अर्पणाको वैश्विक कला

Share:
  
पाँच वर्षअघिदेखि मात्र गहना डिजाइन थालेकी अर्पणा रायमाझी अमेरिकामा ख्याति कमाउन थालेकी छिन्।

आयशा शाक्य
गहना डिजाइनर, मोडल र व्यवसायी अर्पणा रायमाझीले गर्न नसक्ने केही छैन भनेजस्तै छ । गहना डिजाइनको दुनियाँमा बेग्लै पहिचान स्थापित गरिसकेकी न्यूयोर्कमा बस्ने यी नेपाली युवती विश्व चर्चित हुँदैछिन् ।

गहना डिजाइनको शृंखला शुरु गरेको चार वर्षमै अर्पणा द न्यूयोर्क टाइम्स को ‘३० वर्षमुनिका ३० जना’ सहित भोग, हार्पर बजार जस्ता विख्यात पत्रिकामा छाइसकेकी छन् । फेशन शो भिक्टोरियाज् सिक्रेटमा अड्रियाना लिमा र गिगी हदिद् जस्ता सुपर मोडल उनको डिजाइनमा सजिइसकेका छन् ।

“खै, मैले गहना रोजें र ! बरु गहनाले पो मलाई रोजेका हुन् कि”, न्यूयोर्कमा भएको भेटमा अर्पणाले भनिन् । द कूपर यूनियन स्कूल अफ आर्टमा पेन्टिङ र मूर्तिकला अध्ययन गरेकी उनी गहना डिजाइनमा यसरी डुबिन् कि स्नातकपछि थप अध्ययन गर्नेतर्फ सोच्नै भ्याइनन् ।

“शुरुमा पोतेका डिजाइन बनाउन शुरु गरें, त्यसवेला म बेखर्ची जस्तै थिएँ र अरु केही गर्न सक्ने अवस्था थिएन” उनी भन्छिन्, “खर्च जुटाउन वेटर र आयाको काम पनि गरें, त्यसैवेला लाग्यो अहिले गहनामा काम गर्न सकिनँ भने फेरि कहिल्यै गर्न पाउँदिनँ ।”

शुरुमा अर्पणाले आफ्ना डिजाइन साथी र साथीका साथीहरुलाई बेच्न थालिन् । तर, आफ्ना गहना आफैं लगाएर इन्स्टाग्राममा फोटो राख्न थालेपछि उनको चर्चा बढ्दै गयो । ६ महीनामै अमेरिकी फेशन म्यागाजिन भोग मा अर्पणा बारे छापियो, इन्स्टाग्राममा उनलाई दशौं हजारले पछ्याउन थाले ।

“आफैंलाई आफ्नो कामप्रति विश्वास छैन भने अरुले त झनै गर्दैनन्, मेरा लागि इमानदारीपूर्वक आफ्नै काम गर्नु महत्वपूर्ण थियो”, अर्पणा भन्छिन् ।

परम्पराभन्दा फरक साना आकृति झुण्डिएका, कृत्रिम कपाल र अन्य झुम्का जोडिएका रंगीन, छरिता गहना डिजाइन उनका विशेषता हुन् । प्रशंसकका भनाइमा उनका गहना ‘मौलिक र समयअनुकूल’ हुने गर्छन् ।

यसै वर्षदेखि हीराका गहनाको डिजाइन शुरु गरेर अर्पणाले अर्को फड्को मारेकी छन् । अष्ट्रेलियन हीरा कम्पनीका लागि ‘डायमण्ड विथ स्टोरी’ शृंखला डिजाइन गर्न थालेपछि उनी कालिगडबाट कला निर्देशक बन्न पुगेकी छन् । समाज र वातावरणबारे सचेत उनी हीरामा कुनै विवाद नरहेकाले यसको डिजाइन गर्न शुरु गरेको बताउँछिन् ।

नेपालीपनमा उत्तिकै रमाउने अर्पणाले नेपाली परम्परागत गहनाका डिजाइनलाई पश्चिमा पारामा ढाल्छिन् । यो एक हिसाबले ‘फ्युजन’ जस्तै हो । यसैले उनका डिजाइनलाई वैश्विक बनाएको छ ।

आफ्नाबारे विदेशमा झैं नेपालमा पनि चर्चा हुनुलाई भने उनी सुखद आश्चर्य ठान्छिन् । “भिक्टोरियाज् सिक्रेटमा नेपाली दर्शकहरुबाट पाएको प्रतिक्रिया गज्जबको थियो । क्रेज देखेर निकै दंग परें”, उनी भन्छिन् ।

पाँच वर्षपछि पोहोर दुई पटक नेपाल आएकी अर्पणालाई काठमाडौंको सौन्दर्य मात्र होइन, अव्यवस्थाले पनि ऊर्जा दिइरहन्छ । नेपाली प्रतिभालाई प्रोत्साहित गर्न र हस्तकलालाई जीवन्त बनाउन नेपालमा पनि आफ्नो स्टोर खोल्ने उनको चाहना छ ।

“मलाई लाग्छ, मानिसहरु मलाई हेरुन् र आफूमा मलाई देखून् । उसले सक्छे भने मैले किन नसक्ने भन्ने लागोस्”, अर्पणा भन्छिन्, “त्यस दिन म आफूलाई साँच्चिकै सफल ठान्ने छु ।”

आयशा शाक्य, न्यूयोर्कबाट

comments powered by Disqus

रमझम