साहेवजीको स्याहामोहर

Share:
  
- ज्ञानमणि नेपाल
सेन राज्यकालमा आफू शत्तिशाली भएको बखत युवराज र महारानीले पनि जिमिदारी खान्की लेखिदिने गरेका थिए।

यसअघिका हिमाल का अंकहरूमा मैले मकवानपुर मूल राज्यबाटै राजा हरिहर सेन र शुभ सेनदेखि राज्य भिन्न भएपछि विजयपुर र चौदण्डीबाट प्रसारित कर्ण सेनसम्मका स्याहामोहर केही सक्कलबाटै र केही चौरासी कुशबाट उतारेर पाठकसमक्ष प्रस्तुत गरें । अहिले यहाँ अलिकति भिन्न प्रकृतिका दुई अभिलेख– महारानीको तामापत्र र युवराजको स्याहामोहरका प्रतिलिपि प्रस्तुत गर्दैछु । अर्को अंकमा काठमाडौंका मल्ल राजाका यस्तै चार–पाँच मोहर दिई केही समय चौरासी कुश प्रकाश गर्ने काम स्थगित गर्दैछु ।

यहाँ प्रस्तुत एउटा तामापत्र पट्टमहिषी (पटरा) को र अर्को साहेवजीको स्याहामोहर हो । यी दुइटै मोहरमा राजामा लाग्ने शिरबेहोरा यथावत् छन् । रानीकोमा चाहिं ‘सदासमरविजयिनाम्’ छैन । रानीले कुनै ठूलो कार्य गर्दा वा पतिको देहान्तपछि सती जाने वेलामा आफ्नो हकभोगको पेवा जमीन सत्यवती उपाध्याय (ब्राह्मणी) लाई कुशबिर्ताको रूपमा दान दिएकी हुन् । सक्कलबाट नक्कल सारेर मलाई दिंदा सार्नेले संवत्को बीचमा एउटा अंक छुटाएको हुँदा शुभ सेनकी बडामहारानी हुन् कि महीपति सेनकी ? खुल्दैन । सक्कल हेरेर मात्र यसको निक्र्योल होला ।

बिर्ता दान पाउने ब्राह्मणीको नाम मोहरको बेहोराभित्र नराखेर परम्परा अनुसार फट्के किनारामा लेखिएको छ । रानीको बिर्ताका खेतबारी बुबाजोर घाटनेर कोशी किनाराका हुन् । युवराजको स्याहामोहरका पनि शिरमा लेखिने बेहोरा पूर्ववत् सम्पूर्ण राजामै लाग्ने यथावत् छ । दुवै मोहरका शिरबेहोरा हेर्दा यथार्थ थाहा भइहाल्छ । राजाकै उपाधिको बेहोरा उल्लेख गरिएका साहेवजी (युवराज) ले बाबु छँदै आफैं शक्तिशाली भएर वा बाबुका सेखपछि तर राजा नहुँदै आफ्ना हजुरिया धर्मदेव राईलाई जिमिदारी खान्की दिएर यो स्याहामोहर गरिदिएको बुझ्न्छि । यी साहेवजी जगत सेन वा विक्रम सेनका छोरा हुन् ।

यो स्याहामोहर चौदण्डी भ्रमण गर्न जाँदा सिद्धपुरकै पश्चिमपट्टिको गाउँका छत्रबहादुर राईबाट मैले पाएको हुँ । उनका पुर्खाले युवराजबाट रुवाफेदी मौजा जिमिदारी पाएका थिए । यसमा हडिया, सावाको कुरा पनि उल्लेख छ । हडिया गाउँ उदयपुर गाईघाटको आसपासमै पर्छ भने सावा सिद्धपुरको दक्षिण भित्री मधेशमा ।

साहेवजीको यो स्याहामोहर अत्यन्त जीर्ण हुँदा पढ्न गाह्रो छ । मुकाम वितलप छ, तर यो कहाँको बिर्ता वितलप हो, खुल्दैन । शिरमा ‘श्री वाराह को’ र बायाँपट्टि किनारामा ‘पटासही’ लेखिएको छ ।

comments powered by Disqus

रमझम