अनि चमार राम भयो

Share:
  
- शिवानी सिंह थारू

घुर्ना र अधिकलाल साँझ आँगनमा घुर तापिराखेका थिए । दुवै जना चुप थिए । अँध्यारिंदै गएको साँझ घुरको धुवाँमा लटपटिएको थियो । गम्लङ्ग ओढनी ओढेर, जीउ कुप्राएर, काखीमा हात च्याप्दै एकलदुकल गाउँलेहरू देखिन्थे । ध्वाँसे नीलो साँझमा धुस्रोफुस्रो ओढनीहरूले निन्याउरोपन थपिदिएका थिए । “बाउ, पञ्चयतीमा के फैसला भयो ?” घुर्नाले स्वरको तातोले जमेको मौनता पगाल्न खोज्यो ।

“कहाँ गुवारहरू फट्किंदै फट्केनन् पञ्चयतीमा । बइमानहरू । हमरालोग नगए भनेचाहिं सजा सुनाउँछन् । तिनीहरू नआउँदा बसेको बसे गर्नुपर्छ । दुदु घण्टा फोकटिया इन्तजार गराए । अब भन्छन्, कसैलाई नागरिकता चाहे भने नागरिकता हुनेहरूको सिफारिस चाहिन्छ रे । भला बताऊ, तिनीहरूले सिफारिस हामीलाई गरिदिन्छन् । बहिंनचोहरू ।”

घुरको भुतभुते आगोमा पतिङ्गर थप्दै घुर्नाले भन्यो, “हामी अँगुठा छापहरूसित जहाँ भी यस्तै हो ।”

“अरे भाइ, पासमा नागरिकता हुनेहरू सभ थोडै पढलिख गरेछन् ? यो जातको मामिला हो”, घुर खोसँ्रदै अधिकलालले भने । “हाँ, ऊ त हुँदै हो । उसको माथि कोइ पढालिखा पनि छैन । तब न भन्दै छु ।”

“यो रामलील्ला जस्तो होइन, बौआ । यहाँ पढलिख गर, जे गर । यहाँ त जातले सभकुछ हुन्छ ।”

“जातपात रामलील्लामा पनि हुन्छ, बाउ । तब पनि पता छ, शुकदेव ठाकुर कम्पनीमा के भयो ?”

“पढाइवढाइले गर्दा तिमी कलाकारी गर्न नसकेको बात ?”

“त्यो नाइँ, बाउ । कलाकारी मैले एक्को अक्षर नचिने पनि गरें ।

डायलागबिनाको रोल हुन्थ्यो । तर हाँ पढलिख गरेको भए धेरै कुरा गर्न सक्थें । कम्पनीमा सत्र ओटा रोल गर्नेहरू पनि हुन्थे । दुदु हातले टका सोहोरिन्थे... दुदु हातले ।”

‘“सत्र रोल एउटै खेलामा !” अधिकलालले सोच्नै नसक्ने कुरो थियो त्यो ।

उनले भने, “बाप रे बहुत पहुँचेको कलाकार होलान् ।”

“उँह ! पहुँचेको कलाकार भन्नुहुन्छ । सारहरू डायलाग बोल्दा इस्त्रीपुरूष सब गडबडाइदिन्थे । सीता जो बानर राजा बालीको रोल पनि गथ्र्यो, त्यसले एक चोटि सीताको डायलाग बोल्दा थाहा छ के भन्यो । ‘स्वामी, मे भी वनबास जाउँगा’ रे ।”

अधिकलाल खितखिताउन थाले ।

“पब्लिकहरू पनि थपडी मार्दै हाँस्थे । सार सुग्रीवले एक दिन आधी सोसम्म गडबडाइराख्यो । भन्छ— ‘लङ्कापति मुझ से लडोगी ?’ पछि व्यासजीले पैसा नै काटिदिए ।”

अधिकलालको हाँसो झन् चर्को भयो । घुर्ना अझ फुर्का जोड्न थाल्यो— “यो केही हैन, बाउ । एक चोटि हामी आसपासको गाउँमा बिलौकी माग्न गएथ्यौं । सीता बन्नेलाई जोर से मुतास लाग्यो । रोक्नै सकेन । त जल्दीजल्दी नजदिकको आमको बगियामा गएर मुत्न थाल्यो । मुतेर जब पछाडि फक्र्यो त देख्छ एउटा छोट्का चरवाहा । बस्स, सीतौवाकै पिछा लागिहाल्यो । अनि पूरा गाउँमा हल्ला मचाइदियो कि सीताले उभ्भेर पिसाब फेर्छिन् । सार सीतौवाको जानको आफद भइहाल्यो । पछि मनेजरले सीतौवालाई सात जनम तक मुत बन्द हुने गरी गाली दियो ।”

मज्जा मानिराखेका अधिकलाललाई होसै रहेन दायाँ हात बिसेक नभएको । हाँस्दाहाँस्दै हात मोडिन जाँदा उनलाई चस्क्यो । पीडाबाट सम्हालिएपछि बल्ल उनले सोधे, “यो कुन कम्पनीमा भएको थियो । शुकदेउवाकहाँ ?”

“न्न ! यो पहिलाबला रामचरन कम्पनीमा हुँदा भएको । शुकदेउवाकहाँ अरु अचम्म भयो । त्यहाँको राम बन्ने कलाकारै चमार थियो ।”

“चमार !” अधिकलाल छक्क परे ।

“हँ त ! विरञ्ची चमार । तर ऊ चमार भए पनि पढेलिखेको थियो । यहीं मधुपट्टी सप्तरीको हो । पहिला कुनौलीमा किसनलील्लामा काम गथ्र्यो । जब शुकदेउवा कम्पनीको मनेजरले देख्यो, त रामलील्लाका लागि मनाइहाल्यो । मनेजरवाले अरु जातको राम बन्नेलाई दिनेभन्दा कम पैसा दिएर उसलाई राम बनायो । विरञ्चीलाई पनि चाँदी भइहाल्यो । पैसा कम दिए पनि के, किसनलील्लामा दिनेभन्दा ज्यादा ही थियो । त्यसैले यता घुसिहाल्यो ।”

साँझ गहिरिंदै थियो । बत्तीको टिलपिल छेउछाउका घरमा बल्न थालेका थिए । तर घुर्नाहरू ढिबरी नबाली बिन्दास गफिइराखेका थिए । यस्तोमा बाबुको आँखा ठम्याउन खोज्दै घुर्नाले भन्यो, “जब मुकुटउकुट लगाएर विरञ्ची राम बनेर मञ्चमा उतारिन्थ्यो, सभले राम भनेर आरती उतार्थे । बिलौकीमा पनि जब राम बनेर जान्थ्यो, सार एक से एक बाभनको घर छुछा गरेर बर्बाद गथ्र्यो । कोनोले पता पाउँदैन्थ्यो । फेरि जब कम्पनीमा फर्केर आउँथ्यो त बहिं चाह खाना सभ दूरदूर । गुस्सा र हँसी एकै चोटि उठ्थ्यो मलाई ।”

“अच्छाऽऽ !”

“हँ त ! पहिला मलाई लाग्यो, विषबिनाको हरहरा साँप हो, विरञ्ची । बहुत रिस उठ्थ्यो । बोलाउने बेला मलाई पनि मास्टर भन्थे । तर व्यवहार वही । चाहपानी र खाना खाने बेला कुकुरजस्तै दूर बसेर खानुपथ्र्यो ।

सारहरू गाउँको घरमा छुवाछूत गरवाउँदा ढेउवाको भूत चढेको हुन्थ्यो । कम्पनीमा फर्केपछि बाभन बन्थे । पता छ बाउ, गुरूमहाराजले मलाई बेटा जस्तो गर्छु भन्नुहुन्थ्यो नि ? तर उनी पनि... त्यस्तै थिए ।” “बौवा, वही भएर कम्पनी छोडेको ?”

“रामचरन कम्पनीमा यहीसभ कारणले हो । तर शुकदेउवाकोमा हुँदा आँखी खोलिदियो विरञ्चीले ।” आत्तुर घुर्ना भन्दै गयो, “एक दिन खाना बनाउनेबला भण्डारीले म र विरञ्ची बसेको गुन्द्रीबाट खाना पस्किन सुरू गर्‍यो । अरु बेला हामीलाई सभैभन्दा पछि खाना दिन्थे । ऊ दिन भण्डारीले जल्दीमा हाम्रोतिरबाट खाना पस्कियो । हामी पनि खपाखप खान थाल्यौं ।

अरु जातबलाहरूले रिसले खानावाना सभ फालिदिए । उसको बादमा भण्डारीमाथि हाथ उठाउन लागे । बस्स... म चुप लागेर बस्नै सकिनँ । भण्डारीलाई बचाउन दौडें । जातको मामिलामा बोल्न आयो भनेर तिनीहरूले मलाई घिसारेर लातैलात जमाए । कहाँको मास्टर, कहाँको घुरन । चमरा सार, ढोलपिट्टा भन्दै खुब मारे । तब् बल्ल विरञ्चीको खुन जाग्यो ।” “तब् ?”

“विरञ्चीले मनेजरलाई बोलाएर ल्यायो । अनि जाइकन हुल्लडबाजी बन्द भयो । त्यसपछि मनेजरले छोटामोटा पञ्चयती बसाल्यो । भण्डारीसित माफी मग्वायो । जब उनीहरूले उसलाई माफ गरिदिए, भण्डारीले बस्दिनँ भनेर छाडेर गयो कम्पनी । मैले र विरञ्चीले पनि छाड्छु भन्यौं ।

मनेजरवा सार डराइगयो । मेरो कारणले होइन, विरञ्चीले छोड्छु भनेर । हरामी पैसा खसोटुले सस्तो दाममा रामको रोल गर्ने कहाँबाट पाउँथ्यो । त के गर्‍यो ? मनेजर हामीकहाँ आयो र एक्लैमा विरञ्चीको खुट्टा ढोगेर उनीहरूको तरफबाट माफी माग्यो । विरञ्ची बल्ल मान्यो । म त एकदुतीन मानेको थिएन । तर विरञ्चीले भन्यो—यति गर्नु पनि बहुत ठूलो बात हो ।”

चुइँक्क बोलेका होइनन् अधिकलाल । गाउँलेहरूलाई यो कुरा भन्यो भने पत्याउँछन् होला त ? यस्तै सोचिराखेका थिए सायद ।

“बाउ, त्योपछि मैले ठानिलिएँ, म पनि विरञ्चीजस्तै बन्छु । मलाई बढिया लाग्ने रावणको रोल गर्न जे गर्नुपर्छ, वही गर्छु । आखिर रावणको रोलको वजन रामजत्तिकै हुन्छ । तर सुन्छौ, विरञ्चीले मलाई के भन्यो ?” मुहार उज्यालो हुने गरी मुस्कायो घुर्ना, “उसले भन्यो, उसको भाउ रामको रोल गरेर पक्कै भएको हो । तर यदि उसले पढेवढेको नभए ऊ कहाँ राम बन्न सक्थ्यो ? ऊ पनि म जस्तै कि ढोलक कि नाल बजाउँदै इस्टेजको मास्टरजी बन्थ्यो । र कम्पनी छोड्छु भन्दा कसैलाई कुछ फरक पर्दैनथ्यो । जस्तो कि मलाई भयो रामचरन कम्पनीमा । उसैले मलाई सम्झायो, बुझायो । भन्यो, अगर सक्छौ भने अलि पढ्लिख गर । तब् जहाँ पनि जम्न सक्छौ । अनि मैले सोचें, म जरूर पढ्छु । तबै गुरूमहाराजकहाँ नफर्केर यतै आइहालें सोझै ।”

अधिकलाल केही सोध्न लाग्दै थिए । तर घुर्ना एकसुरेजस्तै बोल्दै गयो । “के भनूँ, बाउ । जब मनेजरले विरञ्चीको पावँ ढोगेको देखें, मनलाई बहुत चैन आयो । भला चमारसँग ठूलो जातकाले माफी मागेथ्यो कहीं ।

अहिलेसम्म जति पनि छिछि दुरदुर सहेको छु, त्यति बेला सभको हिसाब चुक्ता भए जस्तो लाग्यो । मलाई त्यही छिनबाट धेरै कुरा साफ भयो, बाउ । मैले ठानें...,” बोल्दाबोल्दै घुर्ना रोकियो । बाबुको मुहार कतै टोलाइराखेको थियो । उसको ढाड चिसो भएर आयो । ऊ फेरि रामलीलामा फर्किदिए हुने भन्ने सोचिराखेका होलान्, घुर्नाले अड्कल्यो । एकाएक स्याँठले हाने जस्तो भयो । ऊ घुरलाई ठोस्न थाल्यो ।

घुरमा काँचो छेस्का पड्कियो, चटाकचुटुक गरी । फिलिङ्गो हावामा लप्क्यो । अधिकलाल अलि पछिल्तिर सरे । घुर्नालाई पोलिनेको वास्ता भएन । उसलाई भित्रभित्रै पोलिराखेको थियो, शुकदेव ठाकुर कम्पनीमा पैसाका लागि ढोलकियाबाट नचनियाँ बन्नुपरेको बाध्यताले, नचनियाँ बनेर नाच्दा हिजडा भनेर हेपिएको पीडाले, जुन उसले बाबुलाई भन्न सकिराखेको थिएन । पैसाका लागि यति सब बेहोर्नुपर्दा पनि आमालाई बचाउन नसकेको निरर्थकताले उसलाई पोलिराखेको थियो ।

comments powered by Disqus

रमझम