४-१० चैत २०७४ | 18-24 March 2018

पुंसत्वलाई प्रश्न

Share:
  

सल्यानहुँदै दाङको हुरीखोला किनारमा बसाइँ सरेका बादीहरुकै कारण बस्तीको नाम ‘पक्रैया’ बन्न पुग्छ । कीर्तिपुर विश्वविद्यालयका प्राध्यापक दिवाकर थापाले छोरीको दीक्षान्त समारोहमा आएकी सामली बादीलाई भेटेपछि नथियाको कथाले लय समात्छ । धेरै वर्ष पहिले स्नातकोत्तर तहको शोधपत्रका लागि अनुसन्धानका लागि बादी बस्तीमा पुग्दा थापा र सामलीको प्रेम टुसाएको हुन्छ । तर, पटक–पटकको विवाह र प्रेममा असफल भइसकेकी सामलीले दिवाकरसँग पुनः उही व्यथा दोहोर्‍याउने औचित्य देख्दिनँ ।

नथिया बादी संस्कृति र बादी युवतीहरुको कथामा आधारित उपन्यास हो । सदियौंदेखि संस्कृतिका नाममा यौन पेशा अपनाउन बाध्य बादी समुदायमा छोरो जन्मँदा दुःखी र छोरी जन्मँदा खुशी हुने संस्कार हुन्छ । छोरी ठूली भएपछि यौन व्यवसाय गरेर आमाबाबुलाई पाल्ने भएकै कारण छोरीको विशेष महत्व हुन्छ । विपरीत; आमाबुबा, दाजुभाइ चाहिं आफ्ना छोरी–चेलीको लागि ग्राहक खोज्दै हिंड्छन् ।

यिनै बादी महिलाले ‘मान्छे’ भएर बाँच्न के कस्ता सङ्घर्ष गरे ? उपन्यासको मूल विषय यही हो । उपन्यासकार सरस्वती प्रतीक्षाले बादी समुदायको बसोबास रहेको दाङको घोराही आसपास, बाँकेको नेपालगञ्ज, बर्दियाको राजापुरको स्थलगत अध्ययनपछि नथिया को स्वरुप बुनेको दाबी गरेकी छिन् ।

पुस्तक नथिया (उपन्यास)

लेखक सरस्वती प्रतीक्षा

प्रकाशक बूक हिल पब्लिकेशन

पृष्ठ ३००,

मूल्य रुः ४२५

बादीको घरमा जन्मनु भाग्यको खेल हो । र, भाग्यले बादी महिलाको पोल्टामा ‘शरीरको सौदागरी’ थोपरिदिएको भन्ने परम्परावादी सोचले सामली बादीको निर्माण भएको छ । सामली यौन व्यवसायी हुनुमा आर्थिक अवस्था, सामाजिक र सांस्कृतिक संरचनादेखि परिवारको चिन्तनले भूमिका खेलेको छ । अनिच्छुक हुँदाहुँदै सामली आमाकै षडयन्त्रमा परी अन्ततः यौन व्यवसायी बन्छे ।

बादी महिलाले नथिया लगाउनु यौन व्यवसायका लागि उमेर पुग्नुसरह ठानिन्छ । त्यसैले पहिलो पटक महीनावारी भएपछि बादी किशोरी नथिया लगाउँछन् र यौन व्यवसायको लागि तयार भएको अपील गर्दछन् । तर, पहिलो संसर्गसँगै उनीहरुको नाकबाट नथिया उत्रिन्छ र उनीहरु भोग्य वस्तुमा परिणत हुन्छन् ।

उपन्यास पढिरहँदा पात्रहरुको संवादले दृश्यको भान दिन्छ । ‘तु हाम्रो शरीरको मालिक त होइनस् नि ! हाम्रो शरीर तुइको दास त होइन नि !’ सामलीले आफ्नै श्रीमान्लाई भनेका वाक्यले आत्मविश्वास उजागर गर्छ । आफ्नो शरीरको मालिक आफू बाहेक अरु हुनै सक्दैन भन्ने विचारलाई उपन्यासले बल दिएको छ ।

नथिया ले विवाहको अर्थ र औचित्यमाथि प्रश्न खडा गरेको छ । सामली श्रीमती र छोराछोरी छन् भन्ने जान्दाजान्दै ग्राहक रेन्जरसँग विवाह गर्न पुग्छे । ऊ ठान्छे, विवाह प्रेमको उच्चतम ‘रूप’ हो । तर, जब उसले रेन्जरबाट पैसा, सुरक्षा र देहव्यापारबाट मुक्ति पाउँदापाउँदै पनि प्रेम पाउँदिन, प्रेम र विवाहका विषयमा अनेकन् प्रश्न उठाउँछे । पाठकलाई सोच्न बाध्य तुल्याउँछे ।

सामलीले मोहम्मदसँग दोस्रो विवाह गर्छे, जसमा प्रेमको आसक्तिभन्दा सुरक्षाको खोजी छ । यहाँनेर पुरुषमा गरिने गुणको खोजी पनि छ । तर, सामलीले दोस्रो पतिसँग पनि खोजेको गुण र सुरक्षा पाउँदिन ।

सामली र जय नेपालबीच बाल्यकालदेखि नै प्रेम थियो, अव्यक्त प्रेम । तर यी दुवैले विवाहका लागि आपसमा प्रस्ताव गर्दैनन् । किनभने त्यहाँ विवाह संस्थाका आधारहरू तय भएका हुँदैनन् । जयबाट सामलीलाई सुरक्षा प्रत्याभूत हुन सक्दैन ।

अब सामली अनुसन्धानकर्ता दिवाकरलाई प्रेम गर्न थाल्छे; प्रेम र विवाह फरक हुन् भन्ने भेउ पाएकी उसले दिवाकरको विवाह प्रस्ताव लत्याउँछे । र, दिवाकरलाई लेख्छे— ‘प्रेम र बिहा फरक–फरक कुरा हुन् । बिहाले प्रेमलाई मार्छ र हजुरसँगको प्रेम मर्‍याको कम्तीमा मु देख्न सक्दोनइ ।’

सामलीलाई बिर्सन दुखानीको जंगल पुगेको दिवाकरले बच्चासँग खेलिरहेकी बघिनीको अनुहारमा सामलीको अनुहार देख्छ । यो शक्तिशाली बिम्बले उपन्यासको सार बताएको छ ।

उपन्यासले पुरुषप्रधान समाजको अहं र ढोंगलाई पटकपटक सतहमा ल्याइदिएको छ । आफ्नो विवाहकै दिन सामलीलाई मुसार्न आउने रत्नमान । श्रीमती हुँदाहुँदै पैसाको आडम्बरमा बादी किशोरीको नथिया उतार्ने साहु बेखामान, भिक्षु र पुजारीको कर्तुत । तर, जय र युक्फुङ सरजस्ता पात्रमार्फत लेखकले समाज परिवर्तनको संकेत पनि गरेकी छन् ।

लेखकले ९५ प्रतिशत यथार्थमा आधारित उपन्यास भनेबाट कथानक यथार्थभन्दा धेरै टाढा नभएको आशा गर्न सकिन्छ । त्यसो त सकेसम्म बादीहरुको बोलीचालीका भाषा नै प्रयोग गर्न खोज्नुबाट पनि उनको मिहिनेत झल्किन्छ । तर, उनको सतर्कता भने अपुग छ । बीचबीचमा बादी महिलाले प्रयोग गरेका अंग्रेजी शब्द पनि खट्कन्छन् । १० पृष्ठ लामो इतिहासको गन्थनले धेरै पाठकलाई झर्को लगाउने सम्भावना छ ।

उपन्यासले बादी समुदायलाई कत्तिको न्याय गरेको छ ? यसबारे बादी समुदायले आधिकारिक धारणा राख्नेछन् । तर, बाँकीले बुझ्नैपर्ने मुलुकभित्रैको बादी समुदायको व्यथालाई आख्यानको रुपमै सही, पुस्तकाकारको रुप दिनुलाई नवउपन्यासकार प्रतीक्षाको सफलता मान्नुपर्छ ।

मस्त केसी


पूर्वरथीको व्यंग्यचेत

सैन्य सेवा स्वयंमा गम्भीर, अलि कठोर । कर्तव्य परायणमा अनुशासन र आदेश पालनालाई सर्वोपरि राख्नुपर्ने भएकाले पेशाइतरका भावले सैनिक जीवनमा खासै स्थान पाउँदैनन् । तर, ब्यारेककै संरचनामै पनि मनका उकुसमुकुस कुनै न कुनै रुपमा प्रकट भइरहेकै हुन्छन् । त्यसैमध्येको पछिल्लो उदाहरण हो– फाइदै फाइदा ।

२०६६ सालमा दुई वटा कथा संग्रह (अपूरो माया र तिर्सना) का सर्जक पूर्वरथी बलदेव महत यो कृतिसँगै हास्यव्यङ्ग्यकार बनेका छन् । र, पेशामै रहँदाको ‘रोमान्टिक’ भोगाइ पस्केका छन् । संग्रहका १२ वटा रचनामा हास्यभन्दा व्यङ्ग्यको आधिक्य रहेको छ । उनले जीवनका कटु एवं विकृत पक्ष÷भोगाइ सटिक रूपमा प्रस्तुत गरेका छन् ।

लेखक शीर्ष रचना ‘फाइदै फाइदा’ मा व्यङ्ग्यात्मक पाराले फाइदाको निरुपण गर्दै पुस्तकको शीर्षक नै ‘फाइदै फाइदा’ राख्न पुगेका छन् । सबै कान्छी प्रिय भए पनि कान्छीआमा र काम गर्ने केटी कान्छी अप्रिय हुन्छन् भन्ने ‘कान्छी’ शीर्षक लेख त्रासद रूपमा टुंगिएको छ । ‘विद्यादान’, ‘छोरीको बिहे’ जस्ता शीर्षकका व्यङ्ग्यले अहिलेको शिक्षाको व्यवसायीकरण र छोरीको बिहेको समस्या उजागर गरेको छ ।

पुस्तक फाइदै फाइदा

लेखक बलदेव महत

प्रकाशक सत्याल प्रकाशन तथा डिस्ट्रिब्युटर्स

पृष्ठ १५४+१८,

मूल्य रु.२००

२०४६ सालको परिवर्तनपछि समाजमा आएको चेतना र वाक्स्वतन्त्रतापछिको आवाजलाई लेखकले राम्रोसँग उधिनेका छन् । २०५२ सालपछिको माओवादी युद्धकालमा लेखकलाई धर्मकर्मले तानेको भान हुन्छ । ‘धर्मकर्म’ शीर्षक त्यसैको उपज हुनुपर्छ, जसलाई लेखकले २०५४ को माओवादीको ‘जनयुद्ध’ कालमा लेखेका छन् । २०६३/६४ को जनआन्दोलनपछि चुलिएको चाकडी, चाप्लुसी र बन्द हड्तालको राजनीतिलाई महतले ‘चम्चा’ र ‘बन्दको फाइदा’ शीर्षकमार्फत परिभाषित गरेका छन् । पुस्तकमा २०४६ सालअघि पनि छद्म नाममा विभिन्न पत्रपत्रिकामा प्रकाशित व्यंग्य पढ्न पाइन्छ । जसले उतिबेलाको बन्द समाजको झल्को दिन्छ ।

विषयवस्तुमा खरो उत्रिए पनि तुकबन्दी र अनुप्रासको बाहुल्यले भने भावको गाम्भीर्य खजमजिएको छ, जसले रचनालाई हलुका बनाएको छ । लेखहरु लामा हुँदा पट्यार लाग्ने त छँदैछ । तर, यी राष्ट्रसेवकको साहित्यसेवी बन्ने अभीष्ट आफैंमा प्रशंसनीय छ । खाँचो छ त, निरन्तरताको ।

धर्म दाहाल

comments powered by Disqus

रमझम