यूरोप र उत्तर अमेरिकामा पाइने हेर्दा पेन्गुइन जस्तो ग्रेट आक १९औं शताब्दीमा लोप भयो । न्युजिल्याण्डमा मात्र पाइने मोआ पक्षी त्यसअघि नै लोप भइसकेको थियो । मोआको उँचाइ १२ फिटसम्म र तौल २३० किलोसम्म हुन्थ्यो भन्ने अनुमानसम्म छ । वन्यजन्तु र वनस्पतिहरू यसरी लोप नहुन् भन्नेमा हिजोआज विश्वका धेरैजसो राष्ट्र सचेत छन् । नेपालमा भने त्यस्तो सचेतना खासै छ भन्ने अनुभूति हुँदैन । नेपालमा पाइने विशेषतः रैथाने वनस्पतिको अवस्था के छ भन्ने अध्ययन–अनुसन्धान अहिलेसम्म भएको छैन । अध्ययन गरे त्यस्ता थुप्रै वनस्पति लोप भइसकेको निराशाजनक जानकारी प्राप्त हुनेछ ।
नेपालका रैथाने वनस्पतिहरूको सूची अद्यावधिक गर्ने काम भने निकै पटक भइसकेको छ । पुरानो सूची अद्यावधिक गरिंदा नयाँ प्रजाति फेला परेका छन् भने थपिन्छ । नेपालमा रहेका प्रजाति अन्य देशमा भेटिएका यहाँको सूचीबाट हटाएर अद्यावधिक गरिन्छ ।
अनभिज्ञताको प्रचार
दुर्लभ वनस्पति र वन्यजन्तुका अंगहरूको गैरकानूनी व्यापार रोकथाम गर्न सन् १९७५ मा संयुक्त राष्ट्रअन्तर्गत ‘कन्भेसन अन इन्टरनेशनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिस् अफ वाइल्ड फाउन्ना एण्ड फ्लोरा’ (साइटिस) महासन्धि भएको थियो । नेपाल शुरूबाटै त्यसको पक्ष राष्ट्र हो । राष्ट्रसंघीय वातावरणीय कार्यक्रमको प्रशासनिक इकाई अन्तर्गतको साइटिस सचिवालयले संसारभरका पक्ष राष्ट्रहरूसँग समन्वय र संयोजन गर्ने, बैठक डाक्ने तथा विभिन्न उप–समिति बनाई सन्धि कार्यान्वयनको अनुगमन गर्ने लगायतका कार्यहरू गर्छ । पक्षका राष्ट्रहरूले दुर्लभ वन्यजन्तु र वनस्पतिहरूको व्यापार नियन्त्रण गर्न पहल गर्छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र विश्व वन्यजन्तु कोषको नेपाल कार्यक्रमले सन् २००२ मा ‘नेपालमा साइटिस कार्यान्वयन’ (परिचय र पहिचान पुस्तिका) प्रकाशन गरेको थियो । त्यसमा चोरी–शिकारीहरूले अन्नपूर्ण क्षेत्रमा पाइने चिरु मारेर तेस्रो मुलुकमा पुर्याउने भएकाले समय समयमा नेपाल अन्तर्राष्ट्रिय समुदायमा आलोच्य बन्न पुगेको उल्लेख छ । तर, चिरु नेपालमा पाइँदैन, तस्करहरूले तिब्बतबाट तेस्रो मुलुक लैजाँदै गरेको चिरुको रौं भने नेपाल प्रहरीले २०६९ पुसमा बरामद गरेको थियो । म्याग्दीमा बरामद भएको त्यो चिजवस्तु ‘चिरुको रौं नभई भेडाको ऊन भएको’ समाचार पनि पछि पढ्न पाइएको थियो । नेपालमा चिरु कस्तो जनावर हो भन्नेमै अनभिज्ञता रहेको यसले देखाउँछ ।
चेकलिष्ट अफ साइटिज लिष्टेड फ्लोरा अफ नेपाल शीर्षक पुस्तक (२०१७) का अनुसार, साइटिजको सूचीमा नेपालका १७१ वनस्पति प्रजाति सूचीकृत छन्, जसमा १४४ प्रजातिका सुनाखरी छन् । लोप हुने स्थितिमा पुगी नसकेका तर समयमै तिनको व्यापार नियन्त्रण नगरे निकट भविष्यमा नै लोप हुनसक्ने स्थितिमा रहेका प्रजातिहरूलाई अनुसूची–२ मा राखिएको छ । साइटिसको अनुसूची–२ मा सुनाखरीको प्लियुन हुमिलिज पनि सूचीकृत छ ।
तेह्रथुमको तिनजुरे वनजंगलमा यो प्रजातिको भण्डार नै छ । यति धेरै छ कि फागुनमा तिनजुरेको जंगलमा जता पनि यही मात्र फुलेको देखिन्छ । जुनसुकै रूख र ठूला ढुंगाहरूमा पनि यही फुलेको देखिन्छ । चिसो र चिस्यानमा मात्र बाँच्न सक्ने भएर होला सुनाखरीको प्लियुन हुमिलिज प्रजाति घरमा रोपिएको भेटिंदैन । वनमा मनग्गे पाइने र घरमा नरोपिने यो प्रजातिलाई कसरी साइटिस अनुसूचीमा राखियो ? यसले हाम्रा सरकारी तथ्यांक र प्रतिवेदनहरू कति सत्य छन् भनेर सोच्न लगाउँछ ।
साइटिसको अनुसूची–२ मा सुनाखरीको सिम्बिडियम हूकेरिअनम् प्रजाति पनि समावेश छ । यो पंक्तिकारले यही फागुनमा दुई दिन तिनजुरे जंगल चहार्दा एक–दुई ठाउँमा यो प्रजाति पनि फेला पार्यो । चौकी बजार, टुटे देउराली र बसन्तपुरका घर–घरमा रोपिएको पनि भेट्यो । पटक–पटक तिनजुरे घुमेका सुनाखरी विशेषज्ञ डा. भक्तबहादुर रास्कोटीले भने यो प्रजाति त्यहाँ नभई मकालु–वरुण क्षेत्रमा फेला पारेका थिए । त्यसो त, काठमाडौं उपत्यकाका नर्सरीहरूमा बिक्री भइरहेका सिम्बिडियम हूकेरिअनम् पनि नेपालका वनजंगलबाट नभई दार्जीलिङ, सिक्किमतिरका नर्सरीबाट ल्याइएको बुझ्न्छि । प्राकृतिक बासस्थानमा सिम्बिडियम हूकेरिअनम् दुर्लभ अवस्थामा छ ।
साइटिसमा सूचीकृत भएकाले यसले कानूनी संरक्षण त पाएको छ, तर यसलाई कसरी चिन्ने ? यसबारे सम्बन्धित निकायहरू समेत जानकार छैनन् । यो सिम्बिडियम हूकेरिअनम् हो भनेर न स्थानीयले चिन्छन् न त वन विभागका कर्मचारीले । साइटिसमा सूचीकृत भएका सम्पदा जोगाउन देश साइटिस पक्षधर भएर मात्र पुग्दैन यसप्रति सम्बन्धित निकायहरू जानकार हुनुपर्छ भन्ने यसले देखाउँछ । अन्यथा, ‘पक्राउ परेको चिरुको भुत्ला रातारात भेडाको भुत्लामा परिवर्तन’ भइरहन्छ ।
चिम्पान्जीको चर्चा
गत वर्ष प्रकाशित डेविड शुक्म्यान र साम पिरन्तीको अनुसन्धानात्मक लेख ‘दी सेक्रेट ट्रेड इन बेबी चिम्पस्’ ले संसारभर चिम्पान्जी तस्करी भइरहेको बताउँछ । त्यसअनुसार, चिम्पान्जीको एउटा बच्चालाई साढे बाह्र हजार अमेरिकी डलरसम्ममा बेचिन्छ ।
मानिस र चिम्पान्जीको डीएनए ९८ प्रतिशतसम्म मिल्छ । आनुवंशिक रूपमा चिम्पान्जीलाई मानिससँग सबभन्दा नजिक मानिनुको कारण यही हो । यो धेरै बुद्धिमान पनि हुन्छ । तस्करहरूले एउटा चिम्पान्जीको बच्चा समाउन आमाबाबु दुवैलाई मार्ने भनेर शुक्म्यान र पिरन्तीले लेखेका छन् । त्यसक्रममा कहिलेकाहीं चिम्पान्जीको बथानैसम्म सखाप हुने उल्लेख छ । जुन उपाय लगाएर भए पनि समातेको चिम्पान्जीको बच्चालाई तस्करले हावादार छिर्ने गरी बनाइएको काठको बाकसमा राखेर तस्करी गर्छन् । अनुसन्धानको क्रममा थाई नागरिक बनेका लेखकद्वयले चिम्पान्जीका दुइटा बच्चा थाईल्याण्डबाट इजिप्टको कायरो पुर्याउन दलाललाई चार हजार अमेरिकी डलर बुझएको उल्लेख छ ।
बच्चा चिम्पान्जीलाई सुगा, निरबिरालो (सिभेट), न्याउरी जस्ता निर्यातमा कडाइ नभएका जन्तुहरूसँग मिसाएर निकासी गरिन्छ । चिम्पान्जीको माग मूलतः खाडी, दक्षिण–पूर्वी एशिया, चीन आदि देशहरूमा बढी छ । यसमा आश्चर्य मान्नुपर्ने के पनि लेखिएको छ भने पश्चिम अफ्रिकाबाट उल्लिखित मुलुकहरूमा चिम्पान्जी पुर्याउन नेपालको बाटो प्रयोग हुन्छ । यो लेखाइ त्यतिबेला पुष्टि भयो, जब नाइजेरियाबाट ल्याएर काठमाडौं विमानस्थलबाट बाहिर निकालिंदै गरेका दुईवटा चिम्पान्जीका बच्चा प्रहरीले भेट्यो । ती चिम्पान्जी (हे. तस्वीर) अहिले जावलाखेलस्थित सदर चिडियाखानामा छन् ।