सन् २०१३ मा रोजगारीका लागि मलेशिया जाने सोच बनाइसकेकी उनी कराते प्रशिक्षक ध्रुवविक्रम मल्लको सम्पर्कमा पुगिन् । जुन भेटले उनको जिन्दगीको बाटो नै बदल्यो । लडाकू समायोजनका लागि शिविरमा बस्दा उनले खेल सिकेकी थिइन् । “धु्रव गुरुले खेल क्षेत्रमै केही समय लाग्न सुझाउँदै मलाई नरोकेको भए आज कुन अवस्थामा हुन्थें, अनुमान गर्न सक्दिनँ”, मीरा भन्छिन् ।
मलेशिया जाने योजना रद्द गर्दै खेल क्षेत्रमै लाग्ने प्रण गरेकी उनले काठमाडौंको शिवपुरी जंगलको ट्रेलबाट अल्ट्रा रनिङ शुरू गरिन् । विगतमा सुनसरीको चतराबाट नून–चामलको भारी बोकेर भोजपुर ओहोरदोहोर गर्दा गाउँको अभ्यास तालिम बनेकै थियो । सन् २०१४ मा पहिलो पटक फुल्चोकी अल्ट्रा म्याराथन प्रतियोगिता मा भाग लिइन्, पुरुष प्रतियोगीलाई समेत उछिन्दै प्रथम बनेकी उनको जीवन त्यसयता पूरै बदलिएको छ । पहाडी क्षेत्रका उबडखाबड गोरेटोमा दौडने उनी विश्वचर्चित अल्ट्रा म्याराथन धाविका बनेकी छन् ।
सन् २०१४ मै इटालीको सेलारोण्डा ट्रेल रेस (५७ किमी) मा विजयी भएपछि उनी देश–विदेशमा चर्चित बनिन् । नेशनल जोग्राफी ले सन् २०१७ मा ‘साहसी वर्ष व्यक्ति’ घोषणा गरेपछि उनको अन्तर्राष्ट्रिय उँचाइ झनै बढ्यो । उनको कामको सम्मान गर्दै एशिया सोसाइटी ले सन् २०१८ मा ‘एशिया गेम चेन्जर’ अवार्ड प्रदान गर्यो । दुर्गम गाउँबाट अनेकौं हण्डर खाँदै आएकी उनको सफलता कैयौं युवतीको लागि प्रेरणा बनेको छ ।
आफ्नो उपलब्धिले मीरा आफैंलाई पनि अचम्मित बनाउँछ । “मेरो जीवनयात्राले निरन्तरता र लगाव भए असम्भव केही छैन भन्ने देखाएको छ”, उनी भन्छिन् । सन् २०१६ मा फ्रान्सको मोन्ट–ब्लाँ म्याराथन (८० किमी) र २०१७ मा स्कटल्यान्डको स्काई–रनिङ (४२ किमी) को उपाधि जित्दै उनले कीर्तिमान कायम गरेकी छन् ।
देश–विदेशको दौड अनुभवमा उनले अल्ट्रा रेसिङका लागि नेपालको जस्तो राम्रो ट्रेल कतै पाएकी छैनन् । आगामी सेप्टेम्बरमा फ्रान्समा हुने अल्ट्रा रेसिङ प्रतियोगिताको तयारीमा जुटिरहेकी उनी भविष्यबारे सुनाउँछिन्, “अल्ट्रा रेसिङको तालिम केन्द्र खोलेर संसारभरका धावकलाई नेपाल ल्याउने मेरो उद्देश्य हो ।”