२२-२८ वैशाख २०७६ | 5-11 May 2019

राष्ट्रिय खेलकुदमा एनआरएनए

Share:
  
- निरञ्जन राजवंशी
सहभागिताको औचित्य आठौं राष्ट्रिय खेलकुदमा समेटिएको गैरआवासीय नेपाली टोलीको पहिलो पाइला औसत रहेको विश्लेषण भइरहँदा नेपाली खेलकुदको विकासमा एनआरएनएको भूमिका चासोको विषय बनेको छ।

अमेरिकाको न्यू योर्कमा पौडी सिक्दै गरेका नाथन दोर्जे शेर्पाले नेपालमा राष्ट्रिय प्रतियोगिता खेल्न गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट निम्तो पाए । आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शुरू हुन दुई साता मात्र बाँकी रहँदा खबर पाए पनि आमा छिरिङ शेर्पाले छोरालाई लिएर नेपाल जाने निर्णय गरिन् । अहिले उनी छोराप्रति गौरवान्वित छिन् । प्रदेश–५ मा आयोजित राष्ट्रिय खेलकुद (५–११ वैशाख) मा पाँच वटा स्वर्ण जितेका नाथन व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीमध्ये पर्न सफल भए । प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ६ काँस्य गरी कुल १४ पदक जितेको एनआरएनए टोलीको इज्जत नाथनले नै धानेका थिए ।

प्रतियोगिता सम्पन्न भइसके पनि राष्ट्रिय खेलकुदमा एनआरएनएलाई विभागीय हैसियत दिएर सहभागी गराउने निर्णय सही हो वा होइन भन्नेबारे चर्चा भइरहेको छ । आठौं संस्करणको बृहत् राष्ट्रिय खेलकुद आउँदो डिसेम्बरमा हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) को छनोट प्रतियोगिता समेत थियो । विभिन्न देशमा बस्ने उत्कृष्ट खेलाडीलाई एनआरएनए टोलीबाट राष्ट्रिय खेलकुदमा पहिलो पटक विभागीय हैसियत दिएर खेलाइएको हो । यसको उद्देश्य थियो, विदेशमा रहेका राम्रा खेलाडी खेल्नबाट वञ्चित नहुन् र देशले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक संख्या थप्न सकोस् ।

तर, नेपालगञ्जमा भएको राष्ट्रिय खेलकुदमा विदेशिएका खेलाडीहरूको न्यून सहभागिता र औसत प्रदर्शनले लक्षित उद्देश्य हासिल हुने देखिएन । एनआरएनएका प्रतिनिधिहरू नै यसलाई ‘औसत तर सन्तुष्ट पाइला’ भन्छन् ।

पहिलो सहभागिताको प्रभाव

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को अनुमान थियो, देशका लागि खेलेर पदक जितिसकेका र कारणवश अहिले विदेशमा बसिरहेका खेलाडीको राष्ट्रिय खेलकुदमा बाक्लो उपस्थिति हुनेछ । तर, प्रतियोगितामा एनआरएनएबाट आठ खेलमा जम्मा १९ खेलाडीले मात्र भाग लिएका थिए । उनीहरू अमेरिका, क्यानाडा, अष्ट्रेलिया, मकाउ, युएई, मलेशिया र थाइल्याण्डबाट थिए । नाम लेखाएका पाँच खेलाडी अन्तिम समयमा उपस्थित भएनन् ।

त्यसो त, एनआरएनएका खेलाडीको सहभागिता कम हुनुको प्रमुख कारण राष्ट्रिय खेलकुदको मिति पटक–पटक सारिनुलाई मानिएको छ । प्रतियोगिता हुने/नहुने अन्योलसँगै सीमित समयमा चुस्त तयारी गर्न नपाउँदा कतिपय खेलाडीले चाहेर पनि पहिलो सहभागिता जनाउन सकेनन् । एशियाली खेलकुद प्रतियोगितामा काँस्य जितेकी विमला तामाङले नाम लेखाएर पनि अन्तिम समयमा फिर्ता लिइन् ।

एनआरएनए टोलीबाट आठौं राष्ट्रिय खेलकुदमा पाँच वटा स्वर्ण जितेका पौडीबाज नाथन दोर्जे शेर्पा ।
सहभागी खेलाडीहरूको प्रदर्शन पनि औसत रह्यो । नाथन दोर्जेको पाँच स्वर्ण बाहेक अर्को एउटा स्वर्ण लनटेनिसमा संरक्षण भूषण बज्राचार्यले जिते । क्यानाडाबाट खेल्न आएकी करातेकी शुभद्रा श्रेष्ठले रजत पदक मात्र हात पारिन् । एनआरएनए स्पोर्टस् कमिटी, नेपाल च्याप्टरका संयोजक स्वयम्भूरत्न डंगोल पहिलो सहभागितामा खेलाडीको संख्या कम भए पनि यसले विदेशमा रहेका खेलाडीहरूमा उत्साहपूर्ण तरंग ल्याएको बताउँछन् । “राष्ट्रिय खेलकुदको अर्को संस्करणमा खेल्न इच्छुक खेलाडीको संख्या थेग्नै नसक्ने गरी बढ्ने हाम्रो विश्वास छ”, उनी भन्छन् ।

उद्देश्य ‘दुईतर्फी लाभ’

विभिन्न ८० देशमा एनआरएनएको शाखा छ । देश बाहिर रहेका कम्तीमा ८० लाख मानिसमध्ये खेल क्षेत्रमा सक्रिय केही खेलाडी अन्तर्राष्ट्रियस्तरको रहेको र तिनीहरूले देशको लागि पदक जित्न सक्ने एनआरएनएको आकलन छ । एनआरएनएका अध्यक्ष भवन भट्ट भन्छन्, “खेलाडीमाथि न्याय होस् र देश पनि लाभान्वित बनोस् भन्ने हाम्रो उद्देश्य हो ।”

विदेशमा रहेका खेलाडीहरूले देशका लागि खेल्ने प्रचलन विश्वव्यापी नै हो । दक्षिण एशियाली खेलकुदमा पनि त्यस्ता खेलाडी थुप्रै हुन्छन् । तर, एनआरएनए विश्वभर छरिएका खेलाडीलाई समेटेर नेपाली खेलकुद विकासको मुख्य अंश बन्न र देशका लागि पदक जित्न सक्छ त ? एनआरएनएका पदाधिकारीहरू ‘चुनौती धेरै रहेको’ विश्लेषण गर्छन् । पहिलो चुनौती, एनआरएनएको व्यवस्थित उपस्थितिबारे हो । एनआरएनएको खेलकुद समिति भए पनि निष्क्रिय छ । अर्को चुनौती हो, बजेट । आठौं राष्ट्रिय खेलकुदमा जस्तो थामथुम पार्ने बजेटले दीर्घकालीन रूपमा पदक जित्ने उद्देश्य भेट्न सकिंदैन ।

एनआरएनएले तत्काल गर्नुपर्ने काम हो, राष्ट्रिय खेलकुदबाट छानिएका खेलाडीहरूको प्रशिक्षणको व्यवस्था । एनआरएनए युथ कमिटीका संयोजक सुदन थापा भन्छन्, “हामी नयाँ प्रविधियुक्त वातावरणमा खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउँछौं । राखेपसँगको समन्वयमा हामी खेलाडीलाई पदक जित्ने गरी योग्य बनाउँछौं ।”

राखेपसँगको सम्झौता अनुसार एनआरएनएले विदेशमा रहेका खेलाडीलाई प्रशिक्षित पार्ने मात्र होइन, नेपाली खेलकुदको विकासमा पनि सघाउनुपर्नेछ । राष्ट्रिय खेलाडीहरूलाई नवीनतम प्रविधिसँग जोड्न सघाउनु पनि उसको दायित्व हो । “नेपाली खेलकुदको विकासमा हामी प्रत्यक्ष जोडिनेछौं”, एनआरएनएको कार्यक्रमबारे युथ कमिटीका संयोजक थापा भन्छन्, “स्पोर्टस् एकेडेमी नै खोल्ने योजना छ । खेलकुदको लागि छुट्टै बजेट विनियोजन पनि गरिंदैछ ।”

एनआरएनएले आगामी अक्टोबरमा काठमाडौंमा ‘एनआरएनए इन्टरनेशनल स्पोर्टस् मिट’ गर्दैछ । प्रतियोगितामा १५ खेल समावेश गरिनेछ । एनआरएनए स्पोर्टस् कमिटी, नेपाल च्याप्टरका संयोजक स्वयम्भूरत्न डंगोल उक्त प्रतियोगिता नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट स्पर्धा हुने बताउँछन् । “अर्को संस्करणको राष्ट्रिय खेलकुदका लागि हामी अहिलेदेखि नै तयारीमा लाग्नेछौं”, उनी भन्छन् ।

एनआरएनएको प्रवेश नेपाली खेलकुदमा सकारात्मक ऊर्जा बन्न सक्छ । तर, उसले पूर्ण योजनामा काम गर्न नसके देशमै बसेर पसिना बगाइरहेका खेलाडीहरूले आफ्नो भाग खोसिएको महसूस मात्र गर्नेछन् ।


तस्वीरः गौरिका सिंहको फेसबूकबाट
गौरिका एनआरएनएमा !

आठौं राष्ट्रिय खेलकुदमा केही गैरआवासीय खेलाडी विभागीय टोलीबाट खेलेकोमा एनआरएनएका पदाधिकारीहरू बेखुस छन् । खासगरी बेलायत निवासी पौडी खेलाडी गौरिका सिंह नेपाली सेनाबाट खेलेकोमा उनीहरूलाई चित्त बुझेको छैन । एनआरएनए आईसीसी युथ कमिटीका सचिव श्रीराम घिमिरे भन्छन्, “गौरिका विदेशमा बस्ने हुनाले एनआरएनएबाट खेल्नुपर्छ । अर्को संस्करणको राष्ट्रिय खेलकुदमा हामी गौरिका जस्ता सबै खेलाडीलाई एनआरएनएको छातामुनि ल्याउँछौं ।”

comments powered by Disqus

रमझम