कक्षा ७ पढ्दै गर्दा १४ वर्षकै उमेरमा मायाको विवाह तय गरियो । विवाहको एक दिन अघि मात्र उनले निश्चय गरिन्, ‘म अहिल्यै विवाह हुन जन्मेको होइन । म त ठूलो मान्छे बन्न जन्मिएकी हुँ ।’
यति सोचेर माया घरबाट भागिन् । दुई दिनपछि प्रहरीले फर्काउँदा उनलाई बुवाले घरभित्र पस्न दिएनन् । परिवारको ‘नाक काट्ने’ भनेर गाउँघरमा उनको कुरा काट्न थालियो ।
त्यसपछि शुरू भयो उनको संघर्ष । उनी कहिले मावली त कहिले आफन्तकहाँ बस्न थालिन् । तर, सपना देख्न भने छाडिनन् ।
विभेद सहँदै गर्दा मायाले आफ्नो वरपरका महिलाको अवस्था नियाल्न थालिन् । थाहा पाइन्, सिन्धुपाल्चोक जिल्लालाई त ‘चेलीबेटी बेचबिखनको जिल्ला’ पो भनिंदो रहेछ ।
त्यसपछि हिमाल चढ्नेसँगै मायाको अर्को सपना बन्यो– “जिल्लालाई चेलीबेटी बेचबिखन होइन साहसी महिलाको जिल्ला भनेर चिनाउने ।”
सपनाहरूलाई साँच्दै मायाले अनेक काम गरिन् । त्यसमध्ये एउटा थियो, महाराजगञ्ज काठमाडौंको क्याफे । क्याफेमा हिमाल आरोहणमा संलग्न शेर्पाहरू आइरहन्थे । तीमध्ये एक थिए, क्लाइम्बर्स क्लबका सञ्चालक दा गोम्बु शेर्पा । शेर्पाले एक दिन मायालाई उनको रुचिबारे सोधे । “सगरमाथा चढछु”, प्रश्न नसकिंदै उनले जवाफ दिइन् ।
तर, मायाले हिमाल देखेकी मात्र थिइन् । उनीसँग कुनै अनुभव थिएन । शेर्पाले मायालाई नेपाल पर्वतारोहण संघको पर्वतारोहण तालीम गर्न सुझाए, जसका प्रशिक्षक उनी आफैं थिए ।
२०६५ सालमा दश नेपाली महिला सम्मिलित ‘प्रथम समावेशी महिला सगरमाथा आरोहण दल’ बन्यो । संयोगले उनै शेर्पा दलका लिडरमध्येका एक थिए । माया त्यसै दलको सदस्यको रूपमा सगरमाथा चढ्ने भइन् । तर, यतिबेला पनि उनले सहयोगको आशंका र तिरस्कार नै पाइन् ।
९ जेठ २०६५ को बिहान माया सगरमाथा शिखरमा पुगिन् । यो सँगै उनी सिन्धुपाल्चोक तथा गुरुङ समुदायबाट सगरमाथा चढ्ने पहिलो महिला बन्न पुगिन् । गाउँघरको ‘कलंक’ एकाएक शान बन्न पुगिन् ।
गाउँमा सम्मान कार्यक्रम आयोजना गरियो । बुवालाई पनि बोलाइयो । “बुवाले आँखाभरि आँसु पार्दै छोरीले पनि यस्तो गर्न सक्छन् भनेर आफूलाई थाहा नभएको बताउनुभयो, मेरो रिस पनि मर्यो”, माया भन्छिन् ।
सगरमाथा चुमे पनि मायाको पाइला रोकिएन । महिला टोलीमा रहेर माया सातै महादेशका अग्ला हिमाल आरोहणको अभियानमा लागिन् ।
आरोहणको एउटा सपना त पूरा भयो, तर चेलीबेटी बेचबिखन नियन्त्रण गर्ने अर्को सपना मायालाई पर्खेर बसिरहेको थियो । उनी अहिले बेचबिखनमा परेर फर्किएकाहरूलाई ट्रेकिङ गाइड बनाउने कार्यमा सक्रिय छिन् । यसबीचमा उनले भुईंचालोमा सबैभन्दा प्रभावित गृह जिल्लाका गाउँहरूमा थुप्रै राहत पुर्याइन् । दुई विद्यालयको पुनर्निर्माणका साथै विभिन्न पाँच विद्यालयमा गुणस्तरीय शिक्षाका लागि अहिले पनि खटिएकी छन् ।
आफ्नो संघर्ष र साहसका लागि मायाले सरकारबाट प्रबल जनसेवाश्री पदक पाएकी छिन् भने अमेरिकी सरकारबाट ‘अडियन्स इन द ह्वाइटहाउस’ र ‘काउन्सिल अफ द सिटी अफ न्यूयोर्क’ सम्मान पाएकी छिन् ।
यी सबै काम गर्दा मायालाई बाल्यकालको झझल्कोले भने छाडेको थिएन । आफूले सानो छँदा सगरमाथा भन्ठानेको हिमाल त जुगल हिमाल शृंखला रहेछ भन्ने उनले थाहा पाइसकेकी थिइन् । यो शृंखलामा २६ वटा सुन्दर शिखरहरू रहेछन् । तर, पूर्वाधार र प्रवद्र्धनको कमीले गर्दा पर्यटनको प्रभाव विल्कुल थिएन ।
आफ्नो घरबाट देखिएको र सानैमा चढ्छु भनेको हिमाल नचढी मन कसरी मान्नु ! यही २६ चैतमा मायाकै नेतृत्वको टोलीले हालसम्म मानव पाइला नपुगेको जुगल शृंखलाको ६,१५१ मिटर अग्लो ग्याल्जेन शिखरमा पाइला राख्यो । नेपाली महिलाको नेतृत्वमा कुमारी हिमाल आरोहण गरिएको पनि यो पहिलो थियो ।
“बाल्यकालदेखि अहिलेसम्मको यात्रा आफैंमा सपना जस्तो लाग्छ, तर आफ्नो गाउँघरको सेवा गर्ने सपना झाङ्गिदै गएको छ”, माया भन्छिन् ।