१-७ वैशाख २०७६ | 14-20 April 2076

भित्तामा ढुंगा

Share:
  

काठमाडौंको तारकेश्वर–९ मनमैजुमा नयाँ घर बनाएका इन्द्रप्रसाद पाण्डेले आफ्नो घरको बाहिरी भित्ता ढुंगाले छापेका छन् । ढुंगा छापिएको घरको भित्ता आकर्षक देखेका उनका छिमेकीहरू अहिले उनीसँग यसबारे जानकारी लिइरहेका छन् ।

वर्षौं अघिदेखि काठमाडौंका घर चिनियाँ ईंटाका भित्ताले सजिएका हुन्थे । बाहिरी भित्ता सुन्दर बनाउन थप प्लास्टर गर्नु नपर्ने चिनियाँ ईंटा टिकाउ र सुन्दर देखिने भए पनि अचेल यसको प्रयोग करीब करीब हराइसकेको छ । अहिले सिमेन्टको प्लास्टर लगाएर त्यसमा विभिन्न रङ लगाउने चलन बढेको छ । बजारमा विभिन्न खालका पेन्टहरू उपलब्ध हुँदा पनि घर सजाउन धेरै सजिलो भएको छ । विभिन्न रङका पेन्टले चाहेका बेला घरमा नयाँपन ल्याउन सकिने भएकाले पनि यसको प्रचलन बढेको हो । पोखरा शहर र आसपास भने बाहिरी भित्तामा ढुंगा छापिएका र ढुंगाकै गाह्रो भएका घरहरू प्रशस्तै देखिन्छन् । पहाडी गाउँका घरका भित्ता मात्र होइन छानो पनि ढुंगाकै बनाउने हाम्रो पुरानै चलन हो– विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा ।

कास्कीकै घान्द्रुक जस्ता गाउँहरूमा ढुंगाले छाएका छाना र ढुंगा छापिएका सडकहरूले बस्तीलाई नै विशिष्ट देखाउने भए पनि अचेल यस क्षेत्रमा पनि सिमेन्टको प्रयोग बढ्दो छ । परम्परागत निर्माण सामग्रीको अभाव र मर्मतसम्भारका लागि जनशक्ति नपाउँदा पनि सिमेन्टको प्रयोग बाध्यकारी हुन थालेको स्थानीय बासिन्दा बताउँछन् । गोरखाको बारपाकमा समेत पुरानो ढुंगा छापिएको बस्ती भूकम्पले भत्काएपछि अहिले कंक्रिटका घरहरू ठडिएका छन् । देशका धेरै गाउँ बस्तीको अवस्था यस्तै छ ।

ढुंगाका विशेषता

विभिन्न आकार र रङ भएका पातला ढुंगालाई मिलाएर टाँस्दा घर पनि निकै आकर्षक देखिने मनमैजुका पाण्डे बताउँछन् । उनी जस्तै घरको भित्तामा ढुंगा छापेका बालुवाटारका नविन घिमिरेको बुझाइमा मूल्य बढाउन मात्र नभई ढुंगाले घरको मर्मतको खर्च पनि घटाउँछ । उनी भन्छन्, “एक पटक भित्तामा ढुंगा लगाएपछि वर्षौंसम्म त्यसको चमक र सुन्दरता उस्तै हुन्छ ।”

त्यसो त, घरको भित्तासँगै आँगन, कौसी जस्ता ठाउँमा पनि ढुंगाको प्रयोग गर्दा ‘म्याचिङ’ देखिन्छ । नदीमा पाइने चिप्ला र गोला ढुंगा राखेर बगैंचा सजाउँदा बढी शान्त देखिनुका साथै प्राकृतिक छटा झल्किन्छ । कतिपयले घरमै ढुंगाको पर्खाल बनाएर कृत्रिम झरना तयार पार्ने गर्छन् । हयात रिजेन्सी, ¥याडिशन जस्ता काठमाडौंका ठूला होटलले पनि आफ्ना ‘गार्डेन रेस्टुरेन्ट’ सजाउन यस्तै ढुंगाको प्रयोग गरेका छन् ।

भित्तामा ढुंगा जस्तै टायल, चिप्स, वालपेपर, मार्बल जस्ता सामग्रीको पनि प्रयोग हुन्छ । कतिपयले सिमेन्टमा बुट्टा कोरेर पनि ढुंगाको जस्तै आकृति बनाउने गरेका छन् । त्यसलाई रंगाएर भित्ता सजाएबाट पनि वास्तविक ढुंगाप्रतिको मानिसहरूको आकर्षण झल्किन्छ ।

नेपालको महाभारत पर्वत शृङ्खलादेखि उत्तरतिर अत्यन्तै राम्रो ढुंगा पाइने भूगर्भविद्हरूले बताउँदै आएका छन् । अहिले पनि म्याग्दी, मुस्ताङबाट ढुंगा ल्याएर पोखरा महानगरपालिकामा अधिकांश घरका भित्ता ढुंगाले सजाइएको छ । काठमाडौंमा पनि पोखराबाटै बढी ढुंगा आइरहेको व्यवसायीहरू बताउँछन् । उच्च हिमाली भेगमा अहिले पनि ढुंगाको भित्ता र सल्लाको काठबाट बनेको छानो राखेर बनाइएका घरहरू आकर्षक देखिन्छन् ।

comments powered by Disqus

रमझम