१-७ वैशाख २०७६ | 14-20 April 2076

कृषि: मौरी पाल्ने गाउँ

Share:
  
रुकुमको सिस्ने गाउँपालिका–३ का किसानहरूले मौरीपालनबाट आकर्षक कमाइ गर्दै गाउँकै परिचय स्थापित गरेका छन्।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ की मौरीपालक किसान तिलसरा खड्का खत्री ।
रुकुमको सिस्ने गाउँपालिका–३ पोखराका ओमप्रकाश खड्काले घरमै बसेर मौरीपालनबाट गुलियो फाइदा लिंदै आएका छन् । उनले एकै सिजनमा २५० धार्नी कात्तिके मह बिक्री गरेर रु.५ लाख ५० हजार कमाएको बताए । कात्तिक महीनामा फुल्ने विभिन्न फूलका रसबाट माहुरीले उत्पादन गर्ने मह गुणस्तरीय र स्वास्थ्यबद्र्धक मानिन्छ । रुकुमको बजारमा मह प्रतिकिलो रु.८०० र प्रतिधार्नी रु.२ हजारमा बिक्री हुने गरेको छ ।

मौरीपालन व्यवसायमा १० वर्षदेखि आबद्ध सिस्ने–३ पोखराकै कमलाल खड्का पनि एकै सिजनमा २०० धार्नीसम्म मह बिक्री गरेको सुनाउँछन् । ओमप्रकाश र कमलाल जस्तै पोखरा गाउँका धेरै किसानले मौरीपालनबाट राम्रो कमाइ गरिरहेका छन् । साविकको पोखरा गाविसका १ र ४ वडामा गरी १३७ घरमा मौरीका घार छन् । उनीहरू मह बिक्रीबाट औसतमा वार्षिक साढे २ लाखदेखि साढे ४ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताउँछन् । “यहाँका सबै घरमा मौरीका घार भएकाले पछिल्लो समय पोखरालाई मौरी पाल्ने गाउँ भनिन थालेको छ”, अगुवा मौरीपालक किसान ओमप्रकाश भन्छन् ।

यस वर्ष कात्तिके मह प्रशस्त उत्पादन हुँदा किसान उत्साहित छन् । गाउँबाट झण्डै रु.४५ लाख बराबरको २२५० धार्नी मह बिक्री भएको कमलाल बताउँछन् । अर्का किसान भागीदल खड्काका अनुसार, एक घार मात्र मौरी हुनेले पनि ५ देखि ८ धार्नीसम्म मह बिक्री गरे । पारखीहरूले असोज पहिलो सातादेखि पुसको अन्तिमसम्म निकालिने मह बढी खोज्छन् । मौरीपालनतर्फ थप किसानको आकर्षण देखिन थालेपछि गत वर्ष सिस्ने गाउँपालिकाले मौरीको घार वितरण गरेको थियो ।

नजिकैको जंगलमा मौरी चराइँदै ।
पोखरा गाउँमा उत्पादित मह बिक्री गर्न बजारको समस्या छैन । उपभोक्ता र व्यापारीहरूले असारदेखि नै गाउँमै आएर अग्रिम भुक्तानी गर्ने गरेको स्थानीय किसान बताउँछन् । यहाँका किसानले मुढे, खोपे र आधुनिक घारमा मौरी पालिरहेका छन् । यस क्षेत्रमा सेरेना जातको मौरी पालिएको छ । किसानका अनुसार, यो मौरीले एउटा घारबाट एक सिजनमै सात धार्नीसम्म मह उत्पादन गर्छ ।

चरनको अभाव

पोखरा गाउँ विषादी वर्जित क्षेत्र भएकाले यहाँ उत्पादित महको राम्रो माग हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयले २०६५ सालमा विषादीमुक्त गाउँ घोषणा गरेयता बालीनालीमा रोग कीरा लागे जैविक विधि प्रयोग गरिंदै आएको छ । “यसै कारण यहाँको मह गुणस्तरीय मानिन्छ”, जिल्ला कृषि ज्ञान केन्द्र, रुकुमका प्रमुख अमरराज शर्मा घिमिरे बताउँछन् ।

महको कमाइबाट किसान सन्तुष्ट रहे पनि उनीहरूलाई चरन क्षेत्रको अभावले पिरोल्ने गरेको छ । गाउँमा मौरी चर्ने ठाउँको अभाव हुँदा घारलाई झिम, तिमिले लगायत स्थानीय जंगलमा लैजाने गरेको किसानहरू बताउँछन् । यी जंगलमा घार पुर्‍याउनै झण्डै एक दिन लाग्छ । चरन क्षेत्रकै समस्याका कारण किसानले घारबाट पूरै मह काढ्दैनन् । “चरन अभावका बेला मौरीले त्यही मह आहाराको रूपमा प्रयोग गर्छन्”, ओमप्रकाश भन्छन् ।

प्रविर ददेल, रुकुम

comments powered by Disqus

रमझम