२२-२८ वैशाख २०७६ | 5-11 May 2019

बाटो बिराएको नेपाली बौद्घ समाज

Share:
  
- वसन्त महर्जन
शिष्टता, करुणा, अहिंसा बौद्घ धर्मदर्शनका आधारशिला हुन्, यस विपरीत कतिपय सम्प्रदायका अपाच्य क्रियाकलापले सिंगो धर्मप्रति नै नकारात्मक सन्देश जान सक्छ।

मत्स्येन्द्रनाथ रथयात्रा, दोलखा । वसन्त महर्जन
बौद्ध धर्म सम्बन्धी साँस्कृतिक अवसरमा नियम र अनुशासन पालना सामान्य शर्त हुन् । अन्य अवसरमा जतिसुकै रामरमाइलो गरिए पनि बौद्ध कार्यक्रममा शिष्टता अपनाइन्छ । तर, नेपाली समाजमा यस्तो बौद्ध सभ्यताको अभाव छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा हेर्न वैशाखको पहिलो साता काठमाडौं उपत्यकाबाट बौद्ध समुदायका व्यक्तिहरू दोलखा पुगेका थिए । तीमध्ये केही युवा साँझ् एउटा होटलमा मदिरापानपछि बेहोशी अवस्थामा नाचगान गरिरहेका थिए । त्यो दृश्यलाई झट्ट टिप्पणी गर्दा व्यक्तिगत स्वतन्त्रता भन्न त सकिएला, तर त्यसलाई धार्मिक प्रश्नबाट अलग्याएर हेर्न सकिंदैन ।

काठमाडौंको जनबहाःस्थित आर्यावलोकितेश्वर (सेतो मत्स्येन्द्रनाथ) र ललितपुरको तःबहाः र बुङमतीमा गरी ६/६ महीना राखिने रक्तावलोकितेश्वर (रातो मत्स्येन्द्रनाथ) को प्रत्येक वर्ष रथयात्रा गरिन्छ । ललितपुरकै सिको गरेर दोलखामा वि.सं. १५७५ मा तत्कालीन राजा नन्ददेव सिंहले रथयात्रा चलाएका थिए, जसले अहिलेसम्म निरन्तरता पाइरहेको छ । चैत्र पूर्णिमादेखि मनाइने यो जात्रा गएको ६–१४ वैशाखमा सम्पन्न भयो ।

मत्स्येन्द्रनाथको रथयात्रालाई दोलखाको स्थानीय भाषामा ‘बंगदेउजात्रा’ भनिन्छ । तर, यो काठमाडौंको नेवार समाजमा प्रचलित ‘बुंगद्यःया जात्रा’ (बुङमतीस्थित देवताको जात्रा) कै बोलीको भेद मात्र हो । काठमाडौं उपत्यकाका दुवै रथयात्रामा पनि खानपान र रमाइलो त गरिन्छ । तर, दोलखाको दृश्यले बौद्ध परम्पराबाट प्रश्न उठाउनुपर्ने भएको छ ।

काठमाडौं उपत्यकामा गौतम बुद्ध (इसापूर्व ५६३–४८३) को जीवनकालमै बौद्ध धर्मको प्रवेश भइसकेको बौद्ध साहित्यबाट थाहा हुन्छ । यस आधारमा लामो समयदेखि बौद्ध धर्मले निरन्तरता पाइरहेका थोरै ठाउँमध्ये काठमाडौं उपत्यका पनि हो । तर, यहाँको रहनसहन देखेर १९औं शताब्दीतिर थोमस विलियम, रिज् डेविड्स लगायतका पश्चिमा बौद्ध विद्वान्हरूले ‘विकृत बौद्ध धर्म’ भनेको प्रसंग सोचनीय छ ।

खासगरी वज्रयान सम्प्रदायको अभ्यासले बौद्ध धर्मको मर्ममा प्रहार गरेको छ । वज्रयान बौद्ध धर्मको एउटा तान्त्रिक सम्प्रदाय हो । बौद्ध दार्शनिकहरू नै यसको कठोर आलोचक छन् । काठमाडौं उपत्यकामा गौतम बुद्धभन्दा अघि नै वज्रयानी बौद्ध धर्म रहेको र यसको उत्पत्ति पनि यहींबाट भएको भनी कतिपय बौद्धहरूले नै कथा हालेका छन् । तर, ऐतिहासिक अभिलेखमा वज्रयान बौद्ध सम्प्रदायको शुरूआत पाँचौं शताब्दीको आरम्भतिर भारतको गुन्टुर जिल्लाको श्रीपर्वतबाट भएको उल्लेख छ । वज्रयान अघि अन्य सम्प्रदाय तथा उप–सम्प्रदायको उदय तथा विलय भएको बौद्ध इतिहासमा देखिन्छ ।

सामान्यतया महायानमा तन्त्र र मन्त्रको प्रयोग हुनुलाई नै वज्रयानको उदय मानिन्छ । पछि बङ्गाल क्षेत्रमा यसको व्यापक विकास भयो, र त्यहींबाट यो सम्प्रदाय वा अभ्यास काठमाडौं उपत्यकामा भित्रिएको बुझिन्छ । वज्रयानी अभ्यासमा पञ्च मकार (मद्य, मांस, मत्स्य, मुद्रा, मैथुन) लाई सहज रूपमा लिइन्छ, र यसैको आधारमा समाजमा मदिरा, माछामासु आदिलाई स्वीकारिएको छ । तर, तान्त्रिक दुनियाँमा पञ्च मकारको बेग्लै अर्थ लाग्ने र पछिल्ला वज्रयानीहरूले आफू अनुकूल व्याख्या गरेर बौद्ध धर्मलाई भड्खालोमा पारेको आक्षेप लगाइन्छ ।

वज्रयानी बौद्धहरूको मार्गदर्शनको रूपमा रहेको ‘नवग्रन्थ’ ले त्याज्य भनेका कतिपय कुरा समेत वज्रयानी समाजमा स्वीकृत छन् । समस्त प्राणीप्रति करुणा भाव राख्नुपर्ने आदर्श बोकेको बौद्ध धर्मका वज्रयानी पुरोहितहरू भने यजमानको घरमा कुन पशुबलिमा कुन मन्त्र पढ्ने भन्ने पुस्तक बोकेर हिंड्छन्, जुन विकृतिको हद हो । करुणाको पर्याय मानिने करुणामयको रथयात्रामा पनि रथका चार पाङ्ग्रालाई भैरवको रूप मानेर पशुबलि दिइनु विकृतिलाई संस्थागत गर्नु हो ।

काठमाडौंमा बौद्ध धर्मको थेरवाद सम्प्रदायको प्रवेश राणाशासनकालमा भएको हो । यसपछि वज्रयानी समाजका कतिपय विषयमा आएका सुधारलाई थेरवादकै देन मान्न सकिन्छ । कुनै समयमा भित्रिएका विकृतिलाई परम्परा भन्दै यथावत् राख्नुभन्दा त्यसमा सुधार गर्दै लैजानु विवेकी काम हो । धर्मको अभ्याससँगै साँस्कृतिक जात्रा एवं पर्व पनि बौद्ध धर्मदर्शन सुहाउँदो परिमार्जन गर्दै लगे सर्वसाधारणको जीवनशैली पनि सोही अनुरूप हुँदै जान्छ । बुद्धको दर्शन अनुसार होशपूर्वक जिउनुको साटो मदहोश भएर बौद्ध धर्मको धज्जी उडाउँदा दुनियाँको आँखामा नेपाली बौद्ध समाजको नराम्रो छवि बन्नेतर्फ सजग हुनुपर्छ । लवसन्त महर्जन

comments powered by Disqus

रमझम