इन्द्रेणी कथा

Share:
  

सातका अनेकौं संयोग भेटिन्छन् । सात रङ्गले इन्द्रेणी कलेवर बनाउँछन् । इन्द्रेणी सुन्दरतासँगै विविधताको प्रतीक पनि हो । लामो समयदेखि समावेशी विविधताको वकालत गर्नेहरूले आफ्नो सपनाको संघीयताको स्वरूप पनि सात वटै प्रदेशमा पाएका छन् । यही वेला महेशविक्रम शाह पनि सातौं कथा संग्रह ‘भुइँखाट’ सहित उपस्थित भएका छन् । पछिल्लो कथा संग्रह ‘ज्याक्सन हाइट’ मा मुलुकको भौगोलिक सरहद बाहिरका कथानक रचेका शाहले ‘भुइँखाट’ मा चाहिं ‘मध्यरातमा म्यानहटन’ बाहेकका कथा स्वदेशी भूगोलभित्रैबाट उधिनेका छन् । उच्च हिमाली भेगदेखि तराई–मधेश, देहात र महानगरसम्मका कथानकहरू पस्किएर कथाका इन्द्रेणी बनाएका छन् ।

यसअघिका ६ थान कथासंग्रह र उनको लेखकीयको स्वीकारोक्ति अनुसार पनि शाहले कथाको शतक पार गरिसकेका छन् । कथाकारले सिर्जनाको ‘सेन्चुरी’ हान्दा पाठकहरू पनि उनको लेखकीय शिल्प, पात्रता र प्रवृत्तिसँग परिचित भइसकेका छन् । त्यसैले पनि नयाँ कथा संग्रह निकाल्नु उनका निम्ति चुनौतीको उपक्रम हो । किनकि, बौद्धिक उत्पादनको गिन्ती ‘क्वान्टिटेटिभ’ (परिमाणात्मक) भन्दा पनि ‘क्वालिटेटिभ’ (गुणात्मक) हुने गर्दछ ।

पुस्तक ‘भुइँखाट’ (कथा सङ्ग्रह) कथाकार महेशविक्रम शाह

प्रकाशक फाइनप्रिन्ट

बुक्स पृष्ठ १६५,

मूल्य ४२५ (हार्डकभर)

‘भुइँखाट’ मा अठार कथा संग्रहित छन् । फराकिलो ‘टाइम एण्ड स्पेस’ (समय र स्थान) को क्यानभासमा कथाकारले विभिन्न समय, सन्दर्भ र स्थानका कथा समेटेका छन् । विभिन्न कालखण्डमा रचिएका कथाहरूलाई संग्रहको ढाँचा दिने अभीष्ट उनमा देखिन्छ । यसको अर्थ, स्वाभाविक रूपले संग्रहका अधिकांश कथा पूर्व प्रकाशित रचना नै हुन् । त्यसैले कतिपय पाठकलाई संग्रहका धेरैजसो कथा ‘फ्रेस’ नलाग्न पनि सक्छ । शाह पनि, पूर्वप्रकाशित रचनाहरूलाई एउटा पुस्तकाकार दिने मनोग्रन्थीका ‘चतुर’ साहित्यकार र स्तम्भकारको श्रेणीमा परेका छन् ।

असलमा पूर्व प्रकाशित वा अप्रकाशित कथा सार्वजनिक गर्नुभन्दा पनि पाठकलाई तरोताजा खुराक पस्किनु लेखकका निम्ति सबैभन्दा ठूलो चुनौती हो । किनकि, लेखकको सिग्नेचर र शैली ‘रु–ब–रू’ पाठक लेखक भन्दा अघि दौडिइदिन्छन्, कथा पूरै छिमल्नु पूर्व नै स्वयं रहस्य उद्घाटित गर्ने क्षमता राख्दछन् । तर, यस दृष्टिमा चाहिं शाहलाई अब्बल मान्नै पर्ने हुन्छ । किनकि कथाका अन्तिम वाक्य पढिनसकुन्जेलसम्म पनि पाठक आफूलाई कौतुकपूर्ण राखिराख्छ । आख्यानको सन्दर्भमा प्रचलित फ्रान्सेली शब्द ‘देनुमों’, जसको अर्थ कथानकको उल्झन अर्थात् संशयको निवारण नै कथाकार शाहको ‘सिग्नेचर’ हो । कथालाई ‘ट्विस्ट’ दिन उनी माहिर देखिन्छन् ।

‘जानरा’ अर्थात् रचना पद्धतिका दृष्टिले महेशविक्रम शाहका रचनाको भावभूमि सामाजिक यथार्थवाद हो । स्वैरकल्पना भन्दा यथार्थ वर्णन रुचाउँछन्, यथार्थलाई पात्रको संवाद र मनोवादमार्फत प्रस्फुटन गर्छन् । संग्रहको शीर्षकथा ‘भुइँखाट’ पति–पत्नी बीचको संवादहीनताको परिस्थिति वर्णन हो । ‘पर्सोनिफिकेसन’ अर्थात् मानवीकरणमार्फत उनले मानवीय सम्बन्धलाई उजागर गरेका छन् । ‘युरी र इण्डियानो’, ‘गोल्डफिस’ र ‘मिस्टर एनोड र मिसेज क्याथोड’ मानवीय सम्बन्धको गैरमानवीय पात्रतामार्फत मानवीकरणका उदाहरण हुन् । यो प्रयोगमार्फत शाहले कथाकारिताको ‘एक्स्ट्रा माइल’ तय गरेका छन् ।

संग्रहका ‘टेपरी गाउँ’, ‘नबावगन्ज’, ‘बिजुलीदेवी’, ‘शीतलहर’, ‘गुलाफ’, ‘रु दश लाख’ र ‘पचास बिंडा पान’ मधेशका कथा हुन् । यसमध्ये पनि पछिल्ला दुई कथा संविधान जारीपश्चात् मधेशमा सल्किएको हिंस्रक आन्दोलनको भावभूमिमा रचिएका हुन् । कथाकारले राजनीतिक मुद्दालाई कथानकमा रूपान्तरित गर्दा मानवीय भोगाइ र संवेदनालाई मियो बनाएका छन् ।

इतर काल्पनिकी

कथाले आकार लिन्छ र आकारले आयतन खोज्छ । अनुभूतिलाई सपाट भनिदिने हो भने त्यो डायरी वा संस्मरण बन्न पुग्छ । फेरि कथन (न्यारेसन) मात्र पनि कथा होइन । वृत्तान्त त झनै होइन । कथन त्यसवेला कथाको रूप धारण गर्छ, जब त्यसमा काल्पनिकी मिसिन्छ ।

“कहिलेकाहीं यथार्थ यतिसम्म जटिल बनिदिन्छ कि त्यसलाई स्वरूप दिन पनि कथा चाहिन्छ”, फ्रान्सेली ‘न्यू वेभ’ सिनेमाका प्रणेता जँ लुक गोदार्दले त्यसै भनेका होइनन् । गोदार्दको भनाइ शाहका निम्ति झनै सान्दर्भिक लाग्छ । किनकि, नोकरीका हिसाबले प्रहरी अधिकृत शाह, सिर्जनाले कथाकार हुन् । उनका अघिल्ला कथा संग्रह जस्तै ‘भुइँखाट’ का कतिपय कथाहरू उनले नोकरीकै दौरान अनुभूत गरेका घटना हुन् । जसलाई आफ्नो काल्पना शक्तिले कथाको रुप दिएका छन् ।

एउटा प्रहरी अधिकृतलाई कथाकार बनाउने जिनिस काल्पनिकी नै हो । अब्बल बनाउने चाहिं शिल्प र प्रस्तुति हो । एकै व्यक्ति शाह, एउटै वारदातलाई भिन्न तौरमा मुचुल्का गर्छन् र कथामा उतार्छन्, गोदार्दको स्वरूप पनि यही हो । कारण, मुचुल्का उठाउने प्रहरी अधिकृत महेशविक्रम शाह हो भने त्यही यथार्थलाई फरक स्वरूप दिने अर्थात् ‘फिक्सनलाइज्ड’ गर्ने कथाकार महेशविक्रम शाह हो ।

शेखर खरेल

comments powered by Disqus

रमझम