१-७ वैशाख २०७६ | 14-20 April 2076

दोहोरीको वर्ष

Share:
  

‘लालुमै’ गीतको भिडियोमा सृष्टि खड्का र सन्दीप न्यौपाने ।
गत वर्ष ३ जेठमा सार्वजनिक भएको प्रकाश सपुतको ‘बोल माया’ गीतले चौतर्फी प्रशंसा पायो । वैदेशिक रोजगारीको पीडामा आधारित उक्त गीत २९ चैतसम्म युट्यूबमा एक करोड ४६ लाखभन्दा बढी पटक हेरिएको छ । प्रकाश सपुतको शब्द र संगीत रहेको गीतमा उनी सहित नारायण रायमाझी र शान्तिश्री परियारको स्वर छ ।

त्यसको चार महीनापछि १ असोज २०७५ मा युट्यूबमा अपलोड गरिएको ‘सालको पातको टपरी...’ बोलको गीत त लोकप्रियताको शिखरमै पुग्यो । गीत सर्वत्र गुञ्जियो, सबैका ओठमा झुन्डियो । युट्यूबमा सर्वाधिक हेरिएको दोहोरी गीतको कीर्तिमान बनाएको उक्त गीत २९ चैतसम्म चार करोड एक लाखभन्दा बढी पटक हेरिएको छ । नवराज पन्तको शब्द, वसन्त थापाको संगीतमा विष्णु माझी र कुलेन्द्र विश्वकर्माले गाएको यो गीत वर्ष २०७५ को सर्वाधिक चलेको गीत हो ।

माघको अन्त्यतिर पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ ले केही दिनमै दर्शक/श्रोताबीच चर्चा मात्रै पाएन, सत्ता पक्षमा समेत हलचल मच्चायो । उक्त गीतले भ्रष्टाचार र कुशासन विरुद्ध प्रहार गरेको थियो । तर, तीन दिनपछि नै गायक शर्माले उक्त गीत युट्यूबबाट हटाए । शर्माले जनाए अनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठनको असन्तुष्टिपछि गीत हटाएका थिए ।

‘सालको पातको’, ‘बोल माया’ र ‘लुट्न सके लुट’ जस्ता गीतको व्यापकता यति भयो, हत्तपत्त लोकदोहोरी नसुन्ने दर्शक/श्रोताले पनि सुनेर रुचाए । पशुपतिको भनाइमा ‘लुट्न सके...’ लाई उनले दर्शकको मागका आधारमा स्टेज कार्यक्रममा गाइरहेका छन् । ‘सालको पातको...’ नबज्ने स्टेज कार्यक्रम शायदै होलान् । यी तीन गीतले लोकदोहोरीको बजार थप फराकिलो बनाएको जानकारहरू बताउँछन् । सालको पात... का संगीतकार वसन्त थापा भन्छन्, “विगतमा जस्तै गत वर्ष केही गीतले लोकदोहोरीको दायरा फैलाउन सघाए ।”

चलेका १०

वर्षको शुरुआत र मध्यतिर मात्रै नभई अन्त्यतिर सार्वजनिक भएका गीत झन् लोकप्रिय भइरहेका छन् । १ फागुनमा युट्यूबमा आएको ‘लालुमै’ चर्चाको शिखरमा छ । २९ चैतसम्म यो गीतले एक करोड ४८ लाखभन्दा बढी भ्यूज बटुलेको छ । विष्णु माझी र सन्दीप न्यौपानेको स्वर रहेको गीतमा शिव हमालले शब्द÷संगीत भरेका छन् ।

२३ फागुनमा सार्वजनिक भएको ‘जाम सुस्तै’ ले पनि चर्चा पाइरहेको छ । जुना श्रीष, वसन्त थापा र रवि कार्कीको स्वर र थापाकै शब्द/संगीत रहेको उक्त गीत युट्यूबमा २२ लाख ५९ हजारभन्दा बढी पटक हेरिएको छ । विष्णु माझी र दिनेश क्षेत्रीले गाएको ३ चैतमा सार्वजनिक ‘केशरी’ मा १६ लाखभन्दा बढी भ्यूज छ । यसको १० दिनपछि आएको ‘औंठी बेरुवाको’ गीत १० लाख २० हजारभन्दा बढी दर्शकले हेरेका छन् । नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको संगीतमा तयार भएको सो गीतमा सम्झना भण्डारी र खेम सेन्चुरीको स्वर छ । सोही दिन सार्वजनिक ‘लाउँछ माया’ ले १४ लाख २३ हजार भन्दा बढी भ्यूज पाएको छ । शिव हमालको शब्द/संगीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र सरिता कार्कीको स्वर सुन्न सकिन्छ ।

विमल अधिकारीको शब्द र मोहन खड्काको संगीतमा बनेको ‘लालटिन’ आठ लाख ३७ हजारभन्दा बढी पटक हेरिएको छ । १५ चैतमा सार्वजनिक भएको उक्त गीतमा विष्णु माझी र मोहन खड्काको स्वर छ । २५ चैतमा सार्वजनिक भएको ‘पिंडालु’ २९ चैतसम्म १० लाखभन्दा बढी दर्शकले हेरेका छन् । उक्त गीतमा विष्णु माझी र तेजस रेग्मीको स्वर छ भने शब्द/संगीत रेग्मीकै हो । २९ चैत बिहान मात्रै सार्वजनिक गरिएको पशुपति शर्मा र सम्झना भण्डारीको ’क्यार्न माया मारिचौ सानीले...’ गीत राति १० बजेसम्म एक लाख ७० हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् ।

वर्ष २०७५ मा लोकदोहोरी गीतलाई किन यति धेरै रुचाइयो ? राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी लोकदोहोरी आज मात्रै नभएर हिजो पनि आम मानिसले रुचाएको बताउँछन् । “हिजो राम्रो लोकदोहोरीको अडियो क्यासेट लाखौं प्रति बिक्री हुन्थे” उनी भन्छन्, “अहिले प्रविधिको व्यापकता र पर्याप्त सञ्चारमाध्यमले चर्चा भएको हो कि !” कारण जे भए पनि उनी समग्रमा २०७५ साललाई दोहोरीको उर्वर वर्ष मान्छन् ।

मस्त केसी


विष्णु माझीको वर्चस्व

गायिका विष्णु माझी करीब १५ वर्षदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय छन् । उनी नेपाली सांगीतिक क्षेत्रकी सर्वाधिक रुचाइएकी र महँगी गायिका हुन् । उनका सहकर्मीहरूका अनुसार विष्णुले एउटा गीत गाएको रु.८० हजारदेखि रु.१ लाखसम्म पारिश्रमिक लिंदै आएकी छन् । उनको गुमनाम जीवनदेखि उनले गाएका कर्णप्रिय गीतका कारण वर्ष २०७५ को दोहोरी क्षेत्र विष्णु माझीमय बन्यो । गत वर्ष सर्वाधिक चलेका १० गीतमध्ये माझीको स्वर रहेका पाँच गीत छन् ।

comments powered by Disqus

रमझम