संरक्षण हुन थालेपछि चितवन रत्ननगरको पूर्व–पश्चिम राजमार्गमा रहेको
टिकौली ताल अहिले पर्यटक आकर्षण गर्न सक्ने भएको छ ।
तस्वीरहरूः सविता श्रेष्ठ
२०६२ सालदेखि स्थानीय सामुदायिक वनले चितवन, रत्ननगर—७ को पूर्व–पश्चिम राजमार्गमा पर्ने टिकौली मध्यवर्ती क्षेत्रको वन संरक्षण गर्न थालेपछि चराको संख्यामा उल्लेख्य वृद्धि भएको छ भने पहिले धाप भइसकेको टिकौली ताल अहिले पर्यटकलाई मनोरञ्जन दिन सक्ने भएको छ ।
हिलो भरिएको तालमा आकाशमा उडेका चरा देख्न सकिने भएपछि चराले त्यहींका रूखका हाँगामा बासस्थान बनाउन थालेका छन् । त्यहाँ बासस्थान बनाएका लोपोन्मुख एशियन ओपन बिलस्ट्रोक (घुङ्गीफोर) को सन्तान पनि वृद्धि हुनथालेको छ ।
सबैतिर ड्याम बनाएर पानी जम्मा गरेपछि तालको १२ हेक्टर पानीले भरिएको छ । वर्ड एजुकेशन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु विडारी चार वर्षयता टिकौली ताल क्षेत्रमा लोपोन्मुख पाँच प्रजातिका चराले गुँड लगाउन थालेको बताउँछन् ।
सोसाइटीले तीन वर्षअघि त्यहाँ चार प्रजातिका चराका २४७ वटा गुँड भेटेको थियो । एक वर्षपछि अनुगमन गर्दा तिनै चराका २८३ गुँड भेटिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यक्षेत्रमा पाइने सोइरो ठुँडे, हरि हाँस, जलेवा, सिलसिले, कर्रा सावरी, कालो गरुड, बकुल्लो लगायतका चरा पनि अहिले त्यहाँ देखिन थालेको विडारी बताउँछन् ।
चराले मन पराओस् भनेर ताल वरिपरि बाँस, शिरीष जातका बिरुवा रोपिएको सामुदायिक वनका अध्यक्ष बुद्धि विक बताउँछन् । ताल संरक्षण गर्नुअघिसम्म गाउँलेले त्यहाँको पानी सुकाएर माछा मार्थे । पानी सुक्दा ताल झारले भरिएर घाँसेमैदान जस्तो देखिन्थ्यो ।
अहिले पानीमा मगर गोही, अजिङ्गर, कछुवा पाइन्छ भने तालको पानी पिउन मृग, हरिण, चित्तल, बँदेल, बाघ र गैंडा आउन थालेका छन् । सामुदायिक वनले संरक्षण शिक्षा मार्फत खेतीमा विषादी कम प्रयोग गर्न र चरा मार्ने गुलेली निषेध कार्यक्रम चलाएकाले ताल क्षेत्रमा परिवर्तन आएको अध्यक्ष बुद्धि बताउँछन् ।
ताल नजिकैको खेतीबालीले चराहरूलाई गुँड लगाउन र घुम्न अरू सजिलो भएको विडारीको अनुभव छ । यी सबै परिस्थितिले अहिले टिकौली ताल चराको मुख्य बासस्थान र सन्तान उत्पादन गर्ने मुख्य थलो बनेको उनी बताउँछन् । चरा र जनावरको गतिविधि बढेकाले तालमा अहिले पर्यटकको आकर्षण बढेको छ । तालमा घुम्न आउने पर्यटकको एउटा जीपलाई रु.७०० र विदेशी चढेको मोटरसाइकललाई रु.१०० लिएर सामुदायिक वनले आम्दानी बढाएको अध्यक्ष बुद्धि बताउँछन् ।
सविता श्रेष्ठ, नारायणघाट