२२-२८ वैशाख २०७६ | 5-11 May 2019

रमाइलो रानीकोट

Share:
  
- भरतबन्धु थापा

प्राकृतिक दृश्यावलोकन र हाइकिङका लागि काठमाडौं नजिकैको रमणीय गन्तव्य हो, रानीकोट । भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोट समुद्री सतहबाट २००० मिटर उँचाइमा अवस्थित छ । यहाँबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, हिमशृंखला समेत अवलोकन गर्न सकिन्छ । लाङटाङ, दोर्जे लाक्पा लगायत हिमालको दृश्यले मोहित बनाउँछ ।

रानीकोट ऐतिहासिक ठाउँ समेत हो । यहाँ ऐतिहासिक दरबार रहेको भनाइ रहे पनि पुरातत्व विभागले उत्खनन गर्दा मल्लकालमा सैनिक किल्ला रहेको फेला पारेको थियो । उत्खननका क्रममा मल्लकालीन इँटा, झिंगटी लगायत वस्तु भेटिएका थिए । स्थानीय व्यक्तिहरूका अनुसार प्राचीन कालमा यहाँ राजारानीको विश्राम गृह समेत थियो ।

बाघभैरवको मन्दिर । तस्वीरः भरतबन्धु थापा

रानीकोट नजिकैको घ्याम्पेडाँडाबाट देखिएको लाङटाङ हिमशृंखला ।

रानीकोटदेखि तीन किलोमिटर दूरीमा रहेको घ्याम्पेडाँडा वरिपरिका दृश्य हेर्ने भ्यूप्वाइन्ट हो । डाँडाको पूर्वमा आशापुरी महादेव, दक्षिणमा फुल्चोकी, उत्तरमा डोलेश्वर महादेवको मन्दिर अवस्थित छ । डोलेश्वर मन्दिर रानीकोटबाट सात किलोमिटर दूरीमा पर्छ । रानीकोटमा रहेको बाघभैरव मन्दिरमा वैशाख र मंसीर पूर्णिमामा मेला लाग्छ ।

हाइकिङका लागि प्रख्यात यो क्षेत्रमा सूर्यविनायक–रानीकोट–आशापुरी, सूर्यविनायक –रानीकोट–फुल्चोकी पदयात्रा पर्यटकको रोजाइमा पर्छ । त्यस्तै, सूर्यविनायक–रानीकोट–लाकुरीभञ्ज्याङ–गोदावरी हाइकिङ रुट पनि प्रचलित छ ।

होटल भिलेज हाइल्याण्डबाट देखिएको लाङटाङ हिमशृंखला ।

डोलेश्वर महादेव मन्दिर ।

कसरी पुग्ने ?

काठमाडौंको कोटेश्वरबाट १० किलोमिटर यात्रापछि सूर्यविनायक र त्यहाँबाट ७ किलोमिटर दक्षिणमा रानीकोट पुगिन्छ । रानीकोट वरिपरि घना जंगल भएकाले विभिन्न प्रजातिका चरा अवलोकन समेत गर्न सकिन्छ ।

comments powered by Disqus

रमझम