पाकेटमै ब्याङ्क

Share:
  
- प्रभात भट्टराई
ब्याङ्किङ क्षेत्रमा भित्रिएको नयाँ प्रविधिले ग्राहकहरू चाहेका बेला आफ्नै खल्तीबाट ब्याङ्कहरूको सेवा–सुविधा लिन सक्ने भएका छन्।
p50

आम बुझाइमा ब्याङ्क मानिसहरूसँग भएको पैसा सुरक्षित राख्ने र आवश्यक परेकालाई ऋण दिने संस्था हो। तर, ब्याङ्किङको परिचय अब त्यतिमा सीमित छैन। चोक–चोकमा खुलेका कार्र्डबाट पैसा झिक्न सकिने एटीएम मेसिन र पसल–रेस्टुरेन्टमा कार्डबाटै भुक्तानी गर्न मिल्ने पीओएस मेसिनहरू ग्राहकको सेवामा हाजिर छन्। एटीएमपछि प्रविधिको अर्को महत्वपूर्ण सुविधा हो― मोबाइल र अनलाइन वा ई–ब्याङ्किङ। ब्याङ्किङ क्षेत्रमा भित्रिएका यस्ता नवीनतम डिजिटल प्रविधिले नगद कारोबार गर्दा वा पैसा साथमा लिएर हिंड्दा आइपर्ने जोखिम घटाएको छ।

नेपालको ब्याङ्किङ व्यवसायमा निजी क्षेत्रको बलियो उपस्थितिसँगै ग्राहक लक्षित नयाँ–नयाँ सेवा शुरू भएका हुन्, जसले गर्दा ब्याङ्किङ सेवा पाउन ग्राहकले कार्यालय धाइरहनुपर्दैन, ब्याङ्कले नै उनीहरूलाई पछ्याउँछ। खल्तीमा एटीएम कार्ड बोकेपछि सपिङ मलमा किनमेल गर्न र रेस्टुरेन्टमा बिल तिर्न समस्या पर्दैन। मोबाइल र ई–ब्याङ्किङ भएपछि ग्राहकको हातको मोबाइल फोन या ब्यागको ल्यापटपबाट ब्याङ्किङ कारोबार हुन्छ।  
 
उपयोग कम
नेपाली ब्याङ्कहरूले प्रदान गरेका डिजिटल सेवाको उपयोगमा भने उपभोक्ताहरू अझ्ै पछाडि छन्। ब्याङ्कको डेविट कार्र्डलाई धेरैले एटीएम मेसिनबाट पैसा निकाल्ने माध्यमको रूपमा मात्र बुझ्ेको ब्याङ्करहरूको अनुभव छ। यस्तो कार्र्डबाट काठमाडौंका दुई हजारभन्दा बढी ठाउँमा किनमेल गर्न र रेस्टुरेन्टको बिल तिर्न सकिन्छ, तर उपभोक्ताहरू सपिङ सेन्टर नजिकैको एटीएम मेसिनबाट नगद निकालेर पैसै तिर्न रुचाउँछन्। 

“आफ्नो खाता नभएको ब्याङ्कको एटीएमबाट पैसा निकाल्दा निश्चित शुल्क लाग्छ”, स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) का प्रबन्ध निर्देशक रविन्द्रबहादुर मल्ल भन्छन्, “तर पसलको पीओएस मेसिनमा कार्र्ड स्वाप गरेर भुक्तानी गर्दा बिलभन्दा बढी पैसा काटिन्न, बेलाबेलामा छुटको अफर समेत पाइन्छ।” नेपालका करीब १७०० एटीएम मेसिन नगद कारोबारको विकल्प नभई सहयोगी मात्र भएकाले कार्डबाट सीधै खरीद गर्न मिल्ने पीओएस मेसिन प्रयोगमा जोड दिनुपर्ने जानकारहरू बताउँछन्।

नेपालमा अहिले एससीटी, भिसा, नेशनल पेमेन्ट नेटवर्क (एनपीएन) र मास्टरकार्र्डका करीब २० लाख प्रयोगकर्ता छन्, तर पैसा निकाल्ने बाहेक अन्य काममा ज्यादै कमले मात्र कार्ड प्रयोग गर्ने गरेको पाइन्छ। नेपालकै कार्ड सेवा एससीटीको सबैभन्दा धेरै १४ लाख ५० हजार कार्र्ड छन् भने बाँकीले अन्य कार्र्ड प्रयोग गर्छन्। अन्तर्राष्ट्रिय कार्ड सेवा भिसाले चार पुराना ब्याङ्क स्ट्यान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेष्टमेन्ट ब्याङ्कलाई प्रिन्सिपल सदस्य तोकेको छ भने अरू ब्याङ्कले यीमध्ये एउटा ब्याङ्कमार्फत भिसामा सम्पर्क गरी एसोसिएट सदस्यता लिएर कार्ड जारी गर्न सक्छन्। एनपीएन नेपाल इन्भेष्टमेन्ट ब्याङ्कले भिसाको सदस्यता पाउने मापदण्ड नपुगेका ब्याङ्क तथा वित्तीय संस्थाका लागि सञ्चालन गरेको कार्ड हो। मास्टरकार्र्ड पनि अन्तर्राष्ट्रिय कार्ड सेवा हो। 

८२ वटा ब्याङ्क तथा वित्तीय संस्था आबद्ध एससीटी कार्र्ड प्रयोग गरेर तीमध्ये एउटा ब्याङ्कको ग्राहकले अर्को ब्याङ्कबाट पैसा निकाल्दा रु.२५ खर्च हुन्छ। एउटा ब्याङ्कले जारी गरेको भिसा कार्ड अर्को ब्याङ्कको एटीएम मेसिनमा प्रयोग गर्दा सामान्यतया रु.२५० शुल्क लाग्छ भने ब्याङ्कहरूले ग्राहकलाई सहुलियत दिन आपसी सहमति गरेको अवस्थामा त्योभन्दा कम लाग्छ। 
केही ब्याङ्कहरूले क्रेडिट कार्र्ड सेवा पनि सञ्चालन गरेका छन्, जसबाट ब्याङ्कलाई तोकिएको समयभित्र तिर्ने गरी किनमेल गर्न र पैसा झिक्न सकिन्छ। ब्याङ्कहरूले सामान्यतया एउटा महीनाको क्रेडिटकार्र्डको बिल अर्को महीनाको १५ गते सम्बन्धित व्यक्तिको खाताबाट कटाउने हुनाले महीनाको शुरूमा क्रेडिट कार्र्डबाट सामान खरीद गर्नेले ४५ दिन र अन्त्यमा गर्नेले १५ दिनभित्र विना ब्याज पैसा तिर्ने सुविधा पाउँछन्। तर क्रेडिट कार्र्ड प्रयोग गरेर डेबिट कार्र्डले जस्तो एटीएम मेसिनबाट पैसा निकाल्दा बढी शुल्क लाग्ने भएकाले यसको प्रयोग त्यति धेरै हुनसकेको छैन, र सबै ब्याङ्कले यो सेवा शुरू गरेका पनि छैनन्। नेपालमा भिसा र मास्टर कार्डले क्रेडिट कार्र्ड जारी गरेका छन्।

ब्याङ्कहरूले पछिल्लो समय विस्तार गरेको अर्को सेवा हो मोबाइल र अनलाइन ब्याङ्किङ। निश्चित सेक्युरिटी कोड राखेर कुनै खास नम्बरमा एसएमएस गरेपछि प्राप्त हुने मोबाइल सेवा उपयोग गरेर स्मार्ट फोन हुनेले एउटा खाताबाट अर्को खातामा पैसा पठाउन, पछिल्ला कारोबारको स्टेटमेन्ट हेर्न, युटिलिटी (मोबाइल, इन्टरनेट, टेलिफोन लगायत) बिल भुक्तानी गर्न तथा एयरलाइन्स र सिनेमाको टिकट खरीद गर्न सक्छन्। नेपाली ब्याङ्कहरूले इन्टरनेटमार्फत अनलाइन ब्याङ्किङ पनि शुरू गरेका छन्, जसअन्तर्गत एउटा खाताबाट सोही ब्याङ्कको अर्को खातामा पैसा पठाउन, युटिलिटी बिल तिर्न, स्टेटमेन्ट चेक गर्न सकिन्छ। यी प्रविधिसँग युवापुस्ता बढी आकर्षित भए पनि प्रौढपुस्ता त्यति घुलमिल हुनसकेको छैन।

डिजिटल प्रविधि उपयोग गर्दा ग्राहकले विशेष सतर्कता भने अपनाउनुपर्छ। कुमारी ब्याङ्कका आईटी एन्ड एमआईएस प्रमुख नारायणप्रकाश भुजु ग्राहकहरूलाई पासवर्ड वा पिनकोड समय–समयमा परिवर्तन गर्न, आफ्नो वा परिवारको सदस्यको नाम र घरको फोन नम्बर जस्ता अरूले सजिलै अनुमान गर्न सक्ने कुरा नराख्न सुझाव दिन्छन्। उनको भनाइ छ, “सुरक्षाका लागि ब्याङ्कले अधिकतम उपाय अपनाएका हुन्छन्, तर त्यसमा ग्राहकको सहयोग पनि महत्वपूर्ण हुन्छ।” 

अनलाइन वा मोबाइलबाट पैसा ट्रान्सफर अहिलेसम्म एउटै ब्याङ्क वा वित्तीय संस्थाका ग्राहकबीच मात्र हुनसक्छ। यसमा धेरै ब्याङ्कलाई समेटेर एउटा ब्याङ्कबाट अर्कोमा पैसा पठाउन सके सेवा अझै प्रभावकारी हुन्छ। एससीटीका प्रबन्ध निर्देशक मल्ल आफूहरू मोबाइलबाट पैसा भुक्तानी र वस्तु खरीद सेवा ल्याउन सफ्टवेयर छनोट गरिरहेको बताउँछन्। एससीटीले यो सेवा शुरू गरेमा त्यसमा आबद्ध ब्याङ्क तथा वित्तीय संस्थाका ग्राहकले एकैचोटि अन्तरसम्बन्धित सेवा उपयोग गर्न पाउँछन्। 

एटीएम मेसिनबाटै खातामा पैसा जम्मा गर्ने र आफ्नो नेटवर्कभित्रका ब्याङ्कबीच एकअर्कामा पैसा ट्रान्सफर गर्ने सुविधाका लागि पनि आफूहरू प्रयत्नरत रहेको मल्लको भनाइ छ। नेपाल राष्ट्र ब्याङ्कको समेत पहलमा ब्याङ्कहरूले एकअर्काको चेक क्लियरेन्सका लागि क्लियरिङ हाउस शुरू गरिसकेका छन्, जसअनुसार एउटा ब्याङ्कबाट अर्को ब्याङ्कको चेक साट्ने तीन दिनको काम अब एक दिनमै हुन्छ। 
 
गाउँलाई वरदान शाखारहित सेवा
डिजिटल सेवाको रूपमा पछिल्लो समय शाखारहित ब्याङ्किङ शुरू भएको छ। यसअन्तर्गत ब्याङ्कले शाखा नपुगेका ग्रामीण भेगमा पीओएस मेसिन दिएर एजेन्ट पठाउँछ। स्थानीयवासीले एजेन्टमार्फत नजिकको शाखामा कागजात पठाएर खाता खोल्न र पछि त्यही मेसिनमार्फत पैसा राख्न–झिक्न सक्छन्। 

ग्राहकको पैसा पाएपछि एजेन्टले मेसिनबाट खातामा चढाउँछन्। निरक्षर व्यक्तिले पनि आफूले दिएको पैसा खातामा जम्मा भए नभएको थाहा पाउन् भनेर मेसिनले ग्राहकको नाम र जम्मा गरेको रकम सुनाउँछ। पैसा निकाल्दा ग्राहकलाई दिइएको कार्ड मेसिनमा घोटेर रकम उल्लेख गरेपछि तिनै एजेन्टले नगद दिन्छन्। कार्ड प्रयोग गर्न नजान्नेले हातको चक्रको प्रयोगबाट पैसा निकाल्न सक्छन्। पैसा जम्मा गर्दा जस्तै निकाल्दा पनि मेसिनले ग्राहकको नाम र झिक्न लागेको रकम सुनाउँछ। अधिकतम जनता ब्याङ्किङ सेवाबाट विमुख रहेका ठाउँमा नाफाको सोचले भन्दा पनि सहभागिताको दृष्टिकोणले यस्तो सेवा विस्तार गरिएको ब्याङ्क अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ बताउँछन्।

शहरी क्षेत्रमा रेस्टुरेन्ट र सपिङ सेन्टरमा पीओएस मेसिनबाट कारोबार हुन थाले पनि करोडौं कारोबार हुने पेट्रोल पम्प तथा यातायात क्षेत्रमा यो सेवाले प्रवेश पाएको छैन। काठमाडौंका पेट्रोल पम्पमा दैनिक रु.१० करोडभन्दा बढी नगद संकलन हुन्छ, जसलाई पीओएस मेसिनबाट भुक्तानी गर्ने व्यवस्था मिलाएमा पम्प सञ्चालकहरूलाई नगद लिएर बस्दा आउने सुरक्षा जोखिम कम हुनेछ। यसरी पैसा लिएबापत केही प्रतिशत इन्टरचेन्ज शुल्क तिर्नुपर्ने भएकाले पेट्रोलपम्प सञ्चालकहरू यो सेवाप्रति सकारात्मक नरहेको ब्याङ्कर्स संघका अध्यक्ष अशोक राणा बताउँछन्। तर, नगद बोक्दा हुने सुरक्षा जोखिम र अतिरिक्त कर्मचारीको खर्च हिसाब गर्दा त्यस्तो शुल्कले पम्पलाई खासै घाटा नपर्ने ब्याङ्करहरूको भनाइ छ। 

“उपभोक्ता जागरुक नहुँदा ब्याङ्कहरूले प्रदान गरेको डिजिटल सेवा अझै फस्टाउन सकेको छैन”, ब्याङ्कर्स संघका अध्यक्ष एवं हिमालयन ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक राणा भन्छन्, “तर विस्तारै यसप्रति चासोे बढिरहेको छ।” राणाको विचारमा खाता खोल्दा चेक बुकभन्दा पहिले एटीएम कार्र्ड खोजी गर्नुलाई नै यस दिशाको राम्रो सङ्केतको रूपमा बुझनुपर्छ। ह 
 
 

p53
कुमारी ब्याङ्क
 
सन् २००२ मा इन्टरनेट ब्याङ्किङ शुरू गरेको कुमारी ब्याङ्कमा एसएमएस ब्याङ्किङ र अनलाइन युटिलिटी बिल भुक्तानी सुविधा छ। आईटी तथा एमआईएस प्रमुख नारायणप्रकाश भुजुका अनुसार ब्याङ्कले दुई वर्षदेखि शुरू गरेको आफूकहाँ खाता हुने, नहुने दुवैले उपयोग गर्न सक्ने 'मोबाइल वालेट' सेवा उपयोग गर्न नेपाल टेलिकम वा एनसेलको जीएसएम सहितको मोबाइल सेट आवश्यक हुन्छ। एसएमएस ब्याङ्किङबाट २२७४ मा एसएमएस गरेर मोबाइलबाटै रकम झिक्न, जम्मा गर्न, पठाउन, पसल वा रेस्टुरेन्टसँगै टेलिफोन, विद्यालयको बिल तिर्न र ब्याङ्कका खाताहरूबीच रकम स्थानान्तरण गर्न सकिन्छ। सन् २००५ देखि भिसाकार्ड शुरू गरेको ब्याङ्कका ३७ एटीएम मेसिन छन्। ब्याङ्क विदेश पढ्न जाने विद्यार्थीका लागि प्रिपेड कार्ड ल्याउने गृहकार्यमा छ।

p51a

ग्लोबल आईएमई ब्याङ्क
 
स्थापनादेखि नै प्रविधिलाई महत्व दिएको ग्लोबल आईएमई ब्याङ्कले 'फुल फ्लेज' डिजिटल सेवा प्रदान गर्दै आएको छ। पछिल्लो समय खुले पनि प्रविधिमा अब्बल बनिसकेको मार्केटिङ एण्ड बिजनेश प्रमोशन प्रमुख शान्ता शिवाकोटी बताउँछिन्। ६० शाखा रहेको ब्याङ्कमा भिसा तथा एससीटी कार्ड, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र शाखारहित ब्याङ्किङ सेवा छ। १ लाख २६ हजार कार्ड प्रयोगकर्ता रहेको ब्याङ्कमा डेबिट र क्रेडिट कार्डको सुविधा छ। मौज्दात जानकारी, फन्ड ट्रान्सफर, क्रेडिट कार्ड पेमेन्ट, युटिलिटी बिल पेमेन्ट लगायत विभिन्न सेवा लिन सकिने मोबाइल ब्याङ्किङ २० प्रतिशत ग्राहकले चलाउँछन्। खाताबाट पैसा निकाल्दा या जम्मा गर्दा अलर्ट म्यासेज आउने भएकाले पनि यसका प्रयोगकर्ता बढेका हुन्। 
 

p52e
किष्ट ब्याङ्क
 
आगामी दिनहरू डिजिटल ब्याङ्किङको दिन ठान्ने किष्ट ब्याङ्कले कार्ड, इन्टरनेट र मोबाइल ब्याङ्किङ सेवा दिंदै आएको छ। २ लाख एससीटी कार्ड र करीब ८००० भिसा कार्ड जारी गरेको ब्याङ्कबाट नेपाल टेलिकमका पोष्टपेड र प्रिपेड ग्राहकले मेनुमा आधारित मोबाइल ब्याङ्किङबाट फन्ड ट्रान्सफर, ब्यालेन्स स्टेटमेन्ट, युटिलिटी बिल भुक्तानी लगायतका सेवा लिन सक्छन्। 'किष्ट मोबाइल वालेट' नाम दिइएको उक्त सेवा अहिलेसम्म ५० हजारले लिएका छन्। यो सेवा अन्तर्गत भदौमा विद्यालय तहदेखि स्नातकसम्मका विद्यार्थीलाई शिक्षण संस्थामै भेटेर ब्याङ्किङको महत्व तथा अभिभावकलाई ब्याङ्किङ बानीको विकास गर्न प्रेरित गराउने 'ब्याङ्किङ अन युथ' कार्यक्रम ल्याइने नायव महाप्रबन्धक बीएन घर्ती बताउँछन्। 
 
p52d
ब्याङ्क अफ काठमाडौं
 
आम मानिसलाई समेट्ने बृहत् ब्याङ्किङमा जान विभिन्न कार्यक्रम ल्याएको ब्याङ्क अफ काठमाडौंले डिजिटल प्रविधिमा जोड दिएको छ। ५४ एटीएम मेसिन रहेको ब्याङ्कका २ लाख ५० हजार ग्राहकमध्ये १ लाख ४० हजारले एससीटी कार्ड सेवा लिएको प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले जानकारी दिए। यो सेवा २५ जना टेलरले दिने बराबर भएको र निम्न मध्यमवर्गमा कार्डप्रतिको अभिरुचि बढेको श्रेष्ठको बुझाइ छ। ९००० ले लिएको इन्टरनेट ब्याङ्किङमा दैनिक ५०० हिट तथा ७० फन्ड ट्रान्सफर हुने गरेको उनी बताउँछन्। ब्याङ्क शाखारहित सेवा र मोबाइल ब्याङ्किङको गृहकार्यमा छ।  
 
p52c
हिमालयन ब्याङ्क
 
भिसा र मास्टर कार्डको प्रिन्सिपल सदस्य हिमालयन ब्याङ्कले आफ्ना एसोसिएट सदस्यसहित २ लाख ६० हजार भिसा कार्ड र ५००० मास्टर कार्ड जारी गरेको छ। ४५ हजार एससीटी कार्डका ग्राहक रहेको ब्याङ्कको एटीएम मेसिनबाट जेसीबी कार्ड वाहक विदेशी पर्यटकले पनि पैसा निकाल्न सक्छन्। प्रमुख कार्यकारी अधिकृत अशोक राणा विस्तारै नेपालमा पनि जेसीबी कार्ड जारी गर्ने बताउँछन्। एसएमएस ब्याङ्किङमार्फत खाताको ब्यालेन्स, चेकबुक माग, पछिल्ला तीन कारोबारको जानकारी पाउन सकिन्छ। ब्याङ्कले इन्टरनेट ब्याङ्किङमा पुरानो भर्सनको ग्लोबस र नयाँ आर्क भर्सन सेवा दिंदै आएको छ।

p52b

ब्याङ्क अफ एशिया
 
ब्याङ्कले डिजिटल सेवा बढाउँदै लैजाँदा प्रयोग गर्नेहरू थपिएका छन्। युटिलिटी बिल तिर्न, प्रिपेड रिचार्ज कार्ड किन्न यसको प्रयोग बढेको छ। ब्याङ्कले मोबाइल, इन्टरनेट र एससीटी कार्डमार्फत दिने तीन वटै सेवा पिन नम्बर तथा पासवर्डको आधारमा सञ्चालन हुने भएकाले सुरक्षा सतर्कता अपनाइएको ट्रान्जेक्सन ब्याङ्किङ प्रमुख नारायण सुवेदी बताउँछन्। मोबाइल ब्याङ्किङमा दिइएको दुई तहको पासवर्डमध्ये एउटा ब्याङ्कबाट भौतिक रूपमा र अर्को गोप्य हुन्छ। त्यसपछि ग्राहकले पासवर्ड परिवर्तन गर्न सक्छन् भने लगइन र ट्रान्जेक्सनका छुट्टाछुट्टै पासवर्ड हुने इन्टरनेट ब्याङ्किङमा पहिलो कारोबार गर्नु पहिल्यै पासवर्ड परिवर्तन गर्नुपर्छ।  
 

p52a
एस डेभलपमेन्ट ब्याङ्क
 
भिसा कार्डसहित एसएमएस र इन्टरनेट ब्याङ्किङ सेवा प्रदान गर्दै आएको ब्याङ्कबाट हालसम्म ४५ हजार ग्राहकले कार्ड सेवा लिएका छन्। भिसाको एसोसिएट सदस्यको रूपमा कार्ड जारी गर्ने एस नेपालको एक मात्र विकास ब्याङ्क हो। एसएमएस तथा अनलाइन ब्याङ्किङमा व्यालेन्स जानकारी, पैसा ट्रान्सफर, मर्चेन्ट पेमेन्ट, युटिलिटी बिल पेमेन्ट, नेपाल टेलिकमको प्रिपेड रिचार्ज तथा पोष्टपेड बिल भुक्तानी, चेकबुक अनुरोध लगायतका सेवा भएको जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले मोबाइल क्यास सेवा सञ्चालनको गृहकार्य भइरहेको बताए। 

p51b

एभरेष्ट ब्याङ्क
 
एभरेष्ट ब्याङ्कले एससीटी कार्डसहित मोबाइल ब्याङ्किङ र इन्टरनेट ब्याङ्किङ सेवा दिंदै आएको छ। ब्याङ्कको कार्ड भारतको पञ्जाव नेशनल ब्याङ्कको नेटवर्कमा पनि  प्रयोग गर्न सकिन्छ। मोबाइल ब्याङ्किङमा धेरै ग्राहक समेट्न मेनुमा आधारित र निश्चित नम्बरमा एसएमएस गर्नुपर्ने दुवै सुविधा छन्। यो सेवामा फण्ड ट्रान्सफर, खाताको मौज्दात जानकारी, युटिलिटी बिल भुक्तानी, यति एयरलाइन्सको टिकट, मोबाइलको प्रिपेड रिचार्ज कार्ड खरीद लगायतका सुविधा छन्। इन्टरनेट ब्याङ्किङ सेवामा पनि मोबाइल ब्याङ्किङ सरह सुविधा छ।

p51f
सिद्धार्थ ब्याङ्क
 
प्रविधिमा आधारित 'फुल फ्लेज' सेवा प्रदान गर्दै आएको सिद्धार्थ ब्याङ्कले एनपिएन र एससीटी कार्ड जारी गरेको छ। विदेश जानेहरूलाई २५०० अमेरिकी डलर बराबरको ट्राभल कार्ड जारी गरिने ब्याङ्कका भुक्तानी प्रमुख आशिष शर्मा बताउँछन्। विद्यार्थीका लागि प्रिपेड भिसाकार्ड जारी गरेको ब्याङ्कले युवा वर्ग लक्षित गिफ्ट कार्ड र पम्पहरूमा प्रयोग गर्न मिल्ने पेट्रोल कार्डको योजना अघि सारेको छ। भिसाको क्रेडिट कार्डका लागि पनि ब्याङ्क प्रयासरत छ। मेनुमा आधारित मोबाइल ब्याङ्किङमा कार्ड र चेक हराएमा रोक्का गर्न मिल्ने लगायतका सुविधा छन्। ब्याङ्कले १७ ठाउँमा शाखारहित सेवा सञ्चालन गरेको छ।  
 
p51e
सिभिल ब्याङ्क
 
एससीटी र एनपिएन कार्ड वितरण गरेको सिभिल ब्याङ्कले छिट्टै मास्टर कार्ड सञ्चालनमा ल्याउने भएको छ। प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन ढड्डा पल्टाएर पासबुक भर्ने युगबाट अहिले ब्याङ्कसँगै उपभोक्ताहरू निकै अघि बढिसकेको बताउँछन्। इन्टरनेट र मोबाइल ब्याङ्किङ शुरू गर्न नेपाल राष्ट्र ब्याङ्कको अनुमतिको पर्खाइमा रहेको ब्याङ्कले इन्टरनेट ब्याङ्किङमा सुरक्षाको लागि लगइन गर्न एउटा पासवर्ड दिने र त्यसपछि हरेक पटक कारोबार गर्न लाग्दा ग्राहकको मोबाइलमा दोस्रो पासवर्ड जाने प्रविधि विकास गरेको श्रेष्ठले जानकारी दिए।

नविल ब्याङ्क

p51d

नविल ब्याङ्कले 'नविल एम ब्याङ्क' को नाममा इन्टरनेट ब्याङ्किङ र मोबाइल ब्याङ्किङ सेवा प्रदान गर्दै आएको छ। मोबाइल ब्याङ्किङमा १०–१० हजार भन्दा बढीले एसएमएस अलर्ट र एम–ब्याङ्क एप्लिकेसन लिएका छन्। यो सेवा अन्तर्गत खाताबारे जानकारी लिन, नेपाल टेलिकमको ल्यान्डलाइन फोनसहित पोष्टपेड, एनसेलको पोष्टपेड जस्ता सेवाको भुक्तानी दिन र प्रिपेड मोबाइलको रिचार्ज कार्ड खरीद गर्न सकिन्छ। भिसाको प्रिन्सिपल सदस्य रहेको ब्याङ्कका १ लाख २५ हजार डेबिट कार्ड प्रयोगकर्ता छन् भने ७००० ले क्रेडिट कार्ड चलाउँछन्। 
 

p51c
कमर्ज एण्ड ट्रष्ट ब्याङ्क
 
इन्टरनेट ब्याङ्किङ, एसएमएस ब्याङ्किङ र एससीटी कार्ड सेवा प्रदान गर्दै आएको कमर्ज एण्ड ट्रष्ट ब्याङ्कका खातावालले एसएमएसमार्फत विभिन्न जानकारी लिन सक्छन्। यस्तै इन्टरनेट ब्याङ्किङमार्फत खातामा रहेको मौज्दात, कारोबार विवरण, ब्याङ्क स्टेटमेन्ट जस्ता सेवा पाउँछन्। ब्याङ्कले जारी गरेको कार्ड आफ्ना चार एटीएम बाहेक एससीटीका कार्ड चल्ने अरू एटीएम मेसिन र पीओएसमा प्रयोग गर्न सकिन्छ। 

comments powered by Disqus

रमझम