‘भगवान’ को घरफिर्ती

Share:
  
झण्डै एक हजार वर्ष पुराना दुई भगवानका मूर्ति भर्खरै नेपाल फिर्ता ल्याइएको छ, सयौं अरु ल्याउनै बाँकी छ।

बुद्ध मूर्ति ।
काठमाडौं, यट्खा टोलका कृष्णबहादुर तुलाधर (६२) अचेल एउटा मुकुटको पूजा गर्छन् । २०४२ सालमा नजिकैको मन्दिरमा रहेको बुद्ध मूर्ति हराउनु अघिसम्म यो मुकुट त्यही मूर्तिमा शोभायमान हुन्थ्यो, तुलाधर परिवार मुकुटसहितको मूर्तिकै पूजा गथ्र्यो ।

१०औं शताब्दीको उभिएको बुद्ध मूर्ति र १२औं शताब्दीको उमामहेश्वरको मूर्ति अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्यूजियम अफ आर्टबाट २१ चैतमा मात्र नेपाल फिर्ता ल्याइएको छ । उमामहेश्वरको मूर्ति भने टंगलहिटीबाट २०३६ सालमा हराएको थियो ।

“यो त हाम्रै मन्दिरबाट हराएको मूर्ति जस्तो छ” अमेरिकाबाट फिर्ता ल्याएर पुरातत्व विभागको जिम्मा लगाइएको बुद्ध मूर्तिको तस्वीर देखेपछि तुलाधरले भने, “उही मूर्ति हो भने हामीसँग भएको मुकुट ठिक्क हुन्छ होला ।”

३० वर्षअघि एकाएक मूर्ति हराएपछि अनुसन्धानका लागि कुकुर लिएर आएको प्रहरीले स्थानीयलाई चोरीको आरोपमा दुःख दिएको श्याम डंगोललाई अझै सम्झना छ । सानो छँदा मूर्ति अगाडि प्रार्थना गरेको र बहीमा खेलेको पनि ताजै छ । मूर्ति नभेटिएपछि समुदायले अर्को मूर्ति बनाएर प्रतिस्थापन गरिसकेको छ । तर मन्दिर वरपरको खुला ठाउँ र बही भने निजी घरहरूबाट अतिक्रमणमा परेका छन् ।

२००७ सालमा प्रजातन्त्र प्राप्तिसँगै नेपाल विश्वका लागि खुला भयो । त्यसपछि नै हो, काठमाडौं उपत्यकाका मठ–मन्दिर र बिहारहरूमा पूजा गरिने हजारौं देवी–देवताका मूर्तिहरू हराउन थालेको । चोरीका मूर्ति पश्चिमी संग्रहकर्ता र संग्रहालयलाई बेचिन थाले । २०३०को दशकमा मूर्ति चोरी झनै तीव्र बन्यो ।

न्यूयोर्कबाट बुद्धको मूर्ति फिर्ता ल्याइँदैछ भन्ने सुनेका काठमाडौंका तेजरत्न ताम्राकार (७०) ३० वर्षअघि यट्खा बहालको अगन छेंबाट हराएको मूर्ति आउने आशामा थिए । तर तस्वीर हेरेपछि उनले भने “यो उभिएको छ, हाम्रा देउता त भूमिस्पर्श मुद्रामा बसेका थिए ।”

न्यूयोर्कको मेट्रोपोलिटन संग्रहालयले उमामहेश्वरको मूर्ति सन् १९८३ मा एक जना निजी संग्रहकर्ताबाट प्राप्त गरेको थियो भने उभिएको बुद्ध मूर्ति सन् २०१५ मा । यी दुवै मूर्ति नेपालबाट तस्करी गरी त्यहाँ पुर्‍याइएको बारे लैनसिंह बाङ्देलले सन् १९८९ मै ‘स्टोलन इमेजेज् अफ नेपाल’ पुस्तकमार्फत विश्वलाई जानकारी दिए । मूर्तिको सचित्र विवरण संग्रहालयका अधिकारीले पढे । र, एकवर्षअघि मूर्ति नेपाल फर्काउन संग्रहालय तयार भएको जनाउ दिए । न्यूयोर्कस्थित नेपाली कन्सुलेट कार्यालयको सहजीकरणमा मूर्ति देश आइपुग्यो ।

उमामहेश्वरको मूर्ति ।
बुद्ध मूर्तिको नाक बाङ्देलको पुस्तकमा प्रकाशित तस्वीरभन्दा केही फरक देखिन्छ । तर, संग्रहालयमा दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका कला क्यूरेटर जन् गाय ३० वर्षअघि यो मूर्ति बेचिंदा नाक मर्मत गरिएको हुनसक्ने बताउँछन् ।

सौभाग्य नै भन्नुपर्छ, लैनसिंह बाङदेल, यूर्गेन शिक र पछि डा. रमेश ढुंगेलले मूर्तिहरूबारे लेखे । बाङ्देलपछि शिकले द गड्स् आर लिभिङ द कन्ट्री पुस्तकमार्फत हराएका नेपालका मूर्तिहरूको मूल स्थानको दस्तावेजीकरण गरे । न्यूयोर्कको मेट्रोपोलिटन संग्रहालय नै पुगेर नेपाली मूर्तिहरुबारे अध्ययन गर्ने अवसर पाएका डा. रमेश ढुंगेलले द लस्ट हेरिटेज पुस्तकमार्फत मूर्तिको हालबारे जानकारी दिए ।

“यी दुई मूर्ति जुन संग्रहालयबाट फर्काइए, ढुंगेलजीले त्यहीं अध्ययन गर्नुभएको हो”, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल भन्छन्, “अझै कति मूर्तिहरू विदेशमा छन्, पुस्तकबाटै थाहा हुन्छ ।”

२०५२ सालदेखि अहिलेसम्म बेलायतबाट १९ वटा कलाकृति फिर्ता ल्याइएका छन्, जबकि यस्ता सयौं मूर्ति त्यहाँका संग्रहालय र निजी संग्रहकर्तासँग रहेको मानिन्छ । फर्काइएका अधिकांश मूर्ति पनि सम्बन्धित समुदायलाई हस्तान्तरण नगरी संग्रहालयमै राखिएका छन् । भर्खरै अमेरिकाबाट ल्याइएका उमामहेश्वर र बुद्धका मूर्ति पनि छाउनीस्थित राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिएको छ ।

“मूर्तिसँग मानिसहरूको आध्यात्मिक, मनोवैज्ञानिक र भावनात्मक सम्बन्ध गाँसिएको हुन्छ, त्यसैले यस्ता मूर्तिहरू समुदायलाई नै फिर्ता गरिनुपर्छ र सरकारले सुरक्षा दिनुपर्छ” संस्कृतिविद् डा. ढुंगेल भन्छन्, “संग्रहालयमा राखेपछि यी मूर्ति कलाका सामग्री मात्रै बन्छन्, यसो गरिनु मूर्तिहरूमा जीवन हुन्छ भनी विश्वास गर्नेहरूप्रति अन्याय हो ।”

समुदायमा पनि यी मूर्तिहरू मूल मन्दिरमै स्थापना गरिउन् भन्ने चाहना छ । ४० वर्षअघि टंगाल हिटीबाट हराएको बलभद्रको मूर्तिको तस्वीर देखाउँदै तीर्थराज बज्राचार्य, विश्वभक्त मल्ल र श्रीराम ताम्राकार मूर्ति फेला पर्ला र टंगलहिटीमै स्थापित गरौंला भन्ने विश्वासमा छन् । “उतिवेला चोरिए तर, अब मूर्ति फिर्ता आए हामी आफैं संरक्षण गर्छौं”, बज्राचार्य भन्छन् ।

यसबारे पुरातत्व विभाग पनि सकारात्मक छ । प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार, त्यस्ता मूर्ति फिर्ता लिन समुदायले जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन दिन सक्छन् । “सुरक्षा बारे आश्वस्त हुन सकिएमा समुदायमा फिर्ता नदिने भन्ने कुरै छैन”, विभागका महानिर्देशक दाहाल भन्छन् ।

सहिना श्रेष्ठ

comments powered by Disqus

रमझम