१५ वर्षअघि टाइम्स एफएमबाट पत्रकारिता शुरू गरेकी विद्या यसअघि बीबीसी साझा सवालकी प्रस्तोता थिइन् । त्यसअघि रेडियो र प्रिन्टमा समेत काम गरिसकेकी विद्याले तुलनात्मक रूपमा राम्रै आम्दानी र चर्चा पाइने बीबीसी मिडिया एक्सनको काम छोडेर कथा सुनाउन ‘न्यू मिडिया’ मा फरक धारको पत्रकारिता किन रोजिन् त ? “आम मानिसका कथा भन्ने हुटहुटीले नै हो, ठूला मिडियामा ठूला मानिस, नेता, व्यापारी प्राथमिकतामा हुन्छन्”, झम्सिखेलस्थित उनको कार्यालयमा हिमाल सँग कुरा गर्दै विद्याले सुनाइन् ।
सामान्य जीवन विताइरहेका मजदूर, ग्रामीण क्षेत्रका मानिस, स–साना खुशीका लागि संघर्ष गरिरहेका महिला जसका बारेमा ‘स्टोरी’ बनिरहेका छैनन् तिनै मार्फत समकालीन समाजको बयान गरिरहेकी छन् विद्या र, दर्शकहरूले यसलाई रुचाएका छन् । उनी भन्छिन्, “यसले मेरो पत्रकारिता यात्रामा अहिलेसम्मकै धेरै सन्तुष्टि दिइरहेको छ ।” उसो त यी कथा तयार पार्न पनि सजिलो छैन ।
कथाको पात्र फेला पार्न, त्यसबारे अनुसन्धान गर्न र उनीहरूसँगै केही दिन विताएर भिडियो स्टोरी तयार पार्दासम्म मिहिनेत, खर्च र धैर्य असाध्यै चाहिन्छ । हेर्ने कथामा दूरदराजका मानिसका कथा प्रस्तुत गरिने हुँदा कतिपय पात्र भेट्नै दिनभरको पैदल यात्रा समेत गर्नुपर्छ । बीबीसी मिडिया एक्सनमा काम गर्दा जोगाएको रकमबाट काम शुरू गरेको र युट्यूबबाट हुने आर्जनले कार्यालयको खर्चसम्म धानेको विद्या बताउँछिन् ।
विद्यालाई नजिकबाट चिन्ने पूर्व सहकर्मीहरू उनलाई मानिसका कथा टिप्न र भावना बुझेर रिपोर्टिङ गर्न सक्ने सिपालु पत्रकारका रूपमा चिन्छन् । उनीसँगै काम गरेका साझा सवालका तत्कालीन सम्पादक दीपक भट्टराई भन्छन्, “विद्यामा आम मानिसको विश्वास जितेर उनीहरूबाटै कथा भन्न लगाउने गज्जबको क्षमता छ ।”