२७ जेठ - २ असार २०७५ | 10-16 June 2018

उपाधि उलटफेर गर्न सक्ने ‘डार्क हर्स’

Share:
  
- ज्ञानेन्द्र आचार्य
कुनै समूह ‘ग्रुप अफ डेथ’ नभए पनि यसपटकको विश्वकपमा हारजितको दाबीविरोध गरिहाल्नुअघि ‘डार्क हर्स’ मुलुकहरूलाई नियाल्नु बुद्घिमानी हुनेछ।

फूटबलप्रेमीका लागि विश्वकपका खेल जत्तिकै चासो ‘ड्र’ को हुने गर्छ । ‘ड्र’ हेरेरै सम्भावित विजेता लगायतका नतिजाको भविष्यवाणी शुरू हुन्छ ।

सन् १९९८ यता विश्वकपमा ३२ टीम प्रतिस्पर्धा गरिरहेका छन् । यसपटक पनि ३२ देश नै सहभागी छन्, तर समूह निर्धारण र अन्य प्रक्रियाका कारण यो विश्वकप पहिलेका भन्दा फरक देखिन्छ । जस्तो कि, उपाधि भिडन्तमा कडा दाबेदारी प्रस्तुत गर्न सक्ने दुईभन्दा बढी टीम एकै समूहमा छैनन् । चार पटकको विश्वविजेता इटाली र तीन पटक फाइनल खेलेको नेदरल्यान्ड्स छनोट चरणबाटै बाहिरिए । लगातार दुई पटक कोपा अमेरिका जितेको चिली पनि छनोट भएन । एकैपटक यी तीन ‘हेभिवेट’ को अनुपस्थितिले पनि हुनुपर्छ, कुनै पनि समूह ‘ग्रुप अफ डेथ’ को जोखिममा देखिएका छैनन् ।

समूह बी (स्पेन, पोर्चुगल, मोरक्को र इरान) र जी (बेल्जियम, इङ्गल्यान्ड, पनामा र ट्युनिसिया) । ठूला टीमको उपस्थितिले साना टीमलाई समूह चरण पार गर्न असम्भव जस्तै हुनसक्ने समूह यी मात्रै हुन् । यस्ता समूह विभाजनले प्रतियोगिता अप्रत्यासित बनाउने अनुमान गर्न सकिन्छ ।

हुन त समूह चरण पार गर्न सक्षम कुनै पनि टोलीलाई कम आँक्न मिल्दैन । तर यसपटकको समीकरण यस्तो जुरेको छ कि, उपाधिको दौडमा रहेका अधिकांशको भेट प्रि–क्वार्टरफाइनलमै हुन सक्छ । यो बुझन समूह सी र डीलाई हेरौं ।

समूह सीमा सबैभन्दा बलियो टोली मानिन्छ, फ्रान्स । फ्रान्स बाहेक समूहमा अष्ट्रेलिया, पेरु र डेनमार्क छन् । स्तरीय खेलाडी र यूरोपको प्रतिस्पर्धात्मक छनोट चरण पार गरेका कारण डेनमार्क अष्ट्रेलिया भन्दा बलियो देखिन्छ, समूह उपविजेता बन्ने सम्भावना प्रबल पनि छ । समूह डीबाट अर्जेन्टिना समूह विजेता हुँदा, उपविजेता क्रोएसिया, आइसल्यान्ड र नाइजेरियामध्ये जो पनि हुन सक्ने देखिन्छ । यी दुई समूहमा कुनै अप्रत्यासित नतिजा नआए फ्रान्स र अर्जेन्टिना समूह विजेता बन्लान् । तर, कथं दोस्रो चरणमै फ्रान्स र अर्जेन्टिना भेट भए एउटा दाबेदार यहींबाट बिदा हुनुपर्नेछ ।

यस्तै हालत समूह ई र एफको पनि छ । ईमा ब्राजिल र एफमा जर्मनी दुवै विजेता वा उपविजेता एकै नभए अघिल्लो विश्वकपको सेमिफाइनल समीकरण दोस्रो चरणमै जुर्नेछ । कम्तीमा सेमिफाइनलसम्म यी टोलीलाई देख्ने चाहना यहीं अन्त्य हुनेछ ।

यसपटकको विश्वकपको समीकरण धेरै हदसम्म साना र कमजोर ठानिएका अर्थात् ‘डार्क हर्स’ टोलीका लागि अप्रत्यासित नतिजा ल्याउने सुनौलो मौका हुनेछ । यस्तो मौका विगतका विश्वकपहरूमा शायदै मिलेको थियो ।

हुन त उत्कृष्ट खेलाडीले भरिएको बेल्जियमलाई उपाधिकै दावेदार ठानिएको छ, तर कुनै पनि ठूला प्रतियोगितामा विजेताकै हैसियत बनाइनसकेकाले उसलाई ‘डार्क हर्स’ कै रूपमा हेरिएको छ । अनुभवी प्रशिक्षक रोबर्टो मार्टिनेजको मार्ग निर्देशनले पनि बेल्जियमलाई थप सुदृढ बनाउने निश्चित छ । पोल्यान्ड, कोलम्बिया, डेनमार्क र मेक्सिको पनि ठूला टीमलाई पछारेर उपाधि भिडन्तको ‘ट्र्याक’ परिवर्तनको दाउमा छन् ।

समूहगत वर्गीकरणका आधारमा हेर्दा फेरि पनि समस्यामा समूह डी र त्यसमा पनि अर्जेन्टिना नै पर्ने देखिन्छ । परम्परागत महाशक्ति अर्जेन्टिना खराब लयमा देखिएकाले यो समूहका सबै टीम एकै स्तरका जस्ता देखिएका छन् । केही महीनाअघि मात्रै नाइजेरियाले अर्जेन्टिनालाई मैत्रीपूर्ण खेलमा पराजित गरेको थियो । क्रोएसिया सन्तुलित छ । आइसल्यान्डलाई त सबैले विश्वकपकै ‘सरप्राइज टीम’ का रूपमा नियालिरहेका छन् । यूरोकपमा इङ्गल्यान्डलाई पराजित गर्न उनीहरूले देखाएको बहादुरीको प्रशंसा अहिले पनि हुने गर्छ ।

अर्कोतिर क्लब फूटबलमा सबै किसिमका उपाधि जितेका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीका लागि यो विश्वकप जित्ने अन्तिम अवसर भएको आकलन गरिएको छ । अर्को विश्वकपमा ३५ वर्ष पुगिसक्ने हुनाले उमेरकै कारणले पनि मेसीलाई अहिलेकै लय कायम राख्न मुश्किल हुने सहजै अनुमान गर्न सकिन्छ । कतिपयले पेले र म्याराडोनासँगै सर्वकालीन महान खेलाडीको दर्जामा रहन पनि मेसीलाई विश्वकप जित्न ठूलो दबाब भएको बताउँछन् । सम्भवतः मेसीको जादू हेर्न पाइने अन्तिम विश्वकप पनि यही हुन सक्छ ।

मेसीसँगै अर्को विश्वकपले ‘मिस’ गर्न सक्ने अर्का महान खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो । पोर्चुगलका यी खेलाडी पनि अहिल्यै ३३ वर्ष लागिसके । अन्तिम विश्वकपमा केही छाप छाड्ने उनको पनि प्रयास रहला नै ।

‘डार्क हर्स’ को अवसर, मेसी र रोनाल्डोको ‘अन्तिम विश्वकप’ सँगै केही अन्य कारण छन्, जसले यो विश्वकपलाई पृथक् बनाउनेछन् ।

केभिन डी ब्रुयने

बेल्जियम

प्रविधि र नियम

विश्वकपको सेरोफेरोमा फिफाले खेलका केही नियम परिवर्तन गर्ने गरेको छ । अघिल्लो विश्वकपमा गोललाइन टेक्नोलोजी र रेफ्रीले बोक्ने म्याजिकल स्प्रे प्रयोगमा ल्याइएको थियो । यसपटकको उपलब्धि भने चार खेलाडी स्थानान्तरणको सुविधा पाउनुमा रहेको छ तर नकआउट चरणमा मात्रै । त्यो पनि खेल अतिरिक्त समयमा धकेलिएको खण्डमा । निर्धारित ९० मिनेटसम्ममा भने प्रत्येक टीमले बढीमा तीन खेलाडी मात्रै स्थानान्तरण गर्न पाउने छन् ।

त्यसो त लामो समयदेखि चर्चा गरिएको भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिको प्रयोग पनि यसै विश्वकपबाट शुरू हुँदैछ । गोल, रातो कार्ड, सम्भावित अफसाइड र पेनाल्टीको निर्णयका लागि रेफ्रीले भीएआरको सहयोग लिन सक्नेछन् । तर यसको सहायता लिनुअघि रेफ्रीले स्वविवेकले एउटा निर्णय भने दिएको हुनुपर्नेछ । प्रत्येक खेलका लागि भीएआरका तीन टीम रहनेछन्, जसले रेफ्रीलाई सहयोग पुर्‍याउनेछन् । रेफ्रीका लागि भीएआर टीमले गरेको निर्णय हेर्न मैदानको छेउमै ट्याब राखिएको हुन्छ ।

भीएआर प्रयोगबाट रेफ्रीले गर्ने निर्णय ९८.८ प्रतिशत सम्म सही हुने अनुमान छ । तर, इङ्गल्यान्डमा यसै सिजन एफए कप र जर्मनीको बुन्डेसलिगमा प्रयोग गरिएको भीएआर प्रविधिले सन्तोषजनक नतिजा नदिएको टिप्पणी भइरहेको छ ।

एलेक्स अयोबी

नाइजेरिया

सफलतामा संशय

८८ वर्षे इतिहासमा पहिलो पटक फिफा विश्वकप रूसमा आयोजना हुँदैछ । क्षेत्रफलको आधारमा संसारकै सबैभन्दा ठूलो देश रूसका ११ शहरका १२ रंगशालामा विश्वकपका खेलहरू आयोजना हुँदैछन् । राजधानी मस्कोका दुई र अन्य शहरका एक–एक रंगशालामा विश्वकपका खेलहरू खेलाइनेछ । विश्वकपका खेलका आयोजक ११ शहरहरू चार फरक टाइम जोनमा पर्छन् । आयोजक शहरमध्ये सबैभन्दा पूर्वमा पर्ने यकातरिनवुर्ग र पश्चिममा पर्ने कालिनिन्ग्रादबीचको हवाई दूरी २४०० किलोमिटरभन्दा बढी छ ।

विश्वकप आयोजकका आफ्नै समस्या हुन्छन्, र ती विश्वकपकै बेला चर्चामा ल्याइन्छन् । चार वर्षअघि ब्राजिलले विश्वकप आयोजना गर्दा समयमै रंगशाला तयार नहोला कि भन्ने डर थियो । २०१४ को विश्वकप र २०१६ को ओलम्पिकलाई लक्षित गरेर पूर्वाधार निर्माणमा गरिएको खर्चको ठूलै विरोध भएको थियो । रोचक त के थियो भने, विरोधको नेतृत्व १९९४ मा ब्राजिलले विश्वकप जित्दाका खेलाडी रोमारियोले नै गरेका थिए ।

रूसको चर्चा राजनीतिक र सामाजिक विषयमा केन्द्रित छन् । त्यसो त रूसले विश्वकप आयोजनाको अधिकार पाएदेखि नै अमेरिका, बेलायत, जर्मनी लगायत अन्य पश्चिमा राष्ट्रको असन्तुष्टि सुनिएकै थियो । यो विषयमा फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटर पनि विवादमा तानिएका थिए । अहिले सिरिया युद्धलाई लिएर अमेरिका र रूसबीचको सम्बन्ध शीतयुद्धताका झैं कमजोर भएको बताइएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकपलाई राजनीतिक प्रभाव बढाउन प्रयोग गरेको आरोप खेपिरहेका छन् । विश्वकपमा आफू छनोट नभएकाले अमेरिकाले अन्य राष्ट्रलाई बहिष्कार गर्न उक्साएको आरोप रूसी पक्षले लगाएको छ ।

पुटिन शासित रूसमा मानवअधिकारको अवस्था कमजोर छ । रंगशाला र वरपर समर्थकबीच दंगा भड्काउन रूसी नागरिक माहिर भएको बताइन्छ । यस्ता थुप्रै घटना भएका पनि छन् । विश्वकपका क्रममा रूसी प्रशासनले ‘हुलिगनिज्म’ कसरी नियन्त्रण गर्छ भन्नेमा धेरैको चासो छ । रंगभेदी व्यवहार रूसी समर्थकको अर्को विवादित पक्ष हो । यस्तो व्यवहारबाट जोगिन कतिपय खेलाडीले आफ्ना परिवारलाई रूस नलैजाने बताइसकेका छन् ।

जोहन बर गुडमोण्डसन

आइसल्याण्ड

कस्तो बल ?

यस विश्वकपका लागि तयार बललाई आडिडास टेलस्टार १८ नाम दिइएको छ । यो बलको डिजाइन १९७० को विश्वकपमा प्रयोग भएको बलमा आधारित छ । त्यसैले यसको नाममा टेलस्टार जोडिएको हो ।

धेरै खेलाडीले २०१० को विश्वकपमा खेलाइएको जाबुलानी बलको आलोचना गरेका थिए । त्यो बल हावामा रहँदा अनौठो व्यवहार देखाउने गुनासोे थियो । त्यसयता आडिडासले बलको डिजाइनमा निकै सूक्ष्म अध्ययन गरेको बताउँदै आएको छ । आडिडास टेलस्टार १८ को परीक्षणका क्रममा अर्जेन्टिनी खेलाडी मेसीले राम्रो प्रतिक्रिया दिए पनि स्पेनका गोलकिपर पेपे रेइनाले बलकै कारण समस्या भोग्नुपर्ने बताइसकेका छन् । तर विज्ञहरूले एरोडाइनामिक परीक्षणका क्रममा बलमा समस्या नदेखिएको जनाएका छन् ।

आडिडास टेलस्टार १८ को अर्को विषेशता यसमा निहित नियर फिल्ड कम्युनिकेसन (एनएफसी) चिप पनि हो । यो चिपलाई स्मार्टफोनमा ‘कनेक्ट’ गरेर खेल सम्बन्धी थुप्रै वैज्ञानिक सूचना लिन सकिन्छ ।

पुरस्कार राशि

अघिल्लो विश्वकपको तुलनामा यसपटक पुरस्कार राशिमा १२ प्रतिशत वृद्धि गरिएको छ । फिफाले यो विश्वकपको पुरस्कार राशिमा मात्रै ४०० मिलियन डलर खर्च गर्नेछ ।

हामेस रोड्रिग्वेज

कोलम्बिया

सहभागी सबै टीमले कम्तीमा ८ मिलियन डलर पाउने छन् । प्रतियोगिता तयारीका लागि अर्को १.५ मिलियन डलर प्राप्त गर्नेछन् । समूह चरण पार गर्ने टीमले १२, क्वार्टरफाइनल पुग्नेले १६, चौथो हुनेले २२ र तेस्रो हुने टीमले २४ मिलियन डलर पाउने पक्का छ । उपविजेतालाई २८ मिलियन डलर प्रदान गरिनेछ । यो रकम अघिल्लो विश्वकपको भन्दा ३ मिलियन बढी हो । विजेताले भने ट्रफीसँगै ३८ मिलियन डलर हात पार्नेछ । विजेता राशिमा पनि ३ मिलियन डलर बढाइएको हो ।

(समाचार एजेन्सीहरूको सहयोगमा)

comments powered by Disqus

रमझम