१-७ वैशाख २०७६ | 14-20 April 2076

प्रदेश –१ : महानगरमा ‘विकासको हिलो’

Share:
  
- कमल रिमाल, विराटनगर
विराटनगरमा सञ्चालित क्षेत्रीय शहरी विकास परियोजनाको काममा लापरबाही हुँदा नगर क्षेत्रका सडक हिंडिनसक्नु बनेका छन्।

अस्पताल चोकमा २६ चैतमा भासिएको ट्रक । तस्वीरहरूः कमल रिमाल
विराटनगरस्थित कोशी अञ्चल अस्पताल अगाडिको सडकमा पानी जमेर आवतजावतमा समस्या भएको एक महीना भयो । जलजला रोडको सडक धान रोप्न हिल्याए जस्तो छ । पूर्वाधार विकासका लागि विराटनगरमा सञ्चालन गरिएको क्षेत्रीय शहरी विकास परियोजनाको काममा लापरबाही हुँदा नगरका विभिन्न ठाउँमा यस्तै दुरवस्था छ ।

एशियाली विकास ब्याङ्क (एडीबी) को रु.२ अर्ब ६१ करोड १० लाख ऋण सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हाल विराटनगरमा सडक, नाला र ढल निर्माणको काम भइरहेको छ । तर, कामका क्रममा पाइप फुटेर सडक जलमग्न हुने, टेलिफोन र बिजुलीका तार चुँडिने, खानेपानीको पाइप फुटेर बाहिरको पानी मिसिने जस्ता समस्या नगरवासीले भोग्दै आएका छन् । निर्माण क्रममा भत्काइएको महानगरका मुख्य सडक पानी जमेर हिलाम्य हुँदा अवरुद्ध जस्तै बनेका छन् ।

जोङह्याङ कन्स्ट्रक्सन गु्रप चाइनाले ठेक्का लिएर आशिष निर्माण सेवालाई दिएको र काममा उक्त कम्पनीका ‘पेटी ठेकेदार’ हरूले गर्ने लापरबाहीले समस्या निम्तिएको क्षेत्रीय शहरी विकास परियोजनाका सामाजिक विकास प्रमुख पुनमकुमार दाहाल बताउँछन् । उनी भन्छन्, “निर्माणका क्रममा पानीका पाइप फुट्ने, टेलिफोनका तार चुँडिने लगायतका गुनासो एकै पटकमा ८÷१० ठाउँबाट आउने गरेका छन् ।”

घरहरूका शौचालयबाट निस्कने फोहोर जम्मा गरेर प्रशोधन केन्द्रमा लैजान सडकमा पाइप गाड्ने क्रममा खानेपानीको पाइप फुट्ने गरेको छ । फुटेको पाइप निर्माणकर्ताले नै बनाए पनि पुर्ने बित्तिकै सोही ठाउँमा फुट्ने गरेको भन्दै दाहाल थप्छन्, “त्यसपछि बाहिर जमेको पानी पाइपमा पसेर धारामा धमिलो पानी आउँछ ।” पाइप फुटेकै कारण पछिल्लो समय उच्च अदालत पूर्व र शनिहाटमा ५÷५ दिन, कोशी अञ्चल अस्पताल क्षेत्र र जलजला रोडमा ४/४ खानेपानी अवरुद्ध भएको थियो । आशिष निर्माण सेवाका प्रबन्धक रवीन्द्र ठाकुर भने काम गर्दा पाइप फुटेका ठाउँमा भोलिपल्टै जोडेको दाबी गर्छन् । २०१७ नोभेम्बरदेखि काम शुरू भएको परियोजनाको म्याद आउँदो नोभेम्बरसम्म तोकिएको छ ।

विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली निर्माणकर्ताले कमजोरी गरेको भेटिए दण्डित गर्ने गरेको बताउँछन् । “नालामा कम सिमेन्ट लगाएर निर्माण गर्नेलाई प्रहरी लगाएर पक्राउ गराएका छौं, पेटी ठेकेदारहरूलाई कारबाही गरेका छौं” नगर प्रमुख पराजुली भन्छन्, “काम राम्रो होस् भनेर राति आफैं अनुगमनमा जाने गरेको छु ।”

नगरको बजारक्षेत्रमा दिउँसो आवागमनमा असर पर्ने भएकाले रातको समयमा निर्माण कार्य हुँदै आएको छ । नगर प्रमुखले अनुगमनमा जाने गरेको बताए पनि सामान्यतया मजदूरको भरमा हुने गरेको काम अव्यवस्थित छ । १५ चैत राति जलजला रोडमा ढल प्रशोधनको पाइप जडान गर्न स्काभेटरले नाला खन्ने क्रममा खानेपानीको पाइप फुट्यो । मजदूरले पाइपमा प्लास्टिक बेरेर खाल्डो पुरिदिए । जमीनमुनि पाइपबाट पानी बगिरहेकाले सडक हिलाम्मे भएर २६ चैतसम्म पैदलयात्री समेत हिंड्न सक्ने अवस्था थिएन । जलजला रोडका सुनचाँदी व्यवसायी अरुण राठी भन्छन्, “सबै सुतेपछि काम शुरू हुन्छ, अनि कसले हेर्ने ?”

खानेपानी संस्थान विराटनगर शाखा प्रमुख शैलेन्द्रकुमार साह ठेकेदार कम्पनीका कामदारले कतिपय ठाउँमा आफूखुशी गरेकाले सच्याउन लगाउने गरेको बताउँछन् । “राति खन्दा फुटेका ठाउँमा दिउँसो खन्न लगाएर लिकेज बन्द गर्न लगाउँछौं” साह भन्छन्, “संस्थानले शुद्ध पानी पठाए पनि पाइपकै समस्याले धारामा फोहोर पानी जाने गरेको छ ।” जलजला रोडका साथै मात्रिका गल्ली, बाटा रोड, घोघा पुल क्षेत्रमा एकै पटक पाइप गाड्ने काम थालिएकाले मेनरोड पुग्न हिंड्ने ठाउँ समेत छैन । जताततै सडक खनिएका कारण सवारी साधन भासिने गरेका छन् । सडक बिग्रिएका कारण विद्यालयका बसहरूलाई पनि समस्या पर्ने निजी विद्यालय एशोसिएसन (प्याब्सन) विराटनगर महानगर समितिका सचिव अर्जुन श्रेष्ठ बताउँछन् । परीक्षा सकिएर अहिले विद्यालयहरू बन्द भए पनि वैशाखमा विद्यालय खुलेपछि सडकका कारण विद्यार्थीलाई समस्या हुने उनी बताउँछन् ।

बनाउँदै, सच्याइँदै

१५ चैत राति जलजला रोडमा खनेर ढलको पाइप बिच्छ्याइँदै ।
यसअघि विराटनगरमै विभिन्न ठाउँका सडक पूर्वाधार बनाउन एडीबीकै मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना सञ्चालन गरिएको थियो । सन् २०१३ अगस्टमा शुरू भएको उक्त परियोजनाको म्याद ६ पटक थप गरी १५ डिसेम्बर २०१८ सम्म लम्ब्याइएको थियो । परियोजनाको ठेक्का लिएको सीटीसीई कालिका जेभी २०७५ मंसीरमा काम सकेर बिदा भइसकेको छ । तर, निर्माण गरेको एक वर्षसम्म भत्के–बिग्रेका र कमजोरी भएका ठाउँमा निर्माण कम्पनीले नै बनाइदिनुपर्ने शर्त अनुसार अहिले महानगरले कालिका कन्स्ट्रक्सनलाई काम लगाइरहेको छ ।

पुष्पलाल चोकमा सडक र नाला होचो भएकाले फेरि बनाउन लगाइएको छ भने घरबाट निस्किने ढल प्रशोधन केन्द्रसम्म जाने कतिपय पाइप टालिएकाले खोल्न लगाइएको छ । परियोजना इकाई प्रमुख तथा महानगरका इन्जिनियर भरत न्यौपानेका अनुसार निर्माण कम्पनीले सच्याउने क्रममा रु.१० करोड जति खर्च गरिसक्यो । कालिकाले रु.२ अर्ब ९५ करोड लागतको परियोजना अन्तर्गत सडक, नाला र ढल निर्माण गरेको थियो ।

हाल संचालनमा रहेको परियोजनामा पनि धेरै ठाउँमा नाला भत्काउन लगाएर फेरि बनाउन लगाइएको छ । कोशी अञ्चल अस्पतालको मूल गेटको नाला भत्काएर फेरि बनाउन भनिएको छ भने विराटनगर–६ स्थित मस्जिददेखि पश्चिमको सडकको नालामा बालुवा स्तरीय नभएकाले महानगरका प्राविधिकले भत्काएका छन् । महेन्द्र चोकस्थित चार लेनको सडकको नालामा कम सिमेन्ट हालेको पाइएपछि सुपरभाइजर र मिस्त्रीलाई पक्राउ गरी कारबाही गरिएको नगरप्रमुख पराजुली बताउँछन् ।

अघिल्लो परियोजनाले नगरभित्रको १६० किलोमिटर सडक चौडा पारेको थियो । हालको परियोजनाले भने ७३ किलोमिटर सडक पुनर्निर्माण र सुधार गर्दैछ ।

comments powered by Disqus

रमझम