कलिलामाथि कहर

Share:
  
- रामेश्वर बोहरा
दशक लामो हिंसा जरैदेखि हल्लाएको राज्य र समाजका कमजोर अवयवहरुमाथि थपिएको दण्डहीनता र अराजकता अबोध बालबालिकामाथि कहालिलाग्दो अपराधको कारण बनेको छ ।

ईश्वरचन्द्र झा
लक्ष्मीपुर पतार गापा–४, सिरहाकी लीलादेवी साह जसले छोराको लोभमा अपहरण गराएर अर्कै महिलाको दूधे बालक हत्याउन पुगिन् ।
१२ असोज २०७४ राति धनुषाको कमला नगरपालिका–३, पर्सास्थित घरको छतमा छोराछोरीसहित सुतेकी सुनितादेवी यादव निद्रा खुलेपछि नराम्ररी अत्तालिइन् । कारण, सँगै सुतेका तीन छोरी र दुई छोरामध्ये सात महीनाका शोभन त्यहाँ थिएनन् । नाबालक छोरा मध्यरातमा हराएपछि सुनितादेवीको घरमा रुवाबासी शुरू भयो । हल्लाखल्ला भएपछि छरछिमेक जम्मा भए । प्रहरीले खोजतलास शुरू गर्‍यो ।

करीब दुई साताको मिहिनेतपछि शोभनलाई सकुशल फेला पारेको प्रहरीले त्यस पछाडिको जुन तथ्य उजागर गर्‍यो, त्यसले धेरैको मथिंगल हल्लाइदियो । धनुषाबाट हराएका यी दूधे बालकलाई प्रहरीले सिरहाको लक्ष्मीपुर पतार गाउँपालिका–४ की लीलादेवी साहको घरमा फेला पारेको थियो । प्रहरी पुग्दा उनी शोभनलाई दूध खुवाउँदै थिइन् (हे.तस्वीर) । एउटा डरलाग्दो आपराधिक योजना फत्ते गर्ने क्रममा लीलादेवीको छोराका रूपमा शोभनलाई लक्ष्मीपुर पुर्‍याइएको थियो ।

त्यसको शुरूआत हुन्छ, लीलादेवीकै घरबाट । छोराको आशमा चार छोरीकी आमा बनेकी लीलादेवी घरपरिवार, नातागोता र गाउँ–समाजबाट भोग्नु परेको हैरानीले आजित भएर ‘छोरा किन्ने’ निष्कर्षमा पुग्छिन् । त्यही क्रममा उनी भारतको दिल्ली पुगिन् । दिल्लीमा आठ महीना बस्दा पनि ‘छोरा किन्ने’ झ्न्झ्टिलो र महँगो प्रक्रिया पूरा गर्न नसकेपछि उनी गाउँ फर्किन् । त्यसपछि उनको सम्पर्कमा आए, धनुषाका बाला पासवान । तिनै पासवानले रु.२ लाख ५० हजार तिरे छोरो उपलब्ध गराइदिने आश्वासन दिए र धनुषाको कमला नगरपालिका–३ का वीरेन्द्र यादवसित सम्पर्क गराइदिए । अनि वीरेन्द्र, कमला नगरपालिका–२, सराबेका राधाकृष्ण मण्डल र दिलीपकुमार मण्डलले राधाकृष्णकै घरमा बसेर सुनितादेवीका सात महीने छोरालाई अपहरण गरी लीलादेवीलाई सुम्पने योजना बनाए ।

प्रहरीले अनुसन्धानका क्रममा राधाकृष्णलाई पक्राउ गरेपछि यो प्रकरणको गुत्थी खुलेको थियो । ‘छोरा पाउन’ रु.६ लाख खर्च गरेकी लीलादेवीले त्यसमध्येको तीन लाख वीरेन्द्र, राधाकृष्ण र दिलीप मण्डललाई दिएकी थिइन् । लीलादेवी र सुनितादेवी दुवैका श्रीमान् वैदेशिक रोजगारमा छन् । यो घटनापछि सुनितादेवीले हराएको छोरा १७औं दिनमा आफ्नै काखमा फिर्ता पाएकी छन् भने लीलादेवी, राधाकृष्ण र दिलीपलाई प्रहरीले बालक अपहरण र बेचबिखन सम्बन्धी कसुरमा पक्राउ गरी मुद्दा चलाएको छ । घटनाका मुख्य योजनाकार मानिएका बाला पासवान र वीरेन्द्र यादव फरार छन् । ‘छोरा नभई नहुने’ रुढिवादी सोचले निम्त्याएको यो अपराध अबोध बालबालिका कसरी आपराधिक मनोवृत्तिको शिकार हुन्छन् भन्ने दृष्टान्त हो ।

नेपाल प्रहरीका अनुसार गएको वर्ष (आर्थिक वर्ष २०७४/७५) मा देशभरबाट ७७ जनाको अपहरण भयो । अपहरणकारीको मुख्य ध्येय फिरौती असुल्ने र त्यसका निम्ति स–साना बालबालिकालाई नै निशाना बनाइने हुँदा यो सूचीमा बालबालिकाको संख्या उल्लेख्य छ । पछिल्लो समय कहालिलाग्दो रूपमा बढेका बलात्कार र यौन हिंसाका घटना होऊन् या हत्या र मानव बेचबिखनसम्मका गम्भीर प्रकृतिका अपराध; त्यसबाट पीडित हुनेको ठूलो संख्या पनि बालबालिकाकै छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तम सुवेदी भन्छन्, “अपराधका आँकडा केलाउँदा बालबालिकालाई टार्गेट गर्ने क्रम निकै बढेको देखिन्छ, समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरू गर्नुको मुख्य कारण पनि यही हो ।”

असुरक्षित देश !

नेपाल प्रहरीले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि भन्दै ११ कात्तिकदेखि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुरू गरेको छ । केन्द्रदेखि सबै (सात वटा) प्रदेश र ७७ वटै जिल्लामा एकसाथ शुरू गरिएको यो कार्यक्रम देशभर बढिरहेका बलात्कार, हत्यालगायतका जघन्य अपराधका घटना न्यूनीकरणका लागि समुदायसँग मिलेर काम गर्ने प्रहरीको पछिल्लो प्रयास हो । यसभन्दा पहिले पनि समुदाय लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको प्रहरीलाई फेरि ठूलो तामझमसाथ यहीबेला यो कार्यक्रम गर्नुपर्ने खाँचो किन पर्‍यो ? “यो तत्काल नगरी नहुने कार्यक्रम थियो, पछिल्लो दुई वर्षको अपराध सूचीको विश्लेषणले हामीलाई नराम्ररी झ्स्कायो” प्रहरी प्रवक्ता सुवेदी भन्छन्, “अपराधबाट पीडित र अपराधमा संलग्न हुने दुवै सूचीमा बालबालिकाको संख्या उल्लेख्य देखिएपछि कानून कार्यान्वयनबाट मात्र यसलाई रोक्न नसकिने निक्र्योलमा हामी पुग्यौं । यसका लागि समुदायमै इन्टर्भेन्सन गर्नुपर्छ र त्यसमा पनि विद्यालयमै पुग्नुपर्छ भनेर यो कार्यक्रम शुरू गरियो ।”

प्रहरीलाई समेत झ्स्काउने एउटा आँकडा हो– बलात्कार । प्रहरी प्रधान कार्यालयका अनुसार २०७४/७५ मा बलात्कारका एकहजार ४८० घटना भए । यो संख्या अघिल्लो वर्ष (२०७३/७४) एकहजार १३७ थियो । एक वर्षमै बलात्कारका घटना ३० प्रतिशतले बढ्नु आफैंमा डरलाग्दो तस्वीर थियो । योभन्दा पनि डरलाग्दो तथ्य हो– बलात्कृत हुनेमध्ये अधिकांश बालिका हुनु । प्रहरी प्रधान कार्यालयका अनुसार २०७/७५ मा बलात्कार (जबर्जस्ती करणी) मा परेका कुल पीडितमध्ये ६४ प्रतिशत (९४७ जना) १८ वर्षभन्दा मुनिका छन् । १८–२५ वर्ष उमेर समूहका किशोरी–युवती १८ प्रतिशत छन् । यसलाई समेत जोड्ने हो भने बलात्कारमा परेका कुल ८२ प्रतिशत २५ वर्ष मुनिका छन्, जुन भविष्य बनाउने उमेर समूह मानिन्छ । यस्तै २६–३५ वर्ष उमेर समूहका १० प्रतिशत, ३६–४५ वर्ष उमेर समूहका ४ प्रतिशत र ४५ वर्षमाथिका ४ प्रतिशत छन् ।

प्रहरीका अनुसार २०७४/७५ मा बलात्कार प्रयासका घटना समेत उल्लेख्य दर्ता भए, ७२७ वटा । तीमध्ये अधिकांश पीडित १८ वर्षमुनिका बालिका छन् । पूर्वी नेपालको जिल्ला मोरङमा २०७५ साउनदेखि असोजसम्मको तीन महीनामा २१ जना बालिका बलात्कृत भएको प्रहरीको आँकडाले नै अवस्था कति भयावह छ भन्ने देखाउँछ । मोरङ प्रहरीका अनुसार यसबीचमा थप ६ बालिका र दुई जना बालकमाथि बलात्कारको प्रयास भएको छ ।

कलिला बालिका लक्षित बलात्कारको यो दुष्कर्म कतिसम्म कहालिलाग्दो हुन्छ भन्ने कञ्चनपुरकी निर्मला पन्त बलात्कार–हत्या प्रकरणले छर्लङ्ग पारिसकेको छ । निर्मला बलात्कार–हत्या प्रकरणको विरोधमा सरकारइतरको सिंगो मुलुक उठ्नुको निहितार्थ यो आँकडाले पुनः पुष्टि गरेको छ । समाजमा कलिला नानीहरू जोगाउनै कठिन भइसकेको दृष्टान्त पनि हो, यो ।

नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयको वार्षिक प्रतिवेदन, २०७५ ले आत्महत्या गर्ने बालबालिकामध्ये बालकको तुलनामा बालिकाको संख्या बढिरहेको उल्लेख गरेको छ । मोरङमा गएको साउन–असोजमा दुई जना बालक र तीन जना बालिकाले आत्महत्या गर्नुले पनि निर्देशनालयको वार्षिक प्रतिवेदनको निचोडलाई बल पुर्‍याउँछ । प्रहरी अधिकारीहरू आत्महत्याका कारण फरक–फरक हुने भए पनि बलात्कार र यौनजन्य हिंसा समेत प्रमुख कारण रहेको बताउँछन् ।

बलात्कार मात्र होइन, जघन्य अपराध मानिने अन्य फौजदारी अपराधहरूमा पीडित भएका बालबालिकाको संख्या पनि असामान्य खालकै छ । जस्तो कि, प्रहरी प्रधान कार्यालयले तयार पारेको सूचीमा मानव बेचबिखन सम्बन्धी अपराधबाट पीडित हुने १६ वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या ९ प्रतिशत रहेको उल्लेख छ । झ्ट्ट हेर्दा यो त्यति ठूलो संख्या लाग्दैन । तर, त्यही सूचीभित्रको १६–२५ उमेरसमूहका पीडितको संख्या कुल पीडित संख्याको ५० प्रतिशत हुनुले भने हाम्रो सुरक्षा व्यवस्था र सामाजिक सोचको कहालिलाग्दो तस्वीर देखाउँछ ।

प्रहरीको आँकडा अनुसार २०७३/७४ मा हत्या गरिएका कुल व्यक्तिमध्ये ७ प्रतिशत १६ वर्षभन्दा कम उमेरका छन् । तर, हत्या गरिएकामध्ये १६–२५ उमेर समूहको संख्या २२ प्रतिशत हुनुले त्यहाँभित्र आपराधिक मनोवृत्तिका व्यक्तिबाट ज्यान गुमाउने बालबालिकाको संख्या पनि कम नभएको देखाउँछ । २०७३/७४ मा देशभर भएका कुल ३१ हजार ४६० वटा अपराधका घटनामा पीडित हुनेमध्ये ७ प्रतिशत १६ वर्षमुनिका बालबालिका छन् भने १६–२५ वर्ष उमेर समूहको संख्या २४ प्रतिशत छ ।

देशभर वर्षेनि हजारौं मानिस हराउँछन्, जसमा बालबालिकाको संख्या उल्लेख्य हुन्छ । प्रहरीको वेबसाइटमा बालबालिका हराएको सूची नियमितजसो अद्यावधिक भइरहन्छ । हराएका बालबालिकाको खोजी गर्न प्रहरी तथा अन्य सरोकारवाला निकाय समेत सहभागी रहेको बालबालिका खोजतलास समन्वय केन्द्र समेत खडा गरिएको छ । केन्द्रका अनुसार गएको साउनदेखि असोजसम्मको तीन महीनामा देशभर ८७६ जना बालबालिका हराए । तीमध्ये ३१६ जना मात्र फेला परे । हराएकामध्ये ६४ प्रतिशत अर्थात् ५६० बालबालिका कहाँ छन्, अत्तोपत्तो छैन । २०७४÷७५ मा देशभरबाट दुई हजार ३३० बालबालिका हराएको र तीमध्ये एकहजार १७ जना मात्र फेला परेको केन्द्रको अभिलेखमा देखिन्छ । जानकारहरू यसरी हराउने बालबालिकालाई विभिन्न गिरोहले बेचबिखन तथा मानव अंग बिक्रीका लागि समेत प्रयोग गरेको हुनसक्ने अनुमान गर्छन् । नेपाल प्रहरीको विशिष्टीकृत अपराध अनुसन्धान इकाइ मानिने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुख रहिसकेका पूर्व प्रहरी महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, “त्यसरी हराउनेमध्ये धेरैजसो गरीब परिवारका बालबालिका हुन्छन् । अभिभावकले एकचोटि रिपोर्ट गर्छन्, त्यसपछि निरन्तर फलोअप गरिरहन सक्ने उनीहरूको अवस्था हुँदैन । त्यही कारण धेरैजसो बालबालिका फेला पर्न पनि गाह्रो हुन्छ ।”

जानकारहरू गम्भीर फौजदारी अपराधका पीडितहरूमध्ये बालबालिकाको संख्या उल्लेख्य हुनुलाई बालबालिकाका निम्ति मुलुक नै असुरक्षित बन्दै गएको संकेत मान्छन् । अपराधशास्त्री प्रा.डा.रजितभक्त प्रधानांग पनि पछिल्लो समय बालबालिका लक्षित अपराध बढेको बताउँछन् । तर, त्यसका पछाडि विभिन्न कारण जिम्मेवार रहेको उनको बुझइ छ । “पहिले अपराधका घटना बाहिर ल्याइँदैनथे, अहिले त्यसबारे रिपोर्ट गर्ने मेकानिज्म बनेको छ र सँगै समाजमा अपराधीलाई दण्डित गर्नुपर्छ भन्ने जागरण आएको छ” उनी भन्छन्, “अहिले पीडितलाई सहयोग गर्ने संयन्त्र विकास हुँदै जानु पनि यसको अर्को कारण हो ।”

अपराधीका सहज ‘टार्गेट’

अपराधशास्त्रीय मान्यता नै छ– आपराधिक मनोवृत्तिका व्यक्तिहरूले आफ्नो अपराध–कर्मका लागि मूलतः स–साना उमेरका बालबालिकालाई ‘टार्गेट’ बनाउँछन् । त्यसको निश्चित कारण हुन्छ । जस्तो कि, स–साना बालबालिकाले प्रतिवाद–प्रतिकार गर्ने सम्भावना न्यून हुन्छ । डर, त्रास देखाएर तर्साउन मात्र होइन, फकाउन र प्रलोभनमा पारेर ‘कन्भिन्स’ गर्न पनि सजिलो हुन्छ । अपराध वा शोषण गरिसकेपछि देखाइने त्रासका कारण तिनलाई चुप लगाउन पनि वयस्क व्यक्तिभन्दा सहज हुन्छ ।

समाजका अध्येताहरू यसो हुनुमा समाजमा भएका विभिन्न परिवर्तनहरूले समेत भूमिका खेलेको बताउँछन् । मानवशास्त्री सुरेश ढकालका अनुसार पछिल्लो समय बालबालिका परिवारको रेखदेख वा निगरानीभन्दा अलग हुँदै जानु यसको एउटा कारण हो । “पेशा र व्यवसायमा आएको परिवर्तन तथा बसाइसराइले गर्दा पनि पहिले भन्दा अहिलेका बालबालिका परिवारको निगरानीबाट टाढा हुँदैछन्” ढकाल भन्छन्, “अर्को कुरा, बालबालिकालाई विभिन्न खाले जोखिमपूर्ण अवस्थाबाट जोगिने उपाय सिकाउने हाम्रो शिक्षा प्रणाली पनि छैन । यसले पनि उनीहरूलाई थप जोखिममा पारेको छ ।” हुन पनि, हामीकहाँ अन्य मुलुकमा जस्तो बालबालिकालाई यौन शिक्षा दिने र विभिन्न खाले असहज तथा जोखिमपूर्ण परिस्थितिबाट कसरी जोगिने भन्नेबारे सिकाउने परिपाटी छैन । शिक्षा प्रणालीले यो विषय समेटेकै छैन ।

बालबालिकामा आफ्नो सुरक्षाबारे ज्ञान हुनुपर्छ र अभिभावकदेखि विद्यालय र शिक्षक समेत त्यसमा प्रतिबद्ध रहनुपर्छ भन्ने आवश्यकता महसूस गरिएकै छैन । “सुरक्षा दिनु राज्यको दायित्व हो, सँगसँगै बालबालिकाको प्रिभेन्सनको पाटोमा पनि उत्तिकै ध्यान दिइनुपर्छ, जुन हामीकहाँ हुनसकेको छैन”, नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की भन्छन् । बालबालिकाको सुरक्षालाई कानून व्यवस्थाको पाटोबाट हेरिए पनि समाजशास्त्रीय र अपराधशास्त्रीय मान्यता अनुसार सम्बोधन गर्न नसकिएको उनको भनाइ छ ।

मानवशास्त्री ढकाल बलात्कारका घटनाको उदाहरण दिंदै यसमा पनि आपराधिक मनोवृत्तिका व्यक्तिहरूको ‘सहज टार्गेट’ खोज्ने सोचले काम गरेको बताउँछन् । “बलात्कार भनेको यौन आनन्दका लागि गरिने अपराध मात्र नभएर पुरुषको दमनकारी सोच पनि हो, वयस्क महिलामाथि दमन गर्न सजिलो नहुने हुँदा उनीहरू स–साना बालबालिकालाई निशाना बनाउँछन्” ढकाल भन्छन्, “यो यस्तो सोच हो, जसले कमजोरलाई नै निशाना बनाउँछ ।”

लामो द्वन्द्वबाट गुज्रिएका मुलुकमा सामाजिक र पारिवारिक संरचनासँगै राज्य–व्यवस्थाका अवयवहरू समेत खल्बलिने हुँदा द्वन्द्वोत्तर अवधिमा बढ्ने अपराधलाई त्यति अस्वाभाविक मानिंदैन । नयाँ सामाजिक संरचना र राज्य–संरचना चलायमान नहुँदासम्म त्यस्ता समस्या देखा पर्छन् नै । एकथरीले बालबालिका लक्षित पछिल्ला अपराध–शृंखलालाई त्यही रूपमा चर्चा गर्छन् । तर, दशक लामो हिंसात्मक विद्रोह टुंगिएको १२ वर्ष बितिसक्दा पनि त्यो स्थिति कम हुनु साटो झंगिदै जानुका पछाडि भने झ्ण्डै एक दशकसम्मको संक्रमणकालको बहानामा संस्थागत हुँदै गएको दण्डहीनता र अराजकताले प्रमुख भूमिका खेलेको छ । द्वन्द्व समाधान भएको १२ वर्षपछि र विधिवत् रूपमा संक्रमणकाल अन्त्य भएको तीन वर्ष बितिसक्दा पनि राज्य–संयन्त्र र कानून व्यवस्थाको हविगत कस्तो छ भन्ने निर्मला पन्त बलात्कार–हत्या प्रकरणले उजागर गरिसकेको छ । अपराधमा बालबालिका प्रमुख निशाना बनिरहेको पछिल्लो अवस्था त्यसकै कडी हो ।

राजनीतिक व्यवस्था परिवर्तनसँगै भएका सामाजिक परिवर्तन र आर्थिक सम्बन्धहरूमा भइरहेका फेरबदलले समेत यसमा भूमिका खेलेका छन् । रेमिटेन्समा आधारित अर्थव्यवस्थाको दबदबाले सिर्जना गरेका कतिपय दुष्परिणामसँगै नागरिकको जीवनयापन सहज बनाउने कार्य सरकारको प्राथमिकतामा नपर्नु प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यसमै ठोक्किन आइपुग्छन् ।

असहज दैनिकी र बदलिंदो जीवनशैली

गएको २६ साउनमा ताप्लेजुङको पाथिभरा याङबरक–२ की २० वर्षीया कमला विकले आफ्ना जुम्ल्याहा छोरीको निर्मम हत्या गरिन् । घरकै कच्ची शौचालयमा डुबाएर उनले भर्खर एक वर्ष पुग्न लागेका दुई नानीको हत्या गरेकी थिइन् । एउटी छोरीको शव शौचालयमै भेटिएको थियो भने अर्कीलाई छिमेकीले उद्धार गरी अस्पताल पुर्‍याएपछि मृत्यु भएको थियो । उदययुर घर भएका गाडीका सहचालकसँग भागेर बिहे गरे पनि सम्बन्ध राम्रो नभएपछि गर्भवती अवस्थामै श्रीमान्लाई छाडेर माइती आएकी कमला कता गइन्, केही अत्तोपत्तो छैन ।

गएको २५ भदौमा मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीकी कविता यादव (२९) ले आफ्ना दुई छोरालाई झुन्ड्याएर आफूले पनि आत्महत्या गरिन् । छोराहरू १० वर्षीय निशान र ५ वर्षीय अमनलाई घरकै बलोमा झुन्ड्याएर उनले आफू पनि झुन्डिएकी थिइन् । भोलिपल्ट प्रहरी पुग्दा कान्छो छोरा र कविताको मृत्यु भइसकेको थियो भने जेठो छोरा निशान पासो फुत्किएकाले जीवितै थिए । स्थानीय बासिन्दाका अनुसार कविताका पति अमरलालको दुई वर्षअघि निधन भएको थियो । केही समयदेखि उनको घरमा भारतको फारविसगन्ज घर भएका विराटनगरमा काम गर्ने रामदेव झ बस्दै आएका थिए । कविताले छरछिमेकीमाझ् उनलाई पतिका रूपमा चिनाएकी थिइन् । रामदेव र कविताबीच झ्गडा भएको र त्यही आवेगमा उनले छोरासहित आफ्नो ज्यान लिएको प्रहरीको आशंका छ ।

अपराधशास्त्री प्रा.डा.रजितभक्त प्रधानांग समाजभित्रका विभिन्न कोणबाट उत्पन्न तनावले यस्ता ‘सिन्ड्रोम’ हरू देखापर्ने बताउँछन् । “एउटा चाहिं गरीबीको कारणले जीवनयापनमै समस्या आएपछि बच्चा मारेर आफू पनि मर्ने हदसम्म पुगेको देखिन्छ, यस्तो अन्य देशमा पनि हुन्छ” उनी भन्छन्, “अर्को चाहिं वैदेशिक रोजगारले पनि यस्तो अवस्था निम्त्याएको छ ।” वैदेशिक रोजगारले एकातिर हाम्रो स्तर उकास्न सघाएको र अर्कोतर्फ समाजमा अपराध गर्ने वातावरण निर्माण गरिदिएको उनको धारणा छ ।

मानवशास्त्री सुरेश ढकाल यसलाई तनाव धान्न सक्ने क्षमतासँग जोडेर हेर्न रुचाउँछन् । संकटसँग जुध्न सक्ने क्षमतामा ह्राससँगै सामाजिक सुरक्षाको पाटो कमजोर भएपछि यो अवस्था आउने उनी बताउँछन् । “आमाले आफ्नै बच्चाको हत्या गरेका घटना अहिले सामान्य हुन थालेका छन्” ढकाल भन्छन्, “यो भौतिक समस्याले ल्याउने मानसिक विचलनको उपज त हुँदै हो, समुदाय र सरकार दुवैले प्रदान गर्ने सुरक्षा कमजोर हुनुको नतिजा पनि हो ।”

अपराध कर्ममा पनि

मोरङको पथरी शनिश्चरे–८ का १६ वर्षीय बालकले गएको १९ असोजमा १५ वर्षीया बालिकालाई बलात्कार गरे । प्रहरीका अनुसार, उनले बालिकालाई फकाएर आफ्नो घरको कोठामा पुर्‍याई बलात्कार गरेका थिए । १३ असोजमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ मा १४ वर्षीय बालकले चकलेट दिएर ललाईफकाई ७ वर्षीया बालिकालाई बलात्कार गरे ।

गएको १८ भदौमा रूपन्देहीको बेलहिया नाकामा तनहुँका १३ वर्षीय एक बालक भारतको सुनौलीबाट प्रतिबन्धित लागूऔषध भित्र्याउँदै गर्दा पक्राउ परे । प्रहरीले उनलाई लागूऔषध ओसारपसार सम्बन्धी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीको मुद्दा शाखा इन्चार्ज उमेश जोशीका अनुसार उनलाई लागूऔषध कारोबार गर्ने गिरोहले प्रयोग गरेको खुलेको छ ।

उल्लिखित घटनाहरूले गम्भीर अपराधमा समेत बालबालिकाको संलग्नता देखाउँछन् । प्रहरी प्रधान कार्यालयको आँकडाले त यसको भयावह अवस्था नै देखाएको छ । जस्तो कि, २०७३/७४ मा भएका बलात्कारका घटनामा संलग्न अभियुक्तमध्ये ७ प्रतिशत १६ वर्षभन्दा कम उमेरका छन् भने १६–२५ उमेर समूहका ४० प्रतिशत छन् । सोही वर्ष भएका बलात्कार प्रयासका घटनाका अभियुक्तमध्ये ३ प्रतिशत १६ वर्षमुनिका थिए भने ४२ प्रतिशत १६–२५ वर्षका । त्यसैगरी हत्यामा संलग्नमध्ये १६ वर्षभन्दा मुनिका २ प्रतिशत छन् भने १६–२५ वर्षका ३० प्रतिशत छन् ।

प्रहरीको आँकडा अनुसार २०७४/७५ मा भएका कुल ३९ हजार ३१५ वटा अपराधका घटनामा संलग्न अभियुक्तमध्ये २ प्रतिशत १६ वर्षभन्दा कम उमेरका छन् । तर, यसमा १६–२५ उमेर समूहको संख्या ३८ प्रतिशत छ, जसले बालबालिकाको ठूलो संख्या अपराधकर्ममा संलग्न रहेको देखाउँछ । मुलुकका निम्ति यो ठूलो खतराको घण्टी हो । प्रहरी प्रवक्ता, एसएसपी उत्तम सुवेदी भन्छन्, “पीडित र पीडक दुवैको उल्लेख्य समूह विद्यालय पढ्ने उमेर समूहकै देखिएकाले विद्यालयमै इन्टर्भेन्सन गर्ने गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरू गरेका हौं ।”

साथमा कमल रिमाल विराटनगर, ईश्वरचन्द्र झ जनकपुर र दीपक ज्ञवाली बुटवल


आफ्नैले गर्छन् बलात्कार

प्रहरी प्रधान कार्यालयले बलात्कारका घटनाबारे भर्खरै गरेको एउटा सर्वेक्षणको नतिजा सबैलाई झस्काउने खालको छ । सर्वेक्षणको नतिजा अनुसार, बलात्कारमा संलग्न व्यक्तिमध्ये ८७ प्रतिशत संख्या पीडितको परिवारकै सदस्य, आफन्त वा राम्रोसँग चिनेजानेका व्यक्ति भएको पाइएको छ । “हामीले प्रश्नावली बनाएरै सबै जिल्लामा यो सर्वेक्षण गरेका थियौं, पीडित र पीडक दुवैलाई चिनेका व्यक्तिहरूमाझ यो सर्वेक्षण गरिएको थियो” प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख, एआईजी पुष्कर कार्की भन्छन्, “अधिकांश बलात्कारका घटना नजिककै व्यक्तिहरूबाट हुने गरेको देखियो ।”

comments powered by Disqus

रमझम