सितारका रकस्टार

Share:
  
- डा. ध्रुवेशचन्द्र रेग्मी
विजय चाहन्थे– गितार समाउने हातहरूमा सितार पनि पुगुन्, कलाकारले आत्मसम्मानसहित अभावहीन जीवन बाँच्न सकुन्।

विजय वैद्य ।
विजय वैद्यसँग मेरो पहिलो भेट २०४१ सालतिर त्रिभुवन विश्वविद्यालयको रजत जयन्तीको उपलक्ष्यमा आयोजित अन्तरक्याम्पस संगीत प्रतियोगिताको प्रतिस्पर्धीको रुपमा भएको थियो । प्रतियोगितामा संगीत बुझ्नेभन्दा मनपराउनेको जमघट भएकाले प्रायः सबै प्रतिस्पर्धीले रागमा आधारित धुन तथा गीत प्रस्तुत गर्यौं । मैले वरिष्ठ गायक बच्चु कैलाशको ‘त्यो आँखाले लौन मलाई मार्‍यो’ गीत प्रस्तुत गरें । तर विजयले विशुद्ध राग नै प्रस्तुत गर्ने अडान लिए । र, प्रतियोगितामा तेस्रो भए ।

विजयमा प्रारम्भिककालमा सितारका परम्परागत रागका रचनाशैलीहरूलाई हुबहु अनुसरण गर्नुपर्छ भन्ने थियो । तर, सुरसुधा मा सितारवादकको रुपमा प्रवेश गरेपछि भने उनमा परिवर्तन देखिन थाल्यो । उनको प्रस्तुतिमा रागका साथै लोकप्रिय गीतहरूको सम्मिश्रण सुनिन थाल्यो । नेपालमा त्यसबेलासम्म शास्त्रीय संगीतलाई परिमार्जन गरी त्यसखाले धुन प्रस्तुत गर्ने प्रचलन नै थिएन । विजय तथा सुरसुधा को प्रयोगलाई आम मानिसले मन पराउन थाले । स्थिति यस्तोसम्म भयो कि सितार, बाँसुरी तथा तबलाको छोटो मीठो धुन बज्यो कि सुरसुधा को धुन भनी मानिसले बुझ्न थाले ।

सुरसुधा ले नेपाली समाजसँगै अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान बनायो । विजय २०४५ सालतिर सुरसुधा मा आबद्ध भए । करीब १०–१२ वर्षको सहकार्यपछि उनी समूहबाट अलग भए । र, केही वर्ष विजय एण्ड फ्रेन्ड्स का नामबाट देखिन थाले । केहीपछि रक सितारमार्फत संगीत यात्रालाई निरन्तरता दिए । सुरसुधा मा होस् वा रक सितारमा, जहाँ होस्; विजयको शैली, प्रस्तुति, भेषभुषा भिन्न र अनौठो हुन्थ्यो । लाग्दथ्यो, उनी हिप्पी अभियानबाट बढी नै प्रभावित देखिन्थे ।

सहकर्मीहरूका अनुसार, विजय शिवभक्त थिए । उनको खानपान, भेषभुषाबाट त्यो झल्किन्थ्यो पनि । त्यसैले पनि हुनसक्छ, झण्डै एकदशकअघि रक सितार ब्याण्डले महाशिवरात्रिका अवसरमा किराँतेश्वर मन्दिरमा शिवजीकै हाउभाउमा ‘जय शम्भो’ नामक रमाइलो रचना प्रस्तुत गरेको थियो । त्यसको श्रोता÷दर्शक म पनि थिएँ ।

आरम्भकालमा शास्त्रीय रागका कट्टर हिमायती विजय रक सितारको अवतारपछि भने बेग्लै देखिए । श्रोता र दर्शक प्रभावित पार्न सितारको तारलाई दाँतले बजाउनेजस्ता हर्कत पनि उनले गरे । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित त्रिकाल समूहको एउटा कार्यक्रममा म स्वयंले पनि त्यो अनुभव गरें । यस्ता कतिपय कारणले उनलाई संगीत विकृत पारेको आरोप पनि नलागेको होइन । तर, विजय र सितार यस्तै क्रियाकलापले पनि युवापुस्तामा लोकप्रिय बन्न पुग्यो ।

वर्षौंको साधनापछि मात्र व्यक्ति कलाकार बन्न सक्दछ । त्यसैले आफ्नो स्वार्थ र लाभका लागि कलाकारहरू राजनीतिक दलहरूको पिछलग्गु हुनुहुँदैन, आत्मसम्मान त्याग्नुहुँदैन भन्ने विजयको मान्यता थियो । अन्तर्वार्ता दिएवापत कलाकारले पनि पारिश्रमिक पाउनुपर्ने उनको धारणा थियो । प्रतिलिपि अधिकार र संगीत चोरी जस्ता विषयमा उनी चिन्तित देखिन्थे ।

“हाम्रो संगीत सार्वजनिक यातायातका साधनमा बजेबापत थोरै मात्र रोयल्टी प्राप्त गर्न सके मात्र पनि कलाकारको जीविकोपार्जनमा सहयोग पुग्थ्यो”, झण्डै दुई दशकअघि नै विजय भन्थे । तर कस्तो संयोग, गएको १८ चैत २०७४ मा उनको देहावसान भएकै दिन सरकारले ‘अब उप्रान्त सार्वजनिक सवारी साधनहरूको नवीकरण गरिंदा कलाकारलाई रोयल्टी बुझाएको प्रमाण पेश गरेपछि मात्र नवीकरण गरिने’ व्यवस्था लागू गर्‍यो ।

५२ वर्षको उमेरसम्म विजयले जे–जति गरे, ती सबैमा सितार वाद्यको विकास र लोकप्रियता केन्द्रमा थियो । सुरसुधा सँग र यसबाहेक गरी १२ वटा अल्बमका सर्जक उनी गितार समाउने युवा हातमा सितार कसरी थमाउने भन्नेमै चिन्तनरत रहन्थे । त्यसैको उपज थियो, रक सितार, इलेक्ट्रिक सितार । भुईंमै बसेर मात्र सितार बजाउनुपर्छ भन्ने शास्त्रीय सोचका विरोधी थिए उनी । त्यसैले उनी उठेर, झुमेर, नाचेर सितारका तार झञ्कृत पार्दथे ।

अब विजय रहेनन् । सितारका साधक रहेनन् । शास्त्रीय सितारदेखि रक सितार वादनसम्मको उनको यात्रा अचानक असमयमै टुंगियो । देशले संगीतको मर्मज्ञ गुमायो । सितारको तार चुँडियो ।

(रेग्मी सुकर्म सांगीतिक समूहका सदस्य हुन् ।)

comments powered by Disqus

रमझम