१-७ वैशाख २०७६ | 14-20 April 2076

प्याराग्लाइडिङ: काठमाडौंमा पनि

Share:
  
- विष्णुकान्त घिमिरे

साहसिक खेलमध्ये सर्वाधिक लोकप्रिय मानिन्छ, प्याराग्लाइडिङ । हावामा चरा झैं उड्नुको मजा नै बेग्लै ∕ लामो समय पोखरामा मात्र सञ्चालन भएकाले प्याराग्लाइडिङ भन्नासाथ धेरैको मानसपटलमा यही पर्यटकीय नगरीको चित्र आउँछ । तर, पछिल्लो समय यो खेल विस्तार हुँदै देशका ११ ठाउँमा संचालन भइरहेको छ । त्यसमध्येको एक हो, काठमाडौं उपत्यकाको गोदावरी क्षेत्र ।

तस्वीरहरुः विष्णुकान्त घिमिरे

काठमाडौं प्याराग्लाइडिङ कम्पनीले सञ्चालनमा ल्याएको उडान ललितपुरको गोदावरीस्थित २१०० मिटर उँचाइको चापाखर्क डाँडादेखि शुरु भई ‘नेशनल बोटानिकल गार्डेन’ तल रचनटार फाँट (१६०० मिटर) मा टुंगिन्छ । फुल्चोकी र गोदावरी क्षेत्रको जङ्गलमाथि करीब २५ मिनेटको उडानमा आसपासका पहाडका हरियाली दृश्यसँगै काठमाडौं उपत्यका नियाल्न सकिन्छ । मौसम खुलेको बेला गणेश हिमालदेखि लाङटाङ हिमशृंखला पनि हेर्न पाइन्छ ।

नारायण अर्याल लगायत पाँच जनाको समूहले सञ्चालन गरिरहेको प्याराग्लाइडिङमा रु.६५०० मा काठमाडौंदेखि गाडीमा लैजाने सुविधा सहित उडानको आनन्द लिन सकिन्छ । उडान स्थल चापाखर्क जाने क्रममा गोदावरीको पिकनिक स्पटबाट घना जङ्गल छिचोल्दै नागबेली सडक पार गर्नु पनि रोमाञ्चक हुन्छ । अझ यो मौसममा पाखातिर राताम्मे फुलेका लालीगुराँसले मनै हर्छ ।

comments powered by Disqus

रमझम