२४-३० असार २०७५ | 8-14 July 2018

‘भद्र’ र ‘रूपसी’ चीन जाँदै

Share:
  
हालसम्म २६ वटा गैंडा उपहारस्वरुप विदेश पठाइसकेको नेपालबाट यो महीना एक जोडी गैंडा चीन पुग्दैछन्।

चीनले आफ्नो देशबाट लोप भइसकेको एकसिंगे गैंडा अध्ययन, अनुसन्धान र शिक्षा प्रवद्र्धनका लागि माग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकाल (२६ असार २०७३) मा सरकारले दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो । उक्त निर्णय अनुसारको पहिलो खेपमा एक जोडी गैंडा यही २८ असारमा चीन पठाउने तयारी भइरहेको छ । अर्को खेप नयाँ आर्थिक वर्षभित्र पठाइनेछ ।

चीन लगिने दुई वर्षका जोडी गैंडालाई गएको वैशाख महीनामै चितवन निकुञ्जको पश्चिमी क्षेत्र खोरिया मुहान र सुखिभारबाट समातेर सौराहामा राखिएको छ । भद्र र रूपसी नाम दिइएका यी गैंडाले तालिमपछि मानिससँग घुलमिल हुन र खोरमा बस्न सिकेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन् ।

तस्वीरहरुः कल्पना भट्टराई
भद्र।

चीनको चिमे लङ्ग सफारी पार्कका सहायक प्रबन्धक डा. वाङले चितवन राष्ट्रिय निकुञ्ज आएर गैंडा लैजाने प्रक्रिया र तयारीका बारेमा जानकारी लिइसकेका छन् भने चीनका पशु चिकित्सक र साइटिसका अधिकारीहरू समेत सौराहा आएर गैंडाको निरीक्षण अवलोकन गरिसकेका छन् । नियमित स्वास्थ्य जाँच भइरहेका यी गैंडा चीन लैजान पूर्ण रूपमा स्वस्थ रहेको कोषका वन्यजन्तु चिकित्सक डा. अमित षडौला बताउँछन् । सूचना अधिकारी अर्यालका अनुसार दुई जोडी गैंडामध्ये एक जोडीलाई चीनको चिमे लङ्ग सफारी पार्क र अर्को जोडीलाई सांघाई वाइल्ड एनिमल पार्कमा राखिनेछ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका निमित्त प्रमुख रामकुमार अर्यालका अनुसार यी प्रत्येक गैंडालाई दैनिक घाँससहित दुई दर्जन केरा, पाँच किलो बन्दा, एक किलो स्याउ, एक किलो गाजर र ४० लिटर दूध खुवाउने गरिएको छ भने स्याहारमा ८ जना खटिएका छन् ।

रूपसी ।

उपहार

यसअघि २०६२ सालमा जंगे र ब्युटी नामका एक जोडी गैंडा अष्ट्रियालाई उपहार दिइएको थियो । निकुञ्जका सूचना अधिकारी अर्यालका अनुसार नेपालले पहिलो पटक २०३४ सालतिर थाइल्याण्डलाई एकजोडी गैंडा उपहार दिएको थियो । त्यसपछि अमेरिकालाई दुई पटक एक–एक जोडी, जर्मनीलाई दुई पटक एक–एक जोडी; सिंगापुर, बंगलादेश, बेलायत, जापान र अष्ट्रियालाई पनि एक–एक जोडी गैंडा उपहार दिइएको छ । “कुन कुन देशलाई कहिले उपहार दिइयो भन्ने सबै विवरण उपलब्ध नभए पनि हालसम्म कुल २६ वटा गैंडा उपहारस्वरुप पठाइसकिएको देखिन्छ”, अर्याल भन्छन् ।

गैंडा गणना २०१५ अनुसार चितवन, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा पर्सा वन्यजन्तु आरक्षमा गरी नेपालमा जम्मा ६४५ गैंडा छन् ।

कल्पना भट्टराई

comments powered by Disqus

रमझम