२४-३० असार २०७५ | 8-14 July 2018

आरामदायी बेडरुम

Share:
  

आधुनिक र आरामदायी शयनकक्षको चाहना राख्नेहरुले त्यहाँ सोफा, कम्प्युटर, टेलिभिजन लगायतका ग्याजेट राख्ने र सानो अफिस समेत बनाउने गरेका हुन्छन् । तर, बेडरुम (सुत्ने कोठा) भनेको दिनभरको थकान हटाएर पुनर्ताजगी प्राप्त गर्ने स्थान हो भन्ने बिर्सनुहुँदैन । शयनकक्ष ठीकसँग सजाइयो र थोरै मात्र सावधानी अपनाइयो भने सुविस्तापूर्ण हुन सक्छ, अन्यथा आराम गर्ने ठाउँ नै तनावपूर्ण भैदिन्छ ।

चिकित्सकहरू बेडरुममा ओछ्यान, आलमारी, सानो टेबुल जस्ता थोरै सामग्री मात्र राख्न सुझाव दिन्छन् । जति धेरै सामग्री बेडरुममा राख्यो उति अस्तव्यस्त हुन्छ । सामान धेरै हुँदा व्यस्तता बढ्छ, उकुसमुकुस हुन्छ र निद्रा पर्दैन । सोफा, ठूला टेबुल, कुर्सी पनि बेडरुममा नराखेकै राम्रो । पलङ पनि भारीभरकम भन्दा सामान्य डिजाइनको उपयुक्त हुन्छ ।

कतिपयको ओछ्यानमा बसेर ल्यापटप चलाउने, सुतेरै मोबाइल हेर्ने बानी हुन्छ । अमेरिकन स्लिप एसोसिएसनका अनुसार टेलिभिजन, कम्प्युटर जस्ता सामग्री बेडरुममा राख्नुहँुदैन । टेलिभिजन हेर्ने, इन्टरनेट चलाउने वा अन्य काम बेडरुममा गर्दा निद्रामा बाधा पुग्ने र मानिस तनावग्रस्त रहनेतर्फ एसोसिएसनले सचेत गराएको छ । एसोसिएसनका अनुसार टीभी, कम्प्युटर, मोबाइल जस्ता ग्याजेट्सको स्क्रिनबाट आउने प्रकाशले शरीरको आन्तरिक समय व्यवस्थापन गर्ने हार्मोन ‘मेलाटोनिन’ मा असन्तुलन ल्याउँछ ।

अमेरिकन साइकोलोजिकल एसोसिएसन ले त बेडरुममा फोन समेत नराख्न सुझाव दिएको छ । सुत्नुअघि तनावपूर्ण काम नगर्न पनि एसोसिएसनको सुझाव छ । शयनकक्षमा गर्ने काम जति थोरै भयो उति नै बढी आराम मिल्छ ।

त्यस्तै बेडरुममा निकै चम्किलो वा गाढा रंग पनि लगाउनुहुँदैन । यस्तो रंगले सुविस्ता दिनुको सट्टा निद्रा नलाग्न उत्प्रेरकको काम गर्छन् । बेडरुमको रंग शीतलता प्रदान गर्ने हल्का खालको हुनुपर्छ ।

घरको शान्त कुनामा सडकतर्फ नपर्ने कोठालाई बेडरुम बनाउनु उपयुक्त हुन्छ, जहाँ बिहानको सूर्यको प्रकाश भने आउन सकोस् । बेडरुममा झ्यालका पर्दा बाहिरको प्रकाशलाई राम्रोसँग छेक्ने मोटो खालको हुनुपर्छ । त्यसैगरी कोठामा चर्को उज्यालो हुने बत्ती राख्नुभन्दा मधुरो बत्ती राख्नु उपयुक्त हुन्छ । बेडरुममा केही पढ्नै पर्‍यो वा काम गर्नुपर्‍यो भने सानो ल्याम्प प्रयोग गर्नु उपयुक्त हुन्छ ।

त्यसैगरी सहजै देखिने गरी घडी समेत बेडरुममा नराख्न चिकित्सकहरूको सुझाव छ । चहकिलो घडी राख्दा कतिपयको घरीघरी समय हेर्ने र निद्रा नपर्ने हुन्छ । निदाउनका लागि स्वच्छ, शान्त र अँध्यारो वातावरण जरुरी हुने भएकोले कोठामा असामान्य तापक्रम, प्रकाश, हल्ला हुनुहुँदैन ।

अँध्यारोमा पनि चम्किने घडी, इलेक्ट्रोनिक ग्याजेटमा बल्ने बत्ती, मोबाइल, ट्याबमा आउने नोटिफिकेसनका आवाजले पनि निद्रा विथोल्न सहयोग पुर्‍याउँछन् । त्यसैले त्यस्ता सामानहरू बेग्लै स्थानमा थन्क्याउनुपर्छ । पंखा, एअर कन्डिसनर, एअर प्यूरिफायर जस्ता सामानबाट आउने आवाजले पनि निद्रा विथोल्न सघाउ पुर्‍याउँछन् ।

दिनभरको थकान र तनावले गलेर आराम गर्न पुगिने बेडरुममा शान्त वातावरण बनाउन कम भन्दा कम सामान राख्नुपर्छ । बेडरुमको केन्द्रीय भाग ओछ्यान नै हो र यो झन् सुविस्तापूर्ण हुनुपर्छ । भित्ताहरूमा राखिने चित्र, तस्वीरहरू पनि शान्त, सुमधुर र रमाइलो समय स्मरण गराउने खालका हुनुपर्छ ।

बेडरुममा अन्य वास्नादार रसायन राख्नुभन्दा ताजा फूल राख्नु राम्रो हो । ताजा फूलले सुवास दिनुका साथै ऊर्जा प्रदान गर्छ । बेडरुमलाई निश्चित समयपछि पुनः व्यवस्थित गर्दा हमेशा नयाँ अनुभूति हुन्छ । सफा र चिटिक्क राख्नु त अनिवार्य नै हो ।

comments powered by Disqus

रमझम