लमजुङ, पामचोककी सावित्रा भण्डारी गाउँमा हलो समाउँथिन् । आली लगाउँथिन् । चार दिदीबहिनीमध्ये साहिंली उनको स्वभाव पनि त्यस्तै थियो । छोटो कपाल पाल्ने, कुर्ता सारी नलाउने, न लाज मान्ने न धक, हिम्मतिली । उनको यही स्वभाव खेलकुदसँग जोडिने आधार बन्यो ।
सावित्राले खेलको शुरूआत एथलेटिक्स र भलिबलबाट गरेकी थिइन् । तर उनको रुचि भने फूटबलमा थियो । फूटबल खेल्ने हठ पूरा गर्न उनले धैर्यको लामो परीक्षा पार गर्नुपर्यो । “स्कूलमा महिलाको टीम थिएन । खेल्न असाध्यै मनपर्ने । अनि पुरुषसँगै खेल्थें, झगडा गर्थें”, सावित्रा सम्झिन्छिन् । उनी दाइहरू खेलेको पोष्ट पछाडि बसिरहन्थिन्, बाहिर आएको बल प्रहार गर्न पाउँछु कि भन्ने आशामा । कक्षा ८ सम्म मात्र पढाइ हुने गाउँको स्कूलपछि उनले फूटबल खेल्ने चौर भएको अमर उमावि रोजिन् ।
उनलाई याद छ, छिमेकी गाउँ घनपोखरामा महिला फूटबल हुँदैछ भन्ने थाहा पाएपछि रातारात त्यहाँ पुगेको । सृजनशील युवा क्लबबाट खेलेको र पहिलो पटक फूटबल बुट लगाएको । अनि प्रतियोगितामा पाँच गोल गरेको ।
खुलेको ढोका
२०७२ वैशाखमा घले गाउँमा भएको महिला फूटबल प्रतियोगिताले सावित्राको जीवनमा नसोचेको मोड ल्यायो । अन्य महिला खेलाडीभन्दा फरक ‘केटा जस्तै खेल्ने’ छरिती सावित्राको खेलमा रेफ्री बनेर आएकी शुक्रा लामाको आँखा पर्यो । लामाले सावित्राको फोन नम्बर मागिन् र सोधिन्, “काठमाडौंमा बोलाए खेल्न आउँछ्यौ ?”
असारमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट उनलाई निम्ता आयो । तर गाउँ छोडेर एपीएफ आउँदा उनले केही प्रश्नको सामना गर्नुपर्यो । ‘शहरमा एक्लै नजा, बिग्रेलिस् !’, ‘छोरी मान्छेले एक्लै घर छाड्नुहुन्छ ?’ जस्ता प्रश्न उठेका थिए । तर, सावित्रा मान्नेवाला थिइनन् । “हलो जोत्न दिने । फूटबल खेल्न चाहिं नदिने ? मैले कसैको सुनिनँ”, उनी भन्छिन् ।
मासिक रु.५ हजारको करार जागिरमा सावित्रा एपीएफमा आवद्ध भइन् । महिला फूटबलमा सशक्त मानिने सशस्त्रमा छिरेपछि बल्ल उनको वास्तविक खेलाडी बन्ने यात्राको शुरूआत भयो ।
त्यतिबेला एपीएफमा राष्ट्रिय टोलीका जल्दाबल्दा खेलाडी जमुना गुरुङ र अनु लामा थिए । बाँकीमध्ये पनि अधिकांश राष्ट्रिय टोलीका सदस्य । जमुना घाइते हुनु तथा अनु लामा मिसनको लागि विदेश गएपछि भाग्यमानी सावित्राले चितवनको राष्ट्रिय लिगमा अग्रपंक्तिको जिम्मेवारी पाइन् । लिगमा उनले ८ गोल गरिन् । राष्ट्रिय टोलीमा उनको उदय त्यहींबाट भयो ।
तेस्रो साफ च्याम्पियनसिपका लागि उनलाई राष्ट्रिय टोलीमा बोलाइयो । प्रतियोगितामा भूटान विरुद्धको ‘डेब्यु’ खेलमा नै सावित्राले ८ गोल गरिन् । अहिले ओलम्पिक छनोटको दोस्रो चरणको प्रतियोगिता खेल्दा उनले आफ्नो गोल संख्या २९ पुर्याइसकेकी छिन् । राष्ट्रिय जर्सीकी पहिलो रोजाइकी निर्विकल्प खेलाडी बनेकी छिन्, सावित्रा ।
विश्लेषकहरू भन्छन्– २३ वर्षीया सावित्रा फूटबल करिअरको पहिलो चरणमै छिन् । उनले धेरै गर्न बाँकी छ । तर त्योभन्दा आफ्नै प्रतिभा तिखार्न बाँकी छ । एपीएफ क्लबका व्यवस्थापक प्रेम श्रेष्ठ भन्छन्, “बलसँगको उनको गति बेजोड छ । प्रशस्त सम्भावना छ, परिपक्व हुन बाँकी छ ।”
सावित्रामा अनुभवको कमी छ । तर महिला फूटबलका लागि देशव्यापी सन्देश छर्ने काम भने गरिरहेकी छन् । अचम्म, अहिले लमजुङको सावित्राको गाउँमा फूटबल मैदान बनिरहेको छ । गाउँलेहरू उनलाई भन्न थालेका छन्– “गाउँका दिदीबहिनीलाई पनि फूटबल खेल्न लैजाऊ न ।” हिजो प्रश्न तेस्र्याउनेहरू अहिले गाउँ जाँदा स्वागत गर्न आउँछन् ।
सावित्रालाई हेल्थपोष्टमा सामान्य जागिर खाने बुबालाई सघाउनुछ । खर्च जोगाएर बहिनी र भाइलाई पढाउनुछ । त्यसका लागि तलबको पाँच हजार र जितेको पुरस्कार उनी बचाएर राख्छिन् । सँगसँगै आफ्नो सपना पनि पूरा गर्नुछ । माल्दिभ्समा व्यावसायिक लिग खेलिसकेकी उनलाई भारतीय महिला लिग खेल्ने निम्तो आइसकेको छ । “मुख्य उद्देश्य देशलाई पदक दिलाउन निम्ति केही गर्नुछ”, उनी भन्छिन् ।