अब देवता फिर्ता अभियान

Share:
  
- कनकमणि दीक्षित
चोरिएर विदेश पुगेका मूर्तिहरुलाई आफ्नै थातथलोमा फर्काउन के के गर्नुपर्ला ?

पाटन म्यूजियममा प्रदर्शित जर्मनीबाट फर्किएको धुलिखेलको उमामहेश्वर ।
गत हप्ता न्यूयोर्क शहरको संसारकै उत्कृष्ट कहलिएको मेट्रोपोलिटन म्यूजियम अफ् आर्टबाट दुई मूर्ति केही दशकको प्रवासपश्चात् नेपालमण्डल फिर्ता आए– एउटा काठमाडौं महानगरपालिका यट्खा टोलको शाक्यमुनि बुद्ध, अर्को ललितपुर महानगरपालिका टंगलहिटीको उमामहेश्वर ।

गत ७० वर्षमा नेपालबाट हजारौं मूर्ति चोरी भएर विदेशिए । तीमध्ये केही दर्जन मात्र फिर्ता आएका छन् र तिनलाई आफ्नो पुरानो थलोमा नभई पुरातत्व विभागअन्तर्गतका म्युजियममा सुरक्षित राखिएका छन् ।

नेपालमण्डलको मूर्ति पूजाले यहाँको जीवन्त संस्कृति (लिभिङ कल्चर) प्रतिबिम्बित गर्दछ । कुनै मूर्ति लोप हुँदा स्थानीय नागरिकको मस्तिष्क मात्र खल्बलिने होइन, पूरै समुदायको मनोबल गिर्दछ । मूर्तिसँग सम्बन्धित पूजाआजा, जात्रा तथा अन्य पर्वहरू पनि सेलाउँदै जान्छन् । त्यसैले पनि ‘इन्ट्यान्जिबल हेरिटेज’ लाई बचाइराख्न ‘ट्यान्जिबल हेरिटेज’ को संरक्षण या पुनस्र्थापन गर्नुपर्दछ । र, संसारभर छरिएका हाम्रा देवदेवीलाई फेरि आफ्नो थलोमा फिर्ता ल्याउन सशक्त अभियानको खाँचो छ ।

हामीलाई थाहा भइसक्यो– विदेशी ‘आर्ट कलेक्टर’ वा म्यूजियमलाई ‘तिमीसँग नेपालबाट चोरिएको मूर्ति छ है’ भनेर थाहा दिइँदा उनीहरू फिर्ता पठाउन सजिलै राजी हुन्छन् । १८ वर्ष अगाडि बर्लिनको इन्डिश कुन्स्ट् म्यूजियमबाट धुलिखेल वः टोलबाट सन् १९८२ मा चोरिएको कैलाश पर्वतमा विराजमान उमामहेश्वर यसैगरी फिर्ता गरियो, जुन अहिले पाटन म्यूजियममा राखिएको छ (हे. तस्वीर) । त्यस्तै सन् १९९९ मा अमेरिकाका एक कलेक्टरले चार वटा मूर्ति फर्काए, कामनपा भिन्छे बहाःको शाक्यमुनि, कामनपा ह्युमत टोलको गरुडासन विष्णु, पनौती त्रिवेणीघाटको सूर्य र फर्पिङको वीणा धारिणी सरस्वतीको शिर ।

आजको चुनौती भनेको फर्केका मूर्तिहरूको रेखदेख तथा सुरक्षा भन्दा पनि तिनलाई कसरी आ–आफ्नो परम्परागत थलोमा फिर्ता गर्ने भन्ने हो । फर्केर आएका मूर्तिहरुलाई सुरक्षाका लागि त साविक जस्तै छाउनी म्यूजियममा राखे भइहाल्यो । तर, मूर्तिलाई आफ्नै मन्दिर, खोपा, गर्भगृह वा स्तूपमा फर्काउन चुनौतीहरू भने छन् । चोरी भएका, संसार घुमेर फर्केका आफ्ना देवताहरुलाई समुदायका नागरिकहरू फिर्ता लेराउन चाहँदैनन् पनि । किन त ? जवाफ आउँछ, “फेरि चोरी भयो भने कसले जिम्मेवारी लिने ?”

उपत्यकामा र पूरै मुलुकमा– मुस्ताङ होस् वा जुम्ला वा सिम्रौनगढ, पाएसम्म चोरहरूले मूर्ति चोरिरहेकै छन् । सार्वजनिक स्थलमा रहेका मूर्ति धेरै बेपत्ता बनाइसकिएका छन् ।

नेपालमण्डलको संस्कृति जोगाइराख्न यहाँको सार्वजनिक क्षेत्र, मठमन्दिर, बहाः चोक, आगम, पोखरी, पाटीपौवा सबैको संरक्षण र परेमा पुनःनिर्माण हुनुपर्दछ । यस्तै विदेशिएका भगवानलाई मुलुक फिर्ता मात्र होइन, आफ्नै ऐतिहासिक स्थानमा फर्काउनु हाम्रो सामाजिक, सांस्कृतिक, ऐतिहासिक दायित्व हो । यसका लागि फिर्ता आएका मूर्तिलाई टोल–चोकमा सुरक्षित राख्ने उपाय पनि पहिल्याउनु पर्‍यो । तर, आजसम्म यतातर्फ कसरत भएको देखिंदैन ।

धुलिखेल शहरका जुझारु नगर प्रमुख अशोक ब्याञ्जुलाई पाटन म्यूजियममा डेरा गरेका उमामहेश्वरलाई किन वः टोल फिर्ता नलग्ने भनी सोध्दा भन्छन्, “बताउनुस् न, मूर्तिलाई सुरक्षा कसरी दिने हो, हामी पहल गर्न उत्सुक छौं ।”

मैले दुई दशक अगाडि धुलिखेल गएर स्थानीयवासीलाई लैनसिंह बाङ्देलको किताब देखाएको थिएँ, जसमा त्यहाँको चोकमै अवस्थित उमामहेश्वरको तस्वीर थियो । त्यसबेला स्थानीयवासी ७५ वर्षीया नानीमाया निकै भावुक भएको सम्झन्छु, तर मूर्ति झण्डै दुई दशकअघि नेपाल आएर पनि धुलिखेल भने फर्केन ।

अब नेपाली सोच, सीप र साधन लगाएर फर्केको मूर्तिको सुरक्षामा जोड दिनुपर्ने वेला आएको छ र धुलिखेल उमामहेश्वरलाई नै उदाहरण बनाउने गरी काम अघि बढाउनु छ । पहिलो कुरा यस मूर्तिबारे अन्तर्राष्ट्रियस्तरमा प्रभावशाली सूचना अभियान चलाउनुपर्छ, ताकि कुनै पनि ‘कलेक्टर’ वा म्यूजियमले फेरि चोरी भइहालेमा किन्ने आँट नगरुन् । यत्तिले नै मूर्तिलाई धेरै सुरक्षा दिन्छ, किनकि यसबाट मूर्तिको बजार मूल्य स्वात्तै घट्नेछ ।

यत्तिले पक्कै पुग्दैन । गत हप्ता काठमाडौं आएका दुई मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गरेका मेट्रोपोलिटन म्यूजियमका दक्षिण एशिया क्युरेटर जन् गाय भन्छन्, “मूर्ति सुरक्षाको सबैभन्दा ठूलो ग्यारेन्टी नै स्थानीय समुदायको जागरुकता र निगरानी हो ।”

यसको अर्थ वः टोलका स्थानीयवासीले उमामहेश्वरलाई गर्व र भावुकताका साथ भिœयाउने मात्र होइन, खुला स्थानमा रहने यस मूर्तिको सुरक्षामा विशेष ध्यान दिने हो । मूर्तिलाई पुरानो स्थानमा राख्दा ‘एङ्कर’ गर्न सकिन्छ, नदेखिने गरी सिमेन्ट, स्टिल वा अरु माध्यमको प्रयोग गरी । परापूर्वकालमा मूर्ति चोरी गर्ने कुरा कसैले चिताउँछ भन्ने कल्पना समेत गरिंदैनथ्यो, त्यसैले मूर्तिलाई अंकुश नलगाई पदस्थापन गरिन्थ्यो । आज भने अंकुश चाहिने नै भयो ।

उमामहेश्वर मूर्ति वरिपरिको चोक क्षेत्रलाई रातको समयमा बिजुली बत्तीले निरन्तर झलमल्ल राख्नुपर्छ । पूजाआजा नहुने वेला कुनै खालको अलार्म राख्न सकिन्छ, ‘मूभमेन्ट’ मा आधारित वा लेसरविम्सहितको सेन्सर प्रयोग गरिकन । कसैले मूर्तिमा हात लगायो कि अलार्म बजिहाल्ने । मूर्ति रहेको ठाउँलाई सीसीटिभी क्यामराद्वारा टेपको व्यवस्था हुनुपर्छ ताकि सबै आवतजावत रेकर्ड होस् । यस्ता मूर्ति जोगाउन धेरै काम गर्न सकिन्छ ।

धुलिखेल नगरपालिकाले संरक्षणविद्देखि वैज्ञानिकसम्मको सहायतामा उमामहेश्वरलाई वः टोलमा फर्काउने हो भने त्यसबाट धुलिखेलवासी मात्र नभएर मुलुकभरिका समुदाय उत्साहित हुनेछन् । यसले नेपालका मूर्तिमा आँखा गाड्ने चोर र चण्डालहरुलाई निरुत्साहित गर्नेछ । र, मूर्ति फिर्ता अभियानलाई ऊर्जाका साथ अगाडि लैजान सकिनेछ ।

लैनसिंह बाङ्देलले तीन दशक अगाडि ‘स्टोलन इमेजेज् अफ नेपाल’ मा लेखेका थिए— ‘आश गरौं कुनै दिन यी चोरी भएका मूर्तिहरु आ–आफ्ना मन्दिर÷पीठमा फर्काइनेछन् ।’ स्वर्गीय बाङ्देलको कामनालाई वास्तविकतामा ढाल्नु तपाईं हाम्रो कर्तव्य हुन आयो ।

comments powered by Disqus

रमझम