रामलालको व्यावसायिक विरासतलाई विस्तार गर्न मुख्य भूमिका खेल्नेमध्ये एक थिए– तेस्रो पुस्ताका दिवाकर गोल्छा । पिता हंसराज र काका हुलासचन्दले स्थापना गरेको गोल्छा अर्गनाइजेसनलाई नयाँ उँचाइमा पुर्याउन दिवाकरको मुख्य योगदान छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व प्रथम उपाध्यक्ष समेत रहेका दिवाकरको २६ चैतमा भारतको चेन्नईमा उपचारक्रममा निधन भएको छ ।
व्यापार र एकाध उद्योगमा सीमित गोल्छा अर्गनाइजेसनले वि.सं. २०४० को दशकपछि व्यवसायको विविधीकरण गर्दै नयाँ क्षेत्रमा अघि बढ्नुमा दिवाकरको मुख्य योगदान थियो । उनको अग्रसरतामा स्थापना भएको हुलास स्टिल उद्योग अर्गनाइजेसनभित्रकोे ठूलो उद्योग मात्रै थिएन, नेपालमै कर्कट पाता उत्पादन गर्ने पहिलो उद्योग पनि थियो । यो उद्योगले दिलाएको समृद्धिबाट उत्साहित दिवाकर, उनका दाइ लोकमान्य सहितका नौ भाइ मिलेर धमाधम एकपछि अर्को उद्यममा हात हाल्दै गए । र, अधिकांश उद्योग र व्यवसायले प्रगतिको फड्को मार्दै जाँदा गोल्छा अर्गनाइजेसन नेपालकै ठूलामध्येको व्यावसायिक घराना बन्न पुग्यो ।
टीनको टल्कने छानाको ग्रामीण नेपाली रहर पूरा गर्र्न सहयोग गरेको हुलास स्टिलले विदेशमा समेत कर्कट पाता निर्यात गर्यो । लामो समयसम्म यो रंगीन कर्कटपाता उत्पादन गर्ने देशको एकमात्र उद्योग थियो । त्यसपछि गोल्छा समूहका उद्योगहरू चिनी, खाद्यान्न, जुट आदि क्षेत्रमा फैलँदै गए । हुलास वायर, जुट उत्पादन गर्ने अरिहन्त मल्टिफाइबर्स, श्रीराम सुगर मिल, इस्टर्न सुगर मिल, भृकुटी कागज कारखाना, अरिहन्त पोलिप्याक्स, अरिहन्त एग्रीफार्म जस्ता उद्योग स्थापनामा दिवाकरले भूमिका खेले । कृषिमा आधारित उद्योग स्थापना र सञ्चालनमा अग्रणी गोल्छा देशमै सर्वाधिक रोजगारी सृजना गर्नेमध्ये औद्योगिक समूह हो ।
सन् १९५३ मा विराटनगरमा जन्मिएका दिवाकर गोल्छाको दुई साताअघि मात्रै मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनका काकाका छोरा तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा पारिवारिक व्यवसायलाई नयाँ उँचाइमा पुर्याउन मात्र नभई नेपालको औद्योगीकरणमै दिवाकरको उल्लेख्य योगदान रहेको बताउँछन् । “नेपाललाई कस्तो उद्योग आवश्यक छ भन्नेमा उहाँ प्रष्ट हुनुहुन्थ्यो” शेखर भन्छन्, “स्वदेशी कच्चा पदार्थको उपयोग हुने र रोजगारी सिर्जना हुने उद्योग स्थापनामा उहाँको बल हुन्थ्यो ।” दिवाकरको औद्योगीकरणतर्फको दूरदृष्टिले संस्थागत विकास र देशकै औद्योगिक विकासमा ठूलो लाभ मिलेको शेखरको तर्क छ । भन्छन्, “उहाँमा उत्पादनमूलक उद्योग स्थापनाको भोक थियो ।”
उद्योग भन्दा व्यापारमा बढी लाभ र सहजता देखेका व्यवसायीहरू आयात–निर्यातमा बढी सक्रिय रहेका बेला उत्पादनमूलक उद्योगमा दिवाकरको मोह प्रशंसनीय थियो । अर्थात्, उनी व्यापारी होइन, उद्योगी नै रहिरहन चाहन्थे । २०६४ सालको संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिकतर्फका सभासद बनेका दिवाकरमा नेतृत्व लिने क्षमता र जनसम्पर्क विस्तारको गज्जबको सीप थियो । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर र दाजुभाइहरूका लागि दिवाकर ‘रोलमोडल’ थिए । उनी भन्छन्, “सानैदेखि हामी दिवाकर दाजु जस्तै बन्न चाहन्थ्यौं ।”
उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चण्डीराज ढकालको नेतृत्वका बेला उपाध्यक्ष बने पनि त्यसपछि उनी महासंघको राजनीतिबाट अलग भए । ढकालले दोस्रो कार्यकाल पनि अध्यक्षमा आफ्नै दाबी पेश गरेपछि असन्तुष्ट दिवाकरले द्वितीय उपाध्यक्ष कुशकुमार जोशीलाई अध्यक्षमा अघि सारेर जिताए । दिवाकरप्रतिको त्यतिबेलाको तुषकै कारण हुनसक्छ, महासंघको २८ चैतमा भएको ५३औं वार्षिक साधारणसभामा एक दिनअघि वितेका प्रथम उपाध्यक्षको सम्झना समेत गरिएन ।
त्यसो त, दिवाकर निर्विवाद थिएनन्, अरु व्यवसायीलाई लाग्ने जस्तै पहुँचको प्रयोग मार्फत नीतिनिर्माणमा प्रभाव पारेको आरोप उनलाई पनि लाग्यो । तर, उत्पादनमूलक उद्योगहरू धरासायी भइरहेका बेला पनि दिवाकरले उद्योग स्थापना र विस्तारमा देखाएको ‘मोह’ सदा स्मरणीय रहनेछ ।