त– क्वान्टम थ्यौरी र जनरल रिलेटिभिटीलाई एउटै सूत्रबाट व्याख्या गर्ने प्रयास गरे । क्वान्टम थ्यौरीले परमाणु जस्ता निकै सूक्ष्म चिजको अध्ययन गर्छ भने रिलेटिभिटीको सिद्धान्तले आकाश गंगा, तारा, गुरुत्वाकर्षण र ब्रह्माण्डमा हुने ठूला घटनाको व्याख्या गर्छ । यो अनुसन्धानलाई उनले पूर्णता दिन नसके पनि अनुसन्धानको बाटो बनाइदिएका छन् ।

‘...हिस्ट्री अफ टाइम’

हकिङ इच्छाशक्ति भए मानिस जे गर्न पनि सक्षम छ भन्ने दृष्टान्त हुन् । असाधारण रूपमा कठिन शारीरिक अवस्थामा उनले गरेका वैज्ञानिक खोज र ब्रह्माण्डसम्बन्धी ज्ञान सामान्य पाठकले समेत बुझ्ने गरी अ ब्रिफ हिस्ट्री अफ टाइम मा लेखेका छन् । सन् १९८८ मा प्रकाशित यो पुस्तक आजसम्म डेढ करोडप्रति भन्दा बढी बिक्री भइसकेको छ । यो पुस्तकले ब्रह्माण्ड शाश्वत हो कि कसैले यसको रचना गर्‍यो ? मनुष्यको उद्भव संयोग मात्र हो या ब्रह्माण्ड उपयोगको लागि हो ? भन्ने जस्ता प्रश्नहरूको जवाफ दिन खोजेको छ । यो पुस्तक २३७ सातासम्म सन्डे टाइम्स को बेस्टसेलर सूचीमा रहेका कारण पनि चर्चित भयो । ४० भाषामा अनूदित भौतिकशास्त्रको यो पुस्तकमा आधारित फिल्म पनि बनेको छ ।

सन् १९९३ मा प्रकाशित अर्को पुस्तक ब्ल्याक होल्स एण्ड बेबी युनिभर्सेस एण्ड अदर एसेस मा हकिङले ब्रह्माण्ड सम्बन्धी आफ्ना अनेकौं अध्ययनलाई रोचक पारामा प्रस्तुत गरेका छन् । उनले भनेका छन्, “मैले अनुसन्धानहरू गरेर ब्रह्माण्डको रहस्य खोलें । मानिसहरू मेरो कामबारे थाहा पाउन उत्सुक भएको देख्दा मलाई गर्व महसूस हुन्छ ।”

ईश्वर, एलियन र मानिस

स्टिफन हकिङ संसार ईश्वरबाट सञ्चालित छ भन्नेमा विश्वास गर्दैनथे । उनले भगवानको अस्तित्व खारेज गरेर सृष्टिको श्रेय गुरुत्वाकर्षणको नियमलाई दिएका छन् । सन् २०१० मा प्रकाशित द ग्राण्ड डिजाइन पुस्तकमा उनले लेखेका छन्– ‘ब्रह्माण्ड फेरि एक पटक शून्यबाट शुरू हुन सक्छ र हुनेछ । त्यसरी अचानक हुने खगोलीय घटना नै हाम्रो अस्तित्वका लागि जिम्मेवार छ ।’

हकिङ २५ पुस १९९८ मा बेलायतको अक्सफोर्डमा जन्मिएका थिए । २१ वर्षको उमेरमा विद्यावारिधि अध्ययन शुरू गर्दा मोटोर न्यूरोन डिजिजको शिकार बनेका उनलाई डाक्टरहरूले अधिकतम दुई वर्ष बाँच्छौ भनेका थिए । डाक्टरहरूलाई झूटो सावित गर्दै ७६ वर्ष बाँचेर २९ फागुन २०७४ मा दिवंगत भएका हकिङले विश्व मानव समाजलाई ठूलो योगदान दिएका छन् । भौतिकशास्त्र (त्रिवि) का प्राध्यापक उदयराज खनाल संसारमा भौतिक विज्ञानको अध्ययन हुँदासम्म हकिङलाई पढिने बताउँछन् ।

खनालको विचारमा, हकिङका खोजहरूले भौतिक रूपमा मानव जीवनलाई प्रत्यक्ष योगदान दिन अझै केही समय लाग्ला, तर उनले मानव चेतनालाई भने आफ्नै जीवनकालमा उकासिदिएका छन् ।

सञ्जीव शर्मा

comments powered by Disqus

रमझम