२२-२८ वैशाख २०७६ | 5-11 May 2019

अचुक औषधिजन्य टोटला

Share:
  
- कमल मादेन
बेवास्तामा परेको टोटलालाई बेलैमा चिनेर औषधिका रूपमा प्रयोगको पहल थालिहाल्नुपर्छ।

टोटलाको फल ।
तराई, चुरिया, दुन, मध्यपहाड, उच्चपहाड र हिमाली क्षेत्रमा विभक्त नेपालमा भौगोलिक विषमतासँगै जैविक विविधता अनेक छ । जैविक विविधताकै कारण औषधिजन्य वनस्पति पनि प्रचुर मात्रामा पाइन्छन् ।

तर, भइरहेको के छ भने; यी वनस्पतिबारे हामीलाई असाध्यै थोरै ज्ञान छ । ज्ञान भएका विदेशी औषधि उत्पादन कम्पनीहरू खुरुखुरु हाम्रा वनस्पति लगिरहेका छन् ।

आफ्नै वनस्पतिको गुण नचिनेपछि त्यसको महत्व पनि थाहा नहुने नै भयो । कति मूल्य तोक्ने, निर्यात गर्न दिने, नदिने भन्नेमा पनि अन्योल रहने नै भयो । ज्ञानै नभएका जनतामा त यस्तो समस्या हुने नै भयो, तर हाम्रो विडम्बना, यहाँ त सरकार समेत यसप्रति सचेत छैन । व्यापारीले जे लैजान्छु भन्छन् सरकारलाई कुनै नाइँनास्ति छैन ।

तिनै वनस्पतिमध्ये एक हो, टोटला । तराई, चुरिया र मध्यपहाडी जिल्लामा कम संख्यामा पाइने टोटला महत्वपूर्ण औषधिजन्य वनस्पति हो भन्नेमा अझसम्म हामी बेखबर झैं छौं । हाम्रा औषधिजन्य वनस्पति सम्बन्धी लेखिएका पुस्तक तथा लेखहरूमा पनि टोटलालाई सामान्य औषधिजन्य वनस्पति प्रजातिसम्म मात्र भनिएको छ ।

२०–२५ मिटर उँचाइसम्म पाइने रुखको प्रजाति टोटलाको वैज्ञानिक नाम ओरोजाईलम इन्डिकम हो । यो वनस्पति नेपाल लगायत भारत, चीन, ताइवान, भूटान, कम्बोडिया, इन्डोनेशिया, लाओस, मलेशिया, म्यान्मार, फिलिपिन्स, थाइल्याण्ड, भियतनाम आदि देशमा पाइन्छ ।

टोटलाको फूलको पुंकेसर र स्त्रीकेसर (तल) ।
प्रा.डा. द्वय मोहन शिवाकोटी र सीता शिवाकोटी लिखित ‘इथ्नोमेडिसिनल युजेज् अफ प्लान्टस् अमङ्ग द लिम्बू अफ मोरङ डिस्ट्रिक, नेपाल (सन् १९९८)’ लेखमा लिम्बू समुदायले टोटलाको बोक्रा पिंधेर यसको धूलो गहिरो घाउ, पोलेको ठाउँ र बिमिरा निको पार्न प्रयोग गर्छन् भन्ने लेखिएको छ ।

टोटलालाई भारतमा श्योनाक भनिन्छ । गुगल सर्च इन्जिनमा श्योनाक शब्द खोजे यसबारे दर्जनौं जानकारी भेटिन्छन् । यूट्यूबमै पनि प्रशस्त जानकारी मिल्छ । तर, टोटला मात्र लेखेर ‘सर्च’ गर्ने हो भने एकाधवाहेक खासै उपयोगी सामग्री पाइँदैन ।

एम गोखले र वाई के वंशल लिखित ‘एन एभोवल अफ इम्पोर्टेन्स अफ इन्डेन्जर्ड ट्री ओरोजाईलम इन्डिकम’ (सन् २००५) लेखमा भारतमा औषधि उद्योगले टोटला प्रयोग गरिरहेको उल्लेख छ । लेखमा सन् २००५ ताका टोटलाको बोक्रा, फल, जरा, हाँगा आदि प्रति केजी भारु ९ मा खरीद हुने गरेको लेखिएको छ । हामीकहाँ भने टोटलाको मूल्य प्रतिकेजी रु.३ मै सीमित छ । लेखकद्वय भने यसबाट उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारमा प्रति केजी रु.५ लाखमा बिक्री हुने दाबी गर्छन् ।

टोटलाको फल ४० देखि १२० सेन्टिमिटर लम्बाइ र ५ देखि ९ सेन्टिमिटर चौडाइसम्मको तरबारको दाप आकारको हुन्छ । फलको आवरण काठ जस्तै कडा हुन्छ । पुस्तकमा जेठदेखि भदौसम्म फुल्ने भनी लेखिएको टोटला कात्तिकमा पनि फुलेको देखिएको छ । फूलको आकार भने हत्केला जत्रै, करीब १४ सेन्टिमिटरसम्म लामो हुन्छ ।

राति फुल्छ, दिनमा झर्छ

टोटलाको फूल दिनमा हम्मेसी बोटमा अडिंदैन । राति फुलेर बिहान झिसमिसेसम्म झरिसक्छ । कुनै कुनै बेला राति ढिलो फुलेको भए चाहिं उज्यालोमा देखिन्छ । ‘फ्लोरल एण्ड फेनोलोजिकल स्टडिज् अन ओरोजाईलम इन्डिकम इन सिक्किम’ (सन् २०१६)’ लेखमा वनस्पतिविद् विष्णु शर्मा टोटलाको फूल राति ८ देखि ९ बजेसम्म फुल्ने र बिहान ३ देखि साढे ४ बजेसम्ममा झरिसक्ने बताउँछन् । बेलुकी ९ बजेदेखि ११ बजेसम्म फूलमा चमेरा लगायत कीटपतङ्ग अत्यधिक झुम्मिने तर गाढा प्याजी रङको आवरणपत्रले गर्भाशय जोगाइराख्ने उक्त लेखमा उल्लेख छ ।

हल्का पहेंलो र कुनै नौनी रङको फूलको पुष्पपत्र र त्यसमा टाँसिएको भाले प्रजनन अंग पुंकेसर एकैचोटि खस्दोरहेछ । यसको पाँच वटा पुंकेसर जोड्दा करीब ६ सेन्टिमिटर जति लामो हुन्छ भने स्त्रीकेसर एउटै ७ सेन्टिमिटरसम्म लामो हुन्छ । जुन पुष्पपत्र झरेपछि केही नुहिएको अवस्थामा देखिन्छ ।

विरलै भेटिने टोटलाको बीउ फागुनतिर बोटको फेद वरिपरि देख्न सकिन्छ । पातलो गोलाकार बीउको मध्यभागलाई नौनी रङको कागज जस्तो वस्तुले ढाकेको हुन्छ, जुन ६ सेन्टिमिटर लामो र ४ सेन्टिमिटर चौडाइसम्म फैलिएको हुन्छ । यो बीउ उड्दै टाढा टाढासम्म पनि पुग्छ ।

जन्डिस, ज्वरो र अनियमित महीनावारीमा अचुक

गएको वर्ष, सुनसरीको रामधुनी नगरपालिकास्थित पञ्चायन झोडामा रहेको एउटा टोटलाको रुखबाट झरेको फूल संकलन गर्न आक्कलझुक्कल एक अपरिचित व्यक्ति झिसमिसेमै आउने गरेको सुनेको थिएँ । बुझ्दा ती व्यक्ति वैद्य रहेछन् । तर, उनले यो फूलबाट केको उपचार गर्छन् भन्ने चाहिं थाहा पाउन सकिएन ।
बौद्ध धर्मावलम्बीमा टोटलाको बीउको माला उनेर घरमा राखे शुभ हुने मान्यता छ । यसबाट तनाव, चिन्ता कम हुने र दुष्ट आत्मा आउन नसक्ने जस्ता विश्वास गरिन्छ ।

टोटलाको बोक्राको रस र खाने कपुर जन्डिस उपचारमा अचुक मानिन्छ । कपुर दुई–तीन मिलिग्राम (चनाको दानाजत्रो) खाएपछि टोटलाको रस सेवन गर्नाले तीन दिनपछि जन्डिस हट्ने बताइन्छ । सुनसरीका केही वैद्यले पनि टोटलाको बोक्रा जन्डिस उपचारका निम्ति प्रयोग गर्छन् ।

टोटला हेपाटाइटिस बी र सीको उपचारमा पनि उपयोगी हुने बताइन्छ । टोटलाको बीउ चपाए ज्वरो कम हुने भनाइ पनि छ । महीनावारी नियमित नभए, पीडा भएमा पनि टोटला सहयोगी मानिन्छ ।

भारतमा विभिन्न आदिवासी समुदायले टोटला (श्योनाक) प्रयोग गर्ने गरेको विभिन्न अध्ययनबाट पुष्टि हुन्छ । आयुर्वेदिक औषधि कम्पनी पतञ्जलिका बालकृष्ण आचार्यले श्योनाकका उपयोगिताबारे बोलेको कुरा ‘आयुर्वेदिक युज इन्डिया ट्रम्पेट ट्री’ शीर्षकमा यूट्यूबमा पनि उपलब्ध छ ।

वन नियमावली २०५१, पाँचौं संशोधन २०७२ मा टोटलालाई जडीबुटीजन्य वनस्पति मानिएको छ । नियमावलीमा फूल/टोटला संकलन दस्तुर पनि तोकिएको छ । यसले हाम्रा भूमिमा भएका टोटलाका फूल औषधिजन्य वस्तुको रुपमा संकलन र निकासी हुन्छ भन्ने प्रष्ट हुन्छ ।

टोटलाका लाभबारे अब आमजनमा जानकारी हुनु आवश्यक छ । सीमित भूगोल, जातिबाट यस सम्बन्धी उपयोगको ज्ञान फैलाउनुपर्ने भएको छ । बहुउपयोगी यो वनस्पति संरक्षणका लागि पहल गर्नुपरेको छ । व्यावसायिक रुपमा यसको खेती गर्नेतर्फ पनि सोच्न सकिन्छ । यसका लागि स्थानीय तहको सरकारले नेतृत्वदायी भूमिका खेल्न सक्छ ।

comments powered by Disqus

रमझम